2026 June 27/ 03:08: 55am

    गाउँमै जन्मिएँ गाउँमै हुर्किएँ तर गाउँघर डाँडापाखा छाँगा छहरासँग राम्ररी परिचित हुनै पाईन । वर्षाैं पछि घुमघामकै शिलशिलामा गुराँसेतिर प्रस्थान गरेको थिएँ । गुराँसे चिङ्गाड क्षेत्रमै चर्चित झरना हो । उत्तरगंगा नदी यसको मुहान हो भन्ने सुनेको थिएँ त्यसैले पहिला उत्तरगंगा भएरै गुराँसे तिर जाने योजना बनाएँ । डाँडापाखा वनजंगल छिचोल्दै म उत्तरगंगा पुगें । लेकसाइड तिर त्यो पनि हिउँदको समय एकदमै चिसो र सुनसान थियो । चराचुरुङ्गीको चिरविर चिरविर र उत्तरगंगाको सुसावट बाहेक अरु कुनै आवाज सुनिदैन्थ्यो । उत्तरतिर बग्ने नदी भएकोले उत्तरगंगा भन्दा रहेछन् । कतातिर बगिरको थियो एक्छिन त मलाइ ठम्याउनै गाह्रो भयो । पछि पत्ता लगाए सुरुमा तलबाट माथि तिर गएर फेरि घुमेर पल्लोपटिबाट तल्तिर झरेर गुराँसेमा मिल्दो रहेछ ।
    उत्तरगंगालाई छिचोल्दै गुराँसेतिर जाँदै गर्दा पल्लोपट्टिको भिरमा विरहको गीत गुन्जिरहेको कुनै महिलाको आवाज सुनियो । गुराँसे हेर्न भनी ओरालो लागेको मलाई तिनै महिलाको विरह भाकाले बिर्साइदियो । मनमा उनलाई भेटेर उनको कहानी सुन्ने हुटहुटि चल्न थाल्यो । नजरमा पारि पाखा पट्टि घाँस काटिरहेकी महिला आइन् । म पनि त्यतैतिर लागें । हेर्दा उनी एकदमै गरिब जस्ती लाग्थिन् । झुत्रेझाम्रे तर सेता कपडा लगाएकी थिइन् । उनी एकल महिला रहेछिन् । मैंले उनिसँग कुरो गर्ने प्रसंग नै पाइनँ । म उनलाई सुन्दै थिएँ । उनले मेरो प्रश्नको जवाफ दिएर मलाई केही प्रश्न गरिन् । नानी  कहाँबाट आउनु भाको नि ? घर कता प¥यो र ? कहाँसम्म जानलाइै पाल्नु भएको ? अरु साथी संगीहरू पनि कोही रहेनछन्, एक्लै यत्रो जंगलको बाटो ? एकछिन घाँस काट्न छोडेर उनले एक टकले म तिर हेरेर प्रश्न माथी प्रश्न बर्साउन थालिन् । मैंले भने ‘दिदी, मेरो घर त पहिला यही गाउँमै थियो । बचपन यतै गुज्रेथ्यो । उतिबेला बनजंगल डाँडापाखा छाँगा छहरा घुम्न त्यति फुर्सद भएन । अहिले सहर तिरै बस्न थालेसी गाउँ–ठाउँ घुम्न सारै रहर लाउँछ । त्यसैले त्यस्तै घुमघाम गर्दै आएँ । 
    सानै छँदा बा बित्नुभयो । त्यतिबेला सायद ६÷७ वर्षकी हुँदी हुँ । अझ भाई त भर्खर जन्मिएको थियो । बा नभएसी हामी त आधा टुहुरा भइसकेका थियौं । घरमा समस्यै–समस्या थियो । उहिलेको जमाना एउटी विधवा आईमाईलाई घर गरी खान त्यति सहज कहाँ थियो र ? र पनि आमाले ज्यूँ–त्यूँ गरेर हामीलाई हुर्काउने र बढाउने गरिन् । घरमा सबै भाइबहिनी सानै थियौं । गरिखाने भैसकेका भए पनि त आमाको अलि श्वास आउँदो हो । काका काकी भए पनि नभए जस्तै गर्थे । त्यस्तै दुःख पीडा खपेर नि आमाले हामीलाई टुहुरा बन्न दिइनन् । दिन त्यसैगरी गुज्रिदै गए । मेरो उमेर नि छिप्पिदै गयो । इण्डिया तिर कमाउन जानेहरूलाई उतिबेला लाहुरे भन्थे । घरमा कोही लाहुर गएर पैसा कमाई रहेको छ भने त्यतिबेला उसको घर अलि हुने खाने दर्जामै गनिन्थ्यो ।
    एकदिन भिनाजुसँग उनी हाम्रो घरमा आए । भर्खर लाहुरबाट आएका रहेछन् । टाढा टाढाबाट भिनाजुको नातागोता पर्नेवाला रहेछन् । उहाँले नै आमासँग भन्नु भएको थियो । माइलीलाई विवाह गरि दिए कस्तो होला ? केटो इमान्दार छ । अलि–अलि पढेलेखेको नि छ । लाहुर गएर पैसा कमाउनेसम्म भइसक्यो । अस्ति भर्खर मात्र आएको लाहुरबाट । आमाले पनि नाँइनास्ती गरिनन् । हुर्के बढेकी छोरी । सधैं माइतमै बस्ने होइन । एकदिन त अर्काको घर जानैपर्छ । राम्रै कुटुम्ब भएपछि नाइँ कसरी भन्नु र ? आमाले स्वीकृती दिएपछि मैले पनि नाइँ भन्ने कुरो भएन । त्यसैदिन हाम्रो विवाह भयो । विवाह भइसके पछि अलि वर्ष राम्रोसँग बिते । विवाह भएको २÷३ वर्ष उनी लाहुर गएनन् । त्यसको केही वर्ष पछि माओवादी युद्धको त्रासले गाउँमा युवाहरू बस्नै छोडेका थिए । त्यसैले उनी पनि माओवादीको हप्की दप्कीबाट बचिने र अलि–अलि कमाई नि होला । उनि बम्बै तिर गए । देशमा अलि–अलि शान्ती छाउन थालेपछि उनी पनि घर फर्किने तयारीमा थिए । त्यसको दुई तीन दिन पहिला चिठ्ठी पठाएका थिए । गाउँमा पनि शान्ति हुन थालिसकेछ । दुई÷तीन वर्ष काम गरेर अलि–अलि पैसो पानी पनि जम्मा भएको छ । अब म छिट्टै घर आउँछु । अब त लाहुर तिर नआउने बरु यही पैसाले गाउँमै केही गरेर बस्नुपर्ला । त्यसदिन उनी घर फर्किदै रहेछन् । बम्बैबाट आउनेहरू प्रायः रेलगाडीमा आउँदा रहेछन । उनी पनि रेलमै आउँदै रहेछन । कानपुरमा रेलगाडी पल्टिएछ । रेलमा सवार कोही यात्रुहरू पनि बच्न पाएनछन् । उनी पनि त्यसै दुर्घटनामा परेर बिते । मेरो जीवनमा भने त्यसै दिनबाट ग्रहण लागिसकेको थियो । इन्जिन नै जलेर सबै सखाप भए पछि दाहासंस्कार गर्ने अस्तिसम्म पनि आएन । जेठो छोरा तीन वर्षको थियो । कान्छो गर्भमै थियो । सात महिना भइसकेको थियो । उनको पैंतालीस दिने कर्म भएको १०÷१५ दिनमै व्यथा लाग्यो । एकातिर श्रीमानको वियोगको पीडा अर्काेतिर प्रसव पीडा । म जीवन मृत्युको दोसाँधमै थिएँ । मलाई लाग्यो अब म बाँच्दिन । बाँचेर मात्रै के गर्नु थियो र ? जीवनभर पीडै पीडा त हो । तर ठूलो छोरालाई सम्झिन्थें । कथमकदाचित केही भइहाल्यो भने यो टुहुरोको के हाल होला ? भाग्यवश भनौं या अभाग्यबश त्यतिबेला म मरिनँ, बाँची हालें । अचेल लाग्छ बरु त्यतिबेलै मरिदिएको भए त यत्तिका दुःख पीडा खप्नुपर्ने थिएन ? कतिले सहानुभूतिको भावमा भन्थें । कठै विचरा यो वैशाखीको ?
    यो उमेरमै विधवा भएँ । एक्ला–एक्लै कसरी काट्ली दिन । आधाभन्दा नि ज्यादा जीन्दगी त बाँकी नै छ । कोही भने यस्तो भन्थे २४÷२५ वर्षमै विधुवा भई । यतिको जिन्दगी कसरी एक्लै काट्नु ? यो घरमा के हेरेर बस्ली वैशाखी । राम्रो घराना भेटाई भने कतै हिँड्ने त होलि ? तर उनीहरूको कल्पना कल्पनामै सीमित भयो । मैंले दोस्रो विवाह गरिनँ । उनको मृत्युको केही वर्ष त घरमा त्यति नराम्रो व्यवहार कसैले गरेनन् । तर २÷३ साल पछि भने सासु आमा दिन दिनै के के निउँ खोज्दै झगडा गरिरहन थालिन् । पहिला पहिला म माईतमा गएर आमाको काखमा गएर खुब रुन्थे बिलौना गर्थे । आमा भन्थिन् क्यार्छेस् त नानी । दैवले तेरो सुख देख्न सकेन । मेरो कर्म फुटिहाल्यो । आफ्ना सन्तान कसैलाई यो भाग नपरोस् भनेर देवीदेवता भागिरहन्थे तर मेरो भाकल देउताले सुनेनन् । यी आँखाले तँलाइ यो सेतो पहिरनमा देख्दा मलाई कति पिरोलिरहेको होला । नानी हिम्मत हार्नु हुन्न । तिनै छोराको मुख हेरेर चित्त बुझाएस् । कुनै दिन दिनदसा घुमिहालेछन् भने यी छोराले तेरो देखभार गरिहाल्लान् ।
    पछि त गाउँ घरमा नि सबै हेपिरहन्थें । कसैका बाल बच्चा पशु केही बिरामी परेर मर्दा नि मलाई दोष लगाएर गाली बेइज्जति गर्न थाले । तँ बोक्सीले आफ्नो पोइ त खाइस् खाइस् हामीलाई समेत नछोड्ने भइस् । घरमा झगडा गर्दा सासु भन्थिन् ‘तँ अलक्षिणी यो घरमा आएर हाम्रो सुख शान्ति सबै खोसिस् । तँ डंकिनी बोक्सीनीले मेरो छोरालाई खाइस् । अब एकदिन आफ्ना छोरा हामी सबैलाई खाने त होलिस् । निस्की जा यो घरबाट । एउटी नारीको लागि पतिको मृत्यु पछि त सबै राक्षस भन्दा नि कठोर व्यवहार गर्दा रहेछन । सासुसँग झगडा परेको त्यो रातभरी मलाइ निद्रा परेन । घरी–घरी याद आइरहन थाल्यो, ‘तँ अलक्षिणी बोक्सिनीले मेरो छोरालाई खाइस् । एकदिन हामीलाई नि त्यसैगरी खानेछस् । जा तुरुन्त निस्की जा यो घरबाट । कतिबेला लाग्थ्यो, यस्तो अत्याचार खपिरहनु भन्दा त दोस्रो विवाह गरेर आनन्दले बाँकी रहेको जिन्दगी काटुँ । कहिल्यै लाग्थ्यो, आत्महत्या नै गरेर प्राण त्यागी दिउँ । तर टुहुरा छोराहरूका निर्दाेष अनुहार हेर्थें । हैन हैन म यति ठूलो पाप कसरी गर्न सक्छु ? बरु आफ्ना बच्चा बच्ची लिएर ढुंगाजस्ता कठोर यिनीहरू भन्दा कतै टाढा गएर छोराहरूलाई हुर्काउँछु बढाउँछु । रातभरी यस्तै यस्तै तर्कनाहरू मनमा आइरहे ।
    विहान झिसमिसेमै आफ्नो कुम्ला कुटुरा बनाएर छोराहरूलाई लिएर माइत गएँ । अघिल्लो रात भएको घटना सप्पै बेलि विस्तार लगाएर आमालाई सुनाएँ । आमा अब म त्यो घरमा बस्न सक्दिनँ । आमा त मेरो काखमै घोप्टो परेर रुन पो थालिन । पछि भाई आएर भन्यो दिदी अब नरोउ । त्यो घरमा नजाने नै भए नि ठिकै छ नि । दुःख जेलो गरेर जसरी भए नि तिमीलाई अनि यी भान्जाहरूलाई लालन पालन गर्न नसकुला र मैले । भयो अब धेरै चिन्ता नगर ।
    भाइको वचनले मलाइ ढाडस त दियो तर छोरी मान्छे भएर जिन्दगी भर माइतमै कसरी बस्नु । फेरि एक्लै हो र ? यी लालाबालाको साथ । ठीक छ । अहिले त भाई एक्लो छ र त्यस्तो केही खटपट नहोला । पछि विवाह गरेसी अर्काकी छोरी आउली । के सधैं म यहाँ शान्तिले बस्न पाउँला ? अहँ हुनै सक्दैन । त्यसै दिनदेखि म एक्लै यतै लेकतिरै बस्न थालें । बच्चाहरु हुर्कँदै छन् । हेरौ भोलिको दिन जसरी चल्छ चलाउँला । तर महिलाहरुले भोग्नु परेका यस्ता कथा ब्यथा कति होलान् ? कहिले बुझ्ला यो समाजले ? 

रमिता ठकुरी
हालः काठमाडौं