पाँचखाल/नापीको फिल्डबुकमा सानु दनुवारको नाम उल्लेख भएको साविक पाँचखाल गाविस–६ मा रहेको वरवन्दी गुठीको तीन कित्ता जग्गाको मोहियानी हक प्राप्त गर्न उनको परिवारले दशकौँदेखि संघर्ष गर्दै आएको छ । तर, हालसम्म न जग्गाधनीको टुङ्गो लागेको छ, न त दनुवार परिवारले मोहियानी हक नै पाउन सकेको छ । जग्गाधनीसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले मोहियानी हक प्राप्तिको प्रक्रिया पनि अघि बढ्न सकेको छैन ।
सानु दनुवारको जन्म १९८५ साल मंसिर १५ गते भएको थियो । उनको २०४२ साल वैशाख १७ गते ५७ वर्षको उमेरमा निधन भयो । उनको नाममा जोताहाको अस्थायी निस्सा रहेको थियो । सानुको निधनपछि उनका छोराहरूले मोहियानी हक प्राप्तिका लागि प्रक्रिया सुरु गरेका थिए । उनकी श्रीमती ठुलीमायाको भने २०३७ साल माघ २६ गते नै निधन भएको थियो ।
सानु र ठुलीमायाका चार छोरा टेकबहादुर, रामबहादुर, श्यामबहादुर र शिवलाल थिए । तीमध्ये जेठा टेकबहादुर र माइला रामबहादुरको निधन भइसकेको छ । टेकबहादुरकी श्रीमती सावित्री र रामबहादुरकी श्रीमती सुन्तली छन् । रामबहादुरका दुई छोरा हर्कबहादुर र विर्खबहादुर तथा टेकबहादुरका छोरा श्रीकृष्ण दनुवार हुन् । श्यामबहादुरका सन्तान छैनन् भने शिवलालका दुई छोरा छन् ।
मोहियानी हक कायम भई जग्गा प्राप्त भएमा चारै दाजुभाइका नाममा जग्गा कायम हुनेछ । त्यसपछि उनीहरूका सन्तानले अंशबापत जग्गा प्राप्त गर्नेछन् । तर, सानु दनुवारको परिवारले वर्षौँदेखि जोतभोग गर्दै आएको जग्गाको वास्तविक स्वामित्वबारे हालसम्म टुङ्गो लाग्न सकेको छैन ।
कुतबाली उठाउने फेरिए, मोहियानी हक भने पाएनन्
जोताहाको अस्थायी निस्साको पुछारमा भवानीदेवी उप्रेतीको नाम उल्लेख छ । सानु दनुवारका नाममा जोताहाको निस्सा रहेकाले केही वर्षसम्म उप्रेतीले नै कुतबाली बुझ्ने गरेकी थिइन् । त्यसपछि २०५१/२०५२ सालतिर सन्तप्रसाद काफ्लेले कुतबाली लिन थाले । त्यसको केही वर्षपछि भोलानाथ खरेलले २०५८/२०५९ सालसम्म कुतबाली उठाए । त्यसपछि पुरुषोत्तम खरेलले कुतबाली भन्दै धान लिन थाले । यो क्रम २०८०/२०८१ सालसम्म चलेको श्रीकृष्ण दनुवारले बताए ।
‘मोहियानी हक पाउँछौँ, जो आए पनि कुतबाली दिनुपर्छ भन्दै हामीलाई फकाइएको थियो’– श्रीकृष्णले भने । भोलानाथ खरेलले धानसँगै पैसा पनि लिने गरेको र पछि पुरुषोत्तम खरेलले धान लिन थालेको श्रीकृष्णको भनाइ छ । यसैबीच, २०७० साल भदौ २ गते गाविस सचिव महेश्वर घिमिरे र सहायक सचिव पवन सापकोटाको उपस्थितिमा पुरुषोत्तम खरेलका नाममा मोहियानी दर्ता हुनुपर्ने भन्दै सर्जमिन मुचुल्का तयार गरिएको थियो । उक्त मुचुल्कामा किर्ते गरिएको श्रीकृष्ण दनुवारले बताए ।
‘सर्जमिन मुचुल्कामा सहीछाप गरेपछि मोहियानी हक पाइन्छ भन्दै हामीलाई उपस्थित गराइएको रहेछ’– श्रीकृष्णले भने–‘त्यतिबेला हालका वडा अध्यक्ष सुन्दर तामाङ र रामशरण दुलालले पनि सर्जमिनमा हस्ताक्षर गरेका रहेछन् ।’ पाँचखाल नगरपालिका–४ का वडा अध्यक्ष सुन्दर तामाङले जनप्रतिनिधि हुनु अघिदेखि नै सानु दनुवारको परिवारलाई मोहियानी हक दिलाउन आफूले पहल गर्दै आएको बताए । ‘गाविस सचिव र सहायक सचिवसहितको उपस्थितिमा दनुवार परिवारलाई मोहियानी हक दिने गरी २०७० सालमै सर्जमिन भएको हो । हामी अहिले पनि उहाँहरूको हक स्थापित गर्न सक्रिय छौँ’– तामाङले भने । उनका अनुसार उच्च अदालतबाट प्राप्त म्यादका आधारमा पुनः सर्जमिन गरिएको छ । पछिल्लो पटक गरिएको सर्जमिनमा खरेल परिवारको जग्गामा कुनै सम्बन्ध नरहेको र दनुवार परिवारको मोहियानी हक कायम गर्नुपर्ने विषय उल्लेख गरी प्रतिवेदन पठाइएको छ ।
सानु दनुवारका नाति श्रीकृष्णले २०८३ साल असार २५ गते वडा कार्यालयमा मोहियानी हक दर्ताका लागि निवेदन दिएका छन् । त्यसपछि वडा कार्यालयले माथिल्लो निकायसँग परामर्श गरेको वडा सचिव आनन्द सुनारले बताए । ‘सोही जग्गामा मुद्दा चलिरहेकाले तत्काल सिफारिस गर्ने विषयमा थप परामर्श गर्नू भन्ने मौखिक निर्देशन प्राप्त भएको छ’– वडा सचिव सुनारले भने –‘सम्बन्धित निकायसँग लिखित जवाफ मागेका छौँ । त्यसको उत्तर आएपछि थप प्रक्रिया अघि बढाउनेछौँ ।’
२०६० सालमै मोहियानी दर्ताका लागि सिफारिस
सानु दनुवारका नाममा रहेको २०२४ सालको जोताहाको अस्थायी निस्साको प्रमाणित प्रतिलिपि उनका नाति श्रीकृष्ण दनुवारले लिएका छन् । उक्त जग्गामा मोहियानी हक कायम गर्न २०६० सालमै तत्कालीन गाउँ विकास समितिले गुठी संस्थानलाई सिफारिस गरेको थियो । २०६० साल चैत १८ गते तत्कालीन पाँचखाल गाउँ विकास समितिको कार्यालयले गुठी संस्थान शाखा कार्यालय, धुलिखेललाई पत्राचार गरेको थियो । त्यसअघि चैत ६ गते गरिएको स्थलगत सर्जमिनका आधारमा कित्ता नम्बर २७०, २७३ र २८० का जग्गा साविकदेखि नै दनुवार परिवारले जोतभोग गर्दै आएको भन्दै मोहियानी दर्ता गरिदिन सिफारिस गरिएको थियो । उक्त जग्गामध्ये कित्ता नम्बर २७० को क्षेत्रफल १ रोपनी २ आना २ पैसा, कित्ता नम्बर २७३ को १ रोपनी ११ आना र कित्ता नम्बर २८० को ६ रोपनी ८ आना ३ पैसा रहेको छ । उक्त जग्गा गुठी संस्थानमा दर्ता भएको छैन । गाविसले मोहियानी दर्ताका लागि सिफारिस गरे पनि हालसम्म दनुवार परिवारको नाममा मोहियानी कायम हुन सकेको छैन ।
२०७० साल भदौ २ गते तयार गरिएको सर्जमिन मुचुल्कामा ५५ वर्षीय रामबहादुर दनुवार, पाँचखाल गाविस–७ का ३० वर्षीय रामशरण दुलाल, पाँचखाल गाविस–६ का ४५ वर्षीय श्यामबहादुर दनुवार, सोही वडाका ४२ वर्षीय शिवलाल दनुवार, ३० वर्षीय सुन्दर तामाङ, २१ वर्षीय राजेश दनुवार, ५६ वर्षीय धरसमान तामाङ, ४९ वर्षीय टिकाप्रसाद चौलागाईं र ५० वर्षीय श्यामबहादुर दुलाल लगायतले हस्ताक्षर गरेका थिए । मुचुल्कामा जग्गाधनीका रूपमा पुरुषोत्तम खरेलको नाममा जग्गा दर्ता हुनुपर्ने उल्लेख गरिएको थियो । सोही सर्जमिनका आधारमा तत्कालीन गाविस सचिव महेश्वर घिमिरेले मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा पाँचखाल गाविस–६ का कित्ता नम्बर २७०, २७३ र २८० का जग्गा निजी गुठीमा दर्ता गरी गुठियार कायम गर्नेसम्बन्धी स्थलगत सर्जमिन मुचुल्का पठाएका थिए ।
मुचुल्कामा उक्त जग्गा काभ्रेपलाञ्चोक जिल्लाको साविक खरेलथोक गाविस–४ निवासी पुरुषोत्तम खरेलले निजी गुठीको जग्गाका रूपमा दर्ता गराउँदा सरकारी, सार्वजनिक, ऐलानी, पर्ती तथा अन्य व्यक्तिको जग्गा अतिक्रमण नभएको उल्लेख गरिएको थियो । त्यसैगरी, उक्त जग्गा पाँचखाल गाविस–६ का रामबहादुर दनुवार, श्यामबहादुर दनुवार, कृष्णबहादुर दनुवार र शिवलाल दनुवारले रेखदेख तथा भोगचलन गर्दै आए पनि पुरुषोत्तम खरेलका नाममा वरवन्दी गुठीको गुठियार कायम गरी जग्गा दर्ता गर्दा कसैलाई बाधा नपर्ने उल्लेख गरिएको थियो । मुचुल्कामा फरक परे वा झुटा ठहरे प्रचलित कानुनबमोजिम सहुँला बुझाउँला भनी हस्ताक्षर गरिएको छ ।
अदालतमा मुद्दा, दनुवार परिवारको हक अन्योलमा
दनुवार परिवारको दाबीअनुसार जग्गासँग कुनै सम्बन्ध नभएका व्यक्तिले जग्गाधनी बन्ने प्रयास गरेपछि जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । सुरुमा कुतबाली उठाउने व्यक्ति हालसम्म सम्पर्कमा छैनन् । त्यसपछि कुतबाली उठाउने अन्य व्यक्तिहरू पनि सम्पर्कमा नरहेको बताइएको छ । पछिल्लो समय कानुनी रूपमा जग्गामा आफ्नो हक पुष्टि गर्ने प्रमाण नदेखिएका पुरुषोत्तम खरेल र विष्णुप्रसाद खरेलले दाबी गरेपछि विवाद अदालतसम्म पुगेको हो । जिल्ला अदालत हुँदै उच्च अदालत पुगेको मुद्दामा उच्च अदालतले पुनः सर्जमिन गर्न जिल्ला अदालतमार्फत वडा कार्यालयमा पठाएको थियो ।
उच्च अदालतको आदेश पछि केही दिनअघि पाँचखाल नगरपालिका–४ का वडा अध्यक्ष सुन्दर तामाङ र वडा नम्बर ६ का वडा अध्यक्ष रामशरण दुलालले पुनः सर्जमिन गरेका छन् । सर्जमिनका क्रममा खरेल परिवारको उक्त जग्गामा कुनै स्वामित्व नरहेको र सानु दनुवारको परिवारले निरन्तर जोतभोग गर्दै आएको उल्लेख गरी प्रतिवेदन उच्च अदालतमा पठाइएको छ । दशकअघि भएको सर्जमिनमा हस्ताक्षर गरेका वडा अध्यक्ष तामाङ र दुलालले आफूहरू पनि त्यतिबेला झुक्यानमा परेको अहिले थाहा पाएको बताएका छन् । सरोकार नभएका व्यक्तिले जग्गाधनी बन्ने दाबी गर्दै दशकौँदेखि मुद्दा लडिरहँदा सानु दनुवारको परिवार भने मोहियानी हकबाट वञ्चित हुँदै आएको छ । असम्बन्धित व्यक्तिले कुतबाली उठाइरहेको थाहा पाएपछि केही वर्षयता आफूहरूले कुतबाली बुझाउन छाडेको श्रीकृष्ण दनुवारले बताए ।
मोहियानी हक नै नभएका व्यक्तिका नाममा जग्गाको पुर्जा बनाउन चलखेल भएको भन्दै स्थानीयवासीले विरोध गर्दै आएका छन् । शिखरपुरलगायत पाँचखालका विभिन्न स्थानमा दनुवार समुदायले जोतभोग गर्दै आएको जग्गाको मोहियानी हक प्राप्त गर्न कठिनाइ भइरहेको स्थानीयको भनाइ छ ।









