दुःख पनि कति कति । कस्ता दुःख सहनु । कति सहनु । मान्छे हो । मान्छे भए पछि धेरै दुःख सहनु पर्ने रहेछ । जिल्लामा आत्महत्या दर बढेको रहेछ । हामी त बालबालिका धेरै कुरा कसरी बुझ्नु । अहिले त बालबालिकाहरु पनि मर्न थालेछन् । के हुन थाल्यो थाहा छैन । बुझ्न पनि सकेका छैनौं । हामी आफै पीडित छौं । जिल्लामा भएका धेरै घटनाहरुका बारेमा कहालीलाग्दा कहानी रहेछन् । तथ्याङ्क सुन्दै डरलाग्दा घटना हुन थाले पछि जुर्मुराउने पर्ने निकाय अझै उठ्न सकेका छैनन् । प्रहरी सचेतना बोकेर विद्यालय प्रवेश गरेको छ स्थानीय सरकार मुकदर्शक छन् । जिल्लाका हरेक निकाय ब्यक्ति ब्यक्तिको स्वास्थ्य अवस्था बुझ्दै मनोपरामर्शमा जुट्ने समय आएको छ । तर पनि यो क्रम घटेको छैन ।
दिनदिन अप्रत्यासित रुपमा ब्यक्तिहरु मरेका खबरले समुदायमा त्रास फैलन थालेको छ । त्रास न्यूनीकरण गर्न समुदाय जुर्मुराउन थालेका छ । ब्यक्ति ब्यक्तिमा मानसिक समस्या देखिन थालेको छ । यसका कारण थुप्रै छन् । मानसिक समस्यालाई समाधान गर्ने गरी स्थानीय सरकारले अलग्गै कार्यक्रम संचालन गर्नुपर्छ । मानसिक रोगको उपचार र परिक्षणका लागि हरेक पालिकास्तरमा अस्पताल संचालनमा ल्याउनु पर्छ । जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय र केहि स्थानीय तहले सचेतनामूलक कार्यक्रम शुरु गरेका छन् । जिल्लाका सबै निजी र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई उत्प्रेरणा दिन शुरु गरेका छन् । महामारीजन्य रुपमा फैलन थालेको आत्महत्या न्यूनीकरणमा स्थानीय सरकार चुपचाप जस्तै छन् । एक पछि अर्काे मान्छे मर्न थालेको छ । सबैको पहलले रोक्न सकियो भने हामी गरिबहरुको मनमा सान्त्वना हुन सक्छ । मुलुक र विश्वमै प्रविधिको विकसित रुपका कारण ब्यक्ति एक्लो हुँदैछ । समाज, समुदाय र परिवारबाट एक्लो महसुस हुन थालेको ब्यक्तिलाई सम्झाउने, बुझाउने र पारिवारीक घुलमिलमा रमाउन दिने वातावरण विस्तारै हराउँदै गएको छ । १ सय जना ब्यक्तिमा ५० प्रतिशत ब्यक्ति कुनै न कुनै मानसिक समस्याले ग्रसित हुने रहेछन् । महामारीजन्य मानसिक रोगको न्यूनिकरण, रोकथाम र त्यस बारेमा जनचेतना जगाउन संचारमाध्यमको महत्वपूर्ण भूमिका हुन्छ । तर राज्यका निकायले नै मानसिक स्वास्थ्यलाई आवश्यकताका आधारमा प्राथमिकतामा नराखेका कारण नागरिकहरु रोग लुकाउन बाध्य छन् । रोग लुकाएकै कारण मानसिक रोग विस्फोटन हुँदा आत्महत्यासम्म पुग्ने गरेका छन् ।
हामी पाँच छोरी छौ । अहिले पनि गरिबीले हामीलाई खान राम्रोसँग पुग्दैन । एक समय हुने मकै मात्रै प्रमुख आम्दानी हो । त्यो पनि बाँदरले खाएर सक्यो । बँदेलले जोगाए बाँदर । नत्र बँदेलले पनि सखाप बनाउन थाल्यो । रोकथामका लागि पहल छैन । त्यसको क्षतिपुर्ति कसले दिने ? हाम्रो पहुँच जिल्लामा छैन । अहिले राहत आउँछ भन्ने सुनेका छौं । प्रकृया लामो रहेछ । तर पनि जे भएको छ त्यो राम्रो भएको छ । पाँच दिदी बहिनी मध्ये जेठी दिदीले आफै विवाह गर्नु भयो । उहाँ सप्तरी पुग्नु भएको छ । भिनाजु काठमाडौमा बस काउन्टरमा काम गर्नु हुन्छ । उहाँहरुले सहयोग गरेकै आधारमा हामी अहिले अध्ययन गरिरहेका छौं । माईली दिदी बैदेशिक रोजगारीमा जानु भएको छ । मलेसिया गएको केहि वर्ष भईसक्यो । खासै पैसा कमाउन सक्नु भएको छैन । पैसा कमाउन नसकेकै कारण उहाँ प्रति हेर्ने दृष्टिकोण बदलिँदो रहेछ । उहाँको दुःख कुरा गरी साध्य छैन । साईली दिदी काठमाडौंमा अर्काको घरमा काम गर्नु हुन्छ । सानै उमेर देखि उहाँलाई अरुको घरमा काम गर्न राखिएको थियो । दुई दिदी बहिनी र आमा घरमा छौं ।
तीन जनालाई पनि खान पुग्दैन । भुकम्पले भएको घर भत्कायो । नयाँ घर बनाउन पटक पटक नाम समावेश गर्न निवेदन दिँदा पनि परेन । कारण रहेछ हाम्रो नाममा जग्गा नै थिएन । सुकुम्बासी जस्तै हामीलाई लालपुर्जा नभए पछि घर बनाउन कसले पैसा दिने ? बल्ल बल्ल घर बनाउने पैसा आयो । शुरुमा आएको पैसा सकियो । पछि आउने पैसाले आधा पनि बनाउन सकिएन । ३ लाख रुपैयाले के हुन्थ्यो र ? ५० हजार पहिला सकिएको थियो । पछिको डेड लाखका लागि घरको जग राख्नै कठिन । राखे पछि पुरा गर्न कठिन । ऋण गरेर बुबाले घर बनाउनु भयो । दुई कोठाको घरमा बस्ने, खाने, गाई बस्तु पाल्ने कुरा कठिन रहेछ । केहि समय दिदीहरुले धान्नु भएको थियो । दिदीहरुले ऋण तिर्नलाई सहयोग गर्न सक्नु भएन । हामीलाई पढाउनु पनि थियो । बाबाको अरु पनि ऋण रहेछ । हामीसँग जहिल्यै घर बनाएको पैसा कसरी तिर्नु भन्नु हुन्थ्यो । आम्दानीको श्रोत थिएन । गाईले दिने दुधले थोरै आम्दानी हुन्थ्यो । त्यो गाईको विमा थिएन । गर्न सकिने कुरा पनि भएन । हाम्रो पनि स्वास्थ्य विमा छैन । राज्यले गर्ने यस्ता धेरै कार्यक्रममा हामी गरिब भएकै कारण छुट्ने गरेको छ । विद्यालयमा पनि हामी गरिब भएकै कारण धेरै सुविधाबाट बञ्चित भएका छौं । तर पनि गुनासो छैन । कसलाई भन्ने ? भनेर पनि के हुन्छ र ?
लम्पी स्किन रोगका कारण गाई म¥यो । म मामाघरमा गएर बस्न थालेको थिएँ । बुबाआमासँग एउटी बहिनी मात्रै थिईन् । घरमा हरेक दिनजसो साहुहरु पैसा माग्न आउँथे । तिर्ने बाटो नै थिएन कहाँबाट दिनु ? भएकी छोरीहरु विदेश । कोहि कता कोहि कता । बाबुले काम गरेर तिर्ने बाटो पनि भएन । ममि र बहिनीसँग गुनासो गर्नु भएछ । ऋण धेरै भयो । घर बनाएको १० लाख छ । अरु ब्यवहार चलाएको २ लाख छ । ब्याज पनि तिर्न सकिएन । १५ लाख जति भयो । आम्दानीको बाटो पनि भएन । कमाउने मान्छे पनि छैनन् । भएको गाई पनि म¥यो । गाई मरे पछि बुबालाई झनै पीडा भएछ । केहि दिन पछि बुबाले पनि आत्महत्या गर्नु भयो । हामी टुहुरा माथी टुहुरा भयौं । हाम्रो साहारा कोहि भएन । बुबा खुवाउने औशीमा हामी रोयौं मात्र । गरिबका घरमा एक पछि अर्काे संकटले हामी पनि मानसिक रुपमा रोगी भयौं । अहिले पनि त्यसबाट उम्कन सकेका छैनौं । घरको पीडा, समुदाय र समाजको पीडा हो । यो पीडा लुकाउन थालियो भने अरु घरमा पनि यस्तै घटना हुन सक्छन् । यसबाट जोगाउन सबै पक्ष सक्रिय बनौ । समस्याबाट भाग्ने हैन । समाधान तिर लागौं । बाबाको आत्माले शान्ति पाओस् । हामी उहाँले लिएको ऋण सबै तिर्नेछौं । आफु बेचिएर पनि अरुको पैसा लिदैनौं । खाँदैनौं । तर दबाब दिन भएन ।
काभ्रेमा आर्थिक वर्ष २०७९÷०८० को एक वर्षमा ९० जनाले आत्महत्या गरेको तथ्याङ्कमा २० जना पारिवारीक बेमेलका कारण रहेछन् । १६ जना मानसिक रोगका कारण र १२ जनाले मानसिक असन्तुलनका कारण आत्महत्या गरेका छन् । आवेगमा आउँदा १० जनाले आत्महत्या गरे भने प्रेममा धोका पाएका कारण १२ जनाले आत्महत्या गरेका छन् । गरिबी, ब्यवसायीक तनाव, असफलता, बेरोजगार र अन्य कारणमा ब्यक्तिले ज्यान गुमाउन थाले पनि राज्यले गरिवी न्यूनिकरण, रोजगार सिर्जनाको अवसर र ब्यवसायीक सहजताका लागि काम गरेको छैन । जसका कारण नागरिकहरुले हरेक दिन ज्यान गुमाउने गरेका रहेछन् । काभ्रेपलाञ्चोक जिल्लामा १० वर्षको अवधीमा १ हजार १२ जनाले आत्महत्याका कारण ज्यान गुमाउन पुगेको तथ्याङ्क रहेछ । आर्थिक वर्ष २०८०÷०८१ मा बढ्ने संकेत देखिएको छ । पहिलो महिना साउनमा १२ जनाले आत्महत्या गरेकोमा भाद्र महिनाको पहिलो सातामै १० जनाले आत्महत्या गरिसकेका छन् । त्यसमा पनि बालबालिकाहरुको दर धेरै छ । आर्थिक वर्ष २०७९÷०८० मा सबैभन्दा धेरै फागुन महिनामा १३ जनाले आत्महत्या गरे भने जेष्ठ महिनामा १२ जनाले आत्महत्या गरे । सबैभन्दा कम माघ महिनामा २ जनाले आत्महत्या गरेका थिए । शुक्रबार धेरै आत्महत्या हुने गरेको छ । बुधबार ७ जनाले आत्महत्या गर्दा शुक्रबार २१ जनाले आत्महत्या गरेका छन् । मर्नेहरुले दिउँसो १२ बजे देखि साँझ ६ बजेसम्मको समय रोज्ने गरेका छन् । यो समयमा ४२ जनाले आत्महत्या गरे । पेशाका आधारमा सबै भन्दा धेरै ४५ जना कृषकले आत्महत्या गरेका छन् । समयमा मल विउ नपाउनु, पाए पनि महङ्गो हुनु, उत्पादन भएका सामानहरुले उचित मुल्य नपाउनु तथा कृषिबाट पारिवारीक समस्या समाधान गर्न नसक्ने भए पछि आत्महत्या गरेको हुन सक्ने विश्लेषण गरिएको छ । ज्यामी मजदुरी गर्ने २५ जना, ब्यापारी ६ जना, गृहिणी ५ जना, विद्यार्थी ७ जनाले आत्महत्या गरेका छन् । विद्यार्थीहरुमा पनि नैराश्यता बढ्न थालेको छ । ब्यवसायमा असफलता हुन थाले पछि ब्यवसायीहरुले पनि आत्महत्या गरेका छन् । १० वर्ष तलका एक जनाले आत्महत्या गरेका छन् भने आत्महत्या गर्नेहरु मध्ये ३६ देखि ४५ वर्ष उमेर समुहका नागरिक छन् । २६ जना ब्यक्ति त्यो उमेर समुहका छन् । त्यस पछि १८ देखि २५ वर्ष उमेर समुहका १९ जना छन् । आत्महत्या गर्नेहरुमा बाहुन क्षेत्री २४ जना छन् । ५२ जना आदिबासी जनजाती समुहका छन् । १३ जना दलित समुदायका नागरिकले आत्महत्या गरेका छन् । मर्नेहरुमा पहिला महिला धेरै हुने गरेको भए पनि अहिले पुरुष धेरै छन् । ३२ जना महिला र ५८ जना पुरुष छन् । शैक्षिक योग्यताका आधारमा साधारण लेखपढ गर्ने ५७ जना छन् । एसईई पास गर्ने २४ जना, आईए गर्नेहरु ६ जना, विए अध्ययन गर्ने २ जना र मास्र्टस डिग्री अध्ययन गरेका १ जनाले आत्महत्या गरेका छन् । विष सेवन गर्नेहरुको संख्या गत वर्षहरु भन्दा कम भएको छ । विष सेवन गर्नेहरु १५ जना र झुण्डिएर मर्नेहरुको संख्या ७५ छ । काभ्रेका यो वर्ष खानीखोला बाहेक १३ वटै पालिकामा आत्महत्याका घटना भए । बनेपामा १७, रोशीमा ११, पनौतीमा ९, भुम्लुमा ६, नमोबुद्धमा ८, पाँचखालमा १५, मण्डनदेउपुरमा २, धुलिखेलमा ९, बेथान्चोकमा ७, तेमालमा ३, चौरीदेउरालीमा २ र महाभारतमा १ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ को प्रारम्भको साउन महिनामा १२ जना र भाद्र महिनाको ६ गतेसम्म १० जनाले आत्महत्या गरेका छन् । महिला १० र पुरुष २२ जना छन् । १८ वर्ष भन्दा कम उमेरका ६ जना, १८ देखि २४ वर्षसम्मका ८ जना र २५ देखि ४५ वर्षसम्मका ३ जना र ४५ वर्ष भन्दा माथीका ५ जना छन् । यो आर्थिक वर्षमा खानिखोला, महाभारत, तेमाल र चौरीदेउराली गाउँपालिकामा आत्महत्याका घटना भएका छैनन ।
म अहिले यो विश्लेषणात्मक तथ्यांक बोकेर विद्यालय स्तरमा सचेतना फैलाउँदै हिडेको छु । समुदायमा यसका असरका बारेमा भनिरहेको छु । परिवारको एउटा सदस्यले आत्महत्या हामीले भोग्नु परेको सामाजिक, आर्थिक र सास्ंकृतिक क्षेत्रको अभाव र संकटका बारेमा बताई रहेको छु । त्यसैले म भन्छु समस्याबाट नभागौं । समन्वय गरौं । कम्तिमा सहयोगी निकाय भेटिन्छन् । अनाहकमा ज्यान फाल्न रोकौं । सबैले सबैको कुरा सुनौ र बुझौ । समाधानको प्रयास गरौं ।
मनिषा खत्री
धुलिखेल, काभ्रे









