2026 May 01/ 12:33: 58pm

मोतीराम तिमल्सिना
धुलिखेल

        आन्तरिक राजश्व कार्यालय धुलिखेलले आर्थिक वर्ष २०८२/०८३ को चालु वर्षको चैत्र मसान्तसम्म लक्ष्यको ७२ प्रतिशत राजश्व संकलन गरेको छ । २ अर्ब ८२ करोड १६ लाख ६६ हजार रुपैयाँ राजश्व असूली भएको छ । 
    जसमध्ये आय कर १ अर्ब ३६ करोड ६६ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यो लक्ष्यको ३० प्रतिशतले कमी हो । लक्ष्यको ७० प्रतिशत राजश्व आय करमा असुली भएको छ । घर बहाल कर बापतको २ करोड २७ लाख ९३ हजार असुल भएको छ । यो लक्ष्यको ८४ प्रतिशत हो । अधिकांश संस्थाहरुले स्थानीय सरकारलाई पनि बुझाउँदै आएका छन् । ब्याज कर २० करोड २५ लाख ५० हजार रुपैयाँ असुल भएको छ । यो लक्ष्यको ४० प्रतिशत मात्रै हो । भ्याट तर्फ ९३ करोड ४३ लाख ८९ हजार रुपैयाँ असुल भएको छ । यो लक्ष्यको ८५ प्रतिशत हो । अन्त शुल्क तर्फ २६ करोड ८६ लाख ७३ हजार रुपैयाँ असुल भएको छ । लक्ष्यको ९५ प्रतिशत असुल भएको आन्तरिक राजश्व कार्यालयले जानकारी दिएको छ ।
    आन्तरिक राजश्व कार्यालयमा अन्तःशुल्कको कारोवार गर्ने गरी २३ सय ९१ वटा फर्म दर्ता भएका छन् । ब्यक्तिगत स्थायी लेखा नम्वर (पान) लिनेको संख्या १ लाख ८ हजार ७ सय ३९ पुगेको छ । मु.अ.कर तर्फ ८ हजार ६ सय ६२ वटा फर्म रहेका छन् । आय कर तर्फ ६८ हजार ९१ वटा छन् । सरकारी कार्यालयको प्रयोजनका लागि २१ सय १९ वटा फर्मले पान नम्वर लिएका छन् । ४ हजार ६२ वटा फर्मले आयकर तर्फको कारोवार गर्ने अनुमति रद्द गरेका छन् । मु.अ.कर तर्फ ९ सय ६६ वटा र ब्यक्तिगत तर्फ ४४ जनाले रद्द गरेका छन् । अन्तःशुल्कतर्फ ८ सय २ जनाले रद्द गरेका छन् । 
    आर्थिक वर्ष २०८१/०८२ मा काभ्रेपलाञ्चोक जिल्लाबाट ३ अर्ब ८८ करोड ५९ लाख ६८ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । आन्तरिक राजश्व कार्यालय धुलिखेलले बार्षिक लक्ष्यको तुलनामा ८५.६१ प्रतिशत प्रगति गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा कार्यालयले ८.७२ प्रतिशतले धेरै हो । जसमा आयकर १ अर्ब ८२ करोड ३३ लाख ४९ हजार, घर बहालकर ३ करोड २७ लाख २७ हजार, ब्याज कर ३२ करोड ७५ लाख १५ हजार रुपैयाँ संकलन भएको थियो । आयकर तर्फ कार्यालयले २ अर्ब १८ करोड ३५ लाख ९१ हजार रुपैयाँ संकलन भएको छ । मुअकर १ अर्ब ३० करोड १ लाख ३३ हजार, अन्त शुल्क ४० करोड १९ लाख ५३ हजार, शिक्षा सेवा शुल्क २ लाख ६१ हजार, स्वास्थ्य सेवा शुल्क २९ हजार र अन्य शुल्क १ हजार रुपैयाँ संकलन भएको थियो । 

अन्त शुल्क तिर्ने यी हुन् शीर्ष करदाता 
    आन्तरिक राजस्व कार्यालय धुलिखेलले आर्थिक वर्षको अन्त्य २०८२ असार ३२ गतेसम्म अन्तःशुल्क (आन्तरिक) तर्फ सर्वाधिक योगदान गर्ने काभ्रेपलाञ्चोक जिल्लाका शीर्ष १० करदाता संस्थाको सूची सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरणअनुसार रोयल काठमाडौं हिमालय वेभरेज प्रा.लि. पहिलो स्थानमा परेको छ । कार्यालयले सार्वजनिक गरेको सूचीमा दोस्रो स्थानमा स्नोम्यान वाईनरी प्रा.लि. र तेस्रो स्थानमा वाईनस वाईन प्रा.लि. रहेका छन् । त्यस्तै चौथो स्थानमा संकटा वाइन एण्ड वेभरेज प्रा.लि. रहेको छ । शीर्ष पाँचभित्र चण्डीका प्रिन्ट प्याक पनि समावेश भएको छ । यसैगरी छैटौं स्थानमा लड्केश्वर प्लाष्टिक प्रोडक्सन प्रा.लि.,सातौं स्थानमा विभव इण्डष्ट्रिज प्रा.लि., आठौं स्थानमा जय जग्दम्बा इण्डष्ट्रिज प्रा.लि., नवौं स्थानमा काशी खण्ड रेमिटेन्स, तथा दशौं स्थानमा शिखर लिकर एण्ड डिस्टिलरी प्रा.लि. परेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा पेय पदार्थ, मदिराजन्य उत्पादन, प्याकेजिङ तथा उत्पादनमूलक उद्योगहरूले अन्तःशुल्क राजस्व संकलनमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । विशेषगरी वाइन, वेभरेज र डिस्टिलरी क्षेत्रका उद्योगहरूको उल्लेखनीय उपस्थिति रहेको छ ।

आयकरतर्फका शीर्ष करदाता 
    आन्तरिक राजस्व कार्यालय धुलिखेलले आर्थिक वर्ष २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्मको अवधिमा आयकरतर्फ सर्वाधिक योगदान गर्ने करदाता संस्थाहरूको सूची सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार आशा लघुवित्त वित्तीय संस्था लि. पहिलो स्थानमा रहेको छ । कार्यालयका अनुसार दोस्रो स्थानमा महिला लघुवित्त वित्तीय संस्था लि.तथा तेस्रो स्थानमा ए सी आइ एल–आर सी पि एल (जेभी) रहेका छन् । चौथो स्थानमा सिन्धु विकास बैंक लिमिटेड र पाँचौं स्थानमा होटल मिस्टिक माउन्टेन प्रा.लि. परेका छन् । 
    सूचीअनुसार छैटौं स्थानमा शीर मेमोरीयल मेडिकल एण्ड एजुकेशनल ट्रष्ट, सातौं स्थानमा अभियान लघुवित्त वित्तीय संस्था लि.,आठौं स्थानमा रोयल काठमाडौं हिमालय वेभरेज प्रा.लि., नवौं स्थानमा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., तथा दशौं स्थानमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । त्यसैगरी ११ औं स्थानमा आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड, १२ औं स्थानमा सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, १३ औं स्थानमा हिमालयन बैंक लिमिटेड, १४ औं स्थानमा निष्ट कलेज प्रा.लि. र १५ औं स्थानमा सिद्धि गणेश हार्डवेयर परेका छन् ।
    १६ औं स्थानमा गुडविल्ड कन्स्ट्रक्सन, १७ औं स्थानमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, १८ औं स्थानमा वागमती इन्टरप्राइजेज, १९ औं स्थानमा सुरेन्द्र रावत क्षेत्री, २० औं स्थानमा होटल कन्ट्री भिल्ला प्रा.लि., २१ औं स्थानमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि., तथा २२ औं स्थानमा काठमाण्डौ विश्वविद्यालय हाईस्कुल रहेका छन् । काभ्रे तथा आसपासका जिल्लामा वित्तीय संस्था, सहकारी, बैंकिङ क्षेत्र, शिक्षा, होटल व्यवसाय तथा निर्माण क्षेत्रको कर योगदान उल्लेखनीय रहेको देखाएको छ । विशेषगरी लघुवित्त तथा सहकारी संस्थाहरूको बलियो उपस्थिति देखिनुले ग्रामीण तथा स्थानीय अर्थतन्त्रमा वित्तीय क्षेत्रको प्रभाव बढ्दो क्रममा रहेको संकेत गर्दछ ।
    यसैगरी होटल तथा पर्यटन क्षेत्रका प्रतिष्ठानहरू पनि शीर्ष करदाताको सूचीमा परेका छन् । होटल मिस्टिक माउन्टेन र होटल कन्ट्री भिल्ला जस्ता प्रतिष्ठानको उपस्थिति काभ्रे जिल्लामा पर्यटन व्यवसाय विस्तारसँगै आयकर योगदान पनि बढिरहेको देखाउँछ । 

कसले ति¥यो धेरै ब्याज कर
    आन्तरिक राजस्व कार्यालय धुलिखेलले व्याज करतर्फ सर्वाधिक योगदान गर्ने करदाता संस्थाहरूको सूचीमा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पहिलो स्थानमा रहेको छ । कार्यालयका अनुसार दोस्रो स्थानमा सिन्धु विकास बैंक लिमिटेड तथा तेस्रो स्थानमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड रहेका छन् । चौथो स्थानमा श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि. तथा पाँचौं स्थानमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड परेका छन् । त्यसैगरी छैटौं स्थानमा महिला लघुवित्त वित्तीय संस्था लि., सातौं स्थानमा आशा लघुवित्त वित्तीय संस्था लि.,आठौं स्थानमा जिल्ला सहकारी संघ लि.,नवौं स्थानमा बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.,तथा दशौं स्थानमा चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. रहेका छन् । सूचीमा ५० करदाता संस्था समावेश गरिएका छन्, जसमा अधिकांश बचत तथा ऋण सहकारी संस्था, लघुवित्त संस्था, बैंक तथा वित्तीय संस्थाहरू रहेका छन् । व्याज कर शीर्ष करदाताको सूचीमा काभ्रेपलाञ्चोक जिल्लाका सहकारी संस्थाहरूको वर्चस्व देखिएको छ । साथै सिन्धुपाल्चोक र काठमाडौँ जिल्लाका केही बैंक तथा संस्थाहरू पनि सूचीमा परेका छन् । यसले क्षेत्रीय वित्तीय कारोबार र बचत–ऋण गतिविधि तीव्र रूपमा विस्तार भइरहेको देखाउँछ ।
    राजस्व कार्यालयका अनुसार सहकारी, लघुवित्त र बैंकिङ क्षेत्रबाट संकलित ब्याज कर सरकारी राजस्वको महत्वपूर्ण स्रोतका रूपमा रहेको छ । समयमै कर दाखिला गर्ने संस्था तथा व्यवसायलाई प्रोत्साहन गर्न यस्ता सूची सार्वजनिक गर्ने गरिएको जनाएको छ । विशेषज्ञहरूका अनुसार पछिल्लो समय ग्रामीण तथा शहरी दुवै क्षेत्रमा सहकारी संस्थाहरूको पहुँच विस्तार भएसँगै बचत तथा ऋण कारोबार बढेको छ । त्यसको प्रत्यक्ष प्रभाव व्याज कर संकलनमा पनि देखिएको छ । आन्तरिक राजस्व कार्यालय धुलिखेलले करदातामैत्री सेवा, डिजिटल प्रणाली विस्तार तथा कर सचेतना कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउने जनाएको छ । साथै नियमित कर तिर्ने संस्थाहरूले स्थानीय अर्थतन्त्र मजबुत बनाउन र राष्ट्रिय राजस्व बृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याइरहेको कार्यालयले जानकारी दिएको छ । 

मूल्य अभिबृद्धि कर तिर्ने उत्कृष्ट करदाता 
    आन्तरिक राजस्व कार्यालय धुलिखेलले मूल्य अभिवृद्धि कर (मु.अ.कर) तर्फ सर्वाधिक योगदान गर्ने करदाता संस्थाहरूको सूचीमा एसीआइएल–आर सी पि एल (जेभी) पहिलो स्थानमा रहेको छ । कार्यालयका अनुसार दोस्रो स्थानमा रोयल काठमाडौं हिमालय वेभरेज प्रा.लि. तथा तेस्रो स्थानमा होटल मिस्टिक माउन्टेन प्रा.लि. रहेका छन् । चौथो स्थानमा होटल कन्ट्री भिल्ला प्रा.लि. तथा पाँचौं स्थानमा श्री नवदुर्गा निर्माण तथा सरसफाई जनशक्ति सेवा प्रा.लि. परेका छन् । त्यसैगरी छैटौं स्थानमा सांगा कन्स्ट्रक्सन, सातौं स्थानमा थ्रि जि. क्रसर उद्योग प्रा.लि.,आठौं स्थानमा सत्यम फुटवेयर इण्डष्ट्रिज प्रा.लि., नवौं स्थानमा भालेश्वर ढुङ्गा, रोडा उद्योग प्रा.लि.,तथा दशौं स्थानमा उग्रचण्डी ग्यासं उद्योग प्रा.लि. रहेका छन् । सूचीमा होटल, निर्माण कम्पनी, क्रसर उद्योग, उत्पादनमूलक उद्योग, खाद्य तथा व्यापारिक प्रतिष्ठानहरू उल्लेखनीय रूपमा समावेश भएका छन् । राजस्व कार्यालयको कार्यक्षेत्रभित्र निर्माण, पर्यटन, उद्योग तथा व्यापार क्षेत्रको कारोबार उच्च रहेको देखाउँछ । 
    विशेषगरी होटल तथा पर्यटन क्षेत्रबाट उल्लेखनीय कर योगदान देखिएको छ । सूचीमा होटल मिस्टिक माउन्टेन, होटल कन्ट्री भिल्ला, हिमालय दृश्य रिसोर्ट, आइएमई हस्पिटालिटी, तथा होटल हिमालयन होराइजन जस्ता प्रतिष्ठान समावेश छन् । काभ्रे जिल्लामा पर्यटन व्यवसाय विस्तारसँगै मूल्य अभिवृद्धि कर संकलनमा सकारात्मक प्रभाव परेको देखाउँछ । त्यस्तै निर्माण र पूर्वाधार क्षेत्रका कम्पनीहरू पनि सूचीमा अगाडि देखिएका छन् । विभिन्न जेभी कम्पनी, कन्स्ट्रक्सन फर्म, सप्लायर्स तथा ढुंगा–रोडा उद्योगहरू शीर्ष करदातामा परेका छन् । यसले काभ्रे, सिन्धुपाल्चोक र आसपासका क्षेत्रमा पूर्वाधार निर्माण गतिविधि तीव्र रहेको संकेत गर्छ । उद्योग क्षेत्रतर्फ वेभरेज, वाइन, फुटवेयर, ग्यास, प्लाइउड तथा ह्युम पाइप उद्योगहरूको उपस्थिति देखिन्छ । यसले स्थानीय उत्पादनमूलक उद्योगहरूले रोजगारी सिर्जना मात्र नभई सरकारी राजस्व संकलनमा पनि महत्वपूर्ण योगदान गरिरहेको पुष्टि गर्छ ।