मेरो थरले मेरो जन्मको घर चिनाउँछ । मेरो अनुहारले मेरी आमालाई । मेरो बोलीले मेरो बाल्यकाललाई । तर विवाहपछि बल्ल मैले बुझें, महिलाको नामसँग जोडिएको थर उसको परिचय मात्र रहेनछ, त्यो उसको सामाजिक भाग्यसमेत बन्न पुग्दोरहेछ ।
म तिमल्सिना जैसी परिवारकी छोरी । उनी श्रेष्ठ नेवार परिवारका छोरा । यी दुई थरबीच मेरो जीवनको एउटा यस्तो कथा लेखियो, जसको सुरुवात प्रेमबाट भयो र अन्त्य सम्बन्धविच्छेदको कागजमा पुगेर भयो । तर त्यो अन्त्यमा पनि प्रेम मरेको थिएन । सायद त्यसैले यो कथा मेरो लागि अझै सकिएको छैन । हामी पहिलोपटक भेट्दा मलाई थाहा थिएन, यो मान्छे एकदिन मेरो जीवनको सबैभन्दा नजिकको र सबैभन्दा टाढाको मान्छे बन्नेछ । कामकै सिलसिलामा भेट भएको थियो । न कुनै विशेष तयारी । न कुनै विशेष संयोग । दुई जना अपरिचित मानिस भेटिएजस्तो सामान्य भेट । उसले सामान्य तरिकाले कुरा ग¥यो । मैले पनि सामान्य तरिकाले उत्तर दिएँ । त्यो दिन उनी घर गए होलान् । म पनि आफ्नै काममा फर्किएँ होला । तर केही भेटहरू त्यस्ता हुन्छन्, जसको अर्थ त्यसबेला बुझिँदैन । पछि सम्झिँदा लाग्छ, त्यो पहिलो भेट नै एउटा लामो यात्राको पहिलो पाइला रहेछ । हाम्रो कुराकानी बिस्तारै बढ्यो । पहिले कामका कुरा हुन्थे । त्यसपछि घरका । त्यसपछि भविष्यका । त्यसपछि विगतका । कहिलेकाहीँ हामी आफूलाई नै थाहा नभएका कुरा पनि एकअर्कासँग भन्न थाल्यौँ । उनमा मलाई सबैभन्दा मन परेको कुरा उनको शान्त स्वभाव थियो । उनी धेरै बोल्दैनथे । तर म बोल्दा ध्यान दिएर सुन्थे । त्यतिबेला मलाई लाग्थ्यो–जसले सुन्न सक्छ, उसले बुझ्न पनि सक्छ ।
सायद प्रेम त्यही भ्रमबाट सुरु भएको थियो । उमेर पनि त्यस्तै थियो, जहाँ भविष्यको गणितभन्दा वर्तमानको भावना ठूलो हुन्छ । हामीले जातका बारेमा कुरा नगरेका होइनौँ । तर त्यसलाई गम्भीर समस्याका रूपमा लिएनौँ । उनी श्रेष्ठ नेवार । म तिमल्सिना जैसी । दुई फरक जातीय पृष्ठभूमि । दुई फरक संस्कार । दुई फरक पारिवारिक इतिहास । तर प्रेममा परेको मान्छेलाई यी फरकहरू रंगीन लाग्छन् । मलाई उनको संस्कृति रोचक लाग्थ्यो । उनलाई मेरो । हामी एकअर्काको फरकपनमा आकर्षित थियौँ । त्यो बेला हामीलाई लाग्थ्यो–फरक हुनु भनेको समस्या होइन, सुन्दरता हो । तर विवाहपछि मैले बुझेँ–फरकपन टाढाबाट हेर्दा सुन्दर देखिन्छ । सँगै बसेर जीवन बिताउँदा त्यसलाई बुझ्न, स्वीकार्न र समायोजन गर्न निरन्तर श्रम चाहिँदोरहेछ ।
हाम्रो सम्बन्ध गहिरिँदै गयो । परिवारमा कुरा पुगेको थियो । स्वभाविक रूपमा सबै खुसी भएनन् । अन्तरजातीय विवाह हाम्रो पुस्ताका लागि नयाँ कुरा थिएन । तर नयाँ कुरा हुनु र सहज रूपमा स्वीकारिनु एउटै कुरा रहेनछ । घरका मानिसका आफ्नै चिन्ता थिए । जात । संस्कार । परिवार । समाज । आफन्त । भोलिको जीवन । यस्ता प्रश्नहरू हामीभन्दा अगाडि हिँडिरहेका थिए । हामी भने प्रेमको पछि । हामीलाई लाग्थ्यो, हामी मिल्छौँ भने अरू सबै कुरा मिल्छ । आज सम्झिँदा कहिलेकाहीँ मुस्कुराउँछु । त्यो उमेरमा प्रेम कति शक्तिशाली हुँदो रहेछ ! उसले भविष्यका प्रश्नहरूलाई पनि वर्तमानको उज्यालोले ढाकिदिँदोरहेछ । मलाई लाग्थ्यो–उनी असल छन् । मलाई सम्मान गर्छन् । मलाई माया गर्छन् । त्यसैले म उनीसँग जीवन बिताउन सक्छु । उनलाई पनि त्यस्तै लाग्थ्यो होला । हामीले धेरै ठूलो सपना देखेका थिएनौँ । एउटा सानो घर । दुई जना । पछि बच्चा । काम ।
आफ्नै संसार । त्यो संसारमा कसैको हस्तक्षेप नहोस् भन्ने चाहना । तर विवाह दुई जनाले मात्र गर्ने निर्णय होइन रहेछ । विवाहपछि थाहा भयो–दुई जना विवाह गर्छन्, तर त्यसको छायाँमा दुई परिवार, दुई संस्कार र कहिलेकाहीँ दुई समुदाय उभिएका हुन्छन् । परिवारको पूर्ण सहमति नहुँदै हामीले विवाह गर्ने निर्णय ग¥यौँ । मलाई अहिले पनि त्यो निर्णयको दिन सम्झना छ । मनभित्र डर थियो । तर त्यो डरभन्दा ठूलो प्रेम थियो । हामीले सोचेका थियौँ, ‘अहिले परिवार रिसाए पनि पछि बुझ्नुहुन्छ ।’ समयसँगै सबै ठीक हुन्छ । बच्चा भएपछि अझ सम्बन्ध राम्रो हुन्छ । हामीलाई थाहा थिएन–समयले सबै कुरा आफैँ ठीक गर्दैन । कहिलेकाहीँ समयले समस्या झन् गहिरो बनाउँछ । तर त्यो बेला हामीले भविष्यको दुःख देखेनौँ ।
हामीले विवाह ग¥यौँ । त्यो दिन म निकै खुसी थिएँ । मनभित्र एउटा नयाँ संसार खुलेको थियो । मलाई लाग्यो–अब मेरो आफ्नै घर छ । मेरो आफ्नै मान्छे छ । मेरो जीवनको साथी छ । म उसको घरमा बुहारी भएर गएँ । ढोकाबाट भित्र छिर्दा मनमा एउटा अनौठो उत्साह थियो । नयाँ घर । नयाँ मानिस । नयाँ सम्बन्ध । नयाँ जिम्मेवारी । तर सबैभन्दा ठूलो कुरा–मलाई लागिरहेको थियो, अब म आफूलाई नयाँ रूपमा बनाउनेछु । त्यो दिन मैले एउटा कुरा बुझिनँ । नयाँ घरमा प्रवेश गर्दा महिलाले आफ्नो झोला मात्र बोक्दिन, उसले आफ्नो पुरानो संसार पनि बोकेर जान्छे । उसको बोली । उसको स्वाद । उसको पूजा । उसको चाड । उसको मायाको शैली । उसले घरमा देखेको व्यवहार । उसले सानैदेखि सिकेको ‘सही’ र ‘गलत’ ।
सबै कुरा ऊसँगै जान्छ । र नयाँ घरले पनि आफ्ना हजारौँ अदृश्य नियम बोकेर बसेको हुन्छ । मैले त्यो घरको ढोका त पार गरेँ । तर त्यो घरको संसार पार गर्न मलाई अझ धेरै वर्ष लाग्ने रहेछ । विवाहपछि सुरुका दिनहरू प्रेमकै रंगमा थिए । उनी काममा जान्थे । म उनको प्रतीक्षा गर्थेँ । साँझ उनी घर फर्किएपछि दिनभरीका कुरा सुनाउँथेँ । सानातिना कुरा पनि रमाइला लाग्थे । उनी थाकेर आउँदा म चिया दिन्थेँ । कहिलेकाहीँ हामी भविष्यका कुरा गथ्र्यौँ । हामी आफ्नै घर बनाउँला,उनी भन्थे । कस्तो घर ? म सोध्थेँ । सानो । अनि ? तिमीलाई मन परेको । म हाँस्थेँ । त्योबेला संसार निकै सरल थियो । हामीलाई लाग्थ्यो घर भनेको दुई जना मिलेर बनाउने ठाउँ हो । तर घर केवल इँटा र छानोले बन्दैन रहेछ । घरभित्र पुस्तौँदेखि आएका नियमहरू पनि बस्दा रहेछन् ।
परिवारका अपेक्षाहरू पनि बस्दा रहेछन् । अहंकार, संस्कार, धार्मिक विश्वास, जातीय स्मृति र सामाजिक प्रतिष्ठाका कथाहरू पनि भित्ताभित्रै लुकेका हुँदा रहेछन् । मलाई त्यो बेला केही थाहा थिएन । म केवल एउटी प्रेमिका थिएँ, जो भर्खर श्रीमती बनेकी थिई । समय बित्यो । हाम्रो जीवनमा बच्चा आयो । छोरा जन्मियो । उसलाई पहिलोपटक काखमा लिँदा मैले संसारमा अरू केही चाहिँदैन जस्तो महसुस गरेँ । उसको सानो औँला मेरो औँलामा बेरिँदा मनमा एउटै विचार आयो, अब हाम्रो परिवार पूरा भयो । मलाई लाग्यो, बच्चाले हामीलाई अझ नजिक बनाउनेछ । श्रीमान्लाई बाबु बनेको देख्दा मेरो मनमा उनको लागि अझ सम्मान बढ्यो । उनी बच्चालाई काखमा लिन्थे ।
उसको अनुहार हेर्थे । मुस्कुराउँथे । त्यो दृश्यमा कुनै जात थिएन । कुनै थर थिएन । कुनै परिवार थिएन । त्यहाँ केवल एक बुबा र उसको बच्चा थियो । त्यो क्षणहरूमा मलाई लाग्थ्यो–हामीले सही निर्णय गरेका छौँ । तर बच्चा जन्मिएपछि जिम्मेवारीसँगै सँस्कारका प्रश्नहरू पनि हाम्रो घरभित्र अझ गहिरिएर प्रवेश गरे । बच्चालाई कसरी हुर्काउने ? कुन संस्कारमा लैजाने ? कुन चाड कसरी मनाउने ? कुन परम्परा अपनाउने ? यी प्रश्नहरू आउन थाले । मैले बल्ल बुझ्न थालेँ, हामीले प्रेम गरेर विवाह त ग¥यौँ । तर हामीले दुई संस्कारबीचको पुल बनाउन सिकेका रहेनछौँ । तीन वर्षको अवधिमा मैले धेरैपटक आफूलाई भनेँ–‘तिमीले आफैँ रोजेको जीवन हो ।’
‘अलिकति सहनु । समयसँगै सबै मिल्छ । तिमी नै नयाँ मान्छे हौ, तिमीले नै अलि बढी बुझ्नुपर्छ । म मिल्न खोजिरहेँ । तर समायोजन र आत्मविसर्जनबीचको सीमा कहाँ हो, त्यो छुट्याउन सकिनँ । मलाई कहिलेकाहीँ लाग्थ्यो, म उनीहरूको घरमा समायोजन हुँदैछु कि आफूलाई हराउँदैछु ? त्यो प्रश्नको उत्तर मसँग थिएन । श्रीमान् भने मेरो पक्षमा थिए । तर मौन । उनी मलाई माया गर्थे । तर परिवारको अगाडि बोल्न सक्दैनथे । मलाई त्यतिबेला त्यो कुरा सामान्य लाग्थ्यो । पछि गएर थाहा भयो–कहिलेकाहीँ मौनता पनि एउटा निर्णय हुन्छ । र त्यो निर्णयले कसैलाई गहिरो एक्लो बनाइदिन सक्छ । हामीबीच प्रेम थियो । तर प्रेमको वरिपरि जीवन चलाउने साहस कमजोर थियो । त्यहीँबाट हाम्रो कथाको दोस्रो अध्याय सुरु भयो । जहाँ प्रेमभन्दा ठूलो भएर आयो, संस्कार । र संस्कारभन्दा ठूलो भएर उभियो–परिवार । र ती दुवैको बीचमा बिस्तारै उभिन थाल्यो, म ।
मेरो भोगाई केवल एउटा अन्तरजातीय विवाह असफल भएको कथा होइन । यो प्रेम, विवाह, परिवार, संस्कार, सामाजिक अपेक्षा र व्यक्तिगत स्वतन्त्रताबीचको द्वन्द्वको कथा हो । दुई फरक जातीय पृष्ठभूमिका मानिस प्रेममा पर्नु आफैँमा समस्या होइन । समस्या त्यतिबेला सुरु हुन्छ, जब प्रेमले विवाहपछि आउने सांस्कृतिक भिन्नता, पारिवारिक संरचना, जिम्मेवारी र शक्ति–सम्बन्धलाई बुझ्न सक्दैन । विवाहअघि प्रेममा मानिसले एकअर्काको फरकपनलाई आकर्षणका रूपमा देख्छ । विवाहपछि त्यही फरकपन दैनिक जीवनका ससाना निर्णयमा देखा पर्न थाल्छ–कसरी बोल्ने, कसरी बस्ने, कुन संस्कार मान्ने, कसलाई प्राथमिकता दिने, बुहारीको भूमिका के हुने र श्रीमान्ले आफ्नो परिवार तथा जीवनसाथीबीच कसरी सन्तुलन गर्ने । यीनै सामान्य देखिने प्रश्नहरू कहिलेकाहीँ सम्बन्धको गहिरो संकटका कारण बन्छन् ।
मेरो जीवनमा सबैभन्दा ठूलो समस्या एउटा व्यक्ति मात्र थिएन । समस्या एउटा यस्तो पारिवारिक संरचना थियो, जहाँ उसले आफूलाई पूर्ण रूपमा स्वीकारिएको महसुस गर्न सकिनँ । अर्कोतर्फ, उसको श्रीमान् खराब व्यक्ति थिएनन् । उनी माया गर्थे, तर परिवारको अगाडि आफ्नी श्रीमतीको पक्षमा निर्णायक रूपमा उभिन सकेनन् । यही मौनताले सम्बन्धलाई बिस्तारै कमजोर बनायो । अर्को महत्वपूर्ण प्रश्न पनि उठाउँछ–विवाह जोगाउनु ठूलो कि मानिस जोगाउनु ? समाजले प्रायः महिलालाई विवाह टिकाउन दबाब दिन्छ । ‘घर बिगार्नु हुँदैन’, ‘बच्चाको भविष्य सोच’, ‘अलि सहनुपर्छ’ जस्ता वाक्य महिलाको जीवनमा बारम्बार दोहोरिन्छन् । तर कुनै सम्बन्धभित्र मानिसको आत्मसम्मान, मानसिक शान्ति र अस्तित्व नै कमजोर हुँदै गएको छ भने केवल सामाजिक प्रतिष्ठाका लागि त्यसलाई जोगाइराख्नु समाधान हुन सक्दैन । त्यसैगरी सम्बन्धविच्छेदलाई पनि विजय वा पराजयको रूपमा हेर्नु उचित हुँदैन । कहिलेकाहीँ सम्बन्धविच्छेद दुई जनाको हार होइन, दुई जनाले थप क्षति रोक्न लिएको कठिन निर्णय हुन सक्छ । म र मेरा श्रीमान्ले एक अर्कामाथि आरोप नै नलगाई मिलापत्रमार्फत अलग हुने निर्णय गर्नु यस अर्थमा उल्लेखनीय छ । सम्बन्ध सकिए पनि सम्मान बाँकी राख्न सकिन्छ भन्ने उदाहरण हामीले दिएका छांै । तर सबैभन्दा ठूलो चुनौती अदालतपछि सुरु हुन्छ–समाजको अदालत ।
सम्बन्धविच्छेद भएकी महिलालाई अझै पनि समाजले उसको नामभन्दा पहिले उसको वैवाहिक अवस्थाबाट चिन्ने गर्छ । उसको चरित्र, भविष्य, पुनर्विवाह र पुरुषसँगको सम्बन्धबारे अनावश्यक प्रश्न उठाइन्छ । जबकी सम्बन्धविच्छेद कुनै महिलाको चरित्रको प्रमाण होइन । त्यो उसको जीवनको एउटा अवस्था मात्र हो । मैले मेरो जीवनलाई त्यही अवस्थामै रोक्न दिइनँ । बच्चा हुर्काएँ । पढाइलाई निरन्तरता दिएँ । विद्यालयमा काम गरें । आफ्नो पहिचान पुनः निर्माण गरें । अन्तरजातीय विवाह गर्ने नयाँ पुस्ताले मेरो भोगाईबाट महत्वपूर्ण पाठ लिन सक्छ । प्रेम पर्याप्त छ, तर विवाहका लागि प्रेमसँगै संवाद, आर्थिक समझदारी, पारिवारिक सीमाको स्पष्टता, सांस्कृतिक संवेदनशीलता र एकअर्काको पक्षमा उभिने साहस आवश्यक हुन्छ । परिवारले पनि अन्तरजातीय विवाहलाई केवल ‘परम्परा भत्काउने’ घटनाका रूपमा होइन, नयाँ पुस्ताले रोजेको जीवनका रूपमा बुझ्न सिक्नुपर्छ ।
अन्ततः विवाहको सफलता जात मिल्नुमा होइन, मान्छे मिल्नुमा हुन्छ । थर एउटै हुँदैमा सम्बन्ध सुरक्षित हुँदैन र थर फरक हुँदैमा सम्बन्ध असफल हुँदैन । सम्बन्ध टिकाउने आधार सम्मान, संवाद, समानता, विश्वास र कठिन समयमा एकअर्काको साथमा उभिने क्षमता हो । मेरो जीवनले एउटा शान्त तर गहिरो प्रश्न छाडेर जान्छ–हामी विवाह बचाउन कति चिन्तित छौँ, तर विवाहभित्रको मान्छे बचाउन कति तयार छौँ ? सायद बदलिँदो समाजले अब यही प्रश्नको उत्तर खोज्नुपर्छ । सम्बन्ध जोडिनु सुन्दर कुरा हो, तर सम्बन्धभित्र दुई व्यक्तिको अस्तित्व, सम्मान र स्वतन्त्रता जोगिनु त्यसभन्दा सुन्दर कुरा हो । किनकी सम्बन्ध टुट्न सक्छ, तर जीवन टुट्नैपर्छ भन्ने छैन ।
अनु तिमल्सिना
सल्लाघारी, भक्तपुर ।









