श्यामबहादुर भुजेल
आदरणीय अभिभावक तथा प्यारा विद्यार्थी भाइबहिनीहरू
हार्दिक नमस्कार ! सबै विद्यार्थी भाइबहिनीहरूमा बधाई तथा शुभकामना !
२०८१ साल असार १३ गते बिहिबार एसईई २०८० को नतिजा प्रकाशन भएको छ । नतिजा भाग्यमा होइन मेहनतमा भर पर्छ तसर्थ नतिजा जे जस्तो आएको छ । आ–आफ्नो मेहनत अनुसार नै आएको छ भन्ने कुरामा बिस्वास र भरोसा गर्नुस् भन्ने कुरा व्यक्त गर्न चाहन्छु । नतिजा पश्चात् नतिजाले कि तपाँईलाई चित्त बुझाउँछ कि पक्कै तपाईको चित्त दुखाउँछ, यसमा कोही कसैको फरक मत छैन ।
नतिजा आईसके पछि, नतिजाको बारेमा सोचेर, चिन्ता लिएर केही हुदैन तसर्थ यो समय भनेको भबिष्यको चिन्तन गर्ने समय हो । किनकी अब तपाँईले चिन्ता गरेर केही हुने छैन । तपाँईको मेहनत अनुसार जे नतिजा आउनु पर्ने हो त्यो आईनै सकेको छ । विद्यार्थी भाईवहिनीहरू विषय जे लिएर पढे पनि हुन्छ, अब्बल र सक्षम बन्न सक्नु पर्दछ । आफूले सिकेको, जानेको ज्ञान र आफू भित्र रहेका सिपलाई वा आफू भित्रका क्षमतालाई सही ठाउँमा लगानी, सदुपयोग एवं प्रश्फुटन गर्न सक्नुपर्दछ । बिद्यार्थी भाईबहिनीहरू ग्रेड यो आयो, त्यो आयो वा जिपिए यति आयो उति आयो भनेर आत्तिने र मात्तिने काम कहिले गर्नु हुदैन । एसएलसी तथा एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका विद्यार्थी भाईबहिनीहरूले उच्च शिक्षा प्राप्त गर्ने क्रममा बिचमै पढाइ छाडेका र एसएलसी तथा एसईईमा ठिक–ठिकै नतिजा ल्याएका बिद्यार्थी भाईबहिनीहरूले उच्च शिक्षा प्राप्त गर्ने शिलशिलामा आफूले आफूलाई अब्बल, सक्षम र सर्वोत्कृष्ट बिद्यार्थीका रुपमा प्रमाणित गरेका उदाहरण सर्वबिदितै छ ।
परीक्षाको परिक्षाफल, कोहि विद्यार्थी भाईबहिनीहरूलाई चित्त बुझेको छैन भने सम्झनुस आफ्ना पढाईका दिनहरु र मनमनै भन्नुस यो नतिजा मेरो यथार्थ हो । मेरो भाग्यमा यो भन्दा राम्रो अरु कुनै नतिजा ग्रेड नभएर मैले यो नतिजा ग्रेड प्राप्त गरेको होईन तर पक्कै मेरो आफ्नै अलिकति मेहनतको कमीले चाहिँ मैले यो नतिजा प्राप्त गरेको हुँ । मैले बुझेको छु खेलको मैदानमा हारेको मान्छेले फेरि पनि जित्न सक्छ तर मन देखि हारेको मान्छेले कहिल्यै जित्न सक्दैन र मेरा प्यारा विद्यार्थी भाईबहिनीहरूलाई यो नतिजाले मनदेखि हराउन र गलाउन कदापि सक्ने छैन किनकी मेरा बिद्यार्थी भाईबहिनीहरूले बुझिसके । यदि कुनै पनि विद्यार्थीले पढ्ने चाहना, रहर र इच्छा गर्दैन भने उसलाई संसारको कुनै पनि गुरुले पढाउन सक्नुहुन्न । विद्यार्थीले पढ्ने प्रतिज्ञा गर्छ भने कुनै पनि डर, त्रास र चिन्ताले वा कसैले पनि उसलाई रोक्न, छेक्न समेत सक्दैन । सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुले बुझिसक्नु भयो कल्पना गरे अनुसार अर्थात् सोचे अनुरूप नतिजा नआउनुको प्रमुख कारण ‘मेहनतको कमी’ हो । विद्यार्थी भाइबहिनीहरूलाई यो नतिजाले धेरै ठूलो पाठ सिकाएको छ । उनीहरूलाई यो नतिजाले घाईते समेत बनाएको छ । उनीहरुमा एउटा हुटहुटी जगाएको छ । विद्यार्थी भाइबहिनीहरूले मनमनै आफूले आफैंलाई वचन दिदै, प्रण गर्दै, प्रतिज्ञा गर्दै ठानीसके र भनिसके ‘आजबाट म पढ्छु यस्तो कि दुनियाँ पढ्न चाहोस् म जस्तो’ । एसईईको नतिजा जे आयो, आयो, त्यसमा सबैभन्दा ठुलो कुरा अभिभावक र विद्यार्थी दुवैले सन्तुष्टि हुन जरुरी छ । अभिभावकज्यू आफूले र आफ्ना छोराछोरीले प्राप्त गरेका कुरामा सन्तोष मान्न सक्नुपर्दछ । सन्तोष मान्न सकिएन वा चित्त बुझाउन सकिएन भने जति नै प्राप्त गरे पनि खुसी र सुखी हुन सकिँदैन ।
अभिभावकज्यूले चाहेको जस्तो नतिजा कसैले ल्याउन नसकेका होलान् र कसैले सोचेको, चाहेको भन्दा उत्कृष्ट पनि ल्याएका होलान् तसर्थ उत्कृष्ट नतिजा ल्याए भनेर उनिहरुको रहर विपरीतको विषय अध्ययन गर्न उक्साउने र करकापमा पार्ने काम नगर्नुहोस् । सोचेको, चाहेको जस्तो नतिजा ल्याउन सकेनन् भनेर पनि गालि गलौज र बेइज्जत नगर्नुहोस् । अभिभावकज्यूहरु गर्वका साथ आफ्ना छोराछोरीलाई भन्नुस तिमी हारेका होइनौ, तिमीले जितेका हौ किनकी तिमीले जित्न प्रयास गरेका छौ र तिम्रो त्यो प्रयास नै मेरो लागि जित हो । मानिसबाट गल्ती हुनु प्रकृति हो । पक्कै तिमीबाट गल्ती भएको छ, गल्तीलाई स्विकार्नु संस्कारी हुनु हो, तिमीले आफ्नो गल्ती स्वीकारी सकेका छौ, त्यसमा म विश्वसत छु साथै गल्तीलाई सुधार्नु र सच्याउनु चाहिँ प्रगति हुनु हो । आजबाट तिमीले हिजोका दिनहरुमा जानेर वा नजानेर गरेका सम्पूर्ण गल्तीहरूलाई सुधार्दै र सच्चाउँदै प्रगति पथमा लम्कन्छौं भन्ने कुरामा मेरो कुनै दुईमत छैन किनकी मानिसले कि पढेर सिक्दछ कि परेर । तिमी स्वयम् आफै नै यी दुई कुराका भुग्तभोगी हौ । अभिभावकज्यूहरु दिल खोलेर भन्नुस्, मेरा प्यारा छोराछोरी म तिमीहरुको गल्ति स्विकार्छु, तिमीहरुको गल्तीलाई आत्मसाथ समेत गर्छु तर तिमीहरुको हेल्चेक्राई भने कदापि स्वीकार्न सक्दिनँ । आत्मसाथ पनि गर्न सक्दिन किनकी आज तिमीले रोजे जस्तो र मैले सोचे जस्तो नतिजा ल्याउन नसक्नु त्यो तिम्रो गल्ती हो । के–के कारणले गर्दा तिमीले रोजे जस्तो र मैले सोचजस्तो नतिजा आउन सकेन भन्ने कुराको पाठ सिकिसके पछि पनि फेरि अर्को परिक्षामा नतिजा सुधार्न सकेनौ भने चाहिँ त्यो तिम्रो कदापि माफ दिन नसक्ने हेल्चेक्राई हो ।
अभिभावकज्यूहरु छिमेकीले के पढायो, कहाँ पढायो वा के भन्यो भन्ने सोच्नु पर्दैन, तपाई आफ्नो अवस्था र बालबालिकाको चाहना अनुसार आफूलाई पाएक पर्ने ठाउँमा पढाउनुस् वा आफ्नो घाँटी हेरेर हाड निल्नुस् त्यति भए पुग्छ । अभिभावकज्यू आफ्नो गच्छे भन्दा महँगो कलेजले पक्कै तपाईँकै टाउको खान्छ; तपाईलाई आर्थिक भार पार्दछ त्यसैगरी पढ्न नसक्ने विषयले विद्यार्थीको । तसर्थ साथीभाईको लह लहैमा अथवा अरुको उक्साहटमा कलेज र बिषय छनौट गर्ने काम कदापी नगरौ आफ्नो रहर र इच्छाको विषय र कलेज अध्ययन गरौ किनकी जहाँ रहर र इच्छा हुन्छ त्यहाँ असम्भव काम पनि सम्भव हुन्छ र जहाँ डर, त्रास र पिर हुन्छ त्यहाँ सम्भव काम पनि असम्भव हुन्छ ।
विद्यार्थी भाइवहिनीहरू बिषय, कलेज जुन रोजे पनि हुन्छ । विद्यार्थी भाइबहिनीहरू तपाईहरु अबको झण्डै दश बर्षमा, तपाईको आफ्नै वडाको वडा सदस्य बन्न सक्नुहुन्छ, वडाको वडा अध्यक्ष, नगरको नगर प्रमुख, यो दशको भाबि राष्ट्रपति, प्रधानमन्त्री, शिक्षा मन्त्री, मन्त्री, वा आफ्नो क्षेत्रका सभासद् समेत बन्न सक्नुहुन्छ । डाक्टर, इन्जिनियर, सिए, पाइलट, शिक्षक मात्र नभएर तपाईहरु यो देशको कर्मठ किसान पनि बन्न सक्नु हुन्छ । तसर्थ म भबिष्यमा के बन्छु, के बन्ने भन्ने कुराले केही महत्व वा अर्थ राख्दैन, महत्व र अर्थ त तपाई कति असल र सफल बन्नु भयो भन्ने कुराले राख्दछ । तसर्थ असल बन्दै भविष्यमा जुन क्षेत्रमा अब्बल र सक्षम बन्न सक्छु जस्तो लाग्छ; त्यसमा निरन्तर मिहिनेत गर्नुस पक्कै सफल बन्नुहुन्छ ।
अन्तमा, विद्यार्थी भाइबहिनीहरूमा मेरो बिशेष अनुरोध कि तपाई शिक्षित बन्दै नबन्नुस तर शिक्षित नैतिकवान चाहिँ पक्कै बन्नुस । शिक्षित र शिक्षित नैतिकवान मानिसमा ठूलो अन्तर छ । शिक्षित मानिस भनेको त्यस्तो मानिस हो जसले दिमागबाट सोच्दछ र आफूलाई फाइदा हुन्छ भने आफूले गरेको कार्यले समाजलाई जतिसुकै हानि नोक्सानी होस त्यो काम गरि छाड्दछ तर शिक्षित नैतिकवान भनेको त्यस्तो मानिस हो जसले मनबाट सोच्दछ र आफूलाई जतिसुकै फाईदा होस तर आफूले गरेको कार्यले समाजलाई हानि नोक्सानी पु¥याउँछ भने त्यो काम कदापि गर्दैन । तसर्थ शिक्षित होइन शिक्षित नैतिकवान बन्नुस । सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुमा बधाई तथा शुभकामना !
तपाईहरुको उज्वल भविष्यको कामना गर्ने
श्याम बहादुर भुजेल, अध्यक्ष, प्याब्सन, काभ्रे
तथा, प्रिन्सिपल
विकटेश्वर ईङ्गलिस सेकेण्डरी (बेश) स्कूल









