2026 June 27/ 03:09: 16am

चैत्र सकिन लाग्यो । बैशाख महिनामा आमाको मुख हेर्ने समय छ । हरेक आमाहरु महान् हुन्छन् । महान आमाहरुको ब्याख्या जसरी गरे पनि कमी हुन्छ । तर हरेक वर्षका औंसीहरु यादलाग्दा हुन्छन् । झस्काउने खालका छन् । हरेक पलमा आमाको महत्व थाहा छ । तर त्यो समयमा आएका यादहरुले झनै पीडा थपिदिँदो रहेछ । मानव जगतमा आमा जस्तो प्रिय लाग्ने चीज सायदै अरू कुनै छैन होला । हामीले अनुभव गरेकै हो बाटोमा हिँड्दा हामीलाई केही सानो दुखाई हुन गयो भने पनि त्यो दुखाईले आमाको सहयोग मागेको हुन्छ । कुनै नराम्रो घटना हाम्रो आँखाले देख्न पुग्यो भने पनि आमा भन्न त्यो दृश्यले बाध्य गराएकै हुन्छ । त्यसैगरी कुनैपनि असहज काम गर्नुपरेको बेलामा पनि आमालाई सम्झिएकै हुन्छाँै । त्यो सम्झाइले हामीलाई आफ्नो कार्यसम्पादनमा हौसला मिलेको हुन्छ । अबोध बालक रुँदा पनि आमालाई सम्झी सम्झी रोएको हुन्छ । यसरी हाम्रो जीवनमा आमाको महत्व अथाह भए पनि यदाकदा हामीले तदनुरूपको आचरण एवं व्यवहार गरेका छैनौँ कि भन्ने तर्फ एकचोटी सोच्नै पर्दछ । 
    कसैलाई आमा भएर तनाव भएको देख्छु । कसैलाई आमा नभएर तनाव देख्छु । आमा भएकाहरुले बृद्धाश्रममा लगेर छाडिदिएको, सडकमा भौतारिएको देख्छु । आमा भन्ने शब्द मानवदेखि जनावरसम्मलाई उत्तिकै प्रिय लाग्ने शब्द हो । बालक जन्मिएपछि जब उसको तोते बोली फुट्छ, सर्वप्रथम उसले उच्चारण गर्ने शब्द आमा नै हो । हामीलाई अकस्मात कुनै आपत् आइप¥यो भने पनि फुत्त मुखबाट निस्कने शब्द आमा नै हो । कुनै समस्या आइपरेको समयमा पनि लौन आमा के गर्ने भनी हामी आमालाई ठूलो ठूलो स्वरले चिच्याएकै हुन्छौं । बालक कालमा कसैसँग झै–झगडा हुँदा मेरी आमालाई ल्याउँछु भनेर ताकत पनि देखाएकै हुन्छौँ । दैनिक जीवनमा पनि आमालाई उच्च मान्यता दिएको सुनिन्छ । 
    आमा शब्द मानवसँग मात्र सम्बन्धित भएको हुँदैन । पशु तथा जनावरसँग पनि त्यत्तिकै सम्बन्ध रहेको हुन्छ । कुनै पशुले बच्चा जन्माएपछि केही समयको अन्तराल पछि नै आमालाई सङ्केत गरी बोलाएको हुन्छ । चराचुरुङ्गीले पनि बेला बेलामा च्याँ च्याँ गरी आमालाई नै बोलाएको हुन्छ । अन्य जीव जन्तुहरूले पनि आमालाई विभिन्न रूप र तरिकाबाट खोजेकै हुन्छन् । प्रथम सृष्टिकर्ता एवं पहिले देखिन आउने वस्तु आमा भएको हुनाले यी दुई बीच प्रगाढ माया, ममता तथा स्नेह हुन गएको हो । आमा भन्ने शब्द यो संसारमा सबैका लागि उत्तिकै प्रिय हुन पुगेको छ । विश्व इतिहासलाई अध्ययन गर्ने हो भने पनि ठूला ठूला साहित्यकारहरूले पनि आमालाई मुख्य स्थान दिएका छन् । आमाको माया कति अगाढ हँुदो रहेछ भन्ने कुरा भनी साध्य नै छैन । स्थलचर, जलचर सबैमा उत्तिकै हुँदो रहेछ । एउटा बाँदरर्नीले मरेको छाउरोलाई पिठ्युँमा बोकेर हिँडिरहेकी हुन्छे । यसरी समातिरहन उसलाई गाह्रो पर्न थाल्यो । आफ्नो पेटमा एक हातले च्यापेर अर्काे हातले टेक्दै हिँडिरहेकी हुन्छे । मरेको शरीर गह्रँुगो हुने हुँदा उसले बोकेर हिँड्न नसकेर सडकको एकान्त कुनामा मृत बच्चालाई एकोहोरो हेर्दै आँखाभरी आँशु भएको दृश्य यदाकदा देख्न पाइन्छ । जनावरहरुले त सन्तानप्रति यति ठूलो माया देखाउँछन् भने हामी मानव प्राणीले देखाउनु त के ठूलो कुरो भयो र ?
    हाम्रो धर्म, संस्कृति, शास्त्रमा पनि आमालाई महत्वपूर्ण स्थान दिइएको पाइन्छ । मातृ देवो भवः पितृ देवो भवः भन्ने प्रचलनले पनि आमालाई उच्च आदर एवं सम्मान गर्नुपर्ने भाव झल्किएको छ । आजभोलिका कवि कवयत्रीका रचनाहरूमा पनि आमाका बारेमा धेरै नै रचना भएका छन् । यी सबै सर्जकहरूलाई आमाप्रतिको प्रेम भएको कारणले नै होला । आमालाई घृणा गरेर वृद्धाश्रममा बेवारिसे अवस्थामा छोडेका र लाउन खान नदिएर विचल्लीमा पारेका घटना पनि नदेखिएका होइनन । यद्यपि सबै मानिसको भावना, विचार तथा व्यवहार एउटै हुँदैन । जेहो आमाले जति आफ्ना सन्तानलाई माया गर्छिन् सन्तानले निश्चय नै त्यति गरेका हुँदैनन् । आमालाई आदर गर्ने चलन परापूर्व कालदेखि नै चलि आएको पाइन्छ । घरबाट टाढा जाँदा वा बाहिरबाट घर आउँदा आमालाई ढोग गरी आशीर्वाद लिने प्रचलन हामीहरूले मानी आएकै छौँ । यो प्रचलनले एकातिर आमा छोरामा आगाध माया ममता बस्न जान्छ भने व्यक्तिको आचरणमा पनि सुधार भएको हुन्छ । पूर्वीय दर्शनमा आमालाई उच्च स्थानमा राखी आएको छ । बाल्यकालमा आमाले दुःखकष्ट एवं विभिन्न हण्डर खाएर आफ्ना सन्तानलाई हुर्काएकी हुन्छिन् । पछि आमा वृद्ध भएको अवस्थामा छोराछोरीले पनि आमाले जस्तै माया तथा प्रेम गरून् भन्ने नै हाम्रो हिन्दु धर्मको मुख्य मर्म रहेको पाइन्छ । त्यसैले हाम्रा धर्मशास्त्रमा पनि आमा बाबुको कर्तव्य र छोराछोरीले गर्नुपर्ने आचरणबारे उल्लेख भएको पाइन्छ । पश्चिमी संस्कारमा अशक्त आमा बाबुलाई घरमा राख्दा त्यति स्याहार सुधार नपुग्नेदेखि स्याहार सुसार केन्द्रमा लग्ने प्रचलन बढ्दै गएको छ भने नेपालमा भने सकभर आफ्नै घरमा राखेर हेरचाह गरिन्छ । बाध्यात्मक अवस्थामा मात्र आश्रममा लगिने गरिन्छ । यसरी नेपालमा मात्र हैन, अन्य देशहरूमा पनि आमालाई विशेष स्थान दिई आदर गरेको पाइन्छ । 
    जीवन र जगत्मा आमाको माया अपरम्पार नै छ । जीवजन्तु तथा जनावरले समेत आफ्ना बच्चालाई कसरी माया गरेको हुन्छ भन्ने कुरा हाम्रा आफ्नै आँखाले देखेकै छौँ भने हामी त विवेकशील मानव प्राणी हौँ, हाम्रो कर्तव्य नै हुन्छ, आमालाई माया गर्नु । तर हामी अभागी बालक हौ । जसले आमाको माया पर्याप्त प्राप्त गर्न सकेनौं । आमा को हो ? आमाको माया कस्तो हुन्छ ? मायाको धित मर्नै नपाई बालखैमा च्याट छोडेर परलोकीएकी आमाको आभाषले कहिलेकाहीँ अश्रुधारा अविरल बगाई दिंदो रहेछ । आमाको काखमा लुटपुटिएर खेल्ने बेलामा घरधन्दा, दाईको पढाई, बैनीको रेखदेख र मेरो विदुर बाबुको जिम्मेवारीको भारीले उठ्नै नसक्ने गरि थिचेछ । यसो टाउको उठाउन खोज्दा पारिवारिक बन्धनमा जेलिई सकेछु । आमा गुमाएको केही दिनमै कमाई भएका दाजुहरू पनि आफ्नो परिवारको जिम्मेवारी बोक्नु पर्ने भएकोले आफ्नो बाटो लाग्नै पर्ने भएर होला दुनो सोझ्याईहाले । जग्गा जमिन प्रशस्त भए पनि चल पुँजी हातमा नहुँदा कहिलेकाहीं बा को ओईलाएको अनुहार हेरेर दिक्क लाग्थ्यो अनि बालाई सम्झाउने शब्द थिएन अनि दगुरेर घरको कोठी, आँटी, बगिया जताततै धाउँथे । हरेक कुनाकाप्चामा आमाको अनुभूति गरेर फर्किन्थें र कुनै न कुनै उट्पट्याङ लाएर बालाई हसाउँथें तर दाँत देखाएर त हांँस्नुहुन्थ्यो बा मन खोलेर हैन त्यो बेलाको पीडा शब्दमा लेख्न कहाँ सकिन्छ र ?
    हामी त यनकेन साथीहरूसँग एकछिन गफिएर, हांँसेर पीडा बिर्सिदिन्थ्यौं । बा को त गफिने साथी पनि थिएनन् कि या गफिन चाहनु हुँदैनथ्यो एक्लोपनमा रमाउन खोज्नु हुन्थ्यो । बुढेसकालका एकल बाआमाहरूमा हरेकलाई पर्ने एउटा जटिल समस्या यो रहेछ कि हामी सन्तान घरमै भए पनि उहाँहरूले कहिलेकाही बिगतका कुरा खोलेर बोल्न खोज्दा नसुनिदिने । कमसेकम दैनिक नभए प्रत्येक दुई पाँच दिनमा यसो एक घण्टा समय दिएर उहाँहरूका मनमा लागेका कुराहरू छताछुल्ल पोख्न दियौं भने पनि कम्तिमा २ सय प्रतिशत खुशी महसुस गर्नु हुँदो रहेछ । तर मेरो बाको अवस्थामा त यस बिषयमा हामी अपराधी नै बन्यौ जस्तो लाग्छ । बाको लागि आत्मीय साथी थियो त केवल तासको ५२ पत्ती । उसले इमानदारी साथ बालाई साथ दिन्थ्यो । बाका सबै कुरा सुन्थ्यो । खेल्थ्यो कहिले बालाई जिताउँथ्यो त कहिले बाजी आफ्नै पोल्टामा पाथ्र्याे । बाको लागि साईत जुराइदिन्थ्यो । भनौं त बाको ईमान्दार साथी ५२ पत्ती तास । मलाई अहिले पश्चात्ताप लाग्छ किन त्यो निर्जिव कागजको पत्ता जतिको पनि मर्म नबुझ्ने अज्ञानी छोरी बनेछु भनेर । वास्तवमा सन्तानको भूमिका त त्यो तासले पो निर्वाह गरेछ ।
    बाको एकलास जिन्दगी, हामी पढ्दै गरेका चौतारा, कमाई कसैको नाई । अलिकति अभाव खट्किन थाल्यो । मेरा बा जिजुबाउका बुढेसकालका एक्ला सन्तान । धनसम्पत्ति, लाउनखान राम्रै पुगेका, अलि मत्त, दुःखको खासै अनुभूति नगरेका मैमत्त नै अरे । आमाले नै भनेको सुनेका हामीले । खै कुन्नी के मनमा आयो सातवटा छोराछोरीको जिम्मेवारी गह्रौं भयो कि के मुड चल्यो २०३८ सालमा तराई झार्नु भयो । तराई झरेको तीन बर्ष पनि नपुग्दै आमालाई क्यान्सरले च्याप्यो । धामी झाँक्री त कति भयो कति अन्तमा मिसन अस्पताल तानसेनले क्यान्सर घोषणा गरिदियो त्यो पनि अन्तिम अवस्थाको । अनि शुरू भए हाम्रा दुःखका दिन । त्यसपछि मैले मेरो बाउको मुहारमा खुशी देखिनँ । दिनहरू त किन पर्खन्थे र एकदिन ठूलाबाले आएर मलाई नै भन्नु भो छोरी तैंले घरको काम खेती, पढाइ कसरी हेर्छेस् ? कमाउने सबल दाईहरू पाखा लागिहाले, तिमीहरूलाई पनि दुःख भयो बा एक्लो भयो अर्काे बिहे गर्ने अनुमति मैले तिमीसंँग माग्छु । म छाँगाबाट खसें किनकी त्यो बेला सौतेनी आमा भनेको दुनियाँमा सबैभन्दा खराब, अपराधी, ज्यानमारा, असत्ती, राक्षस हुँ भन्ने मान्यता थियो मेरो । मलाई मेरो मतलब थिएन बैनी थिई सानी उसको अनुहार हेरें अनि चुप लागें । ब्लुका बालाई जिन्दगीमा सायद त्यति तुच्छ गरि कसैलाई बोलें होला । मैले बालाई बिहे गर्ने बैँस जागेछ बिहे गर दुलही लिएर ईन्डिया जाउ, जिरा मसला कमाउ तर यो घर छोराछोरी छन् भनेर जीवनमा नफर्कनु नि भन्दिए तर आमा बिनाको ३० बर्षको बाको जिन्दगी देखेर म आफुलाई पटक पटक धिक्कार्थें । आज आएर लाग्छ बाको त्यो ३० बर्षको खुशी खोस्ने मुख्य अपराधी म हुँ । त्यो बेला बालाई बिहे गर्न दिएको भए कमसेकम दुःखसुखको मेलो साटासाट गरेर केही सहज जिन्दगी जिउनु हुन्थ्यो होला । ३० बर्षको एकल जिन्दगी कसरी बित्यो होला ? हामी बाको साथी किन बन्न सकेनौ ?
    आमाको आवश्यकता र महत्व यहाँ पनि खट्क्यो । हामी त टुहुरा भयौं भयौं बा समेत टुहुरो हुनुभो । आज कसैले शिरमा हात राखिदिदाँ, म सुतेको बेला कम्बल ओढाई दिँदा आमाको अनुभूति गर्छु बा प्रत्यक्ष साथमा भयको महसुस गर्छु अनि नाटकी निद्रासँग बा–आमाको छातिमा लिप्त हुन्छु । 

सज्जल शर्मा
हालः काठमाडौं