2026 April 30/ 01:27: 42pm

    आँखामा पट्टि बाँधियो मध्यरातिको १२ बजे कता लगियो केही थाहा भएन । फोन गरेर जानकारी गराउँछु भन्दा रातो पुलबाट मेरो एउटा मोबाइल फालियो । पछाडीबाट ढाडमा बुट बर्साइयो  हस्पिटल चेक गर्न लाँदा पनि झुट्टो आरोप लगाईयो । चेलीबेटी बेचेको भन्दै तथानाम गरियो । गलत आरोप लगाउँदा आँखा रसाउन थाल्यो अति भए पछि सहन सकिनँ । देश र जनताको लागि मर्नै परे पनि मरिन्छ भन्दै ज्यानको माया मारियो । त्यसपछि झुट कुराको प्रतिवाद गरें । त्यसकै निहुँमा गाडिमा राखेर लाठी बजारियो । ज्यान शिथिल भएको थियो फेरि धार्मिक कुराको खेदो खनेर झन बढी तनाव र मानसिक यातना दिन शुरु गरियो । तर पनि हार खाईनँ । हरेस खाईनँ । मर्न तयार भएकाले गलत कुराको प्रतिवाद गर्छु भन्ने लागिरह्यो । जस्तो यातना ब्यहोर्नु परेको भए पनि गलत कुरामा साक्षी बस्न सकिएन । यातनाका विषयमा हरेक दस्ताबेजमा आफ्नो नाम लेख्न एवं नयाँ इतिहासको निर्माण गर्न अभियानका अथक यात्री र योद्धाहरूका लागि हिरासत वा जेलको बसाई खासै ठूलो विषय त होइन । हाम्रो मुलुक र आमजनतालाई मुक्त गर्ने राजनीतिक अभियानमा करिब तीन दशकसम्म थुप्रै संघर्षहरूमा विजय हासिल गर्दै आइरहेका छौँ । जीवन संघर्ष मात्र होइन, सङ्घर्ष जीवन पनि हो । परीक्षा मात्र होइन, अग्निपरीक्षा पनि उत्तीर्ण गर्नुपर्दछ जसमा निरन्तर क्रान्ति र आजीवन क्रान्तिकारीपनको जरुरी छ ।
    भनिन्छ, मानिस स्वतन्त्रपूर्वक बाँच्न पाउनुपर्छ । यो कुरा कानूनमा समावेश गरेको छ । कानूनमा समावेश भए पनि यही कुरालाई लत्याउने र कुठाराघात गर्नेहरू पनि अधिक छन् । नेपाल कम्युनिष्ट पार्टीले दलाल भ्रष्ट तस्करीविरुद्ध र दलाल संसदीय व्यवस्थाविरुद्ध आवाज निकाल्दै अर्को जनवादी क्रान्तिको उद्घोष गर्यो । अनि दलाल भ्रष्ट तस्करीको विरुद्धमा कार्वाही गर्दै करोडौँ राजस्व नतिरेकोलाई राजस्व तिरायो, तत्काल दलाल संसदीय व्यवस्थाको अदालतसँग टक्कर दिन अर्को नेपाल कम्युनिस्ट पार्टीको जनअदालतको घोषणा ग¥यो । यो देखेर दलाल राज्य व्यवस्थाले लुटेर खान पाए । नालायक अवसरवादीहरूले हाम्रो जनअदालतले गरेको कामलाई बन्द भएको आँखाले देख्न सकेन । यसकारण नेपालका लुटेर खान पल्केकाहरुले प्रहरी प्रशासनको दुरुपयोग गरी गिरफ्तार सुरु ग¥यो । सुतिरहेको ओछ्यानबाट उठाईयो । गर्भवती महिलालाई प्रशासनले देख्न सकेन । पटकपटक नेपालका प्रशासनले नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि गिद्दे नजर लगाई रह्यो । हामीले दलालवादीहरूको पहिलो र दोश्रो स्थानीय तहको र प्रादेशिक चुनाव खारेजी अभियान चलाएसँगै प्रहरीको पहिलो नजर हामीमा रहिरह्यो । यो चुनाव केवल हामी नेपाली जनताको लागि नभई दलाल फासिस्टवादीहरूका लागि करोडौँ खर्चेर गरेको चुनाव केवल आफ्नै आसेपासेको कुरा बुझ्नु भएन र हामीलाई पटक–पटक गिरफ्तार गरिरहनु भयो । हामी विरोध गरिरहने उहाँहरु गरिरहने । फेरी पनि २०७९ को चुनाव सम्पन्न भएको छ । यो चुनावका बारेमा पनि फरक–फरक मत बाझियो । पार्टी नै फुटको संघारमा पुग्यो । एकले अर्काेलाई सिध्याउने रणनीति भई नै रह्यो । जनताले खोजे जस्तै हुन नक्सने कारण पनि हामी नेताहरु नै रहेछौं ।
    मंसिर १३ गते मलाई बिनाकारण नेपाल प्रहरी फोर्सले गिरफ्तार ग¥यो । यो गिरफ्तारी प्रतिपक्षका मित्रले गर्दा भएको थियो । जब म बौद्धबाट आफ्नो काम सकेर आफ्नै निवास जोरपाटी जाँदै थिएँ, तर म आफ्नो निवास नपुग्दै बीचमा काँडेतार लगाउने कोसिस गरियो । बाहुनधारामा आइसकेपछि मलाई नेपाल प्रहरीका सई साबले रोक्न खोज्नुभयो तर म आफ्नो समस्य दर्शाउँदै निवाससम्म पुगेँ, घर पुगेर कपडा लगाई गौतम जुसपसलमा के पुगेको थिएँ, सई, असई, म्यादी प्रहरी र अरू दुईजना त्यहीँ देखिए र मलाई पक्राउ गर्न अनेक वहाना खेल्नुभएको रहेछ । कालो चिया खाने निहुँले मलाई त्यहीनेर भुलायो । के थाहा र मलाई म पनि त्यहीँ बसिरहे । एकछिन पछि चौलागाईं, भाई तिमी हामीसँग जानुप¥यो भन्दै गिरफ्तार गर्नुभयो । मलाई बाइकमा राख्नुभयो । मलाई कतैबाट आक्रमण नहोस् भनेर अगाडि–पछाडि मेरो सुरक्षामा नेपाल प्रहरी थियो । मैले भनेँ, सर किन मलाई पक्राउ गर्नुभएको ? मैले केही गल्ती गरेँ र सर ! सरले भन्नुभयो । गल्ती गरेको छैन, तपाईं नेपाल कम्युनिस्ट पार्टीको मान्छे भन्ने खबर आयो । यसकारण हामीले तपाईंसँग नेपाल कम्युनिस्ट पार्टीको बारेमा बुझ्नका लागि समातेका हौँ, तपाईं नेपाल कम्युनिस्ट पार्टीको के हो ? कुन पद छ भन्नुभयो । मैले भनेँ– म नेपाल कम्युनिस्ट पार्टीको सामान्य समर्थन गर्ने मान्छे हँु । यसमा मेरो कुनै पद–पोष्ट नरहेको जानकारी गराएँ । अनि मलाई छोडिदिन पटक–पटक आग्रह गरेँ । मैले आफ्नो पारिवारिक समस्या दर्शाएँ । घरमा आमा–बुबा बिरामी हुनुहुन्छ । भुकम्प पीडितको घर बनाउन काठ ओसार्न भोलि घरमा जानु छ सर । छाडिदिनुस् भन्दै अनुनय विनय गराएँ ।
    मलाई छोडिदिनुहोस् भनेर आग्रह गरेँ । तर मेरो आग्रहलाई नेपालका प्रहरी प्रशासनले चासो दिएन । ३÷४ दिन बस्नुपर्छ भन्दै बौद्ध रिफर गरियो । बौद्धमा पनि मेरो बयान लियो । त्यहाँ मैले भनेँ– सर के मैले मान्छे मारेर आएँ ? मलाई गिरफ्तार गर्नुभएको ! प्रहरीले भन्नुभयो– के गर्ने भाई, मान्छे नमारे पनि विप्लवका नेता तथा कार्यकर्ता गिरफ्तार गर्नु भनेको छ । हाम्रो पनि डिउटी हो भाइ, भन्दै त्यहाँबाट पत्र तय भएर मलाई सिधै टेकु हिरासतमा राख्न आदेश दिइयो । मलाई बिनाकारण मेरो हातमा पहिलोपटक हत्कडी सुनका बाला लगाइयो । मलाई प्रहरीको गाडीमा राखियो मेरो परिचय सोध्न थालियो । मैले केही बोलिनँ । फेरि सोधपुछ गर्नुभयो । मलाई रिस उठेपछि मैले भनेँ– के म अपराधी र देश विखण्डनकारी हो ? यसरी ल्याउनुभएको । राष्ट्रिय स्वाधीनताको पक्षमा आवाज निकाल्दा भ्रष्टाचारको विरुद्धमा बोल्दा किन यस्तो यातना ? के भनेको थिएँ, उनीहरूले ममाथि नराम्रा अपशब्दहरू गर्नुभयो । यो त ठूलो नेता पो रहेछ । यसलाई दरो मुद्दा लगाउनुपर्छ, भन्नुभयो । मेरो आँखाबाट आँसुको धारा बग्न थाले । म रोएँ । कस्तो कानून कस्तो प्रशासन रहेछ यो देशमा ? भ्रष्टाचार गर्नेलाई फूलमालाले स्वागत गरिन्छ, हातमा हत्कडी लगाइँदैन, खुलेआम दलालहरूलाई छोडिन्छन् । गल्ती नगर्ने बिनाकसुरका मान्छेलाई पनि एउटै यातना दिने यो देशको कस्तो कानून् ?
    बिना–गल्ती मलाई टेकु हिरासत कक्षमा राखियो । परिचय गर्दै जाँदा त्यहाँ मैले केही नेकपाका नयाँ र पुराना साथीहरूलाई देखेँ अनि उहाँहरूको सामान्य अवस्थाको बारेमा बुझ्न खोजेँ । उनीहरूको भनाइअनुसार साथीहरूलाई धेरै यातना दिएको रहेछ । दुई दिनसम्म साथीहरूलाई अज्ञात बनाइएछ । हातमा लगाएको हत्कडीले साथीहरूलाई हानिएछ कानमा पनि सामान्य चोटपटक, शरीरमा पनि निलडाम रहेछ । आँखामा पनि कालो पट्टी लगाइयो रे ! धिक्कार कानुन ! के अपराध गरेका थियोैँ र हामीले यत्रो यातना भोग्नुपर्ने । तेही हिरासतमै दलालीकरण हुँदासम्म कानमा तेल हालेर बस्ने हाम्रो देशको कस्तो प्रशासन ? त्यति कुराको व्यवस्थापन गर्न नसक्ने अरू त कुरै छोडांै । यो देशको दलाललाई त चिन्ता नै छैन, बिना–कसुरका मान्छे पनि त्यही हिरासत कक्षमा भेटियो ।
    कसैले गल्ती गरेका पनि थिए होलान् । कोही बिना–गल्ती पनि आएका थिए होलान् । तर, त्यो अदालतले छानबिन गर्न सकेन, न्याय त कताकता उल्टै पीडा र मानसिक यातना दिइरहे । मलाई लाग्यो, २ महिनाको सुत्केरी नाबालकलाई पनि हिरासतको महिला कक्षमा राख्दा कसको मन रुँदैन । त्योे चिसो भुइँमा मन दुखेर आयो अनि झन्डै ८० वर्षका बूढा बा पनि हिरासतमा मलाई लाग्यो, यो देशको कानून पूरै शासकवर्गले कब्जा ग¥यो । पीडित झन् पीडितको पीडित भए । यो राज्यव्यवस्थाले कसैको भलो गर्दैन । आम जनता एक भए भने गलत फैसला गर्ने, अन्याय भएकालाई न्याय दिनु भन्दा झनै अन्याय गर्ने न्यायालयलाई कसले विश्वास गर्छ ? यस्ता न्याय मुर्ति प्रति नागरिकहरुको कस्तो बुझाई हुन्छ ?
नकुल चौलागाई
बनेपा, काभ्रे