2026 April 30/ 01:05: 59pm

    उषा निकै दङ्ग थिई त्यस दिन संजयले उसको रुपको प्रशंसा गरेको थियो । ऐना अगाडि घण्टौ समय विताएकी थिइन् उषाले । आफ्ना आखाँहरु साँच्चै नै मृगनयनी नै देखेकी थिईन्, ओठहरु कमलका पात झै अनि गालाहरु रगत चुहिएला जस्तै । ओहो ! मैले त साँच्चै नै ऐना हेर्नै बिर्सिएकै रहेछु । आफ्नो कपाल सुम्सुम्याउँदै एकहोरो हुन थालिन् उषा । संजयले भनेका कुराहरु एक एक गर्दै सम्झन थालिन् । तिमी यति सुन्दर छौ किन आफ्नो वास्ता गर्दिनौ ? पानी थाप्न धारामा जादाँ संजयले भनेको थियो । लगभग चौबिस, पच्चीस वर्षीया उषा आफ्नो सानो चार वर्षिय छोरा सहित बनेपाको चारदोबाटो नजिकै बस्दै आएकी थिइन् । उनको श्रीमान रोजगारीको सिलसिलाम कतार गएको थियो । बिहान पानी थाप्न हतार हतार तल छिडींमा ओर्लनु, खाना तयार पार्नु, छोरालाई स्कुल पु¥याउनु अनि दिउँसो छोरा लिन तीन बजे तिर विद्यालय जानु नै उषाको दैनिकी थियो । दिउँसोको समय अलिक फुर्सदिली हुन्थिन् । दिनभरी हिन्दी सिरियल हेर्नु कहिले काँही वल्लो कोठा पल्लो कोठा पनि चाहार्न भ्याईहाल्थिन् । अहिले जस्तो मोबाईलको सहजता थिएन । मोबाईल भए पनि इन्टरनेट र सामाजिक सञ्जाल थिएन । 
    सात महिना जति भएको थियो उषा अलिक असजिलो महसुस गर्दै थिईन् । आफ्नो कोठाको पूर्व पट्टिको झ्यालको पर्दा बिहान जब खोल्थिन् कसैले पल्लो घरबाट चिहाएको आभास गर्थिन् । पहिले पहिले त वास्तै गर्दिनथी तर पछिल्ला दिनहरुमा लुकिछिपी त्यो पल्लो झ्यालमा चिहाउन थालेकी थिइन् । हेर्दा त्यस्तै २४÷२५ वर्ष जतिको देखिने अग्लो, हृष्टपुष्ट युवक प्रायःसधै काँधमा गम्सा अनि हातमा ब्रस लिएर उभिएको उनले देखिरहेकी थिईन् । यो क्रमले निरन्तरता पाउन थालेको थियो । बिहानै उषा पर्दा उघारथिन् भने उता त्यो युवक अघि नै झ्यालमा आएर उभिसकेको हुन्थ्यो । समय बित्दै जादाँ दुबैका आँखाहरु एकापसमा ठोक्किन थालेको थियो । उषा लाजले भुतुक्कै हुन्थिन् भने युवक मुसुमुसु हाँस्दै बाहिर निस्कन्थ्यो । उषा कहिले काँही झस्किन्थी । यो के भएको मलाई ? किन म त्यो अपरिचित व्यक्तिसंग आखाँ जुधाउन पुग्छु ? यस्तै यस्तै तर्कनाले उषा आफुलाई सतर्क गराउँथिन् । बेग्ला बेग्लै घरमा बस्ने भए पनि पानी थाप्न भने दुबै घरका मानिसहरु उषा बस्ने घरकै छिडींमा आउने गर्दथे । कहिल्यै बोलचाल नभएको ब्यक्तिले आफ्नो ध्यान खिचेको उनलाई अनौठो लागिरहेको थियो । बच्चा, श्रीमान्, घर परिवार, आफन्त तथा समाजको चासो र चिन्ताबाट उनि त्रसित देखिन्थिन् । 
    जाडोको महिना थियो । बिहानको ६ बजिसके पनि चिसो र हुस्सुको कारण मानिसहरुको त्यति चहलपहल थिएन । सबै मस्तसँग सिरक भित्र थिए । तर उषा निदाउन सकेकी थिईनन् । मनभरि नानाभाँतीका कुराहरु खेलाउँदै थिइन ्। एकछिनमा जुरुक्क उठिन् र पर्दा उघारिन् । त्यो युवक अघि आएर झ्यालमा उभिसकेको थियो । दुबैले एक अर्कामा बिहानीको अभिवादन आखाँबाटै गरे । चिसो बिहानीमा पनि न्यानो अनुभव गरे । आखाँबाट केहि ईसारा गरे । एकछिनमा दुबैजना छिडींमा पानी थाप्न र मुख धुने बहानामा उपस्थित भए । एकान्तको लाभ उठाउँदै युवकले आफ्नो परिचय दिन भ्याईहल्यो । मास्टर अध्ययन् गर्न काठमाण्डौ आएको संजयको घर सिन्धुली थियो भने एक्लै त्यो पल्लो घरमा बस्दै आएको ७ महिना भैइसकेको रहेछ । उषाले पनि केहि अनकनाउँदै श्रीमान् बाहिर भएको र आफु छोरा सहित यहिं बस्दै आएको बताईन् । त्यसपछिका दिनहरुमा दुबैको भेट त्यहि छिडींमा हुनेगरेको थियो । एकान्त पाए दुईचार कुरा गरि हाल्ने र नपाउँदा भारी मन लिएर फर्किने गर्दथे । एवं रुपले उनिहरु बीच नजिकपना बढ्दै गएको थियो । त्यो दिन सखारै उषा छिडींमा पुगेकी थिइन् । संजय मुख धुदै थियो । दुबै मौन थिए । उषा चुपचाप पानीको बाल्टिन बोकेर फर्कन लाग्दा संजयले उषाको हात च्याप्प समातेर भन्यो उषा म तिमीलाई मन पराउँछु । उषा तरङ्गित् हुन पुगिन् । कति दिन देखिको उकुसमुकुसहरु छताछुल्ल भएर पोखिएको थियो । म विवाहित हुँ र मेरो छोरा पनि छ भन्ने बिर्सिन सकिदैन । केहि दबिएका स्वरहरुमा उषाले भनिन् । मलाई थाहा छ । तर विवाहित पुरुषले अर्कै नारी सँग सम्बन्ध राख्न मिल्छ भने विवाहित नारीलाई छेक्नु सरासर अन्याय भएन र ? संजयको यो प्रश्नले उषा झन् गल्न पुगेकी थिइन् । त्यस माथि मैले तिमीलाई मनपराएको हुँ । अरु सब पर्दा पछाडिका कुरा हुन् । त्यो संग मेरो सरोकार छैन । संजयको यस्तो प्रतिकृया सुने पछि उषा कतिखेर भ¥र्याङ चढेर कोठा भित्र आईपुगिन् पत्तै पाईनन् । खै कस्तो आकर्षण थियो संजयमा उषा आफुलाई सम्हाल्न सकिरहेकी थिईन । बिस्तारै बिस्तारै आफ्नो श्रीमानको यादहरुलाई पोको पारेर एकातिर पन्छाउँदै संजयलाई आफ्नो कल्पनामा समेटन थालिन् । केहि दिन पछि उषाको मोबाईलमा मेसेज आयो । शनिबार फिल्म हेर्न जाने प्रस्ताव सहितको त्यो मेसेज संजयले पठाएको थियो । केहि छिन घोरिए पछि उषाले स्विकारोक्ति जनाउँदै रिप्लाई गरिन् । बडो प्रतिक्षारत शनिबार आएको थियो । उषा बिहानै देखि साजसज्जामा तल्लिन् थिइन् । होचि तर ड्याम्म मिलेको शरीरकी धनि गोरी उषालाई जे लगाए पनि सुहाउने भए पनि त्यो दिन धेरै वटा साडी लगाउँदै फुकाल्दै गरिन् । कुन चाँही लगाउँदा आफुलाई आकर्षक देखिने हो भन्दै पलङ्भरी साडीको खात लगाएकी थिईन् । करिब डेढ घण्टा पछि हल्का गुलाबी रङको साडीमा उषा आफुलाई ऐना अगाडी उभ्याएर हेर्छे । मन्द मुस्कान सहित छोरालाई लिएर बाहिर निस्कने बेलामा त्यो पल्लो घरको झ्यालमा आखाँ पु¥याईन् । संजय भावले मौन स्वागत गर्दै एकछिनमा आफु निस्कने संकेत ग¥यो । बसपार्क पुगेर उषाले केहिछिन संजयको प्रतिक्षा गरिन् । करिब दश मिनेटको अन्तरालमा संजय पनि पुग्यो र दुबैजना संगै बसमा चढे ।
    मानिसहरु बस भित्र खाँदिदै जाने क्रम बढ्दै जाँदा दुबैले शरीरले एक आपसमा स्पर्श गरेको अनुभूती गर्न थाले । यात्रा रोमाञ्चित हुदै थियो । कति छिट्टै गन्तव्यस्थल आईपुगेछ उनिहरुलाई होसै भएन । बनेपाबाट काठमाडौ पुगेको, काठमाडौ पुगेर फिल्म हलमा फिल्म हेरेको, फिल्म हेर्दा एक अर्काले गरेको स्र्पश, समय समयमा गरेका कुराकानीले बेलुका घर फर्किए पछि उषामा एक किसिमको अनौठो परिवर्तन देखा परेको थियो । उनि कल्पनामै हराउन थालेकी थिइन् । साँच्चै भन्नु पर्दा उषाले त्यस दिन आफ्नो मर्यादाको संघार नाघेकी थिइन् । एउटा विवाहिता नारीको सम्मानमा ठेस पु¥याउने अघोरी कार्य गरेकी थिइन् । उनि आफ्नै नजरमा गिरेकी भए पनि त्यस्तो कुनै पश्चतापको बोध गरेकी थिइनन् । उनिहरु वीचको यो सम्बन्धमा अझ प्रगाढता आएको थियो । कहिले रेस्टुराँ कहिले काठमाण्डौं नजिककैको मनोरस्थलमा पुग्नु उनिहरुको साप्ताहिक कार्यक्रमकै रुपमा फस्टाएको थियो । फुर्सद भयो कि बनेपा आसपासका धेरै स्थानमा पनि उनिहरु घुमिरहेका थिए । उनिहरुको जीवनको अन्तिम सत्य भनेकै उनिहरु बीचको माया र प्रेम जस्तै भएको थियो । सानो छोराले आफ्नो हात समातेर झक्झक्याउँदा उषा झसंङ्ग हुन पुगिन् । उषा मेरो अर्को आईतबारको लागी टिकट निश्चित भयो । म आउँदै छु । आमाको फोन आउँदा उनले बताएकी थिईन् । 
    श्रीमान्को उत्साहले भरिएको कुरा सुनेर उषामा कुनै खुसीका लहरहरु देखिएन मात्र तनाव बाहेक । कुनै रस अनुभव गरिनन् त्यो भलाकुसारीमा उषाले, केवल बिषादको गहिरो छाप देखा प¥यो । उषालाई के गरौं कसो गरौं भयो । आज त संजयलाई नभेटी हुन्न । उषाले निश्चय गरिन् र संजयलाई फोन डायल गरिन् । उषाले संजयले आजकल अलिक आफुमा ध्यान नदिएको आभास गर्दै थिइन् । खै किन हो संजयमा अकस्मात परिवर्तन देख्न थालेकी थिइन् । उषाको पटक पटकको अनुनय पछि संजय ग्रीनल्याण्डमा भेट्न सहमत भएको थियो । भोलिपल्ट उषा निर्धारित समय भन्दा लगभग आधा घण्टा अगावै तोकिएको स्थानमा पुगेकी थिइन् । निकै बेर सम्मको प्रतिक्षामा उषाले एउटा चिसो मगाएर आफ्नो मानसिक तनाव कम गर्ने कोशिस गरेकी थिइन् । संजय ढिला आईपुग्दा उषा रिसले आगो भएकी थिईन् । दुबै मौन रहिरहे । मेरो श्रीमान अर्को आईतबार आउँदै हुन्हुन्छ । के गर्ने ? उषाको यो प्रश्नको उत्तर दिन जरुरी ठानेन क्यारे चुपचाप बसिरह्यो । किन केहि नबोलेको ? म के गरुँ ? बैक ब्यालेन्स पनि धेरै छैन अब । उनलाई तनाव भएको थियो । आउन देउ न केहि हुन्न म सम्हाल्छु । संजयको यस्तो कुटिल प्रतिकृयाबाट उषा केहि राहत अनुभव गरे पनि विश्वास गर्न सकिरहेकी थिईन । जसरी भए पनि त्यो अस्तिको एक लाख १० हजार फिर्ता गर अरु पछि जे गरे पनि गरौला । उषाले यति भनि नसक्दैमा संजयले चर्काे स्वरमा तिमीलाई मेरो भन्दा बढि पैसाकै माया छ है ? भनेर भावानात्मक ब्ल्याकमेल ग¥यो । हैन त्यसो भन्न खोजेकी हैन । तर श्रीमान आउनु भए पछि हरहिसाब पनि त देखाउनै प¥र्यो नि । भएका बादलहरु मडारिन थालेको सजिलै देख्न सकिथ्यो । ठिकै छ भोली चोभारमा भेट मलाई । म पैसाको बन्दोबस्त मिलाउँछु । संजयले आफ्नो गम्भिरता प्रदर्शन गर्दै भन्यो ।
    उषा ढुक्क भइन् । भोलि भेट्ने वाचा सहित दुबै उठे । वेटरले बिल ल्यायो । सदा झै उषाले नै बिल तिरिन् । टन्टलापुर घामले गर्दा गर्मी बढ्दो थियो । उषा चोभारमा पुग्दा संजय आईसकेको थियो । ल्यायौ त ? उषाले हतास हुदैँ सोधिन् । हेरन साथीले धोका दियो । पैसा लिएर भागेछ । पार्टनर सिपमा काम गर्छु भनेर लिएको थियो । संजयको यस्तो बनावटी कुरा सुनेर उषामा नैराश्यता छायो । ठुलो पहाडबाट गहिरो खाडलमा खसेको अनुभव गर्न पुग्छिन् । म संग अरु विकल्प छैन । मैले कसरी मुख देखाउने ? बरु म तिमीसंगै जान्छु । घर फर्किने वातावरण छैन । उषा अत्यासिएर भन्न थाल्छिन् । तर म अहिले तिमीलाई लैजान सक्दिनँ । मेरो आम्दानी केहि छैन । म कसरी तिमीलाई राख्न सक्छु ? लाज नै नमानी संजयले भन्यो । उषा भावशुन्य हुन पुगिन् । के रे ? के भन्यौ तिमीले ? तिमी बिना म एकपल पनि बाँच्न सक्दिन भनेर मेरो जीवनसंग खेलवाड गरेर अहिले यस्तो कुरा कसरी गर्न सक्यौं ? उनी आक्रोशित भईन् । संजयलाई मौनताले आंलगिन गरेको थियो । उषामा धैर्यताको बाँध फुट्यो । पापी, धोकेबाज मेरो सबै विश्वासको घात गरिस् । उषा संजयमाथि अनियन्त्रित हुदैँ झम्टन पुग्छिन् । जथाभावी संजयको कपडा च्यात्न थाल्छिन् । अनुहार चिथोर्न थाल्छिन् । उषा निकै आक्रोशित हुन पुग्छिन् । म कसरी तिमीलाई अपनाउ ? तिम्रो विवाह भैसकेको छ त्यसमाथि छोरा पनि छ । संजय पनि तिब्र प्रतिकृया जनाउन थाल्छ । यो त मैले पहिले नै भनेकी थिएँ ? के त्यसो भए म संगको प्रेम को नाटक मात्रै थियो ? मसंग भएको पैसामा मात्रै तिम्रो नजर थियो ? उषा झनै असन्तुलित हुँदै उससँग चिच्याउन पुग्छिन् । पागल झै संजयलाई सक्दो झम्टिरहन्छिन् । कतिखेर संजयको हातहरु उषाको घाँटीमा पुगि सकेछ । संजयलाई होसै हुदैन । उषाको एकहोरो आक्रमणले संजयले पनि संयमता गुमाउन पुगेछ । केहि छिन पछि त्यहाँ उषाको निर्जीव शरीर लडिरहेको संजय पाउँछ । आवेगमा आएर संजयले उषाको ज्यान लिईसकेको थियो । संजयको हातहरु काँपिरहेको थियो । सञ्जय अहिले सजाँय भोगिरहेको छ । 
    विदेशबाट फर्किन नपाउँदै श्रीमतीको विभत्स हत्याले श्रीमान् रामचन्द्र विदेशमै बेहोस हुन्छन् । सानो बच्चाको विचल्ली हुने पिरले आफन्त र माईतीहरु झनै पीडामा हुन्छन् । त्यहि श्रीमती र बच्चाका लागि विदेशिएका श्रीमान फर्कन लाग्दा पैसा र सम्बन्धका कारण हत्या भएकी उषाले भावनामा लेखेर छाडेका केहि शब्दहरु प्रहरीले बरामदी पुस्तिकामा फेला पारेको थियो । बढ्दो बेरोजगारको समस्याका कारण विदेशिन बाध्य युवायुवतीहरु दिन दिनै यस्ता समस्यासँग जुधिरहेका छन् । प्रहरी कार्यालयमा आउने यस्ता दर्जनौ उजुरीहरुले हाम्रो समाज कता जाँदैछ ? गम्भिर समीक्षा जरुरी छ । 

पुरुषोतम खत्री
बनेपा, काभ्रे