2026 June 05/ 01:18: 05am

    साइकल केवल यातायातको माध्यम मात्र होइन, स्वस्थ जीवनशैली, स्वच्छ वातावरण र दिगो विकासको प्रतीक पनि हो । आज विश्व जलवायु परिवर्तन, वायु प्रदूषण, ट्राफिक जाम र जीवनशैलीजन्य रोगहरूको चुनौतीसँग जुधिरहेको छ ।
नवराज केसी 
    हरेक वर्ष जुन ३ मा विश्वभर विश्व साइकल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले सन् २०१८ देखि यस दिवसलाई औपचारिक मान्यता दिएपछि साइकलको महत्वबारे विश्वव्यापी बहस अझ सशक्त बनेको छ । यस दिवस घोषणा गर्नुको मुख्य उद्देश्य साइकललाई दिगो यातायातको महत्त्वपूर्ण साधनको रूपमा पहिचान दिनु वातावरण संरक्षणमा योगदान दिने साधन, शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने तथा सामाजिक समावेशिता र गरिबी न्यूनीकरण एवं दिगो विकासमा साइकलको भूमिकाबारे विश्वव्यापी चेतना फैलाउनु हो । 
    सामान्य देखिने दुई पाङ्ग्रे साधन साइकल वास्तवमा मानव सभ्यताले विकास गरेको सबैभन्दा उपयोगी, सस्तो, वातावरणमैत्री र जनस्वास्थ्यमैत्री आविष्कारमध्ये एक हो । पेट्रोल, डिजेल वा विद्युतको आवश्यकता नपर्ने यो साधनको इन्धन मानिसको आफ्नै ऊर्जा हो । यही कारणले साइकल केवल यातायातको माध्यम मात्र होइन, स्वस्थ जीवनशैली, स्वच्छ वातावरण र दिगो विकासको प्रतीक पनि हो । आज विश्व जलवायु परिवर्तन, वायु प्रदूषण, ट्राफिक जाम र जीवनशैलीजन्य रोगहरूको चुनौतीसँग जुधिरहेको छ । यस्ता समस्याको समाधान खोज्ने क्रममा विकसित देशहरूले साइकललाई पुनः आफ्नो यातायात नीतिको केन्द्रमा ल्याइरहेका छन् । युरोपका धेरै सहरहरूमा साइकललाई प्राथमिकता दिइएको छ । विशेष साइकल लेन, सुरक्षित पार्किङ, साइकल साझेदारी सेवा र साइकलमैत्री कानुनी व्यवस्थाले लाखौँ मानिसलाई दैनिक यात्राका लागि साइकल प्रयोग गर्न प्रेरित गरेको छ। परिणामस्वरूप प्रदूषण घटेको छ, जनस्वास्थ्यमा सुधार आएको छ र सहरहरू अझ जीवन्त बनेका छन् ।
    साइकलको सबैभन्दा ठूलो योगदान मानव स्वास्थ्यमा देखिन्छ । नियमित साइकल चलाउँदा मुटु स्वस्थ रहन्छ, रक्तसञ्चार प्रणाली बलियो बन्छ, मधुमेह, उच्च रक्तचाप तथा मोटोपनाजस्ता समस्याको जोखिम कम हुन्छ । तर साइकलको प्रभाव केवल शारीरिक स्वास्थ्यमा सीमित छैन । बिहानको ताजा हावामा साइकल चलाउँदा मन शान्त हुन्छ, तनाव घट्छ र मानसिक सन्तुलन कायम रहन्छ । आधुनिक जीवनशैलीले बढाइरहेको मानसिक दबाबका बीच साइकल एक प्राकृतिक औषधिजस्तै बनेको छ । धेरै साइकलप्रेमीहरूको अनुभव छ कि साइकल चलाउँदा उनीहरूको सिर्जनात्मक क्षमता बढ्छ । प्रकृतिसँगको निकटता, खुला आकाशमुनि यात्रा गर्ने अवसर र नियमित शारीरिक गतिविधिले मस्तिष्कलाई नयाँ ऊर्जा दिन्छ । यही कारणले संसारका धेरै लेखक, कलाकार, वैज्ञानिक र चिन्तकहरू साइकलप्रेमी रहँदै आएका छन् । सिर्जनशील सोच र सक्रिय जीवनशैलीबीच गहिरो सम्बन्ध रहेको कुरा विभिन्न अध्ययनहरूले पनि देखाएका छन् ।
    नेपालको सन्दर्भमा साइकलको महत्व अभ व्यापक छ । एकातिर इन्धन आयातमा ठूलो रकम खर्च भइरहेको छ भने अर्कोतिर सहरहरू प्रदूषण र ट्राफिक समस्याबाट पीडित छन् । यस्तो अवस्थामा साइकल एक प्रभावकारी विकल्प बन्न सक्छ । तर विडम्बना के छ भने साइकलप्रति जनचेतना बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा राज्यको ध्यान पर्याप्त देखिँदैन । स्थानीय निकायले बनाएको एकाध बाहेक सडकमा सुरक्षित साइकल लेन छैनन् । सार्वजनिक स्थानहरूमा व्यवस्थित साइकल स्ट्यान्डको अभाव छ। दैनिक जीविकोपार्जनका लागि साइकल प्रयोग गर्ने हजारौँ नागरिक अझै पनि असुरक्षित र उपेक्षित अवस्थामै व्यवसाय एवं यात्रा गर्न बाध्य छन् । साइकल प्रयोग गर्ने नागरिकहरूको पनि अधिकार हुन्छ भन्ने सोच अझै नीतिगत तहमा बलियोसँग स्थापित हुन सकेको छैन । सडक सबैका लागि साझा सम्पत्ति हो। त्यसैले मोटरसाइकल, कार र बसजस्तै साइकलले पनि सम्मानजनक र सुरक्षित स्थान पाउनुपर्छ । 
    नेपालमा साइकल पर्यटनको सम्भावना झन् आकर्षक छ । हिमाल, पहाड, तराई, ग्रामीण बस्ती, सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भूगोल विश्वका साहसिक साइकल यात्रीहरूका लागि अत्यन्त उपयुक्त गन्तव्य बन्न सक्छ । संसारभर साइकल पर्यटन तीव्र गतिमा विस्तार भइरहेको छ। धेरै देशहरूले साइकल रुट विकास गरेर स्थानीय अर्थतन्त्रलाई मजबुत बनाएका छन् । नेपालले पनि योजनाबद्ध रूपमा साइकल पर्यटन प्रवद्र्धन गर्न सकेमा हजारौँ विदेशी पर्यटक आकर्षित गर्न सक्नेछ । यसले होटल, रेस्टुरेन्ट, स्थानीय व्यवसाय र रोजगारीका अवसरहरू बढाउनेछ । अर्थात् साइकल केवल स्वास्थ्यको विषय मात्र होइन, आर्थिक विकासको एउटा सम्भावित आधार पनि हो ।
    विश्व साइकल दिवस मनाउनुको उद्देश्य केवल एक दिन साइकल र्याली निकाल्नु वा औपचारिक कार्यक्रम गर्नु मात्र होइन । यसको वास्तविक सन्देश साइकललाई दैनिक जीवनको संस्कृतिका रूपमा स्थापित गर्नु हो। यदि हामीले वर्षमा एक दिन साइकलको प्रशंसा गरेर बाँकी दिन त्यसका प्रयोगकर्तालाई असुरक्षित सडकमा छोडिदियौँ भने त्यो दिवसको सार्थकता अधुरो रहन्छ । आज नेपाल, नयाँ सोच र नयाँ पुस्ताको आकांक्षाबारे धेरै कुरा गरिरहेको छ। स्वस्थ नागरिक, स्वच्छ वातावरण र दिगो विकासको लक्ष्य हासिल गर्न चाहने हो भने साइकलमैत्री नीतिलाई पनि प्राथमिकता दिनैपर्छ। प्रत्येक सहरमा सुरक्षित साइकल लेन, सार्वजनिक साइकल पार्किङ, विद्यालय तथा कार्यालयसम्म साइकल पहुँच सहज बनाउने योजना र साइकल प्रयोगकर्तामैत्री कानुनी संरचना निर्माण गर्न आवश्यक छ ।
    विश्व साइकल दिवस २०२६ को अवसरमा हामी सबैले एउटा साझा संकल्प गर्न सक्छौँ साइकललाई केवल मनोरञ्जन वा खेलकुदको साधनका रूपमा होइन, स्वस्थ समाज, हरित वातावरण र समृद्ध भविष्यको आधारका रूपमा स्वीकार गर्ने। जब सडकमा साइकल सुरक्षित हुन्छ, तब वातावरण स्वच्छ हुन्छ जब वातावरण स्वच्छ हुन्छ, तब समाज स्वस्थ हुन्छ र जब समाज स्वस्थ हुन्छ, तब राष्ट्र समृद्ध बन्ने आधार बलियो हुन्छ। त्यसैले विश्व साइकल दिवस केवल एउटा दिवस होइन, मानव र प्रकृतिबीचको सुन्दर सहयात्रालाइ जोड्ने उत्सव हो । (मदानी विटबाट साभार ।)