2026 April 30/ 10:45: 28am

भाग्यमा लेखेको कुरा हुने रहेछ । नपुग्दो केहि थिएन र छैन पनि । अझै पनि मलाई बुबा आमाले मेरो चाहना अनुसार अध्ययन गराईदिने बताउनु भएको छ । कसरी बिग्रिएँ म ? मैले मेरा बाबा आमालाई सधै ढाँटि रहें तर आफ्नो मनलाई कहिल्यै ढाँट्न सकिनँ । मनलाई ढाँट्न नसकेकै कारण अभिभावकको साथमा आईपुगेको छु । भलै उ पनि सोझै रहेछ । उसले चाहेको भए मलाई नरकमा पु¥याउन पनि सक्दथ्यो । त्यो जिल्लाका हरेक मान्छेहरुको दिमागमा त्यहि बाहेक अरु छैन । अझ हामी जस्ता बालबालिकाहरु पाए पछि उसले जे–जे गरेको भए पनि सक्दथ्यो । उसले पनि भित्रैबाट माया गरेको रहेछ । शुरुमा मलाई उ बाहेक कोहि चाँहिदैन जस्तो लागेको थियो पछि त्यस्तो लागेन । बाबा, आमा भनेका सबै भन्दा प्यारा रहेछन् । पछि भेटिएका मान्छेहरुले बुबा आमाले दिने माया दिन सक्दा रहेनछन् । उमेर अनुसार फरक फरक हुने होला तर अहिलेलाई मैले त्यहि सोचें । 
    नेपालमा धेरै खालका विपत्ती आए । भुकम्प, कोभिड, डेंगु । नसर्ने रोगको महामारी उस्तै छ । सुगर, प्रेसर, क्यान्सर, दम लगायतका नसर्ने रोगहरुको अर्काे महामारी छ । एक घर एक विरामी हुन थालेका छन् ।     मध्यम खालको अध्ययन थियो । गाउँमै बसेर पढ्ने तयारी थियो । भुकम्पले हाम्रो घर लड्यो । भाई पनि अलिअलि बिरामी थियो । बुबाले भाई र मलाई काठमाडौं लगेर पढाउने कुरा बताउनु भयो । बुबा अटोमेकानिकल्स काम गर्नुहुन्छ । विहान बेलुका खाना पकाउने, खुवाउने आफु पनि खाएर भाईलाई लिएर विद्यालय जाने । भाई अलिक विरामी भएकाले निरन्तरको रेखदेख आवश्यक थियो । बुबाले पनि त्यहि भनिरहनु भएको थियो । कतिपटक विद्यालयबाटै उसलाई पढाई छाडेर घर ल्याईएको थियो । भाईलाई निको हुँदै गएको थियो । बुबा ग्यारेजमा जाने भएकाले मलाई तत्काल बोलाउनु प¥यो भने केहि साधन थिएन । घरबेटीको घरमा फोन भए पनि हामीलाई पहुँच थिएन । बुबाले मलाई एनसेलको सिम किनिदिएर एउटा मोबाईल साथमा राखिदिनुभयो । किनकी भाई विरामी भयो भने तत्काल खबर गर्नु । शुरुमा मलाई त्यो मोबाईल प्रति आकर्षण पनि थिएन । मतलब पनि लाग्दैन थियो । विहान उठेर खाना पकाएर खाएर विद्यालय जान धौ–धौ थियो । टिकाथलीमा रहेको महेन्द्र आदर्श माविमा कक्षा ७ मा भर्ना भएको थिएँ । भर्खर म १४ वर्षको लाग्दै छु । केहि साथीहरु कक्षा ९ मा पढ्न थालेका छन् । मलाई सानोमा एक वर्ष विद्यालय ढिला भर्ना गरिदिएकाले एक बर्ष पछि परेको रहेछु । दिनहरु वित्दै गए । दशंै र तिहार विदा भयो । दशैंमा पनि हामी सबैजना घरमा गयौं । रमाईलो भएको थियो । शुरुमा दशैं तिहार विदा भनिएको पनि पछि विद्यालय खुल्यो । दशैं सकेर विद्यालय खुलेपछि हामी फेरी घरबाट काठमाडौ आएका थियौं । बुबा त हामी आए पनि नआए पनि पहिल्यै कामका लागि आउनु भएको थियो ।
    तिहारको बेला सात दिन विद्यालय बन्द भयो । बुबाले भाई र मलाई घर पठाईदिनुभयो । अभाव नै अभाव थियो । बसहरु खचाखच थिए । मलाई बसपार्कबाटै ओखलढुंगाका लागि बस चढाई दिनुभयो  । कोटेश्वर आउँदा नआउँदा एकजना केटाले मलाई कता हो बहिनी भनेर सोधे । लामो समय देखि काठमाडौमा बसेर गाडीको ग्यारेजमा काम गर्दा रहेछन् उनी । मान्छेको खचाखचले उनी र म एकै स्थानमा बस्न पुग्यौं । बस कोल्टो पर्दा उनले मलाई, मैले उनलाई समाउँथ्यौं । बसको यात्रामा हामी नजिक भएर पारिवारीक कुरा आदान प्रदान गरेका थियौ । मोवाईल नम्वर मात्रै नभई फेसबुकमा पनि जोडियौं । घर पुग्दा धेरै पटक उसले मलाई बाटोबाट फोन ग¥यो । विदा सकेर काठमाडौ आएँ । काठमाडौ आउँदा पनि उसलाई फोन गरेरै आएको थिएँ । गाउँमा तिहार पछिको एकादशीको मेला लाग्ने गरेको छ । दशै तिहार भन्दा त्यो रमाईलो जात्रा हो । त्यो जात्रामा आउने बताएँ । उ पनि घरमै बसिरहेको थियो । भर्खर १८ वर्षको भएको रहेछ । सोझो नै थियो । कुरा गर्दा पनि डराई डराई गर्दथ्यो । तिमीलाई साथी बनाउँछु, पछि श्रीमती बनाउँछु भन्थ्यो । म उसको श्रीमती हुन तयार भएको थिएँ । तर श्रीमती भए पछि के के हुन्छ ? के के भोग्नु पर्छ ? सानो उमेरमै श्रीमती हुँदा के हुन्छ मलाई केहि पत्तो थिएन । उसले हरेक पटक फोन गर्दा भेटौं बाहेक केहि भन्दैन थियो । धेरै पटक उसको अनुरोध टारेको थिएँ ।
    प्रविधिको गलत प्रयोग र आमाबुबाको विश्वासलाई धोका दिदै म सँग नजिकिन पुगें । उसँग नजिकिनुको अर्काे कारण पनि थियो । शुरुमै मैले भनें । काठमाडौमा डेरामा बसेका बेला उ हाम्रो नजिकै आएको थियो । त्यतिबेला उसलाई मैले चिनेको पनि थिईन । कता देखेको देखेको भएको थियो । बसमा चढेको बेला त्यहि मान्छेले मलाई एकै पटक कता हो बहिनी भनेर बोलायो ? मेरो मनले त्यो मान्छे खोजिरहेको थियो । गाडीको ग्यारेजमा गएका बेला बुबाहरुलाई जानकारी दिएन । सानो पोखरी जस्तो पानी जमेको ठुलो खाडल थियो । त्यहाँ हात समाएको थियो । थोरै पानी पिएर म बेहोस जस्तै भएको थिएँ । उसैले मलाई बचाएको थियो । सानै भएकाले त्यति बेलाको बुद्धि के थियो थाहा भएन । बचाउने मान्छेलाई सहयोग गर्नु पर्छ भन्ने नै थियो । एक्कासी त्यहि मान्छे बसमा भेटियो । लामो यात्रा सँगै भयो । अनि बसाई सँगै भयो । स्वभाविक थियो नजिकिनु । २०७० सालको कुरा हो । एकादशीको जात्रामा जान खेतमा रहेको गोठका बस्तुलाई खाना राख्न आमाले मलाई उतै पठाउनु भयो । मैले नयाँ नयाँ लुगा लगाएँ । खेतमा खाना राख्ने भन्दै म गोठमा नगई झरें । बस आयो त्यहि बसमा चढेर अन्यत्र पुगें । उसलाई भेट्न मात्रै होईन उसले भने जस्तो विवाह गरेर बस्ने योजनामा म उसको घर रामेछाप नजिकै पुगें । ओखलढुंगाबाट आउने बाटो त्यहि भएकाले विपी राजमार्गको दोभानमा हामी भेट हुने गरी निस्किएका थियौं ।  उ म भन्दा धेरै अघि आएर मेरो प्रतिक्षा गरिरहेको थियो । 
    मलाई भेट्ने वितिक्कै उ खुशीले गद्गद् भयो । खाजा खाने हो ? मैले होईन कहाँ लैजाने भन्या हो लिएर हिडिहाल भनें । नभन्दै उसले मलाई अलिक माथीसम्म हिँडायो र उसकै घर ल्यायो । शुरुमा मलाई रमाईलै भयो । उसले मेरो मोबाईल अफ गर्न भन्यो । मैले चार्जर पनि ल्याएको थिईनँ । एक दुई दिन पछि आमा बुबाको खुब याद आयो । शुरुमा उसले घरमा साथी भनेको थियो पछि मैले विवाह गर्ने केटी यहि हो । यो मेरो श्रीमती भन्यो । हामी सँगै पनि सुत्यौं । मलाई केहि मतलब पनि थिएन । उसलाई घरमा फोन गरौ न भनें उसले हैन तिम्रो बुबा ममीले हामीलाई छुटाउँछन्, कुटपिट गर्छन् कुरा नगरौ भन्यो । धेरै नै याद आयो मलाई घरको । मैले मेरो मामाघरको दिदीको नम्वर कण्ठ गरेको थिएँ । उसको मोबाईलबाट मलाई भेट्न धुलिखेल आउनु भन्दै बोलाएँ । यता ममी र बाबाले मलाई धेरै स्थानमा खोजी गर्नु भएछ । आमा त दुई दिनसम्म बेहोस हुनु भएछ । सोझी भनेकी छोरी हराई ? विवाह गरेर गई भन्दा पनि कहाँ पुगि होला ? कसैले लगेर विक्री पो गरिसक्यो कि ? न कसैले मारि पो सक्यो कि ? यस्तै धेरै कुराले अभिभावकलाई चिन्ता थपिदिएको रहेछ । मैले त्यस्तो कुनै परवाह गरिनँ । मात्र आफ्नो खुशी । आफ्नो मनमा लागेको ब्यवहार कर्महरु गर्दै गएँ । त्यो पनि क्षणिक । कस्तो बालापान ? कस्तो उमेर ? कस्तो निर्णय ? 
    दिदीलाई धुलिखेल बोलाए पछि उसलाई मैले साथी जाउ भनें । पहिला पहिला पनि मैले घर जान्छु भन्दा उसले पठाएको थिएन । गाउँका मान्छेलाई समेत मैले घर जाने बाटो सोधेको थिएँ । मलाई घर जान मन लागिसकेको थियो । घर गएँ भने पढि नसकी फर्कन्न भन्ने सोच बनाएको थिएँ । उसले जे हुनु भईसक्यो अब यतै पढ भन्थ्यो । मलाई मन नै थिएन । दिदीलाई भेट्न गएँ । उसले भेट्न मानेन । अभिभावकले उसलाई कुट्लान् भन्ने डर थियो । मैले धुलिखेलको बसपार्क नजिकै दिदीलाई भेटें । देख्ने वित्तिक्कै रुन आयो । रुन मन लाग्यो । तर सबै कुरा भन्नै सकिनँ । दिदीले मसँग जाउ भन्नु भयो मैले उसलाई कुराएको कुरै गरिनँ । हामी काठमाडौ गयौं । त्यो बिचमा उसले मलाई एउटा ज्याकेट, कुर्ता सुरुवाल किनि दिएको थियो । उसले श्रीमतीका रुपमा मलाई स्विकारीसकेको थियो । दिदी र बुबाले मलाई गाली गर्नु भएन । सम्झाउनु भयो । सबै कुरा सम्झाएर माया गरेपछि मैले बास्तविकता सबै भनि दिएँ । उहाँहरुले प्रहरीलाई खबर गर्नुभयो । पहिला पनि म हराएको भन्दै उजुरी गर्नु भएको रहेछ । त्यहि उजुरीलाई समेत आधार मानेर भेटिएको खबर भयो । केटालाई पनि प्रहरीकोमा झिकाईयो । मैले उसलाई अब तिम्रो घर जान्न तिमी जे गर भनि दिएँ । उसले लैजान्छु भन्दै थियो । बुबा र दिदीहरुले केटाकेटीलाई फकाउने ? तिमीलाई प्रहरीकोमा थुनिदिन्छु भन्दै तर्साए । त्यसपछि उसले अब म विदेश जान्छु । हामी दुबैले गल्ति ग¥यौ भन्दै मोवाईलको सिम निकालेर भाँचिदियो । मैले पनि सिम निकालेर भाँचिदिएँ । अभिभावकहरुले दिमागबाटै उक्त घटना फालिदिन अनुरोध गरे । केहि समय उसँगै जानु पर्छ छोरी मान्छे हो भन्दै सम्झाउँदै थिए । मैले उसको घरमा उ सँग जाने भए आत्महत्या गरिदिन्छु भनि दिएँ । त्यसपछि पुनः मलाई अभिभावकहरुले काठमाडौमा लैजाने निर्णय गर्नुभयो । 
    मोबाईलको गलत प्रयोगले केहि क्षणकै आवेगमा मैले ठुृलो गल्ति गरें । जीवनमा यहि नै मेरो ठुलो पहिलो र अन्तिम गल्ति हो । आत्महत्याको प्रयास समेत नगरेको होईन । केहि विग्रिएको छैन । बुबा आमाले पहिलाकै अवस्थामा अध्ययन गराउँछु भनेकाले पुनः विद्यालय जान शुरु गरें । एसईई राम्रो श्रेणीमा उर्तिण भएँ । अहिले ब्याचलर तहमा भर्ना भएको छु । आफ्नो खुट्टामा उभिन सक्ने भएर मात्रै  विवाह गर्ने तयारीमा छु । अल्लारे बुद्धि र प्रविधिको गलत प्रयोगका कारण विद्यार्थी जीवनमा यस्ताखाले घटनाले भविष्यमा बालबालिकाहरुको अवस्था के होला ? प्रविधिको प्रयोग होईन दुरुपयोग, अभिभावकहरुको निगरानीमा कमी भयो भने बालबालिकाहरु केहि क्षणमा बाटो बिराउन के बेर ? जिलल प्रहरी कार्यालयमा आउने यस्ता थुप्रै घटना रहेछन् । मैले चाहेको भए उसलाई जर्बजस्ति करणीको मुद्दा, अपहरणको मुद्दा लगाउन सक्ने रहेछु । स्वंम मैले मन देखि मन पराएको मान्छेलाई त्यसो गर्नु अपराध हुन्थ्यो । तर अहिले धेरैले यसलाई आधार बनाएर बार्गेनिङ्ग गर्ने माध्यम बनाएका रहेछन् । यो गलत हो । बालबालिकाहरुलाई समयमै यो विषयमा शिक्षा दिएर निगरानी गरिएन भने गलत बाटो समात्न के बेर ? हेरौ । सोचौ र निर्णय गरौं । 

सिरु राना मगर
हाल : काठमाडौं
स्थायी ओखलढुंगा