समाज परिवर्तन भएको छ । मुलुकका कानूनहरु बदलिएका छन् । संविधान बदलिएको छ । राज्यका सबै संरचनाहरु बदलिएका छन् । तर मान्छे भित्रको मान्छे वा मानसिकता अझै बदलिएको छैन । जतिसुकै कडा कानून बनोस् जब मान्छे भित्रको चेतना बदलिँदैन तबसम्म मान्छे मान्छे होईन पशु हुन पुग्दो रहेछ । शिक्षा, गरिबी उन्मुलन, रोजगार भएर पनि मान्छेलाई पुग्दो रहेनछ । मान्छे भित्रको ऐस आराम र मोज मस्ति गर्ने रहर वा चाहनाले मान्छेलाई मान्छे बन्नबाट पनि रोक्दो रहेछ । थुप्रै घटनाहरु छन । प्रविधिको विकासले ल्याएका विकृतिहरुका पाटाहरु पनि छन् । प्रविधिकै कारण विकास र समृद्धिको यात्रा शुरु भएको पनि छ । तर पनि मान्छेहरुले प्रविधिको सदुपयोग भन्दा दुरुपयोग गरिरहेका छन् । कलकलाउँदो सन्तान, सुखी परिवार र ऐस आरामको जीवनलाई लात हानिरहेका छन् । विहान र बेलुका दुई गाँस खान पुग्ने अवस्थामा पनि मान्छे अभावमा भौतारिँदो रहेछ । सबैसँग यस्ता थुप्रै अनुभवहरु छन् । तर यहाँ मैले मेरो वास्तविक पीडालाई बताउन खोजेको हुँ ।
एउटी महिलाले घर छाड्दा वा सन्तानको भविष्य नहेर्दा कति संकट पर्छ ? भनि साध्य छैन । आमा जसले सन्तानको सबै चाहना पूरा गर्न नसके पनि त्यसको बाटो पहिल्याउने काम गर्छिन् । दुःखसुख उनले जति कसले भोगेकी हुन्छिन् । तिनै सन्तानले त्यो अनुभूति जबसम्म गर्न पाएका हुँदैनन् तबसम्म उनिहरुले आमा वा बुबाप्रतिको सद्भाव बुझ्न सक्दैनन् । हो बाबु सबै कुराले परिवारको मुख्य ब्यक्ति हुन पुग्छ । सन्तान हुर्काउन होस् वा महिलाका विविध पाटाहरुले पुरुषसँग केहि कुरामा प्रतिस्पर्धा गर्न सक्दैन । तर पनि महिलाहरुको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । सक्दैन । झण्डै ६ महिना अघि पहिलो पटक मैले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा श्रीमान्बाट पीडित भएँ भनेर निवेदन दिएको थिएँ । साविकको दोलालघाट गाविसमा मेरो कर्म घर छ । जन्म घर सिन्धुपाल्चोक जिल्लामा हो । श्रीमान्को अपार माया मैले पाईरहेकै थिएँ । विद्यालय जाँदा जाँदै हाम्रो चिनजान भयो । कक्षा ९ मा अध्ययन गर्दागर्दै उनको र मेरो प्रेम सम्बन्ध भयो । अहिले जस्तो थिएन । केटीसँग केटाहरु बोल्नु आकाश खसे जस्तै हुन्थ्यो । एउटै बेञ्चमा बस्ने, विद्यालय जाँदा आउँदा सँगै हिड्ने सम्भव पनि थिएन । त्यसका बाबजुत पनि उसको र मेरो प्रेम हेराहेरमा बस्न थाल्यो ।
कक्षा १० मा अध्ययन गर्दा गर्दै विवाहमा परिणत भयो । भर्खर १५ वर्षका थियौं । १६ वर्षमा हामीबाट एक सन्तानको जन्म भयो । कक्षा १० उत्तिर्ण भए पनि एसएलसी फेल भएँ । उ पास भयो । पास भए पनि उसले थप कक्षाहरु अध्ययन गर्ने सोच बनाएको थिएन । मैले कर गरेर उसलाई काठमाडौंमा अध्ययन गर्न पठाएँ । दोश्रो पटक एसएलसी दिने कुरा सम्भव भएन । पेटमा गर्भ थियो । अध्ययन गर्ने वातावरण पनि बनेन । माईतीमा स्वीकार्न कठिन भयो । आफु खुशी विवाह गरेको कुराले बुबा आमा, दाजु भाउजु खुशी हुन सक्नु भएको थिएन । सन्तान न हो केहि समय पछि मलाई माईतीमा बोलाउनु भयो । श्रीमान् र म दुवैजना पहिलो पटकको दशैंमा नै माईती पुगेका थियौं । उसले काठमाडौंमा पुगेर सरस्वती क्याम्पसमा भर्ना गरेको रहेछ । विहान केहि काम गर्ने र साँझ मात्रै क्याम्पस जाने योजना अनुसार उसले भर्ना ग¥यो । थोरै पैसा लाग्थ्यो । घरबाट पनि सहयोग भएको थियो । मैले माईतीमा जम्मा गरेर राखेको पैसा पनि उसको भर्ना गर्ने समयमा पठाएको थिएँ । घरमा दुईवटा भैंसी थिए । आम्दानी पनि हुन्थ्यो । उ परिवारको जेठो सन्तान भएकाले परिवार प्रतिको उसको दायित्व धेरै थियो । म जेठी बुहारी तर आमाजुहरु भन्दा कम उमेर थियो । उसका दिदीहरु विवाह गर्न बाँकी नै हुनुुहुन्थ्यो । म त्यो घरमा बुहारी भन्दा पनि कान्छी छोरीको रुपमा स्थापित हुन सकें । जसले मलाई १६ वर्षको कलिलो उमेरमै बच्चा जन्माउँदा पनि सहज भयो । अर्काे वर्ष फेरी मैले छोरोको जन्म दिएँ । नारीहरुको जीवन आफुले चाहँदा मात्रै केहि हुँदो रहेनछ । लगातार सन्तान जन्माउँदा मेरो स्वास्थ्य कमजोर भएको थियो । वास्तवमा महिलाहरु सन्तान उत्पादन गर्ने कारखानाका रुपमा पुरुषहरुले लिँदा रहेछन् । तर पनि मान्नु र स्वीर्कानुको विकल्प थिएन । अर्काे सन्तान जन्मला भनेर मलाई माईती र घरबाट पनि सल्लाह दिईएको थियो । त्यसपछि मैले दु्ई सन्तान भए पुग्ने निश्कर्षमा अन्य सन्तान नजन्माउने निर्णय गरें । घर परिवारमा मलाई राम्रै थियो । उसले काठमाडौमा शुरुमा घर निर्माण गर्ने काममा मजदुरी गरेको रहेछ । थोरै कमाई, डेराको बसाई, साँझको कलेज । संघर्ष थियो उसको जीवनमा । मेरो भरपुर सहयोग र साथ त हुने नै भयो । प्रेम पछिको विवाह । एक महिनामा मात्रै घर आउने गरेका थिए उनी । सन्तान हुर्कँदै गए । उसको अध्ययन पनि सकियो । त्यो बीचमा उसले गाडी चलाउन पनि सिकेको रहेछ । लाईसेन्स पनि निकालेर गाडी चलाउँदा धेरै कमाई हुने भन्दै निर्माणको काम छाडेर गाडी चलाउन लागेको बताए । कार्यालयहरुमा बसेर काम गर्ने अवस्था पनि भएन छ । खोज्दा कसैले काम नै दिएन । सबैतिर अनुभव माग्दा माग्दै सम्भव भएन । केहि समय पत्रिका विक्री गर्ने काम पनि गरेको रहेछ । काठमाडौमा एक्लै बसेर संघर्ष गर्नु भन्दा अब सँगै बस्ने भन्दै हामी परिवार नै काठमाडौमा बस्ने निर्णय ग¥यौं । चावहिल क्षेत्रमा हाम्रो पहिलो डेरा थियो । यता घरमा भाईको पनि विवाह भएकाले मलाई घरमा बुबा आमालाई छाडेर हिड्न सहज भयो । मलाई सानै देखि छोरीको रुपमा हुर्काउने र पारिवारीक रुपमा संघर्ष गर्न सिकाउने सासु ससुरा प्रति मेरो जहिल्यै नमन छ । जन्म दिने बुबा आमा जतिक्कै कर्म दिने बुबा आमा र परिवार कहिल्यै विर्सन सकिदैन ।
काठमाडौंमा केहि संघर्ष भए । छोराछोरी हुर्कदै गए । विद्यालयमा भर्ना गरियो । सरकारी विद्यालयमा भर्ना गर्दा खासै पैसा नलागे पनि अलि अलि खर्च हुन्थ्यो । उनी नियमित गाडी चलाउन जान थाले । म बच्चाहरुलाई विद्यालय पठाएर दिउँसो फुर्सदमा कोठामै बसेर सुईटर बुन्ने, चकलेट बटार्ने गर्न थालें । ब्यक्तिगत खर्च गर्न मन लाग्दा उनिसँग किन माग्नु भन्ने सोच आयो । मेरो आम्दानीले डेरा भाडा तिर्न, छोरा छोरीको अध्ययन र कोठाको अन्य खर्च धान्न थाल्यो । उसको कमाई बचत गर्ने र केहि घरमा पनि पठाउने गरेका थियौं । थोरै थोरै बचत भएको पैसाले जमिन किन्यौं । त्यहि नजिकै भएकाले सहज पनि भयो । हामी डेरामा बसेको लामो समय भई सकेको थियो । त्यो डेरामा बस्ने अर्काे परिवार पनि थियो । तिनीहरु हाम्रै डेरा अघि घर किनेर बस्न थालिसकेका थिए । तर पनि हाम्रो सम्बन्ध राम्रो थियो । त्यो घरमा बस्ने श्रीमान् असाध्यै सोझा थिए । श्रीमती अलिक चलाख । मेरा श्रीमान विहानै उठेर गाडी लिएर जान्थे । हामीले घडेरी किने सँगै त्यहि घडेरी बैंकमा धितो राखेर सानो मिनी टाटा किनेका थियौ । मेरो श्रीमान् र त्यो महिलाको घनिष्टता बढ्न थालेछ । मलाई त खासै चासो पनि थिएन । मसँग पनि उनि उत्तिकै मिल्ने गरेकी थिईन् । हाम्रो घरमा आउजाउ राम्रै थियो । बीचमा उनी विदेश जाने तयारी गरिन् । उनका सासु ससुरा पनि असाध्यै सोझा थिए । उनिहरु सबैलाई उनले आफ्नो नियन्त्रणमा राखेकी थिईन् ।
प्रविधि र गलत प्रयोग । उनको बानीले म हैरानी हुन थालें । उनले कमाएको पैसा पनि विस्तारै दिन छाडेका थिए । हामी हाम्रो परिवार कसरी अगाडी बढाउने भन्ने योजना बनाई रहेका थियौ । उनिहरुको सम्बन्ध कसिलो हुन थालिसकेको रहेछ । विदेश जाने त उसको र मेरो श्रीमानको सल्लाह रहेछ । नपुग्दो केहि थिएन उनलाई तर पनि सम्बन्ध बाहिरिने डरले उनलाई विदेश पठाएर निरन्तर सम्बन्ध कायम राख्ने योजना उनी विदेशबाट आए पछि खुल्यो । चार वर्ष विदेश बसेर आए पछि उनले मेरा श्रीमानलाई हडप्न थालिन् । मसँग दिदीको नाता लगाउँदै लामो समय देखि चिनजानको सम्वन्ध सौतामा परिणत हुने अवस्था आयो । सम्बन्ध रहन दिउँ आफु अन्यायमा पर्ने । नदिउँ श्रीमान्लाई जेल कसरी पठाउँ । उनले संघर्ष भुले । प्रेम भुले । मैले गरेको त्याग र तपस्या भुले । गरौं के नगरौ के ? यो माया भन्ने चिज यस्तै रहेछ । नेपालको कानुन पुरुषले दोश्रो विवाह गरे बहुविवाह हुने ? महिलाले गरे के हुने ? उल्लेख रहेनछ । प्रेम र प्रेम पछिको विवाह, दुबैको संघर्ष पछिको समृद्ध जीवनको कल्पना ? खै कता पुग्यो कता ? जीवन, परिवार र भोगाई कसरी अघि बढ्ने ? एउटी महिलाले अर्काे महिलाको पीडा जबसम्म बुझ्न सक्दैन तबसम्म समाजबाट महिला हिंसा अन्त्य हुन सक्दैन । अधिकारका लागि जति लडे पनि जस्ता कानून बने पनि महिलाले महिला माथी गर्ने अन्याय र अत्याचारको अन्त्य नभए सम्म पुरुषहरुले महिलाहरु माथी केहि गर्न सक्ने अवस्था आउँदैन । कतै महिलाहरुले नै पुरुषहरुलाई हिंसा गर्न सहयोग पु-याईरहेका त छैनौ ?
अञ्जना विसुन्खे
धुलिखेल, काभ्रे









