समाजमा अझै अन्धविश्वास ब्याप्त छ । नयाँ पुस्ताले त झन् त्यसको विश्वास नगर्ला भन्ने सोच्थें त्यो गलत रहेछ । झन् भ्रममा बाँच्ने नयाँ पुस्ताबाट पनि अपेक्षा खासै रहेन । जकडिएको समाज, अन्धविश्वास र कुसंस्कृतिका बीच भगवान समेत छामेर भेट्टाउन सकिन्छ भन्ने सोच बोकेकाहरुले त्यस्ता कुसंस्कृति र अन्धविश्वासलाई प्रशय दिईरहेका छन् । मान्छे आफै भगवान हो । राक्षस पनि हो । उसको मन बुझ्न सक्नु, मनमा पुग्न सक्नु, मनको भावना पोख्न सक्ने गरी वातावरण बनाई दिनु भगवान हो । मन्दिर हो । त्यहि मान्छेलाई खुशी पार्न सकियो भने नदेखिने भगवान खुशी हुने हुन् । तर यहाँ घरका भगवानलाई निकालेर ढुंगाको मुर्तिलाई भगवानका रुपमा घरमा भित्र्याएर पुजा गर्ने संस्कृति बढेको छ । धर्मका नाममा हिंसा, क्रुर अपराध र गलत संस्कृतिको विकास गराउन थालिएको छ ।
५० वर्ष अघिको कुरा हो । क्षेत्री जातिको परम्परा अनुसार मेरो विवाह धुमधामसँग भयो । विवाह के हो र के का लागि गरिन्छ भन्ने ज्ञान समेत थिएन । त्यसैले त होला म दसैं तिहार आए झैं रमाएको थिएँ । सेल रोटी र मासु भात खान पाउने सपना मनमा साँच्दै बसेको थिएँ । मेरै विवाहको लागि पोलेको सेल रोटी चोरेर मैले कति पटक खाएँ खाएँ । नौमती बाजा सहित मलाई लिन जन्तीको लस्कर मेरो घर तर्फ आउंदै गर्दा शायद अरुलाई भन्दा मलाई नै हतार थियो होला । जन्ती कहिले यहाँ आइपुग्ला मलाई कौतुहलता थियो । साथीहरु पनि घरमै थिए । छिमेकीहरु पनि टन्नै थिए । म घरको चोटाको आँखीझ्याल बाट चियाएर हेर्दै थिएँ । एकदिन अगावै घरको आँगनीमा जग्गे तयार पारिएको थियो । त्यही नजिकै आँगनीमा नौमती बाजा घन्काउदै जन्तीहरु नाच्दै थिए । जन्ती पर्सने चलन रहेछ । म सकी नसकी सारीको सप्को समाउँदै हतार हतार भ¥र्याङ बाट तल ओर्लें । बल्ल बल्ल जन्तिहरुलाई राम्ररी हेर्न पाउने हुँदा मन मनै मलाई खुशी लाग्दै थियो । दुलहालाई माला लगाएर स्वागत गर्नु पर्ने रहेछ । रात पनि प¥यो । रातैभरी पण्डित बाको कथा सुन्यौं । दुलाहा दुलहीको खेल पनि खेल्यौं । मलाई निक्कै रमाइलो लाग्यो । नाच्नेहरु नाच्दै थिए गाउनेहरु गाउँदै थिए । विहानको ९ बजे रहेछ अन्माउने साईत । डोलीमा चढाईयो । त्यतिखेर आमा बुबा सबै रुदैं हुनुहुन्थ्यो । आमा मेरो ढाडमा सुम्सुम्याउदै हुनुहुन्थ्यो । छोरीको जात । मलाई कुनै अनुभुति नै थिएन । विवाह के हो ? किन यसो गरिएको छ ? कुनै कुराले छोएको थिएन । बरु रमाईलो लागेको थियो । बरु कहिले डोलीमा चढेर जान पाउला झैं लागि रह्यो । डोली चडेपछि जग्गेमा फन्फन्ती घुमाईयो । बुबा अघि अघि लाग्नुभएपछि म चढेको डोली तेर्सियो डाँडातिर । घरको अलिक यता बाँसको झ्याँङमा पु¥याउनु भए पछि बुबा फर्किनु भो, आँखामा अलिकति आँशु लिएर । म चाहिं लच्चक लच्चक डोली माथि बस्दै आमा बुबालाई हेर्दै थिएँ ।
रातभरीको निन्द्राले होला सपना हो कि विपना झैं लाग्यो । केहिदिन अघि मृत्यु भएकी छिमेकी आमालाई सम्झिन पुगें । लामाले ढ्यांग्रो र शंख बजाउँदै यहि बाटो बतासे डाँंडा हुँदै माथि चिहान घारीमा लागेको थियो । मनभरी अनेकौं कुराहरु खेल्न थाल्यो । उनको मृत्यु हुँदा र मेरो विवाह हुदाँको वातावरण एउटै खालको लागिरहेको थियो । छिमेकी आमालाई पनि मलाई जसरी नै जग्गेमा घुमाएर सबैजना रुवावासी गरेर उसै गरि बतासे डाँडातिर पठाएको थियो । तिहारमा रोटे पिंग खेल्न डोल्मो, रामे अनि रामेको आमाहरु सँगै पुग्नु बाहेक कहिले नआइपुगेको ठाउँमा मलाई ल्याई पु¥यायो । जस्ताले छाएको घर पनि दुई तले रहेछ । घर पनि कती ठुलो । हाम्रो त खरले छाएको त्यो पनि एक तलाको मात्रै । त्यत्रो घरमा मेरो लोग्ने, सासु ससुरा मात्रै बस्नु हुँदो रहेछ । दिदी काठमाडौ बस्नु हुँदो रहेछ । सासु चाँहि अचाक्ली कचकच मात्रै गरि रहनुहुन्थ्यो । जे काममा पनि बचन लाउने उहाँको बानी नै थियो । नयाँ दुलही बनेर गएसी म श्रीमानसँगै बस्नु पथ्र्याे । म संधै एक्लै सुत्थें घरमा । त्यसैले विवाह पछी पनि एक्लै सुत्छु भनेर रोईकराई गरें त्यो सम्भव रहेनछ । उ मेरो श्रीमान् जस्तो लाग्दैनथ्यो । त्यसैले म जे मन लाग्थ्यो त्यहि गर्थें र भन्थें । उहाँ ठुलो ठुलो किताब पढेर बस्ने गर्नु हुन्थ्यो आफ्नो ओछ्यानमा । मलाई जुन बेला मन लाग्थ्यो त्यति बेला चोटामा जान्थे । विवाहको केहि महिना पछि सासु ससुरा सासुको माइती जानुभयो । घरमा हामी दुई जना मात्रै थियौं । खाना दुवै मिलेर पकाउँथ्यौं । जुठो भाँडा म माझथें । श्रीमान्ले एक साँझ आमा सुत्ने ठाउँमा भुत आउँछ । तर्साउँछ भनेर डर देखाउनु भयो । मलाई निक्कै डर लाग्यो । त्यै दिनको भोलिपल्ट मैले थाहै नपाउनी गरि उचालेर उहाँले मलाई आफ्नो ओछ्यानमा लगेर सुताउनु भएछ । बिहान बिउँ झिँदा साथ मैले उहाँलाई सोधें म यहाँ कसरी आइपुगें ? खै म राति उठेर हेर्दा तिमी त पिढिंमा सुतिरहेकी रहेछ्यौ । शायद भूतले लगेर सुताको होला त्यसैले मैले उचालेर यहाँ ल्याएर सुताई दिएँ । बिहानै डरले म थुरथुर काँपे । अनि रात कहिल्यै नपरोस् झै लाग्न थाल्यो । दिनपछि रात यो त प्रकृतिको नियम नै हो । त्यो रात देखि हामी सँगै सुत्ने भयौ । तर पनि हाम्रो ओढ्ने सिरक अलग अलग थियो । मैले मेरै विवाहको रातो पछ्यौरी लिएर सुतें । उहाँले सिरक ओढ्नु भयो । त्यसरात मलाई खपिनसक्नुको पिसाब लाग्यो । उहाँलाई भन्न नि लाज लाग्यो । रातको एक बजेको हुँदो हो । बाहिर जूनको मन्द मन्द प्रकाश झ्यालको कापकापबाट देख्न सकिन्थ्यो । रात निकै सुन सान ..। म चुप चाप त्यही झ्याल तिर अघि बढें । अनि सुस्तरी झ्याल खोलें । अनि आँखा चिम्लेर त्यहीबाट पिसाब फेरि दिएँ । जूनको प्रकाशमा केहि देखिएला भन्ने डरले आँखा चिम्लेकोले पिसाब कहाँ खस्यो र कहाँ पुग्यो भन्ने कुरा त थाहा भएन । पिसाब फेरिसके पछी हत न पत्त बिरालोको चालमा ओछ्यान तिर फर्कें ।
बाहिर भूतको डर थियो भने भित्र उहाँले थाहा पाउनु हुन्छ कि भन्ने डर र लाज थियो । म पाइला अघि बढाउन खोज्थें तर पाइला सर्न मानि राखेको थिएन । ओछ्यान त पुग्नै पर्यो नत्र भूतले समाउला भन्ने डरले जबर्जस्ती पाइला अगाडी बढाएको मात्रै के थिए बढेमाको अजिंगार माथि टेक्न पुगे झैं लाग्यो । मेरो मुटुले ठाउँ छोड्यो । म थरथरि कामे र चिच्याएँ । भुत माथि नै पो टेक्न गए झैं लाग्यो । तर त्यो कुनै भुत नभई उही मेरो श्रीमान् पो रहेछन् । उहाँ मेरो सारा चर्तिकला हेरेर, देखेर मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो भने म चाहिं लाजले रोइ दिएँ । मेरो टाउको सुमसुम्याउदै त्यसरी रुन हुन्न नत्र भुत आउँछ भन्दै दन्त्य कथा सुनाउदै मलाई फकाउनु भो । मलाई नि उहाँ प्रति माया र विश्वास लाग्न थाल्यो । यसरी नै उहाँ प्रतिको माया र विश्वासले त्यो रात पछि उहाँ ओछ्यानमा जानु भन्दा अगावै म गएर पल्टी सक्थें । किनकी उहाँले एउटा छोरीलाई झैं माया गर्नु भएको मैले आभाष गर्न थालेकी थिएँ । संधै घिउ र भात कहाँ नानी भन्ने उखान झैं कति दिन देखि उहाँले कुण्ठित पारि राखेको चाहना म माथि पोखाउनु भयो । म सुस्तरी उठ्न खोजें तर सकिनँ । विस्तारै बानी पर्न थाल्यो । उहाँको माया लाग्न थाल्यो । मलाई उहाँले हरेक कुरामा सम्झाउने, सघाउने र आफ्नो सन्तान भन्दा धेरै माया गर्न थाल्नु भयो ।
दुई चार दिन पछि सासु ससुरा फर्किनुभयो । उहाँहरु निक्कै खुसी देखिनु हुन्थ्यो । अब म पुर्ण रुपमा उहाँहरुको बुहारी भएंँ । विवाह भएको २२ महिना पछि मैले एक सन्तान छोरालाई जन्म दिएँ । जतिखेर मेरो उमेर १६ पुग नपुग थियो । त्यसैगरी छोरा छोरी जन्माउने क्रम जारि रह्यो चार वर्षसम्म त्यति खेर सम्म दुई छोरा र दुई छोरी भै सकेका थिए । उमेर २१ वर्षको थियो । केहि वर्ष अघि मात्र सुनसान देख्ने घरमा वर्षौटी बच्चाहरुको बथान बढ्दै थिए । कोहि रुने कोहि कराउने कोहि खाने त कोहि सुत्दै गरेका । धन्न आर्थिक रुपले सम्पन्न थियो । यति नै खेर श्रीमानलाई जागिरको लागि काठमाडौं पठाउने निधो गर्नु भयो सासु ससुराले । बालबच्चा र वृद्धबुबा आमालाई छाडेर उहाँ काठमाडौ जानु भयो । बालबच्चा भ¥याङबाट खस्ने डरले हाम्रो र सासु ससुराको सुत्ने ओछ्यान साटिएको थियो । उहाँहरु चोटामा सुत्नु हुन्थ्यो भने हामी तल । लस्करै आधा दर्जन बच्चाहरु सँगै सुते पनि उहाँको अभाव कता कता खट्किरहन्थ्यो । उसो त त्यहाँ भूतले सताउछ भनेर मलाई चोटामा सुताउन उहाँले गरेको त्यो चलाखीलाई सम्झेर हासें पनि । अनि ति बितेका स्मृतीलाई पल्टाउँदै पल्टिन्थें । रात बिताउथें अनि उहाँको याद । आर्थिक रुपमा सम्पन्न हुनाले मेरो काम बाल बच्चालाई स्याहार गर्ने मात्रै हुन्थ्यो । ससुराले त्यसै गर्नु भन्नु हुन्थ्यो भने सासु चाँहि आफु बुहारी हुँदा उहिले यसो गरेको थिएँ उसो गरेका थिएँ भन्दै कच् कच् मात्रै गरि रहनु हुन्थ्यो । समय वित्दै गयो । श्रीमान् काठमाडौ लागेको तीन वर्ष बितीसकेको थियो सासु आमाले धर्ति छाड्नु भो । यो खबरले मर्माहत बनेर उहाँ रातारात आउनु भो तर आमालाई घाटमा मात्रै भेटाउन सक्नु भो । २४ वर्षको त्यो उमेरमा मनैभरी लोग्ने संँग बस्ने चाहना हुँदा हुँदै पनि आमाको शोक र उहाँको जागिरले गर्दा हामी बिच अनेकौं इच्छा आकांक्षा हुँदाँ हँुदै पनि हामी खुलेर कुनै कुरामा पनि रमाउन सकिरहेका थिइनौ । एकातिर सासुको शोक अर्को तिर लोग्नेसंगको विछोड हुनुपर्ने कुराले मेरो मन अमिलो भयो । केहि दिन पछि उहाँ काठमाण्डौं फर्किनुभयो । जहाँ पहिरो जान्छ त्यहाँ गइरहन्छ भन्ने उखान झैं सासु बितेको केहि दिनमा नै ससुरा बा परलोक जानुभयो । हामी माथि निकै ठुलो बज्रपात प¥यो । आफ्नो बुबाले झै आँट र ढाडस दिने ससुराको मृत्युले म साँच्चै नै विक्षिप्त हुन पुगें । उहाँको निधन लगतै उहाँ जागिरै छाडेर आउनु भएछ । जतिखेर छोरा छोरी सबै हिड्न सक्ने भैसकेका थिए भने जेठो छोरा स्कुल जान थालिसकेको थियो । एकतिर आमा बाउको शोक अर्को तिर भएको जागिर छोडेकोले उहाँ निक्कै तनावमा देखिनुहुन्थ्यो । सँधै गम्भीर मुद्रामा देखिने उहाँ एक साँझ बोल्दा बोल्दै बसेको ठाउँ अगेना छेउमै ढल्नु भयो । म आत्तिए र काखको कान्छी छोरीलाई भुँईमा राखेर उहाँलाई सम्हाल्न खोजें तर उहाँको जिउको आधी भाग नै नचल्ने र लाटो भयो भन्दै सुस्तरी पानी माग्नु भो । एकाएक उहाँको मुहार नै फेरियो । हे भगवान ! मलाई के दशा आइ लाग्यो । एकातिर साना साना नानी बाबु अर्को तिर सासु ससुराको शोक त अर्कोतिर लोग्नेको यो बिजोग ? उफ्फ ....
श्वास हुन्जेल आश भने जस्तै म उहाँको स्वास्थ्यमा सुधार आउँला भनि आशावादी थिए । तर बिडम्बना दैवको लेखान्तलाई टार्न सकिन मैले र शितकालिन पुषको बिहानीमा घामले धर्ती नटेक्दै ४३ वर्षको उमेरमा उहाँले धर्ती छाड्नु भयो । म मर्माहत भएँ । एउटा भएको सहारा पनि दैवले लुटेर लैजाँदा म टुलुटुलु हेर्न बाध्य थिएं । ३० वर्ष मै विधुवा बनें । साउने भेलले भिजेको, निभेको चुल्हो झैं जिन्दगि भए पनि मैले छोराछोरीको लागि बाँच्नु पर्दथ्यो । त्यसैले मैले जीन्दगीका धेरै उतारचढावहरुसँग मुकाबिला गरेर बाँच्न सिकें । त्यो उमेरमा म विधुवा बन्नुपरेको पीडाले आहत थिएँ नै त्यसमाथि गाउँकै जान्नेमान्ने बुजुर्कहरुले म माथि भेदभावपुर्ण व्यवहार गर्दै आफ्नो गिद्दे दृष्टि लगाउनाले म झनै घाईते भएँ । समाजको नजरमा म अलच्छिना साबित भएँ । कतै शुभ काममा जाँदा होस् वा एकाविहानै पानी थाप्न धारामा जाँदा होस् सबैले मलाई नमिठो वचनले रोप्न थाले । मुटु दुख्थ्यो यस्तो व्यवहारले । मनमनै रुन्थें । उता एकान्तको मौका पारेर कसैले आफ्नो अस्मिता लुट्ला भन्ने डर यथावत नै थियो । यस्तैमा जीवनका हरेक काँडा पन्छाई जेठो छोरालाई एसएलसी गराएँ । अरु सानै थिए । पढ्दै थिए । म भित्रको पीडालाई जेठा छोराले बुझ्यो क्यारे । पैशा कमाउन अरब जान्छु भन्यो । जेनतेन ऋण गरेर पठाएँ । अरब कमाउन लागेको छोराको खबर नपाउदा ब्याकुल हुँदै थिएँ । तीन महिना पछि खबर आयो जेठो छोरा सुतेको सुतै भयो रे । यो खबरले म कत्तिखेर वेहोस भएछु थाहै भएन पछि छोराको लाश बाक्सामा बन्द भएर आउंँदा थाहा पाएँ । म बर्बराउन थालेछु । मेरो पागलपना देखि बच्चाहरु पनि डरले बहिनीकहाँ गएछन् । कसो कसो फेरि म विहोस भएछु । मलाई सबैले बोक्सी भन्दै आरोप लगाए । जीवनभर त्यहि बोक्सिको बातमा बिताएँ । माईतीमा बुबा आमाले पनि त्यहि बेला संसारबाट विदा लिनु भएको थियो । भएका माईतीका आफन्तहरुले पनि मेरो दुःख कसरी हेरिदिनु ? आज भोली म त्यहि मक्किएको घरमा बस्दै आएकी छु । कुनैबेला त लाग्छ साँच्चिकै म बोक्सी हुन पाए त मलाई आरोप लगाउनेहरु सबैलाई म मार्थें अनि सबै पीडित नारीहरुलाई बोक्सी सिकाएर ती समाजका राक्षसहरुको बध गर्न लगाउँथें । तर यि सब त भ्रम त हुन् ।
पार्वती शर्मा
हालः भक्तपुर









