रातभर झमझम पानी पर्दा पनि मन पोल्न छोडेको छैन । समय यसरी उल्टो फर्केला भनेर त मैले सोच्न समेत एक मिनेट खर्च गरिन जिन्दगीमा । यस्तो चंगोलमा फसेंकी मलाई त्यसको पीडा बोध भएको छ तर त्यसबाट निस्कन सकेको छैन । सायद आफुलाई जिन्दगी भर माफ समेत गर्न सक्दिनँ होला । खै किन मान्छे यति सम्म क्रुर हुन्छन् । म त सानै थिए यस घटना तथा मेरो भुमिकाको असरबारे मलाई के थाहा तर जान्ने बुझ्नेहरु किन पैसाको निम्ति यति धेरै पापकर्म गर्छन् मैले बुझिनँ । जब बुझ्दैछु आजकाल जिन्दगीसँग गुनासो मात्र छ, प्रायश्चित मात्र छ । मेरा जस्तै सपनाहरु अरुका पनि थिए होलान् हुन त सम्पूर्ण घटनाको जिम्मेवार म मात्र त थिइनँ तर पनि मेरा कर्म र भुमिकाले जे ग¥र्यो त्यसको भागिदार म पनि हुँ भन्ने लाग्छ र म लज्जीत छु । आफ्नै शीर ठाडो पारेर हिड्न सक्ने औकात छैन मसँग प्रायश्चितको आगो दनदन दन्किएको छ मेरो छातीमा । म आफैँ भित्र मरिहेको छु दिनदिन । किन किन जिन्दगी संग कुनै आशा नै नरहे झैँ लाग्छ मलाई । उकुसमुकुस छु । न कसैलाई भन्न सक्छु न कसैलाई साट्न नै सक्छु । आफैँ भित्र तड्पिनुको विकल्प नै छैन ।
खै कहाँबाट सुरु गरौँ म सँग साहस नै छैन । हिम्मत बटुल्दैछु कि आफ्नो पापको प्रायश्चित गर्न नसके पनि गुम्सिएको पीडालाई स्तम्भ मार्फत पोखँु । सामान्य परिवारमा जन्म भयो । आमाको गर्भमा हुँदै बाबा वितेको कुरा थाहा पाएँ । बाबाको अनुहार समेत थाहा छैन मलाई । आमाले मजदुरी गर्दै समाजको अनेक लाञ्छाना सहदै हुर्काइन् पनि । एक त एकल महिला । त्यसमाथि पनि म छोरी मान्छे थिए, गरिबी त झनै विकराल थियो । समाजले जसरी प्रयोग गर्न चाह्यो सोही अनुसार भइदिनुपर्ने रहेछ हामी महिलाले अनि गरिबले । मान्छेको जिन्दगी माथिको राजनीति पनि हामीले नै सफल बनाइदिनुपर्ने, कस्तो तितो यथार्थ छ हाम्रो समाजको । आमाको अनेक दुःखमा म अर्को दुःख थिए । नबुझ्ने हुने खानेका परिवारका बच्चा जस्तै मेरा चाहाना र जिद्धिपनले मेरी आमा हैरान थिइन् । गाउँ घरका अन्य केटाकेटी साथीहरुसँग खेल्ने क्रममा कसैलाई केहि भयो भने पनि दोष म माथि नै थोपरिन्थ्यो । उतिबेला त प्रतिशोधको भावना आउँथ्यो तर आजकाल बुझ्दै छु गल्ति नगरे पनि कमजोरहरु नै पेलिनुपर्ने रहेछ । गाउँमा सबै बालबालिकाको खेल्ने मैदान एउटै थियो । स्कुल सकेपछि भेला भएर संगै खेल्थ्यौँ । १०÷१५ जना नै संगै हुन्थ्यौ हामी । सामान्य तरीकाले चलिनै रहेको थियो । हाम्रो नियमित तालिका भनेकै उठ्यो आमाले पकाएको खाना खायो विद्यालय गयो फर्केपछि उहि खेल मैदानमा साँझ नपरुन्जेल खेल्यो र घर फर्कियो अनि गृहकार्य गर्ने, पढ्ने, खाना खाने, सुत्ने । सामान्यतया हाम्रो गाउँका सबै बालबालिकाको दैनिकी नै थियो यो । सामान्य झैँ हामी सबैसँगै खेलिरहेका थियौँ । हाम्रो घर भन्दा माथि घर भएकी रमिता साथी आइनन् । उनी बोर्डिङ स्कुल जान्थिन् तर म भने गाउँकै सरकारी स्कुल जान्थेँ तर साँझ खेल्ने मैदान भने एउटै हो । किन आइनन् भन्ने पनि लागेन किनकी कहिलेकाहिँ होमवर्क बढि हुँदा तथा परीक्षाको समयमा उनि अरुबेला पनि आउँदिन थिइन् । सामान्य भैmँ नै लाग्यो । खासै अरु साथीले पनि किन आइनन् भन्ने कुराको ख्याल गरेनन् ।
सामान्य झैँ खेलि नै रहेका थियौँ । हामी भन्दा एक दुई बर्ष उमेरले दाईहरु पनि हाम्रा साथी थिए । त्यतिकैमा एक हुल प्रहरीहरु भ्यान सहित हामी खेलिरहेको ठाउँमा आए र सोधे सजन को हो ? हामी सबै डरायौँ, कोहि पनि बोलेनौ । किनकी हामीले त्यसभन्दा अघि त्यति नजिकबाट त्यति धेरै प्रहरीहरु देखेकै थिएनौ क्यार । फेरी प्रहरीले सोध्यो सजन को हो ? अझै हामी बोलेनौ । त्यसपछि शर्मिला र उनकी आमा भ्यानबाट झरेर सजन उहि हो भनेर चिनाइन् त्यतिकैमा प्रहरीले सजनलाई समात्यो र भ्यानमा राखेर लग्यो । हामी दौडेर उसको घरमा गएर सबै कुरा सुनायौँ । सजनको आमा त्यहिँ ढल्नुभयो । सजनको बुबा छिमेकका काकाहरुलाई लिएर चौकीतिर लाग्नुभयो । हामी पनि डरले आ–आफ्नो घर लाग्यौ । रातभर डरले आमाको अंगालोबाट हात समेत नझिकिकन सुतेँ खासै निद्रा पनि परेन । बिहान आमाले रातभर कत्ति बरबराईस सात्तो गयो कि समेत भनेको याद छ । साह्रै डर लागिरहेको थियो । स्कुल जान समेत कसरी जाने झैँ भयो तर पनि जानै प¥यो । तर पनि आमालाई घरी घरी सोधि रहेँ आमा सजनलाई किन पुलिसले लगेको ? आमाले मलाई थाहा छैन आजबाट खेल्न गइस् भने खुट्््टा भाचिदिन्छु भनेर हकार्नुभयो । सामान्य झैँ स्कुलबाट फर्कदा त घरमा एक हूल अपरिचित मान्छेहरु मलाई नै कुरिरहेका थिए । म वास्तै नगरि घरभित्र छिरेँ आमाले बोलाईन् अनि म निस्केँ । निस्केपछि म नै अपराधि जसरी सोधपुछ गरियो । मैले मलाई केहि जानकारी नभएको जानकारी दिएँ, आखिर मलाई थाहा पनि त केहि थिएन । पछि आमाले भन्नुभयो कि सजनले शर्मिलालाई जर्बजस्ति गरेर पुलिसले पक्रेको रहेछ । म त के भए नै थाहा छैन जब कि मैले जर्बजस्ति भनेको बुझेकै थिईनँ । मेरै उमेरकी उसलाई खै कसरी भयो यस्तो मलाई थाहा नै भएन । दिन बित्दै गयो । हाम्रो खेल्ने थलो सुनसान बन्दै गयो घरबाट खेल्न जाने दायाँ बायाँ जाने कुरामा बन्देज झैँ लाग्यो । म लगाएत खेल्ने साथीहरु सबैलाई पुलिसकोमा लैजाने कुरा भएछ । त्यसको अघिल्लो दिन मेरो घरमा फेरी एक हूल मान्छेको भिड लाग्यो रात परेपछि । नेता, बुद्धिजीवि, संघसंस्थाका प्रतिनिधि सबै थिए । म आफैँ पीडित भइसकेकी थिए ।
अनेक तरहले मैले जर्बजस्ति गरेको देखेको भनिदिनुपर्ने दाबाब आयो जर्बजस्ति भनेको नै नजानेकी मैले देखेको छैन म भन्दिन भन्दा मलाई फकाउने, हप्काउने तर्साउने लगायतका कुरा भयो । आमालाई समेत नानाथरी भने । गाउँका नेता आए, अपराधीलाई उम्कन दिनुहुन्न तैले भन्नै पर्छ भने । मलाई किन यति धेरै गरिराछन् मेरो बाल मस्तिष्कले कसरी बुझोस् । आमालाई प्रलोभन समेत दिन पछि परेका थिएनन् तिनिहरुले । मैले अझै पनि नदेखेको कुरा भन्दिनँ । मलाई दादा र साथी दुवैको माया छ भने दुवैजना अस्ति जस्तै म संगै खेल्न आउनुपर्छ भने । त्यसपछि मलाई झुक्याईयो मैले यो सब प्रहरीकोमा भनेमा सजन दादा र हामी सबै पहिले जस्तै खेल्न आउने भन्दै रातभर मलाई छोडेनन् । आमाले त मुन्टो हल्लाउदै नभन्न आग्रह नगरेकी होईनन् तर मैले मात्र साथीहरु संगै खेल्न पाउने स्वार्थका लागि उनिहरुको साथ लागे जसोजसो भन भने उसै उसै भन्दै गए । मलाई के थाहा कि मेरा बयानका कारण सजन दादा कहिल्यै नआउने गरि जेल जान्छ भनेर । मलाई आजसम्म पनि थाहा छैन कि सजनले साँच्चिकै जर्बजस्ति गरेको थियो भनेर । र म विश्वास गरुँ कसरी जबकी मेरो आँखाले न केहि देख्यो न महसुस नै गर्यो । विश्वास नगरुँ आफ्नै छोरीलाई जर्बजस्ति नै नगरी कोहि आमाले भन्न जर्बजस्ति गर्यो भन्न कसरी सक्छे र ? घटना घटेको भए पनि मेरो गल्ती भनेको अरुको लहलही र झुक्यानमा परेर गलत कुर बयान गरेँ सजन गलत हो होइन मलाई थाहा छैन तर मैले जे बोलेँ गलत बोलेँ भन्ने कुराले म सधैँ छटपटिरहेको छु ।
मेरै बयानका आधारमा अदालतले शुरुमा जेल पठाएको रहेछ । गाँउभरी हल्ला भयो फलानो अपराधी हो भनेर । सजनको पक्षमा बोल्ने त्यतिबेला मैले कोहि देखिनँ । उ पनि बच्चा नै थियो भन्ने सहानुभुति त परै जाओस् । यदि सजनले गल्ति गरेकै थियो भने उस्ले सजाय पायो ठिकै छ तर गल्ति थिएन भने त्यसको परिणाम के हुन्छ यो समाजले कहिले सोचेन । म जस्तो अबोधलाई समेत फकाई फुलाई गलत बोल्न लगाईयो । किन स्वतन्त्र रुपमा आफ्ना कुरा समेत बोल्न दिदैन यो समाज । स्वतन्त्र रुपमा भन्न सम्म दिएको भए पनि मलाई त्यति आत्माग्लानी हुन्न थियो होला । त्यसले त्यति पोलेको छ मलाई जति आगोले किन पोल्थ्यो होला । प्रत्यक्ष रुपमा मैले गल्ति गरेको पनि होइन, देखेको पनि होइन र मलाई कसैले केहि गरेको पनि होइन भन्ने सत्य मैले मेरी आमा बाहेक कसैलाई भनिन । आमाले सजनको परिवार मार्फत एकपटक मेरो सत्य कुरा अदालतमा सुनाउन प्रयास पनि गरेकी थिईन् तर ढिलो भइसकेको थियो । केहि फाइदा नभएको बुझेपछि म झन् पीडामा परेको थिएँ । जति उमेर बढ्दै छ जति बुझ्ने हुँदै छु त्यो घटनाले मलाई अझै सताउँदैछ । कस्तो समाज छ हाम्रो पैसा विना त निरपराधी समेत अपराधी बन्नुपर्ने, भएको अपराध समेत छोपिने । नेता भ्रष्ट, कर्मचरी भ्रष्ट अड्डा अदालत सबै भ्रष्ट । निमुखाले निस्कलंक बाँच्न सक्ने अवस्थै छैन । आज पनि पैसाको निम्ति राजनीति गर्ने र जागिरको निम्ती आफ्नो नैतिकता समेत गुमाउनेहरु देख्दा साह्रै दुःख लाग्छ ।
केहि समय पछि अदालतले मलाई साक्षी बकपत्रका लागि बोलायो । त्यतिबेला मैले जस्ताको तस्तै सबै कुरा भनिदिएँ । मलाई ललाई फकाई झुटो कुरा बोल्न लगाएको कुरा भनिदिएँ । अदालतको बेञ्चमा गजधम्म रहनु भएका न्यायाधीश समक्ष सजनका बारेमा सत्यतथ्य कुरा बताए पछि उहाँको पनि मन पग्लिए जस्तो लाग्यो । अभिभावकले पैसाका लागि कलिला सन्तानको दिमागमा अपराध बोध हुने गरी बनाईएको झुटो आरोपको अदालतले खण्डन गरिदियो । सजन ६ महिना पछि निर्दाेष भएर छुटे । मलाई पाप बोक्नु पर्ला भन्ने चिन्ताले छटपटाएको थियो । आजकल अभिभावकहरुले सन्तानको भविश्यका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न गरिएका नाटकहरुले सन्तानको दिमागमा कस्ता कुराले डेरा जमाउला ? सजनलाई आरोप लगाउने अभिभावकको गलत चरित्रकाका बारेमा सार्वजनिक हुने डरले सजनलाई बदलावको भावले आफ्नै छोरी माथी जर्बजस्ति गरिएको भनेर नाटक बनाईएको रहेछ । अदालतमा त्यसको पर्दाफास भयो ।
अदालतले निर्दाेष ठहर गरे पछि उनको परिवार काठमाडौँ बसाईँ सर्यो । सजनलाई आरोप लगाउने परिवार पनि कता बसाई स¥यो थाहा भएन । लामो समय पछि सजनलाई भेटें । उ खुशी थियो । समाजमा केहि गरेर देखाउने उसको सकारामत्क सोचले मलाई झनै हौस्यायो । भन्दै थियो पैसा र आफ्नो गलत चरित्र ढाकछोप गर्न बुनेको नाटकको पर्दाफास त भयो नै आखिर भगवानले उनकै परिवारमा सजायँ दिनु भएको छ । देश र समाजका लागि नमुना काम गर्ने कुरामा दिनरात खटिरहेको छु । उसको सपना पुरा होस् । मनमा केहि भए पनि शान्ति प्राप्ति भयो । समाजमा हुने यस्ता खालका घटनाबाट कति निर्दाेषहरु जेल जीवन विताईरहेका होलान् ?
रोहन खत्री
बनेपा, काभ्रे









