2026 April 30/ 01:27: 09pm

    हो मान्छेहरुका आफ्नै भोगाईहरु छन् । आफूसँग हुँदा केहि नहुने र नहुँदा संसार नै गुम्यो भन्ने सोच राख्नेहरु पनि छन् । समस्यासँग भागेर होईन मुकाबिला गरेर मात्रै मान्छे सफल हुन सक्छ । सफल मान्छेका ईतिहास पनि लेखिएका छन् । मान्छे पढेर र परेर जान्दछ भन्ने नेपाली उखान हरेकको जीवनमा लागु हुन्छ । अपराध बोध भएको छ मलाई । विगत सम्झेर धिक्कारि रहेको छु । आफ्नै खुशी थिएन मेरो । साथीहरुको लहैलहैमा लाग्दा आफन्त परिवार सबै गुमाएको छु मैले यतिखेर । यो ठाउँ भनेको धेरै निर्दोषहरु पनि आईपुग्ने ठाउँ रहेछ । कोहि परिबन्दमा पर्ने रहेछन् ।
    कसैले आफैले आफैलाई सन्तुलनमा राख्न नसक्दा वा नियन्त्रण गर्न नसक्दा हुने रहेछ । यस्ता विविध कारणबाट जेल पुगेकाहरुको भोगाई सुन्दा लाग्छ आफ्नो केहि होईन । धेरै साथीहरुले आफ्ना भोगाईहरु ब्यक्त गरिसकेका छन् । केहिले पर्खाल भित्र सिमित राखेका छन् त केहिले विश्वभर सुनिनेगरी प्रेसित गरेका छन् । हामीले भोगेका अनुभूतिहरुले समाजमा थप अपराध र यस्ता खाले घटनाहरु नघटून् भन्ने हो । यो पनि एउटा सिकाई हो । हुन त सरकार र राज्यको उद्देश्य पनि त्यहि होला । सुधार गृहमा हुनुपर्ने धेरै कुरा उपलब्ध छैन तर पनि सिक्नेहरुले यसलाई पनि सदुपयोग गरिरहेका छन् । अध्ययन छुटेकाहरुले अध्ययन गरिरहेका छन् । सिप सिक्नेहरुले सिप सिकिरहेका छन् । अरु क्षेत्रमा कृयाशील भएकाहरुले त्यहिबाट आफूलाई अब्बल बनाएका छन् । सुध्रन चाहने र खोज्नेलाई जेल जीवन महत्वपूर्ण र उपलब्धीमुलक हो ।     जन्म, मृत्यु, विवाह सबै लेखेकै लेखान्त हुने रहेछ । त्यस्तै संघर्षमा मेरो बाल्यकाल बित्यो । जब मैले आफुलाई उमेर पुगेको सम्झन पुगें तब अरुको खोजी हुन थाल्यो । बुबाहरुकै सल्लाहमा मागी विवाह भयो । हामीहरुबाट १ छोराको जन्म समेत भएको छ । विवाहको एक वर्ष नपुग्दै हाम्रो बच्चा जन्मियो । भर्खरको युवा केटो धोका पाईएला भन्ने मैले कहिल्यै सम्झिनँ । समय बित्दै गयो । उ भर्खर २१ वर्षको मात्रै छ । म पनि त्यहि उमेरकै हुँ । नेपालको कानूनले पछिल्लो समय २० वर्ष नपुगी विवाह गर्न दिदैन ।
    हामीबाट २० वर्षमा एक सन्तानको जन्म नै भईसकेको थियो । आफ्नै घरमा श्रीमती र १ छोरा समेत हुंँदा हुँंदै कानूनी रुपमा सम्बन्ध बिच्छेद समेत नभई अंश दिई कानुनतः रुपमा छुट्टै भिन्न नभएको अबस्थामा अर्काे केटीसँग विवाह गरेका रहेछन् । केटा मान्छेहरु कस्तो धोकेवाज हुन्छन् । घरमा भर्खरकी युवती श्रीमती छ । तामाको मुना जस्तो एक वर्ष नपुग्दैको छोरा छ । उसलाई घर बाहिर अर्काे युवतीसँग मोजमस्ति गर्नु परेको छ । मोजमस्ति मात्रै होईन उसलाई कान्छी श्रीमतीका रुपमा समेत विवाह गरेर ल्याउन सक्छ भने त्यस्तो श्रमिानलाई के भन्ने ? त्यस्तो पुरुषलाई के भन्ने ? उसले कान्छी श्रीमतीको रुपमा भर्खरकी युवतीलाई विवाह गरेछ । उसको पहिलो श्रीमती र बच्चा भएको कुरा जानकारीमा थियो । अझ मैले उसलाई यस्तो काम नगर भनेर पटक पटक सम्झाएको पनि थिएँ । तर पनि उसले मानेन । उनिहरुको सम्बन्ध छुटाउन मैले पटक–पटक आग्रह पनि गरें । कानूनको पनि त्रास देखाएँ । समाजको डर देखाएँ । इज्जत भएकालाई पो डर हुन्छ । इज्जत नै नभएकाले के को डर ?
    श्रीमान् लामो समय देखि नै त्यहि युवतीसँग फेसबुक मार्फत चिनजान भई नम्बर समेत आदन प्रदान भई प्रेममा बसेका रहेछन् । मलाई विवाह गरेको लोग्ने एक वर्ष नपुग्दै फेसबुकमा केटी भेटियो भन्दै प्रेम गर्ने कस्तो अपराधी होला ? उसले फेसबुकमा भेटाएकी युवतीलाई छाड्न सकेन । यता घरमा श्रीमती गर्भवती भएकी छ । उता अर्की युवतीसँग प्रेम शुरु भएको छ । हे पुरुष ? तिमीलाई चाहिने चाँहि के हो ? फरक फरक युवतीको फरक फरक प्रेम, गर्भ रहेको श्रीमती वा अरु कुनै युवती र त्यसले दिने माया प्रेम ? यो नारीले सहनु कति ? एउटी नारीको बेदना र पीडा बताईरहँदा अर्की नारी प्रेममा फस्ने र घरमा गर्भ समेत बसेको विवाहित श्रीमती भएको थाहा पाउँदा पाउँदै प्रेम गर्ने र विवाह समेत गरेर आउने हिम्मत बटुल्ने कस्ति नारी तिमी ?  उसले प्रेम मात्रै गरेनछ । समय समयमा  भेटघाट गरी सँगै बस्दै आएका रहेछन् । घरमा मलाई काम छ भन्दै निस्कने र बाहिर उसैसँग रात विताउने मेरा श्रीमान्को कसरी बयान गरांै म ? मलाई घरमै छाडेर अर्काे घरबार शुरु गरिसकेको लामो समय भएछ । मैले त ढिला थाहा पाएँ । समयमै थाहा पाएको भए सायद यस्तो घटना पनि हुँदैन थियो होला । जब थाहा पाएँ तब नेपालको कानुन अनुसार दोश्रो विवाह गर्न नपाउने भए पछि उजुरी गरें । श्रीमान्ले म सँग २०७३ सालमा सहमती बिना नै अर्की युवतीसँग सँग बिबाह गरिसकेका रहेछन् । अहिले त सहमति लिएर पनि दोश्रो विवाह गर्ने कानून छैन । तर पनि विवाह गर्न रोकिएको छैन । दोश्रो विवाह हुँदा दर्ता पनि नहुने रहेछ । उसबाट जन्मेका सन्तानहरुको भने जन्म दर्ता हुने रहेछ । नेपालको कानून एकातिर छ ब्यवहार अर्काेतिर । मान्छेका सम्बन्धहरु अहिले अर्काे तिर हुन थालेछन् । हरेक ब्यक्ति अहिले एउटा सम्बन्धमा रमाउन सकेको छैन । किन होला ?
    श्रीमान्ले यो विषयमा मलाई बताएका थिए । सबै घटना र उनले गरेका कर्महरु सुनेर म छाँगाबाट खसे झैं भएँ । उनिहरु त्यति बेलै भाग्ने योजनामा रहेछन् । मेरै कारण रोकिए । उनिहरुले आईन्दा त्यस्तो नगर्ने भन्दै आफुहरुले गरेको विवाह सबै नौटंकी भएको बताएका थिए । घरमा नन्द सुत्केरी थिईन् । म आफै पनि भर्खर सुत्केरी अवस्थाबाट तंग्रँदै थिएँ । हाम्रो त्यो अवस्थालाई समेत उसले ख्याल पु¥याएन । उनिहरु भागेर पोखरा पुगेछन् । पोखरा पुगेको कुरा पनि धेरै पछि हामीले थाहा पायौं । पोखराबाट आएर उनिहरु आफन्तकोमा पुगेछन् । हामी उनिहरुको खोजी गरिरहेका थियौं । उ माईतीमा बसेको कुरा थाहा भयो । श्रीमान्कै मामाको छोराको छेवारमा गएका रहेछन् । त्यति नै बेला मैले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा वहुविवाह मुद्दा शिर्षकमा जाहेरी दरखास्त दिएको थिएँ । प्रहरीले सोहि दिन उनिहरुलाई पक्राउ गरेर ल्याउन सफल भयो । प्रहरीले गरेको अनुसन्धान तथा मेरो बयानका आधारमा उनिहरुलाई पक्राउ गरेर थप कारवाहि लागि हिरासतमा राखेको थियो । प्रहरीले पनि कानून बमोजिम सम्बन्ध बिच्छेद नभएको अवस्थामा दोस्रो श्रीमतीको रुपमा विवाह गरी ल्याएको र आरोपित कसुरदार समेतले मेरो श्रीमान्को जाहेरवाला श्रीमती, १ छोरा समेत छ भन्ने थाहा जानकारी हुँदा हुँदै दोश्रो विवाह गरेकाले मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १७५ को उपदफा १ र २ को तथा सोही ऐनको दफा १७५ को उपदफा ४ बमोजिम सजाय गरी उपदफा ५ बमोजिम विवाह बदर गर्न माग गर्दैे सरकारी वकिल मार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । मान्छे सप्रनु र बिग्रनुमा सबै भन्दा ठुलो उसको संगत रहेछ । संगत गुनाको फल भने जस्तै मेरो जीवनमा त्यस्तो भोगाई शुरु भयो ।
    मलाई लाग्छ साँच्चै भगवान पनि स्वार्थी हुँदा रहेछन । नभए पनि नहुने भए पनि नहुने । विवाह गर्दिनँ भन्दा बुबा आमाले मान्नु भएन । जब विवाह गरें श्रीमानले धोका दिए । भर्खर २० वर्ष पूरा हुँदै छु । यहि उमेर देखि म श्रीमान् छाडेर अलग बसौं कि ? काखमा भएको सन्तान लिएर दोश्रो विवाह गरौं ? आखिर जति विवाह गरे पनि धोका पाउने त श्रीमतीहरुले नै रहेछ । बच्चाले बाबु सोध्यो भने कसलाई देखाउँ ? महिलाहरुको जीवन खै के के ? उनिहरु अदालतको सजायँले जेलबाट छुटिसकेका छन् । मेरा दुःख र बेदनाहरु उस्तै छन् । उनिहरु फेरी सँगै बस्न र रम्न थालिसके । म रमाउन सकेको छैन । कसैको सहारा लिउँ मलाई अरु कसैसँग जोडियो भन्ने आरोप लाग्ने । एक्लै संघर्ष सम्भव छैन । म पनि विवाह गरांै सबै पुरुष उस्तै त हुन् जस्तो लाग्ने । नगरौ जीवन धान्न गाह्रो । निश्कर्षमा मेरो कुरा के भयो भने यो संसार शत्रु खोज्न टाढा जानु पर्दैन । अनि महिलाको सत्रु अरु कोहि हुँदैन महिला नै हुन्छ । महिलाहरु जब सम्म आफै सचेत हुँदैनन् तबसम्म यस्ता समस्या धेरै हुन्छन् ।

सरु तामाङ
बनेपा, काभ्रे