2026 August 28/ 01:30: 08pm

    काठमाडौ/रसुवामा बुधबार बिहान आएको विनाशकारी बाढीको सम्भावित कारण नेपाल–चीन सीमाक्षेत्रमा गएको हिम–चट्टान पहिरो हुनसक्ने प्रारम्भिक अध्ययनले देखाएको छ । 
    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिर विश्लेषणका आधारमा गरेको प्रारम्भिक अध्ययनअनुसार नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वतर्फ नेपाल–चीन सीमाक्षेत्रमा हिम–चट्टान पहिरो गएको देखिएको हो । पहिरोका कारण ल्हेन्दे खोलामा ठूलो मात्रामा पानी र गेग्य्रान मिसिएर एक्कासि बाढी आएको र बाढी टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ । खोलामा एक्कासि ठूलो मात्रामा पानी तथा गेग्य्रान मिसिएर आएको बाढीले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको प्रारम्भिक निष्कर्ष छ ।
    प्राधिकरणका अनुसार स्याटेलाइट तस्बिरको विश्लेषणबाट रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको नेपाल–चीन सीमाक्षेत्रमा हिम–चट्टान पहिरो गएको देखिएको हो । यही पहिरोका कारण ल्हेन्दे खोलामा आएको गेग्य्रानसहितको बाढी टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको देखिएको प्राधिकरणले जनाएको छ । चीनको तिब्बततर्फबाट आएको बाढीले रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पु¥याएको छ । बुधबार बिहानसम्म बाढीमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा नागरिक सम्पर्कविहीन छन् । प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ । 
    बाढीले रसुवाको टिमुरे, धुन्चे, स्याफ्रुबेसी, मैलुङलगायतका क्षेत्रसँगै बेत्रावती र त्रिशूली नदी आसपासका बस्तीमा ठूलो क्षति पु¥याएको छ । बाढीले घर, सडक, पुल, विद्युत् आयोजना, खानेपानी संरचना तथा अन्य भौतिक पूर्वाधारमा व्यापक क्षति पु¥याएको छ । बाढी प्रभावित क्षेत्रमा खोलाको सतहभन्दा करिब २७० फिट माथिसम्म पानी तथा गेग्य्रान पुगेको स्थानीयले बताएका छन् । कतिपय बस्तीमा घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने कतिपय नागरिकको अवस्था अझै अज्ञात छ । ज्यान जोगाउन स्थानीयहरू सुरक्षित स्थान तथा डाँडाकाँडामा आश्रय लिन बाध्य भएका छन् । 
    रसुवागढी क्षेत्रको भन्सार कार्यालयसमेत बाढीबाट ठूलो क्षति पुगेको छ । टिमुरे तथा आसपासका क्षेत्रमा बाढीपछि संरचनाहरू ध्वस्त भएका छन् । जलविद्युत् आयोजनाका संरचना, सडक र पुलहरूमा क्षति पुगेकाले प्रभावित क्षेत्रमा आवतजावत र उद्धार कार्यसमेत चुनौतीपूर्ण बनेको छ । बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार तथा खोजी कार्यमा परिचालित भएका छन् । तर रसुवा, नुवाकोट र धादिङका ठूलो भूभाग प्रभावित भएकाले सबै क्षेत्रमा तत्काल उद्धार टोली पुग्न कठिनाइ भइरहेको छ ।
    बाढी प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्था तथा स्थानीय तहले समेत उद्धार, राहत र पुनःस्थापनाका लागि समन्वय थालेका छन् । अहिले प्राथमिकता बेपत्ताको खोजी, घाइतेको उद्धार, विस्थापितलाई सुरक्षित स्थानमा राख्ने तथा प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पु¥याउनेतर्फ केन्द्रित गरिएको छ । यसैबीच बाढीको वास्तविक कारण, क्षतिको विस्तृत अवस्था तथा सम्भावित जोखिमबारे थप अध्ययन आवश्यक छ । प्रारम्भिक अध्ययनले हिम–चट्टान पहिरोलाई सम्भावित कारणका रूपमा औँल्याए पनि घटनाको विस्तृत प्राविधिक अध्ययनपछि मात्रै बाढीको कारण र प्रकृतिबारे थप स्पष्ट हुने देखिन्छ । हजारौ ब्यक्ति अझै सम्पर्क विहिन छन् । सुरक्षाकर्मी, कर्मचारी तथा सर्वसाधारण पनि सम्पर्क विहिन छन् ।