2026 May 01/ 10:16: 54pm

उदय रानामगर
यो मौसम विपदको समय हो । विशेष गरी बाढी पैरो ढुवान जस्ता विपदले यो समयमा बढी क्षति गर्नेे गरेको छ । विपद मानवीय वा प्राकृतिक कारणले सिर्जिना हुने गर्दछ । यसबाट ठूलो मात्रामा मानविय तथा गैरमानविय क्षति पुरयाउदछ । विपद अकस्मात्, अनपेक्षित र पूर्वानुमान गर्न नसकिने घटनाका रूपमा रहेको हुन्छ । विपद मूलतः वनजंगलको विनाश, वातावरण प्रदूषण, अव्यवस्थित विकास प्रयास, अधिक जनसंख्या वृद्धि, भौगोलिक विकटताका, शक्तिको प्रयोगमा हुने होडबाजी, कमजोर सरकारी नीति तथा योजना, उच्च गरिबी जस्ता गतिविधिका कारणबाट सिर्जित हुने गरेको हुन्छ । यसले मानवीय, आर्थिक, पूर्वाधार तथा वातावरणीय क्षति पु¥याउँछ । विश्वमा विपदबाट ठूलो संख्यामा मानिसको मृत्यु गरेका देखिन्छ । जुन देशमा गरिबको उच्चता र सरकार कमजोर रहेको हुन्छ त्यस्ता देशहरूमा विपद्बाट बढी मानवीय क्षति हुने कुरा अध्ययनले देखाएको छ । विगत ३० वर्षको आकाडा हेर्ने हो भने विपद्बाट ज्यान गुमाउनेहरुका मध्ये ८५ प्रतिशत कमजोर सरकार र भ्रष्टाचारयूक्त मुलकमा हुने गरेको  पाइएको छ । नेपालमा पनि विगद देखि नै विपदका कारण अधिक जनसख्या प्रभावित हुदै आएको देखिन्छ ।
नेपालमा ८० प्रतिशत जनसंख्या विपद्को जोखिममा रहेका छन । वार्षिक ३,३५,००० जनसंख्या प्रभावित हुने र प्रभावित मध्ये ५० देखि ६० प्रतिशत वालवालिका हुने गरेको छ । जलवायू परीवर्तनबाट हिमताल फुट्ने र त्यसवाट आउने बाढीको जोखीम ४० प्रतिशतले बढाउने देखिएको छ । त्यसैगरी हिउंको संचिति २४ देखि २९ प्रतिशते घटेका कारणले गर्दा पानीको उपलव्धतामा प्रभाव परेको छ । नेपाल बहूविपद्को हिसावले विश्वको २० औं जोखिम भएको मुलुकमा पर्दछ । नेपालमा मुलतः भूकम्प, बाढी, पैरो, आगलागी, जलवायू परिवर्तनका कारण सिर्जित समस्याहरु, चट्याङ्,, हावाहुरी तथा महामारी जस्ता विपदका घट्नाहरु प्रत्येक बर्ष हुने गरेको छ । गृह मन्त्रालयको ५ जिल्लामा भएको अध्ययनले सामान्य विपद परेको बर्षमा कुल ग्रायस्थ उत्पादनका ०.०१ प्रतिशत र ठुलो विपद भएको बर्ष ४.५ प्रतिशतसम्म क्षति पुरयाएको देखिन्छ । सन २००१ देखि २०१३ सम्ममा नेपालमा विपदबाट १ अर्व २० करोड अमेरिकन डलर बराबरको क्षति भएको र १३,००० भन्दा बढी मानिसले ज्यान गुमाएको र १ लाख ६० हजार घर क्षति भएको थियो ।
भूकम्प विपदहरु मध्ये पनि एक जटिल र पूर्वनुमान गर्न नसकिने विपद हो । भूकम्पले पृथ्वकिो सतहबाट ८० देखि १८० किलोमिटर पृथ्वीको तल भागसम्मका असर गर्दछ । यस्ता प्लेटहरू समुद्रमा डुंगा तैरिरहे जस्तो तैरिएर निश्चित दिशामा हिँडिरहेका छन ्। यसरी हिँड्ने क्रममा यस्ता प्लेटहरू कहीँ एक अर्काबाट टाढा जान्छन् भने कहीँ नजीक आएर ठोक्किन्छन् । यसरी प्लेटहरू ठोकिँदा, एक प्लेट अर्कोका मुनि घुस्दा वा घोटिने क्षेत्रमा दबाब सिर्जना हुँदा शक्ति सञ्चय हुँदै जान्छ । केही समयसम्म यस्तो शक्ति सञ्चित भएर रहन्छ, जब सञ्चित ऊर्जा एकैचोटि बाहिर निस्कँदा भूकम्प जान्छ । भूकम्पीय जोखिमको हिसावले नेपाल १९८ मुलुकमध्ये ११ औं स्थानमा रहेको छ । भूकम्पीय जोखिममा काठमाण्डौं उपत्यका विश्वका २१ सहरहरु मध्ये उच्च जोखिमका हिसावले पहिलो स्थानमा रहको छ । अवस्थितिको हिसावले नेपाल इन्डियन प्लेटकोमाथि रहेकोछ । त्यसैले यहाँ कहीँ थाहै नपाउने खालका साना र ठूलामध्ये कुनै न कुनै प्रकारका भूकम्प गइरहुन्छ । हालसम्म नेपालमा आएका भूकम्पबाट मानविय तथा गैरमानविय क्षतिहरु धेरै हुने गरेको छ । वि.स. १३१० नेपालमा रेकर्ड भएको पहिलो भूकम्प ७.५ रेक्टर म्यानिच्युड थियो भने त्यसवाट तत्कालिन राजा अभए मल्लले समेत ज्यान गुमाएको थिए । त्यसैगरी वि.स. १९९० मा आएको महाभूकम्प ८.४ रेक्टर म्यानिच्युड थियो यसवाट ८५१९जनाले ज्यान गुमाएका थिए । त्यसपछी वि.स. २०४५ सालमा ६.७ रेक्टर म्यानिच्युडका भुकम्प आएको थियो भने त्यसवाट ५० जनाको मृत्यु भएको थियो । त्यसको २३ बर्षपछि वि.स. २०६८ सालमा ६.८ रेक्टर म्यानिच्युडको अर्को भूकम्प आयो जसवाट ६ जना नेपालीले ज्यान गुमाएको थियो । यहि वि.स. २०७२ सालमा हालसम्मकै ठूलो भूकम्प नेपालमा आयो । जुन ७.६ रेक्टर म्यानिच्युड रहेको थियो र यसवाट ८,९६९को मृत्यु भएको थियो भने २२,३०२ घाईते भएको र ठूलो भौतिक संरचनाको क्षति भएको थियो । 
त्यसैगरी जलवायू परिवर्तन र यसवाट सिर्जित विपद अर्को चूनौतीको रुपमा रहेको छ । जलवायुपरिवर्तनको जोखिममा नेपाल ४ औं स्थानमा छ भने  पानीजन्य विपद्को जोखिमको हिसावले ३० औं स्थानमा रहेको छ । अत्यधिक वर्षा भएपछि बाढी आउने हुँदा यसलाई जलउत्पन्न प्रकोप भनिन्छ । हाम्रो मुलुकमा प्रत्येक वर्षको जेठ महिनाको दोस्रोसातादेखि मनसुनी वर्षायाम प्रारम्भ भएर भदौको अन्तिम वा असोजको पहिलो सातासम्म रहन्छ । निरन्तर ठूलो झरी परेर बगेको पानीमा माटो, ढुङ्गा, झरपातजस्ता वस्तु मिसिँदा पानी धमिलो हुन्छ भने पानीको मात्रा र बग्ने गति पनि तीव्र हुन्छ । बढेको पानी नदीको किनार, कुलो वा नहरको डिल नाघेर बाहिर निस्कन्छ वा किनार कटान गर्न थाल्छ । यसरी असामान्य किसिमले पानीको स्तर बढेर कटान र डुबान गर्दै नदी, खहरे वा खोलामा उर्लिएर पानी बग्ने भएकोले यसवाट धेरै नै धनजनको क्षति गराउदछ छ । 
बाढीको कारण वनजङगल, खेतबारी, भीरपाखा, गाउँसहर, सडक आदि छेउका भिरालो जमिन चर्किएर, फाटेर वा धस्सिएर अस्थिर भई माटो, ढुङगा वा चट्टान, वनस्पति, मानवनिर्मित भौतिक सरचना स्पष्ट दखिने गरी तलतिर खस्ने अथवा पानीसँग मिसिएर बग्ने पक्रियालाई पहिरो हो । वन जंगलको तीव्र विनास, अत्यन्तै भिरालो पहाड–पर्वत, खोरिया फडानी, अवैज्ञानिक खेती प्रणाली, मनसुनको समयमा हुने मुसलधारे वर्षा र त्यसपछिको प्रचण्ड तापमानका कारणबाट नेपालको पहाडी भूभागमा बारम्बार पहिरो जानेगरेको छ । नेपालमा सन् १९९३, मा आएको शताब्दीकै ठूलो बाढी कोशीमा आएको र त्यसवाट बाँध विष्फोटन भई ठूला धनजनको क्षति भएको देखिन्छ । त्यसैगरी सन् २००८ अधिक वर्षाको कारण नेपालगञ्ज पुरै डुबानमा परेको थियो । सन् २००७ मा सुदूर पश्चिममा ठूलो बाढी आएको थियो त्यसैगरी सन् २००८ र ९, सेती नदीमा बाढी आएको थियो भने सन् २०१२ , पश्चिम नेपालमा ठूलो बाढी आएर धनजनको क्षेती भएको थियो ।
आगजनीको समस्या नेपालमा प्राय सबै बस्तीहरूमा हुने गरेको छ । घरेलु प्रयोजनको लागि असावधानी पूर्वक आगोको प्रयोग र त्यसको व्यवस्थापनमा हेलचेक्रयाइँले गर्दा ग्रामीण बस्तीहरूमा आगलागीका घटना प्रसस्तै हुने गरेका छन् । विशेष गरी तराइमा गर्मीको मौसममा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुग्ने भएकाले यहाँको ग्रामीण तथा शहरी बस्तीहरूमा आगलागी ठूलो समस्या छ । यसका अतिरिक्त हालका दिनहरूमा वनजंगलहरूमा लाग्ने गरेको वन डढेलो पनि समस्याको रुपमा छ । सहर तथा ग्रामिण क्षेत्रमा समेत व्यापक आगलागीका घटना पछिल्लो समयमा बढेर गएको छ  । यसवाट पनि ठूलो आर्थिक तथा मानविय क्षति हुने गरेको छ ।
हावाहुरीको जोखिमबाट  हाम्रो देश पनि मुक्त हुन सकेको छैन । हावाहुरीका कारण पनि हाम्रो देशमा हरेक वर्ष जनधनको धेरै क्षति हुने गरेको छ । नियमित रुपमा वायु बहने तथा हावा चल्ने बायुमण्डलको नियमित अवस्था हो भने जव वायुको गति तिव्र हुन्छ त्यसले हुरीबतासको रुप लिन्छ । यसरी चलेको हुरीबतासले स साना देखि ठूला बस्तुसम्म उडाएर लैजाने क्षमता राख्दछ । हुरीबतासको कारण मानिसको घर तथा गोठहरुको छाना उडाउने, खेतीबाली नष्ट गर्ने तथा रुखबिरुवाका हागाँ भाच्ने, टेलिफोन तथा बिजुलीका पोल भाच्ने तथा आगलागी समेत गराउदछ  । अन्य समयमा भन्दा चैत बैशाखमा हावा हुरीको जोखिम बढी हुने त्यसवाट आर्थिक तथा मानविय क्षति हुने गरेको छ ।
चट्याङ् पानी पर्दा कहिलेकाहीं आकाशमा तिरमिराउने उज्यालो सहित ठूलो मेघ गर्जन्छ,। वैज्ञानिक भाषामा चट्याङ पर्नु भनेको वायुमण्डलमा उच्च शक्तिको विद्युत प्रसारण हुनु हो । चट्याङ पर्दा यस्तो विजुलीले झण्डै तीस हजार डिग्री सेन्टिग्रेड बराबरको तापक्रम पैदा हुन्छ जुन सुर्यको सतहको तातो भन्दा पनि धेरै हो । यसकारण चट्याङ परेको ठाउँमा ठूलो क्षति हुन जान्छ र जनघनको धेरै क्षति हुन पुग्दछ । यसबाट नेपालमा बर्षेनी ठूलो आर्थिक तथा मानविय क्षति गरेको देखिन्छ । 
महामारी एक क्षेत्रमा देखा परेकोरोग छोटो समयमै फैलिएर अनपेक्षित रुपमा धेरै मानिस सङ्क्रमित हुने र मर्ने अवस्थालाई जनाउदछ । अचानक देखा परेर व्यापक रूपमा फैलिई जनस्वास्थ्यमा समस्या उत्पन्न गर्ने रोगको प्रकोपलाई नै स्वास्थ्य सम्बन्धी विज्ञानले महामारीको रुपमा परिभाषित गरेको छ । महामारीलाई प्रकोप सिर्जित विपदका रुपमा पनि लिन सकिन्छ । कमजोर आर्थिक अवस्था भएका ग्रामीण समुदाय महामारीको प्रकोपबाट पीडित हुने गरेका छन् । त्यस सगै लापरवाही पोषणयुक्त खाना, सुद्ध खाने पानी र सरसफाइको अभावमा त्यस्ता गरिब समुदायभित्र रोगका जिवाणुका निमित्त अनुकूल वातावरण तयार हुने भएकाले सामान्य रोगले पनि महामारीको रुप धारण गर्ने भएकोले यो पनि नेपाल जस्तो कमजोर व्यवस्थापकिय क्षमता भएको मुलुकको लागि टाउको दुखाइको विषय बन्दै आएको छ । 
सडक दुर्घट्ना मानविय कारण सिर्जित विपद हो । नेपालमा सडक दुर्घट्नाको सख्या प्रतिबर्ष बढ्दै गएको छ । पछिल्लो पाच आर्थिक बर्षको तत्थ्याङकलाई हेर्दा आ.व २०१३।१४ मा ८४०६, आ.व ०१४।१५ मा ९१४५, आ.व २०१५।१६ मा १०,०१३, आ.व २०१६।१७ मा १०,१७८ र आ.व २०१७।१८ को पहिलो चौमासिक सम्ममा ३,०२९ वटा दुर्घट्नाहरु भएको देखिन्छ भने औसत सबारी दुर्घटना लगभग ८ हजार प्रतिबर्ष रहेको छ । प्रत्येक ४ दूर्घटनामा औसत १ जनाकोे मृत्यु र प्रत्येक १ दूर्घटनामा औसत १ जना घाइते हुने गरेको पाईन्छ । सडक दुर्घट्नाको कारण जिएनपिको ०.८ प्रतिशत आर्थिक क्षति पुगेको अवस्था छ । 
अहिले मुलुकभर मनसुन सक्रिय छ र पछिल्लो तीन महिनामा मात्रै विपद्का घटनाबाट झन्डै ३५० नागरिकले ज्यान गुमाइसकेका छन् भने अन्य कतिपय घाइते अवस्थामा छन्। गृह मन्त्रालयका अनुसार प्रिमनसुनकै समयमा गत वैशाखदेखि जेठ तेस्रो सातासम्म मुलुकभर १७५ जनाको मृत्यु भएको थियो। गृह मन्त्रालयका अनुसार विगत ४० वर्षको अवधिमा विभिन्नखाले विपद् र प्राकृतिक प्रकोपबाट ४० हजार २ सय ६४ जनाको ज्यान गएको छ। यस अवधिमा विपद्का २२ हजार ३ सय ७२ घटना भएका छन्। ३१० जना अहिले पनि बेपत्ता छन्। सोही अवधिमा ५९ लाख ३२ हजार १२ घरपरिवार प्रभावित भएका थिए भने ३० हजार २ सय ४८ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। यस अवधिमा बाढीपहिरोबाट ४२ हजार ९ सय हेक्टर भूभागमा क्षति पुगेको छ । विपद्बाट राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा विपद्का कारण वार्षिक रूपमा २ प्रतिशतको दरले क्षति हुने गरेको छ । प्रत्येक दिन औषतमा ३ जनाको प्रतिवर्ष ९१५ जनाको मृत्यु हुने गरेको छ । २०६८ साल देखि २०७४ सम्म घटेका विपदका घटनाहरुको कारणबाट १२,२३३ मानिसहरुले ज्यान गुमाएका छन् भने १००० जना मानिसहरु वेपत्ता भएको छ । यसको साथै २६,४५३ घाइते भएका विवरण छन् । वि.स २०६८ मा ५१५, वि.स २०६९ मा ३९९, २०७० मा ४१७, २०७१ मा ५३९, २०७२ मा ९२७९, २०७३ मा ४८३, र ५९७ जनाको मृत्यू भएको देखिन्छ । 
यी तत्थ्यलाई आधार मान्ने हो भने नेपालमा विपदबाट प्रत्येक बर्ष आर्थिक तथा मानविय क्षति हुने गरेको छ । त्यस कारण पनि यसको व्यवस्थापनको लागि तत्कालनै पहलकदमि चालिनु पर्ने देखिन्छ । नेपालमा विपद व्यवस्थापनको पूर्वतयारीमा गरिने खर्च  रु १ बाट रु ६ बचाउन सकिने अध्ययनले देखाएको छ । त्यसैले गर्दा विपद व्यवस्थापनमा पूर्वतयारी तथा सचेतना जगाउने कार्यलाई बढी जोड दिइनुपर्दछ । हाम्रो देशको सन्दर्भमा कमजोर पक्ष भनेको यही नै भएको छ तर खोज तथा उद्धारमा भने केही हदसम्म सन्तोेष मान्न सकिने अवस्था छ । त्यसका लागि विपद् जोखिम न्यूनीकरणका लागि तय गरिएका सबै संरचनाको निरन्तर सक्रियता बढाउने, विपद जोखि न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ प्रावधान बमोजिम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरिनु पर्दछ । विपद जोखिम न्यूनीकरण,, पूर्वतयारी, उद्धार, र पुर्नलाभका लागि सरकारका सवै तहका लागि क्षमता विकास गर्ने, विषयगत विकास योजनामा जलवायू परिवर्तन अनुकुल र जोखिम संवेदनशिल विकासलाई सस्थागत गर्ने, सवै तहमा जलवायू परिवर्तन अनुकुल र विपद जोखिम न्यूनीकरणको लागि  प्रयाप्त मात्रामा बजेटको विनियोजन गरी बजेटको सुनिश्चिता गर्ने, विपद जोखिम न्यूनीकरणको लागि  प्रदेश र स्थानीय तहलाई सशक्तिकरण गर्ने कार्यको नेतृत्व दिन  आवश्यक हुन्छ । 
नुवाकोट जिल्ला पहाडी जिल्ला भएकोले यहा विपदको रुपमा बाढी पहिरो, आगलागी, सडक दुर्घटना अधिक हुने गरेको छ । यस्तो प्रकारको दुर्घट्नाबाट यस जिल्लामा पनि ठूलो क्षेति हुदै आएको सन्दर्भमा यसको न्यूनीकरण गर्नाका लागि सवै स्थानीय तहले विपत प्रतिकार्य योजना बनाई कार्यान्वयन गरिनु पर्दछ । यसको साथै संघ र प्रदेशमा तत्थ्याकंमा आधारित प्रभावकारी विपद व्यवस्थापन प्रणाली स्थापना र व्यवस्थापन गर्नुपर्दछ । त्यसो गर्न सकिएको खण्डमा विपदबाट हुने गरेको मानविय तथा गैरमानविय क्षतिको कारण अर्थतन्त्रमा पर्नजाने क्षतिलाई न्यूनीकरण गर्न सकिने भएकोले सवै सरोकारवालाहरुको त्यसतर्फ ध्यान जानुपर्ने देखिन्छ ।