केशव थापा
नेपाली शब्दकोशले समृद्धिलाई उन्नति, अभ्युदय, बढिबढाउ हुँदाको अवस्था भनेर उल्लेख गरेको पाइन्छ । अहिले सबैको सरोकार र चासोको विषय सुखी नेपाली र समृद्ध नेपाल हो । यो अवधारणा आर्थिक–सामाजिक लगायतको विकाससँग सम्बन्धित विषय हो । यस अवधारणाले भौतिक विकासलाई सामाजिक विकास र मानवीय सुखसँग अन्तर्सम्बन्धित विषयको रुपमा उल्लेख गर्दछ । सुख र समृद्धिले सभ्यपनको माग गर्ने तथ्य सहजै बुझिने विषय हुँदै हो ।
आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवादोन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकासमा अघि बढ्न नेपालको संविधान, २०७२ ले निर्देशित गरेको छ । उत्पादनका साधनमा सबैको पहुँच विस्तार, योग्यता अनुसारको काम र काम अनुसारको पारिश्रमिक, राष्ट्रिय पुँजी निर्माणमार्फत स्वाधीन अर्थप्रणालीको विकास, सर्वशुलभ शिक्षा, स्वास्थ्य र सामाजिक सेवाहरुको प्रत्याभूति, आय र संपत्तिको पुनर्वितरणमार्फत लोककल्याणकारी राज्यको स्थापना तथा सर्वकालीक सामाजिक सुरक्षा, आर्थिक, सामाजिक, सांस्कृतिक र लैङ्गिक विभेदको अन्त्य एवम् सहभागितामूलक उत्पादन र विकास पद्धति, सार्वभौम समानता, स्वाधीनता र राष्ट्रिय हितमा आधारित वैदेशिक पुँजी, प्रविधि र सीपको आदर्शतम प्रयोगबाट समाजवादोन्मुख आर्थिक प्रणालीको विकासबाट मात्र समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार हुन सक्छ । समृद्धि अपरिवर्तनीय अवधारणा नभएर मुलुकको समष्टिगत आर्थिक परिसूचक तथा सर्वसाधरणको अपेक्षा अनुसार समयक्रममा परिवर्तन हुँदै जाने आयामिक एवं गतिशील अवधारणा हो । उच्च र दीगो उत्पादन र उत्पादकत्वमा वृद्धि, आधुनिक पूर्वाधार र सघन अन्तर्आबद्धताको विकास, मानवीय पुँजी निर्माण, त्यसको पूर्ण उपयोग र उच्च तथा समतामूलक राष्ट्रिय आय समृद्धिका आधारभूत सूचक हुन भने समृद्धि नै सुखको आधार हो । पूर्वीय दर्शन र मूल्यमान्यतामा हुर्केका नेपालीहरुको भौतिकका अतिरिक्त आत्मिक सुखसँग पनि गहिरो लगाव छ । यसको लागि आयार्जनमा सहयोग पु¥याउने शारीरिक तथा मानसिक कार्यका अतिरिक्त ध्यान, योग जस्ता विषयप्रति सकारात्मक सोच राखेर व्यवहारमा अवलम्बन गर्नुपर्दछ । मनोगत चाहनाले मात्र समृद्धिको सपना साकार नहुने भएकोले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक, शैक्षिक, पूर्वाधार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार एवम् परराष्ट्रलगायतका क्षेत्रलाई सोही अनुरुप सावधानीपूर्वक आदर्शतमरुपले परिचालन गरेर सुशासनको परिपालनाबाट मात्र समृद्धिको नडुब्ने नौकामा सयर गर्न संभव हुन्छ । यसैले लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने बुद्धिजीवीहरुले उल्लिखित तथ्यहरुको आधारमा केन्द्रदेखि पालिकास्तरसम्म समृद्धिको महायात्रामा आलोचनात्मक चेतकासाथ महत्वपूर्ण सहयोगी शक्तिको रुपमा उल्लेख्य योगदान पु¥याएर बुद्धिजीवीको हुनुको औचित्य पुष्टि गर्नुपर्दछ ।
नेपालको संविधानको धारा ५६ (१) ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने स्पष्ट व्यवस्था गरेको छ । स्थानीय तह अन्तर्गत गाँउपालिका, नगरपालिका र जिल्ला सभा पर्दछन् । संविधानको धारा ५६ (६) ले संघ, प्रदेश र स्थानीय तहले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, रााष्ट्रिय हित, सर्वाङ्गीण विकास, वहुदलीय प्रतिष्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रात्मक संघीय शासन प्रणाली, मानव अधिकार तथा मौलिक हक, कानूनी राज्य, शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलन, बहुलता र समानतामा आधारित समतामूलक समाज, समावेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्नुपर्ने भनेको छ । संवैधानिक बन्दोबस्तले पनि विविधतामा एकता पहिल्याउँदै समृद्ध नेपाल र सुखी नेपाल निर्माणको काममा स्थानीय तहले एकलका अतिरिक्त प्रदेश तथा संघसँगको समन्वय र सहकार्यमा सम्पादन गर्नुपर्ने कामतर्फ इङ्गित गरेको छ । स्थानीय तह संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधारभूत संरचनाको अतिरिक्त स्थानीय सर्वसाधरणले निकटबाट देख्ने, वेहोर्ने र अनुभूत गर्ने प्रतिपक्षविहीन घर छेउको सरकार हो । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सर्वसाधरण जनतामा राम्रो÷नराम्रो शुरुवाती छाप दिने पहिलो र महत्वपूर्ण संरचना स्थानीय तह नै हो । त्यसैले यस तहलाई समृद्धि र सुशासनको पहिलो खुड्किलोको रुपमा स्थापित गर्न बुद्धिजीवीहरुको योगदान अहं हुनुपर्दछ ।
स्थानीय सरकारले समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई तल्लो तहदेखि नै सुदृढीकरण गरी स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्दतिलाई सुदृढीकरणमार्फत स्थानीय स्तरमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न योगदान दिनुपर्ने कानूनी व्यवस्था छ । स्थानीय तहको सन्दर्भमा बुद्धिजीवीहरुले यिनै तथ्यहरुमा आधारित भएर दिगो समृद्धिको खाका कोर्ने काममा आवश्यक सहयोग गर्नुपर्दछ । अर्थात, नेपाली बुद्धिजीवीहरुले स्थानीय तहको भौगोलिक, जनसाङ्ख्यिक, पेशागत, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक विशेषता, तत्कालीन तथा दीर्घकालीन आवश्यकताको आलोकमा उपलब्ध प्राकृतिक, मानवीय एवं मावन निर्मित सम्पदाको अवस्था र सम्पादन गर्न सकिने कार्यको संभाव्यतालाई गम्भीरतापूर्वक पर्गेल्दै समृद्धि हासिल गर्न अवलम्बन गर्नुपर्ने अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन मार्गचित्र निर्माणमा विशेष योगदान गर्नुपर्दछ । बुद्धिजीवीहरुले विषयविज्ञ, बौद्धिक, तथा जनहितको विषयमा चासो राख्नेहरुकाबीच नियमित छलफल, अन्र्तक्रिया, कार्यशालाको आयोजना र आवश्यक परे लघुप्रकृतिका अनुसन्धनात्मक कार्यमार्फत समृद्धि उपयोगी कार्यहरुको पहिचान गर्ने रसम्बन्धितलाई यथोचित पृष्ठपोषण दिनुपर्छ । बुद्धिजीवीहरुले स्थानीय समस्याको पहिचान र निराकरण उपयोगी संभाव्य उपायहरु ठम्याउने काममा आफ्नो ऊर्जा उपयोग गर्नुपर्दछ । विशेष गरेर स्थानीय तहको पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा गर्नुपर्ने र गर्न सकिने गुणात्मक प्रगति, सामाजिक न्याय र सुरक्षा, पर्यावरण संरक्षण र मानवीय पुँजी विकासको क्षेत्रमा गरिनु पर्ने कार्यहरु, स्थानीयस्तरमा रोजगारी सिर्जनाको संभावना र चालिनु पर्ने कदमहरु, कृषि, सिंचाई र ऊर्जाको क्षेत्रमा सञ्चालन गर्न सकिने परियोजनाहरु, सदाचार र सुशासनमा अधिकाधिक जोडदिई स्थानीयस्तरमा समृद्धिको महाअभियानलाई सार्थक तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न निरन्तर पहल र प्रयत्न गरिरहनु पर्दछ । समृद्धि एकदिनमा एकचोटी आउने विषय नभएर यो त निरन्तरको लगन र मिहिनेतले कालान्तरमा हासिल हुने अपेक्षित सुखद् परिणाम हो । दीगोपनाविनाको समृद्धि अर्थहीन हुने भएकोले यसको दीगोपनाको सम्बन्धमा पनि बुद्धिजीवीहरुको ध्यान जानुपर्दछ । स्थानीय स्तरको विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण, प्रवर्धन र प्रोत्साहित गर्दै जातीय, भषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त गर्न सहयोग पु¥याउँदै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने, स्थानीयस्तरमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको एकल तथा संयुक्त सहभागितमा सुदृढ अर्थतन्त्र निर्माणको प्रारुप तयार गर्ने आदि काममा समाजमा अलि प्रतिष्ठित र स्थापित व्यक्ति वा शक्तिको हिसाबले नेपाली बुद्धिजीवीहरुले सामूहिक पहल र प्रयत्न गर्नुपर्दछ ।
नेपाली जनताको दशकौंको बलिदानीपूर्ण अथक सङघर्षको सिलसिलामा वि.सं. २०६२÷०६३ को बृहत् जनआन्दोलनको बलमा समाजवादोन्मुख अर्थतन्त्रको स्थापना गर्ने ध्येयकासाथ स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र जगेर्ना गरिराख्नु पर्ने महत्वपूण राजनीतिक उपलब्धी हो भने आर्थिक समृद्धि हासिल गर्नु अर्काे महत्वपूर्ण कार्यभार हो । सुशासनयुक्त आर्थिक समृद्धिबिना राजनीतिक स्थायित्व नहुने र बिना राजनीतिक स्थायित्व समृद्धि पनि सहज नहुने तथ्यलाई हृदयङ्गम गर्दै एकातर्फ नेपालको जाती, भाषा, धर्म, संस्कृति, भौगोलिक लगायतका विविधता र अर्कातर्फ स्थानीय सरकार प्रतिपक्षविहीन सरकार भएको तथ्यलाई आत्मसात् गर्दै अधिक लचकताकासाथ विभिन्न विचारधारा तथा सिद्धान्तसम्बद्ध बुद्धिजीवीहरुले माटोको मायालाई ध्यानमा राखेर अधिकतम लचकताकासाथ समन्वय र सहकार्यमा जुटी सामूहिक प्रयत्नमा स्थानीय तहमा समृद्धि हासिल गर्न सहयोग पुग्ने विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने असल परम्पराको शुरुवात गर्दै स्थानीय तहको समृद्धि नै राष्ट्रिय समृद्धिको महत्वपूर्ण आधारशीला हो भन्ने तथ्यलाई आत्मसात् गर्नुपर्दछ । (नेपाल बुद्धिजीवी परिषद, काभ्रे द्वारा प्रकाशित प्रज्ञाबाट उद्धृतांश)









