दुःख, अभाव र संघर्ष सबै ब्यक्तिमा हुने रहेछ । त्यसलाई ब्यवस्थापन गर्ने कि ? तनाव लिएर हिड्ने ? त्यसो मात्रै भनिरहँदा अधिकार खोसिने पनि डर । अधिकारका लागि अगाडी बढ्दा आफ्नै बेईज्जत । गरौं के नगरौं के ? मान्छेले मान्छे सम्झेर ब्यवहार नगरे पछि, मान्छे भित्र मानवीयता नभए पछि, संवेदनाहीन मान्छे भए पछि भावनाको कदर हुन सक्दो रहेछ र ? कतै अभावै अभाव, कतै सम्हालेर नसक्ने अवस्था हाम्रै समाजमा छ । गरिबीको होस् वा अन्य क्षेत्रको होस् । ब्यक्तिले जीवन ब्यवस्थापन गर्न नसक्दा उसको जीवन त अस्तब्यस्त हुने नै भयो उबाट आश्रित अन्य ब्यक्तिहरु पनि त्यसको शिकार हुन पुग्दा रहेछन् । पहिले पहिले सुन्थ्यौ हामी ठु्लाबडाले जे गर्दा पनि सह्य हुन्थ्यो । उनिहरुले भने पछि ढुंगामा लेखेको अक्षर मेट्न गाह्रो भए जस्तै निर्णय परिवर्तन हुँदैन थियो ।
एउटी महिलाले घर छाड्दा वा सन्तानको भविष्श्य नहेर्दा कति संकट पर्छ ? भनि साध्य छैन । आमा जसले सन्तानको सबै चाहना पूरा गर्न नसके पनि त्यसको बाटो पहिल्याउने काम गर्छिन् । दुःखसुख उनले जति कसले भोगेकी हुन्छिन् ? तिनै सन्तानले त्यो अनुभुति जबसम्म गर्न पाएका हुँदैनन् तबसम्म उनिहरुले आमा वा बुबाप्रतिको सद्भाव बुझ्न सक्दैनन् । हो बाबु सबै कुराले परिवारको मुख्य ब्यक्ति हुन पुग्छ । सन्तान हुर्काउन होस् वा महिलाका विविध पाटाहरुले पुरुषसँग केहि कुरामा प्रतिस्पर्धा गर्न सक्दैन । तर पनि महिलाहरुको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन र सक्दैन । झण्डै ६ महिना अघि पहिलो पटक मैले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा श्रीमानबाट पीडित भएँ भनेर निवेदन दिएको थिएँ । साविकको दोलालघाट गाविसमा मेरो कर्म घर छ । जन्मघर सिन्धुपाल्चोक जिल्लामा हो । श्रीमान्को अपार माया मैले पाईरहेकै थिएँ । विद्यालय जाँदाजाँदै हाम्रो चिनजान भयो । कक्षा ९ मा अध्ययन गर्दा गर्दै उनको र मेरो प्रेम सम्बन्ध भयो । अहिले जस्तो थिएन । केटीसँग केटाहरु बोल्नु आकाश खसे जस्तै हुन्थ्यो । एउटै बेञ्चमा बस्ने, विद्यालय जाँदा आउँदा सँगै हिड्ने सम्भव पनि थिएन । त्यसका बाबजुत पनि उसको र मेरो प्रेम हेराहेरमा बस्न थाल्यो । उसले पत्र लेखेर दिने हिम्मत ग¥यो । मैले पनि उसको पत्रको जवाफ फर्काएँ । यसरी शुरु भएको प्रेम कक्षा १० मा अध्ययन गर्दा गर्दै विवाहमा परिणत भयो । हामी भर्खर १५ वर्षका थियौं । १६ वर्षमा हामीबाट एक सन्तान छोरीको समेत जन्म भयो । कक्षा १० उत्तिर्ण भए पछि म एसएलसी फेल भएँ । उ पास भयो । पास भए पनि उसले थप कक्षाहरु अध्ययन गर्ने सोच बनाएको थिएन । मैले कर गरेर उसलाई काठमाडौमा अध्ययन गर्न पठाएँ । मैले दोश्रो पटक एसएलसी दिने कुरा सम्भव भएन । पेटमा छोरीको गर्भ थियो । अध्ययन गर्ने वातावरण घरमा पनि बनेन ।
माईतीमा मलाई स्विकार्न कठिन भयो । मैले आफु खुशी विवाह गरेको कुराले बुबा आमा, दाजु भाउजु खुशी हुन सक्नु भएको थिएन । सन्तान न हो केहि समय पछि मलाई माईतीमा बोलाउनु भयो । श्रीमान् र म दुवैजना पहिलो पटकको दशैंमा नै माईती पुगेका थियौं । उसले काठमाडौमा पुगेर आरआर क्याम्पसमा भर्ना गरेको रहेछ । विहान केहि काम गर्ने र साँझ मात्रै क्याम्पस जाने योजना अनुसार उसले भर्ना ग¥यो । थोरै पैसा लाग्थ्यो । घरबाट पनि सहयोग भएको थियो । मैले माईतीमा जम्मा गरेर राखेको पैसा पनि उसको भर्ना गर्ने समयमा पठाएको थिएँ । घरमा दुईवटा भैंसी थिए । आम्दानी पनि हुन्थ्यो । उ परिवारको जेठो सन्तान भएकाले परिवारप्रतिको उसको दायित्व धेरै थियो । म जेठी बुहारी तर आमाजुहरु भन्दा कम उमेर थियो । उसका दिदीहरु विवाह गर्न बाँकी नै हुनुुहुन्थ्यो । म त्यो घरमा बुहारी भन्दा पनि कान्छी छोरीको रुपमा स्थापित हुन सकें । जसले मलाई १६ वर्षको कलिलो उमेरमै बच्चा जन्माउँदा पनि सहज भयो । अर्काे वर्ष फेरी मैले छोरोको जन्म दिएँ । नारीहरुको जीवन आफुले चाहँदा मात्रै केहि हुँदो रहेनछ ।
पहिलो सन्तान छोरी जन्मिएको १५ महिनामै छोरा जन्मियो । लगातार सन्तान जन्माउँदा मेरो स्वास्थ्य कमजोर भएको थियो । बास्तवमा महिलाहरु सन्तान उत्पादन गर्ने कारखानाका रुपमा पुरुषहरुले लिँदा रहेछन् । तर पनि मान्नु र स्विर्कानुको विकल्प थिएन । अर्काे सन्तान जन्मला भनेर मलाई माईती र घरबाट पनि सल्लाह दिईएको थियो । त्यसपछि मैले दु्ई सन्तान भए पुग्ने निश्कर्षमा अन्य सन्तान नजन्माउने निर्णय गरें । घर परिवारमा मलाई राम्रै थियो । उसले काठमाडौमा शुरुमा घर निर्माण गर्ने काममा मजदुरी गरेको रहेछ । थोरै कमाई, डेराको बसाई, साँझको कलेज । संघर्ष थियो उसको जीवनमा पनि । मेरो भरपुर सहयोग र साथ त हुने नै भयो । प्रेम पछिको विवाह । एक महिनामा मात्रै घर आउने गरेका थिए उनी । सन्तान हुर्कँदै गए । उसको अध्ययन पनि सकियो । त्यो बीचमा उसले गाडी चलाउन पनि सिकेको रहेछ । लाईसेन्स पनि निकालेर गाडी चलाउँदा धेरै कमाई हुने भन्दै निर्माणको काम छाडेर गाडी चलाउन लागेको बताएका थिए । खोज्दा कसैले काम नै दिएनन् । सबैतिर अनुभव माग्दा माग्दै सम्भव भएन । काठमाडौमा एक्लै बसेर संघर्ष गर्नु भन्दा अब सँगै बस्ने भन्दै हामी परिवार नै काठमाडौमा बस्ने निर्णय ग¥यौं । यता घरमा भाईको पनि विवाह भएकाले मलाई घरमा बुबा आमालाई छाडेर हिड्न सहज भयो । मलाई सानैदेखि छोरीको रुपमा हुर्काउने र पारिवारीक रुपमा संघर्ष गर्न सिकाउने सासु ससुरा प्रति मेरो जहिल्यै नमन छ । जन्म दिने बुबा आमा जतिक्कै कर्म दिने बुबा आमा र परिवार कहिल्यै विर्सन सकिदैन । छोराछोरी हुकँर्दै गए । विद्यालयमा भर्ना गरियो । सरकारी विद्यालयमा भर्ना गर्दा खासै पैसा नलागे पनि अलि अलि खर्च हुन्थ्यो । उनी नियमित गाडी चलाउन जान थाले । म बच्चाहरुलाई विद्यालय पठाएर दिउँसो फुर्सदमा कोठामै बसेर सुईटर बुन्ने, चकलेट बटार्ने गर्न थालें । ब्यक्तिगत खर्च गर्न मन लाग्दा उनिसँग किन माग्नु भन्ने सोच आयो । मेरो आम्दानीले डेरा भाडा तिर्न, छोराछोरीको अध्ययन र कोठाको अन्य खर्च धान्न थाल्यो । उसको कमाई बचत गर्ने र केहि घरमा पनि पठाउने गरेका थियौं । थोरैथोरै बचत भएको पैसाले नयाँ बस्तिमा जमिन किन्यौं । त्यहि नजिकै भएकाले सहज पनि भयो ।
हामी डेरामा बसेको लामो समय भईसकेको थियो । त्यो डेरामा बस्ने अर्काे परिवार पनि थियो । तिनीहरु हाम्रै डेरा अघि घर किनेर बस्न थालिसकेका थिए । तर पनि हाम्रो सम्वन्ध राम्रो थियो । त्यो घरमा बस्ने पुरुष असाध्यै सोझा थिए । श्रीमती अलिक चलाख । मेरा श्रीमान विहानै उठेर गाडी लिएर जान्थे । हामीले घडेरी किने सँगै त्यहि घडेरी बैंकमा धितो राखेर सानो मिनी टाटा किनेका थियौ । मेरो श्रीमान् र त्यो महिलाको घनिष्टता बढ्न थालेछ । मलाई त खासै चासो पनि थिएन । मसँग पनि उनि उत्तिकै मिल्ने गरेकी थिईन् । हाम्रो घरमा आउजाउ राम्रै थियो । बीचमा उनी विदेश जाने तयारी गरिन् । उनका सासु ससुरा पनि असाध्यै सोझा थिए । उनिहरु सबैलाई उनले आफ्नो नियन्त्रणमा राखेकी थिईन् । जजमानी काम गर्ने पुरोहित भएकाले उनिहरुको आम्दानी भईरहन्थ्यो । बाबु छोरा नै जजमानी काम गर्ने भएकाले घरमा पनि खासै उनिहरु बस्दैन थिए । कुरो अर्कै भई सकेछ । यता हामी हाम्रो परिवार कसरी अगाडी बढाउने भन्ने सल्लाहमा थियौं । उता उनिहरुको सम्वन्ध कसिलो हुन थालिसकेको रहेछ । विदेश जाने त उसको र मेरो श्रीमान्को सल्लाह रहेछ । नपुग्दो केहि थिएन उनलाई तर पनि सम्बन्ध बाहिरिने डरले उनलाई विदेश पठाएर निरन्तर सम्बन्ध कायम राख्ने योजना उनी विदेशबाट आए पछि खुल्यो । चार वर्ष विदेश बसेर आए पछि उनले मेरा श्रीमानलाई हडप्न थालिन् । मसँग दिदीको नाता लगाउँदै १० वर्ष देखि बसेको ब्यक्ति बहिनी तर सौताका रुपमा प्रकट भईन् । अघिल्लो वर्ष हामीले छोरीको विवाह ग¥यौं । छोरो पनि पढ्दैछ । श्रीमान उसकै भएको भन्दै मलाई मानसिक टर्चर दिन थालिन् ।
एकदिन घरमै बोलाएर मैले उनिहरु दुबै जनालाई राखेर मर्ने गरी कुटपिट गरें । उ आफ्नो श्रीमान् पनि छाड्दिन । मेरो श्रीमान पनि छाड्दिनँ । उसलाई दुबै श्रीमान् चाहिने ? उसको घरका मान्छे कोहि बोल्न सक्दैनन् । मैले मेरै श्रीमानलाई पनि पटक पटक सम्झाएँ । उ ढुंगा बोल्दा मान्छे बोल्दैन । उसले विदेशबाट पठाएको पैसाले उनिहरुले आफ्नो नाममा अलग्गै घर र घडेरी किनिसकेका रहेछन् । मेरो श्रीमान् मलाई भन्दा उसलाई धेरै माया गर्न थाल्यो । उसका पनि सन्तान छन् । एक छोरा र एक छोरी । उसलाई त्यो पनि मतलब छैन । एउटी आमा जसलाई सन्तानको मतलब छैन । घरमा अंगालोभरीको श्रीमान हुँदा हुँदै अर्काको श्रीमान नभई हुँदैन ? कस्तो अचम्म ? उ भन्छे मलाई दुबै श्रीमान् चाहिन्छ । नेपालको कानुन पुरुषले दोश्रो विवाह गरे बहुविवाह हुने ? महिलाले गरे के हुने ? उल्लेख नै छैन । कानुन बुझ्दै छु । धेरैको सल्लाह भयो उसलाई बहुविवाहको मुद्दा दर्ता गर्नु । मैले उजुरी पनि दिएँ । तर अब उ मसँग अलग होला उसको सम्पत्ति पनि आउला मेरो जीवन त बीचमै ब्रेक भयो ? प्रेम र प्रेम पछिको विवाह, दुबैको संघर्ष पछिको समृद्ध जीवनको कल्पना ? खै कता पुग्यो कता ? म अधिकारकै लडाईमा छु । हेरौ जीवन, परिवार र भोगाई थप कसरी अघि बढ्ने हुन् ?
सरिना विष्ट
पाँचखाल, काभ्रे





