2026 October 03/ 05:18: 12am

    धुलिखेल/दिगो विकासका लागि नागरिक मञ्च (सिविक फोरम), काभ्रेपलाञ्चोकको २१ औँ वार्षिक साधारण सभा संविधान दिवसको अवसरमा धुलिखेलमा सम्पन्न भएको छ । 
    संस्थाका अध्यक्ष दयासागर तामाङको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन संविधान दिवस तथा २०८३ भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेहरूको स्मरणमा १२ वटा मैनबत्ती प्रज्वलन गरी गरिएको थियो । सो अवसरमा विभिन्न कालखण्डमा देशमा अधिकार प्राप्तिका लागि ज्यान गुमाएका अमर व्यक्तिहरू तथा भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
    साधारण सभामा संस्थाका सचिव समय लामाले आर्थिक वर्ष २०८२/०८३ मा स्थानीय तह, विकास साझेदार निकाय, विभिन्न संघ–संस्था तथा सम्बन्धित निकायहरूसँगको साझेदारी, समन्वय र सहकार्यमा सञ्चालन गरिएका कार्यक्रम तथा क्रियाकलापहरूको वार्षिक कार्यक्रमिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । साथै, चालु आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन गरिने प्रस्तावित कार्यक्रम तथा क्रियाकलापहरू समेत प्रस्तुत गरिएको थियो ।
    त्यसैगरी, संस्थाका कोषाध्यक्ष करुणा श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०८३/०८४ का लागि रु। २ करोड ५० लाख बराबरको प्रस्तावित बजेट साधारण सभासमक्ष पेश गरे । साधारण सभामा संस्थाको आगामी कार्यदिशालाई थप व्यवस्थित, प्रभावकारी तथा समयसापेक्ष बनाउन तयार तथा संशोधन गरिएका विभिन्न नीतिहरु प्रशासनिक नीति तथा प्रक्रिया, २०८३ र स्वार्थको द्वन्द्व व्यवस्थापनसम्बन्धी नीति, २०८३ समेत अनुमोदनका लागि प्रस्तुत गरिएको थियो । साधारण सभाको बन्दसत्रमा प्रस्तुत बजेट, कार्यक्रम तथा सांगठनिक दस्तावेजहरूमाथि साधारण सदस्यहरूबीच विस्तृत छलफल तथा विचार–विमर्श भएको थियो । छलफलपश्चात प्रस्तुत बजेट तथा कार्यक्रमहरू पारित गर्नुका साथै सांगठनिक दस्तावेजहरू सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो । साधारण सभाले संस्थाको आगामी कार्यदिशा, कार्यक्रम सञ्चालन, संस्थागत सुशासन तथा सांगठनिक सुदृढीकरणका विषयमा समेत आवश्यक निर्णयहरू गरेको छ । साधारण सभाको सञ्चालन सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले गरेका थिए ।