कस्तो कानून ? सँगै बस्न हुने । जीवन जीउन हुने । उसबाट जन्मिएका सन्तानको जन्मदर्ता पनि हुने । आमा र बाबाको नाम पनि जन्मदर्तामा उल्लेख गर्न हुने । नागरिकता बनाउँदा पनि नाम राख्न हुने तर विवाह दर्ता नहुने ? यस्ता अब्यवहारीक कानून किन बनाउँछन होला ? अब्यवहारीक कानूनका कारण तिनीहरुबाट जन्मेका सन्तान वा स्वंम ब्यक्तिको अधिकार हनन् हुने कुरामा कानूनविद्हरु अनविज्ञ बनेका हुन् कि ? हामीले कानुन नजानेको ? सोध्यो किन जान्ने भाको भन्छन् । नसोध्यो मनमा के के कुरा खेल्छन् खेल्छन् । बदलिँदो समय र परिस्थितिमा मेरो कुरा कसले बुझ्ने ?
जिल्लाको बनोट नै यस्तै छ । केलाई सुगम मान्ने ? सडक, बत्ति, खानेपानी, विजुली, शिक्षा वा अरु कुनै ? मैले देख्छु सुगम मान्छेको चेतना हो । चेतना भयो भने जस्तोसुकै संकटमा पनि मान्छे सुखको अनुभूति गर्न पुग्छ । सुखानुभूती गर्न पाउनु मान्छेका लागि स्वर्ग भन्दा ठुलो कुरा हो । हुन त मान्छे स्वर्ग र नर्कको बयान गर्छ । उसले भोगेर आएको त होईन । धार्मिक ग्रन्थहरुमा लेखेकै आधारमा मान्छेले आफ्नो सृष्टि, विश्वास र कर्म चलाईरहेको छ । त्यसमै मान्छे कहिले युद्ध गर्छ । कहिले बहस गर्छ । कहिले त्यहि ग्रन्थ झुटो भन्दै निहुँ खोज्छ । धर्म, पापका कुरा गर्छ । कलियुगमा धर्मका कुरा भन्दा पापका कुरा धेरै सुनिन्छन् । मान्छे मार्ने, अपहरण गर्ने, बलात्कार गर्ने सामान्य कुरा हुन थालिसके । त्यो पनि घर भित्रैकाले भित्रकै मान्छेलाई बलात्कार गर्ने त झनै सामान्य भैसक्यो । गौतम बुद्ध जन्मेको देश भनेर चिनाउन पनि कहालीलाग्दा घटनाहरुले मन रुन्छ । देश विदेशमा नेपाली भन्ने बितिक्कै स्वाभिमानी, अग्लो हिमाल सगरमाथा र शान्तिको देश गौतम बुद्ध भनेर चिन्छन् । सम्मान छुट्टै छ । हिजो जस्तो आज छैन । श्रीमती, छोराछोरी र श्रीमानसँगको सम्बन्ध पनि राम्रो छैन । श्रीमती र परिवारका लागि दुःख गर्न गएको श्रीमान् घर फर्कँदा कोहि हुँदैनन् । श्रीमान्हरुको पनि रामकहानी छुट्टै होला । तर पनि समाजमा रोपिएको, घोलिएको विषले एकपछि अर्काे गर्दै अश्लीलता, अपराध बढाएको भने साँच्चै छ ।
मुलुकमा बस्ने वातावरण छैन । ब्यवसाय गर्नेहरुलाई राज्यले संरक्षण भन्दा पनि दुःख दिने गरेको छ । आयआर्जन छैन । कृषकहरुलाई राहत छैन । कृषि उत्पादनका लागि मल विउ पुँजी छैन । उत्पादन गरेको सामानको मूल्य छैन । पशुहरु मरेर बेहाल छ । अहिले त युवा जति विदेशिन थालेका छन् । राज्यले रोक्ने कुनै साहस गरेको छैन । गाउँघरमा आत्महत्या बढेका खवर सुनिन थालेका छन् । नैराश्यता बढिरहेको छ । स्थानीय सरकारले रोजगारको सिर्जना गर्छन भन्ने भ्रम मात्रै रहेछ । सरकारको सोच कुर्सी टिकाउने बाहेक अरु छैन । हामी नागरिकहरुका पीडा कसले सुन्छ ? सामाजिक संजालको चरम दुरुपयोग भएको छ । मेरो जीवनमा पनि केहि न केहिले प्रभाव पारेको छ । काखभरी सन्तान छन् । जसका लागि दुःख गर्न घरबाट बाहिर निस्किएको छ । उसलाई पाउन र उसले पाउन प्रेममा गरेका बाचा सबै बिर्सिएको छ । प्रविधिकै आधारमा सामाजिक सञ्जालको विकृत रुप देखिने टिकटकमा कोहि ब्यक्ति भेट्छ र जीवन दिने कसम खान्छ । आफ्नै रगतबाट जन्माएका लालाबालालाई चटक्कै त्याग्न पुग्छ । घरमा भएकी अंगालोभरीको श्रीमती विर्सन्छ र भरभराउँदो उमेरकी कलिली युवतीलाई प्रेमको नाटकमा फसाउँछ । बर्षाै बर्ष घरमै नल्याई लुकाएर राख्छ । उसको गर्भमा पहिलो प्रेमलाई धोका दिदै गर्भको निशाना भरिदिन्छ । आमा बनाउने प्रयास गर्छ । आमा बन्ने महिना नजिकिदै जान्छ उसको पापको भकारी भरिदै जान्छ । आखिर महिला हो एउटी महिला अर्काे महिलाको अगाडी किन सौता बन्न जान्छ ? प्रश्नहरु धेरै छन् । कति सोच्ने र कति विर्सने ?
२०६५ साल बैशाख १० गते गाउँमै भए पनि मेरो प्रेम विवाह भएको थियो । प्रेम विवाह पछि हामीहरुबाट २ छोरा र १ छोरीको जायजन्म भएको छ । पतिले अघिल्लो वर्ष देखि मलाई हेँला गर्ने, गलत व्यबहार गर्ने, छोरा छोरीलाई समेत बेवास्ता गर्दै आएका थिए । मैले ज्याला मजदुरी गरी परिवारको जीविकोपार्जन गरी आएको छु । पतिले बेवास्ता गरी घरमा बस्न नदिनु भई घरबाट निकाला समेत गरेकाले धुलिखेल स्थित डेराकोठामा बस्दै आएको थिएँ । मंसीर २५ गते विहान म घरमा गएको थिएँ । घरमा मेरो श्रीमान ्र अर्की महिलालाई साथमै देखें । उनी को हुन् श्रीमानसँग सोधें । मैले विवाह गरी ल्याएको कान्छी श्रीमती हुन् अब देखि सधैंभरी यही घरमा रहन्छिन् भने । घरमा जेठी श्रीमती र छोराछोरी हुँदा हुँदै किन विवाह गरेको ? उनी नाजवाफ भए । मलाई रिस उठ्यो । शुरुमै दुई चड्कन दिएँ । महिलालाई कपाल समातेर भुईमा गाडें । श्रीमान्ले नै कुट्न दिएनन् । दुबैजना भएर उल्टो मलाई कुट्न थाले । उनिहरु दुबैजनाको अगाडी एक्लो मेरो ज्यानको केहि सिप लागेन । छोरा १० वर्षिय, छोरी ५ वर्षिय र काखमा खेल्ने ३ वर्षको छोरा हुँदा हुँदै उनले किन अर्काे विवाह गरे ? मेरो प्रश्न खस्दै थियो उनले तैले जे गर्न सक्छस् गर म तलाई हेरचाह गर्न पनि सक्दिन र यो घर समेतमा बस्न दिन्न भन्दै लखेट्न खोजे ।
अर्की महिलाको कोखमा ४÷५ महिनाको गर्भ समेत रहेछ । घरमा पुगेको श्रीमतीलाई माया गरेर सम्झाउनुको सट्टा उनिहरु दुबै मिलेर मलाई कुटपिट गरेर निकाले पछि के गरांै म ? नेपालको प्रचलित कानूनले एउटी श्रीमती हुँदा हुँदै अर्काे विवाह गर्न छुट दिएको छैन । त्यो घटना तत्काल मैले छिमेकीहरुलाई भनें । आफन्तहरुलाई भनें । मौखिक जानकारी दिएको भए पनि लिखित जाहेरीका लागि समय लाग्यो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा मुलुकी फौजदारी कार्यबिधी (संहिता) ऐन २०७४ को दफा ३१ को उपदफा (१) वमोजिम बिबाह समन्धी कसुर (बहुबिबाह मुद्दा) मा कारवाहिको माग गरे । २०७५ पुष १ गते दिउँसो उजुरी गरेको थिएँ । प्रहरीले तत्काल कारवाही प्रकृया अगाडी बढायो । पौष ३ गते बेलुका ५ बजेको समयमा धुलिखेल नगरपालिका वडा नम्वर ६ बाट उनलाई पक्राउ ग¥यो । दुबैलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान शुरु ग¥यो । त्यतिबेला मात्रै मलाई प्रहरी भएको र नेपालमा गरीबहरुका लागि पनि कानून भएको अनुभूति भयो । कानुनको नजरमा गल्ति गर्ने ब्यक्तिले सजायँ पाउँछ भन्ने अनुभूत गरायो । उनले विवाह गरेपछि मलाई सबै कुरा लुकाउँदै आएका रहेछन् ।
२०६१ सालमा नेपाली सेनाको सुचीकार दर्जामा नोकरी गर्दै आएका थिए उनी । २०६५ बैशाख १० गते अघी प्रेम विवाह भई घर ब्यबहार चली आएको थियो । प्रेम विवाह भएकाले असाध्यै माया थियो । बिदामा घर कोठामा आउँदा श्रीमतीले राम्रो ब्यबाहार नगर्ने अन्य केटासँग फोन गर्ने म तँ संग बस्दिन अर्को विवाह गर भन्ने जस्ता छुद्र बचन लगाउँदै आएकाले दोश्रो विवाह गरेको प्रहरीमा उनको बयान थियो । श्रीमतीसँग घर ब्यबहार राम्रो नभए पश्चात कान्छी श्रीमती टिकटक मार्फत चिनजान हुँदाहुँदै सम्बन्ध रहेको र बच्चा समेत गर्भमा आएकाले विवाह गर्न बाध्य भएको बयान दिए । टिकटक र फेसबुकमा कुराकानी हुँदा हुँदै प्रेम बस्यो । माया र प्रेमका कुरा गरिन् । श्रीमान् भएर घरमा भोग्नु परेको पीडाका बारेमा बताएँ । दुःखमा परेकालाई साथ दिने प्रतिबद्धता ब्यक्त गरिन् । प्रेममा पर्दै गए पछि माया गहिरिदै गयो । त्यहि मायालाई विवाहमा परिणत गरि दियो । घरमा भएकी श्रीमतीलाई जानकारी नदिई पुनः प्रेम विवाह गरी काठमाडौ स्थित डेरा कोठामा राखें । त्यहि कोठामा बस्न थाले पछि घरमा भएका श्रीमती र बच्चाहरुलाई ध्यान कम भयो । कमाएको पैसा पनि पठाउन मिलेन भन्ने उनको बयान थियो ।
उनिहरु दुबैजना सिलाई काम गर्न थालेछन् । यता म पनि कपडा सिलाउने काम नै गर्थै । मेरो ब्यवहार चित्त नबुझेको भए विवाह नगरी किन भनेनन् ? केटा मान्छेहरुलाई फेसबुक र टिकटकमा अर्की महिलाले गरेका र भनेका कुरा सत्य लाग्ने ? घरमा भएका श्रीमतीहरु पुराना र थ्रोत्रा लाग्ने ? तीन सन्तानकी आमा छाडेर कन्या केटी विवाह गर्ने उनले जेल परे पछि पुछुताएको महसुस भयो । जेल परे पछि सम्बन्ध विच्छेदको प्रकृया भयो । अहिले हामी अलग अलग छौं । तर उनीबाट समेत राम्रो माया नपाए पछि उनी पुनः मेरै शरणमा आए । श्रीमान् हो जेल राखे पनि माया हुँदो रहेछ । अहिले मेरै सहयोगमा विदेश गएका छन् । अर्की श्रीमतीले बच्चा सहित छाडेर पुनः अर्काे सँग विवाह गरेकी रहिछन् । उनि बाध्य भएर मेरै शरणमा आए । अहिले बैदेशिक रोजगारमा छन् । त्यहाँबाट निरन्तर गरेको संवाद, मेहनत गरेर कमाएको पैसाको पारदर्शीता र ब्यवहारले मलाई सन्तुष्ट गराएको छ । पुराना सबै कुरा विर्सिएर अहिले हामी सँगै बस्न थालेका छौं । जिल्ला अदालतको तथ्याङ्कमा सम्बन्ध विच्छेदको धेरै घटनाहरु भएकाले हाम्रो सम्बन्ध र घटनाले समाजमा केहि सकारात्मक सन्देश जान्छ कि ? पछिल्लो सामाजिक संजालले फैलाएको विकृति र विसंगतीका बारेमा रोकथामका लागि आफै सचेत र सक्रिय हुनुको विकल्प छैन ।
उरीसा परियार
नमोबुद्ध, काभ्रे









