2026 August 28/ 01:30: 08pm

बनेपा/प्रहरी पक्राउ गर्छ, अदालतले मुद्दा हेर्छ, सजाय सुनाउँछ, कैद भुक्तान हुन्छ । तर जेलबाट बाहिरिएपछि फेरि उही धन्दा–चोरी, पाकेटमारी र बगली मार्ने । काभ्रेमा पछिल्ला केही घटनाले चोरीमा संलग्न व्यक्तिहरूको यस्तो चक्र निरन्तर चलिरहेको देखिएको छ । 
    इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी राकेश थापाको नेतृत्वमा समाजमा विभिन्न खालका अपराध गर्ने ब्यक्तिहरुको पहिचान, अनुसन्धान र पक्राउ अभियान तिब्र बनेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि पछिल्लो समय अनुसन्धान गरेका चोरी तथा बगली मार्ने घटनामा पक्राउ परेका केही व्यक्ति विगतमा पनि चोरी तथा अभद्र व्यवहारसम्बन्धी मुद्दामा सजाय भोगिसकेका र फेरि सोही प्रकृतिको अपराधमा संलग्न भएको जनाएको छ । यो चुनौतीका रुपमा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन विष्टले जानकारी दिए । 
    २०८३ साउन ४ गते बनेपा बसपार्कबाट काठमाडौं जाँदै गरेको बसमा चढ्ने क्रममा एक महिलाको घाँटीबाट डेढ तोलाको सुनको सिक्री लुटिएको घटनामा प्रहरीले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भई हाल बनेपा–९ बस्ने २७ वर्षीय नन्दकुमार तामाङ उर्फ ‘डल्ले’लाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बनेपा–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा बस पुगेका बेला ढोकानजिकै उभिएका तामाङले मैया तामाङको घाँटीमा रहेको सुनको सिक्री तानेर तत्काल बसबाट ओर्लिएर फरार भएका थिए । घटनामा संलग्न बनेपा–१३ का २६ वर्षीय ‘आमिन’ उर्फ आमिन लामा भने फरार छन् । प्रहरीका अनुसार पक्राउ परेका डल्ले भनिने नन्दकुमार यसअघि पनि पटक–पटक मुद्दामा परेका व्यक्ति हुन् । उनीविरुद्ध २०७६ भदौ ९ गते, २०७८ असार २७ गते र २०७८ चैत १३ गते अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको थियो ।
    त्यसपछि २०७९ साउन ६ गते प्रहरी वृत्त ललितपुरमा अभद्र व्यवहार, २०७९ असोज ४ गते प्रहरी वृत्त जगाती भक्तपुरमा बगली मार्ने, २०८० चैत १२ गते प्रहरी वृत्त नयाँबानेश्वरमा तथा २०८० चैत २५ गते प्रहरी वृत्त जगातीमा बगली मार्ने र २०८२ मंसिर २५ गते चोरीसम्बन्धी मुद्दा चलेको प्रहरीले जनाएको छ । यीमध्येका मुद्दामा कैद सजाय भुक्तान गरी करिब ११ महिना जेल बसेका उनी पछिल्लो समय बनेपास्थित आजाद स्कुल नजिक ज्यामी काम गर्दै आएका थिए । प्रहरी अनुसन्धानका क्रममा आमिनसँग भेट भएपछि पुनः चोरीमा संलग्न भएको खुलेको छ ।
    प्रहरीका अनुसार आमिनले महिलाको घाँटीमा रहेको सिक्री लुटे आधा रकम दिने प्रस्ताव गरेपछि नन्दकुमार उक्त घटनामा संलग्न भएका थिए । लुटिएको सिक्रीको मूल्य २०८३ साउन २१ गतेको बजार मूल्यअनुसार ४ लाख २६ हजार ९ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । भक्तपुर जिल्ला अदालतले नन्दकुमारलाई यसअघि चोरी मुद्दामा २०८३ जेठ २७ गते चार महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

बैंकबाट पिछा, अनि बगली मारियो
    २०८३ साउन ६ गते बनेपामा अर्का व्यक्तिको साथमा रहेको २६ हजार रुपैयाँ चोरी भयो । बेथान्चोक गाउँपालिका–५ का ३१ वर्षीय आकाश उर्फ विनोद आले मगर, सोही स्थानका ३२ वर्षीय रिक्सन उर्फ श्याम तामाङ, मकवानपुर फापरबारी घर भई हाल ललितपुर हात्तीवन बस्ने ३५ वर्षीय बालकृष्ण सारु मगर र बेथान्चोक–६ का ४२ वर्षीय सोनाम लामाविरुद्ध उक्त घटनामा संलग्न भएको अभियोग छ । प्रहरीका अनुसार पीडित तीर्थबहादुर लामाले बनेपाको बैंकबाट तीन महिनाको १२ हजार रुपैयाँ भत्ता निकालेका थिए । आफूसँग रहेको १४ हजार रुपैयाँसमेत गरी २६ हजार रुपैयाँ डायरीमा राखेर ज्याकेटको खल्तीमा राखेका थिए । बैंक जानुअघि नै केही युवाले आफूलाई पछ्याएको जस्तो लागे पनि उनले वास्ता गरेनन् । बैंकबाट रकम निकालेपछि बनेपा बसपार्कबाट काठमाडौं जाने बस चढ्दा तीमध्येका एक व्यक्ति उनको छेउमै बसे ।
    बस नालादोबाटो चोक पुग्नुअघि नै ती व्यक्ति ओर्लिएर भागे। पछि हेर्दा तीर्थबहादुरको खल्ती काटेर २६ हजार रुपैयाँ चोरी भएको खुलेको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा उक्त रकम चारै जनाले बाँडेर लिएको खुलेको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न भनिएका व्यक्तिहरू पनि विगतमा चोरी तथा बगली मार्ने घटनामा सजाय पाइसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ । आकाश उर्फ विनोद आले मगरलाई यसअघि चोरी मुद्दामा २०७९ फागुन २५ गते दुई वर्ष तीन महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तथा अर्को चोरी मुद्दामा २०८३ असार ९ गते २० दिन कैद र २० हजार रुपैयाँ जरिवाना भएको थियो । त्यस्तै, रिक्सन उर्फ श्याम तामाङलाई चोरी मुद्दामा २०८३ असार ९ गते २० दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना भएको थियो। सोनाम लामालाई २०७६ भदौ २२ गते बगली मार्ने मुद्दामा तीन महिना कैद र २५ हजार रुपैयाँ जरिवाना भएको प्रहरी अभिलेखमा उल्लेख छ ।

९० हजार रुपैयाँ बसभित्रै लुटियो
    सोहि समूहविरुद्ध अर्को चोरीको उजुरीसमेत परेको प्रहरीले जनाएको छ । रामशरण सार्कीको जाहेरीका आधारमा अनुसन्धान भइरहेको उक्त घटनामा आकाश उर्फ विनोद आले मगर, रिक्सन उर्फ श्याम तामाङ, बालकृष्ण सारु मगर र सोनाम लामा संलग्न रहेको आरोप छ । २०८३ असार ३० गते मलेसियाबाट नेपाल आएका रामशरणले विमानस्थलमा डलर साटेर नेपाली ९० हजार रुपैयाँ साथमा बोकेका थिए । उनी भक्तपुरको सूर्यविनायकबाट मयुर यातायातको बस चढेका थिए । बनेपाको पुलबजार नजिक पुग्दा युवाहरूको समूहले बसभित्रै घेरा हाली उनको खल्ती काटेर ९० हजार रुपैयाँ चोरी गरी फरार भएको जाहेरीमा उल्लेख छ ।
तामाको तार र फलामका सामान चोरी
    पनौतीमा निर्माण सामग्री राखिएको गोदामबाट तामाको तार तथा फलामका सामान चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । कृष्णप्रसाद घिमिरेको जाहेरीका आधारमा प्रहरीले भारत घर भई पनौती–६ मा डेरी सञ्चालन गरी बस्ने २६ वर्षीय रमेशकुमार मण्डल र झापा घर भई पनौती–६ बस्ने २१ वर्षीय उपेन्द्रकुमार ताजपुरियालाई पक्राउ गरेको जनाएको छ । पनौती–६ ठाडोबाटोस्थित रोशन कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको सामान भण्डारण गर्ने गोदामबाट साउन ११ गते दिउँसो ५८० ग्राम तामाको तार, तामा निकाल्न बाँकी रहेको ४७० ग्राम सामग्री तथा फलामको पिलास चोरी भएको थियो ।
सजायले पनि नछुटेको अपराध 
    काभ्रेमा पछिल्ला यी घटनाले चोरीमा संलग्न केही व्यक्तिको अपराधको चक्रमा प्रहरी पक्राउ, अदालतको फैसला र कैद भुक्तानपछि पनि पुनः उही प्रकृतिको अपराधमा फर्किने प्रवृत्ति देखाएको छ । विशेषगरी सार्वजनिक यातायात, बैंक तथा भीडभाड हुने स्थानमा समूह बनाएर बगली मार्ने र चोरी गर्ने घटनामा एउटै व्यक्तिहरू पटक–पटक जोडिनुले चुनौती थपिएको प्रहरीको अनुसन्धानबाट देखिन्छ । कानुनी कारबाहीसँगै जेलबाट छुटेका व्यक्तिहरू पुनः अपराधमा नफर्किने वातावरण, रोजगारी तथा सामाजिक पुनस्र्थापनाका उपाय र चोरीका घटनाप्रति नागरिकको सचेतना बढाउनुपर्ने आवश्यकता पनि यी घटनाले औंल्याएका छन् ।