2026 May 02/ 07:59: 22am

- जिएन प्रधान

यहि २०८१ जेष्ठ २८–३० गते भएको काभ्रेको ११ औँ अधिवेशनबाट ‘क’ राजन भुर्तेलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को एक १०५(एकसय–पाँच) सदस्यीय नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भैसकेको छ । नयाँ नेतृत्व चयन भएसङ्गै यो नयाँ कमिटीको लागि थुप्रै जिम्मेवारीहरू पनि बहन गर्नुपर्ने भएका छन् । हुनतः नेतृत्वमा आउनु नै जिम्मेवारी बहन गर्छु (बोक्छु) भनेर नै आउने हो । नेतृत्वमा आएपछि पार्टीको नीति, उद्देश्य र पार्टीको सिद्धान्त अनुसार अघि बढ्दै काभ्रे जिल्लाबासीको सामाजिक समस्यामा पहिलो ध्यान दिनुपर्ने हुन्छ । कमिटी बन्नु बनाउनु र नेतृत्वमा रहनु मात्र ठूलो कुरो हैन । पार्टीले अघि सारेको र अवलम्बन गर्दै आएको नीति र सिद्धान्तलाई प्रभावकारी रुपमा अघि बढाउँदै अगामी दिनमा आइपर्ने पार्टीका हरेक कामहरू  र पार्टीले अघि सारेका हरेक योजनाहरूलाई इमान्दारीपूर्वक पूरा गर्नु नै यसको मूल कार्य हो । यद्यपि यसको अलावा पार्टीभित्र देखापर्ने विभिन्न किसिमका चुनौतिहरूलाई पनि गम्भीर भएर सोच्नैपर्छ । क्षणिक आवेगलाई नियन्त्रण गर्दै र हरेक कोणबाट आउने हरेक नकारात्मक आलोचनाहरूबाट पनि संयमता अपनाउँदै साथी भाईहरूबाट आएको गुनासा र सुझावहरूलाई पनिध्यान दिनैपर्छ । पार्टीबाट आउने हरेक कुराहरूमा उत्तिकै चासो राख्न र सही मूल्यांकन गर्नमा पनि चनाखो बन्न जरुरी छ । यसमा पनि जिल्ला पार्टी कमिटीका सम्पूर्ण पदाधिकारीहरू र सदस्यहरूको समान भुमिका रहेपनि सबैले आशा राख्ने र मूल्यांकन गर्ने मूख्य पात्र(ब्यक्ती) नै अध्यक्ष हुने हुँदा अध्यक्षले नै बिषेश भूमिका खेल्नुपर्ने हुन्छ । पार्टीको आन्तरिक विवादहरूलाई समाधान गर्नेदेखि अन्य विपक्षी पार्टीहरूको हरेक आरोपहरूसँग सुझबुझ कायम गर्दै आफ्नो पार्टीको सङ्गठनलाई बलियो बनाउन लागि पर्नुपर्ने हुन्छ । यति मात्र नभै नेतृत्वमा रहेका सबैका मन र भावनानै निस्वार्थ ढङ्गले जनताको सेवा गर्नमा समर्पित हुनुपर्छ । अझ यसैलाई नै सम्पूर्ण पार्टी कमिटीको दायित्व  या कर्तब्य पनि सम्झिनु पर्छ । यसर्थ जिल्ला कमिटीमा रहेर यिनै दायित्वहरू गर्न सक्छु, जिल्लामा आइपर्ने÷आइपरेका हरेक समस्याहरू बिवाद रहित ढङ्गले समाधान गर्न कोसिस गर्छु भन्ने आत्मबललाई अघि बढाउनैपर्छ । नेतृत्वमा रहनेले यो पनि मनन गर्न आवश्यक छ कि पार्टीलाई आवश्यक परेको बेला या भोट चाहिएको बेलामात्र सम्झने होइन कि समय समयमा भेटघाटको वातावरण बनाउन आवश्यक छ । विगत एक डेढ दशक यता बाठाटाठा र चाप्लुसीवाजहरूको छायाँमा निष्ठावान् पुराना नेता कार्यकर्ताहरू पछाडी पर्न गएकोछ, यसको पनि खोजी गर्दै उनिहरूलाई पनि यथोचित सम्मान गर्न आवश्यक छ । जसले एमालेप्रतिको आस्था र विश्वासलाई कायम राख्न मद्दत गरोस् । पार्टीलाई माया गर्ने धेरै यस्ता पुराना नेता कार्यकर्ताहरू रहेका छन् । जसले पार्टीबाट सम्झनाको पर्खाइमा रहेका छन् । यसमा पनि यो कमिटीले ध्यान दिनुपर्ने छ । 
अर्को कुरो निस्वार्थी भावनाले हरदम सकृय रहन्छु भन्ने जोश र आँटले नै जिल्ला कमिटीमा रहनको लागि इच्छा ब्यक्त गरिने हुनाले सोही अनुसार आफूलाई प्रस्तुत गरेर देखाउन पनि सक्नुपर्छ । पार्टी कमिटी भित्र प्रवेश गरेर दिएको जिम्मेवारी केही पूरा नगर्ने, अल्छी मानेर बस्ने, उल्टै साथीभाईहरूको आलोचना गर्ने र कुरा काट्ने प्रवितिको अन्त्य हुनुपर्छ । यदि यसो भएन र आफूहरू सचिएर अघि बढ्न सकिएन भने पार्टीको लागि यो ठूलो घात हुनसक्छ । अनि पार्टीभित्र प्रवेश गरेर पार्टीलाई नै सिध्याउँछु भनेर आउने जो कोहि छ भने त्यस्तालाई पनि चिनेर पार्टी कमिटी या संगठनबाटै निष्काशन गर्न समेत पछि हट्नु हुन्न र कारवाही गरि हटाइ हाल्नुपर्छ । खासगरी पार्टी सँगठन र यसमा आबद्ध संगठित सदस्य, कमिटीभित्र आबद्ध सद्स्य र पार्टीलाई हृदयदेखि माया गर्ने वा पार्टी प्रती गहिरो आस्था राख्ने सबैको मूल उद्देश्य नै पार्टीलाई बलियो बनाउनु हो । तर वर्तमान समयमा माथिको उद्देश्य र लक्ष्यभन्दा अलिक फरक सोचाई र उद्देश्यले पार्टीभित्र प्रवेश पाएको छ । पार्टीमा नयाँ प्रवेश भएकाहरूको बाहुल्यता बढ्दै जाँदा पार्टीको पुरानो भावना, आस्था, निष्ठा र अनुशासन भन्दा अवसरवादिता र स्वार्थ लोलुपताको बाहुल्यताले विजयी पाउँदा पार्टी कमिटी भित्र एकताबद्ध र शून्य मतैक्यता अभाव देखिन थाल्छ । जसले गर्दा पार्टी संगठन बलियो हुनमा भन्दा भित्र भित्रैबाट कमजोर हुन थाल्छ र अनि आफ्नो पार्टीको उम्मेद्वारप्रति घात÷अन्तरघात गर्न थाल्छ । पार्टीको उम्मेद्वार जित्नुपर्ने ठाउँमा बिपक्षिका उम्मेदवारले जित्न पुग्छ । यसरी पार्टी भित्र आन्तरिक द्वन्द चर्किँदै गएपछी पार्टीमा विभाजन ल्याइदिन विपक्षी पार्टी वा एमाले विरोधी गिरोहहरूले पनि ठाउँ पाउन सक्छ । नयाँ प्रवेश भएका साथीहरू पनि अन्यौलतामा पर्नसक्छ । यसो भएपछी पार्टी जुन रुपमा अघि बढ्नु पर्ने हो त्यो रुपमा अघि बढ्न सकिन्न । त्यसैले विगतमा भएको पार्टी विभाजनको घटनाहरूबाट पाठ सिकेर पनि जेष्ठ २८ गतेको एघारौं जिल्ला अधिवेशनको उद्घाटनको सम्वोधनको क्रममा पनि पार्टी अध्यक्ष क. केपि ओलीले नयाँ नेतृत्व गठन या निर्वाचन हुने क्रममा जिल्लाका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई कुनैपनि गुटबन्दीमा नलागी सकेसम्म आपसी सहमतिमा निर्विरोध निर्वाचित हुन र यदि निर्विरोध हुन नसके पनि स्वच्छ र प्रतिस्पर्धाबाट निर्वाचित हुन निर्देशित गर्नु भएको थियो । तर पार्टी अध्यक्ष तथा पूर्व प्रमको उक्त आग्रह र निर्देशन विपरीत सर्वसम्मत गरिएको सुन्न÷देख्न पाइएन । भलै यो स्तभकार उक्त अधिवेशनको लागि प्रतिनिधि छनौटमा नपरिए पनि बन्द सत्रको उक्त उम्मेदवारहरू बीचको आन्तरिक प्रचार प्रसार या मत माग्ने क्रममा प्रस्तुत गरिएको जिल्ला नेतृत्वमा रहन चाहनेहरूको अस्वस्थ गतिविधी भएको समाचार यो कानले सुन्नुपर्दा अत्यन्त दुःख लाग्यो । जुन बन्द सत्रको केन्द्रमा भएका अस्वस्थता एउटै पार्टी भित्रको सदस्यहरू बीच यो निर्वाचन नभै कुनै अर्कै पार्टीको उम्मेद्वार बीच कडा प्रतिस्पर्धामा उत्रिएको छ । जबकी जिल्ला नेतृत्वमा उठ्ने साथीहरूले यो बुझ्नु पर्दथ्यो कि जिल्ला नेतृत्वमा आउनु मात्र ठूलो कुरो हैन, जिल्लालाई सफलतापूर्वक अघि बढाउनको लागि आफै उम्मेद्वार भएको अवस्थामा तिनै साथीको भरपूर मद्दत चाहिन्छ भनेर पनि सोच्नु पथ्र्यो । जेहोस्, जे जसरी भएपनी क. राजन भुर्तेलको नेतृत्वमा काभ्रे जिल्ला नयाँ कमिटी आईसकेको छ । यहि कमिटी नै सम्भवतः २०८४ को स्थानीय, सङ्घीय, प्रदेशको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउनु पर्ने दायित्व रहेको छ । यसैलाई अर्को भाषामा भन्नुपर्दा मिशन ८४ को लक्षलाई पूरा गर्न यो सिङ्गो कमिटी खट्नु पर्नेछ । 
यस कमिटीले आफ्नो पार्टीका सम्पूर्ण सङ्गठित सदस्य, पार्टीलाई माया गर्ने शुभ चिन्तक र आस्थावान व्यक्तिहरूलाई पार्टीमा कायम राख्दै विपक्षी पार्टीका नेता, कार्यकर्ताहरूलाई पनि पार्टीमा प्रवेश गराउँदै पार्टीलाई थप मजबुत र सशक्त बनाई आगामी तीनै तहको निर्वाचनमा एमालेमय बनाउन भूमिका खेल्नुपर्नेछ । नयाँ प्रवेश गरेकाहरूलाई पनि निजहरूको कार्य क्षमता र योग्यताको आधारमा पार्टीमा जिम्मेवारी प्रदान गरि यस पार्टीमा प्रवेश भए बापत हौसला प्रदान गर्न पनि ध्यान दिन आवश्यकछ भने अर्कोतर्फ नयाँ प्रवेश भएका साथीहरूको अवसरवादी प्रवित्तिलाई पनि ख्याल गर्नै पर्छ । नयाँ प्रवेश भएकाहरू यस्तो होस् जसले पार्टीको लागि अहम् भूमिका खेल्नमा सकृय होस् र पद पाए बस्ने नपाए पार्टी छोड्ने प्रवत्ति नहोस् । निश्वार्थी रुपमा समाज र देशको लागि समर्पित भै दिएको जिम्मेवारी इमानदारी पूर्वक पूरा गर्नमा लागि परोस् । यो नयाँ जिल्ला पार्टी कमिटीले एउटा के गर्न आवश्यक छ भने पार्टीका धेरैजसो संगठित सदस्य, जिल्ला कमिटीमा रहेका ब्यक्तिहरू, स्थानीय निकायमा रहेका ब्यक्तिहरू सबैमा पार्टीको अनुशासमा ह्रास आएको अथवा पार्टी अनुशासनको ज्ञानको अभावमा अश्लिल चरित्रको प्रदर्शन,छाडा व्यवहार, आफ्नै पार्टीका साथिहरू प्रती शत्रुताको व्यवहार,  घात अन्र्तघातको प्रवृत्तिको विकास हुँदै आएको यथार्थलाई स्वीकार्दै पार्टी अनुशासनमा रहन÷बस्नको लागि एकदिने, दुईदिने पार्टी अनुशासन सम्बन्धी प्रशिक्षण दिन आवश्यक भैसकेकोछ । 
स्मरणीय कुरा केछ भने २०४६÷०४७ भन्दा अघिसम्म पार्टीका साथीहरू बीचमा जस्तो आत्मीयता, सौहार्दता, विश्वसनीयता, भावनात्मक सामिप्यता रहेको थियो त्यसमा अहिले ¥हास आएको छ । एउटै पार्टी भित्रका साथीहरू बीचमा आँखाको छड्के नजर हुनु, बोल्ने मुखबन्द हुनु, उम्मेद्वार उठ्दा घात गर्नु, उम्मेद्वार छनौटको क्रममा आकाँक्षीहरू बीचमा एक आपसमा छलफल नहुनु÷नगराउनु, पैसा पहुँच र चाप्लुसीको बलमा टिकट प्रदान गर्ने जस्ता कुरामा जिल्ला नेतृत्वले ध्यान पु¥याउनै पर्छ । यता त्यागी र निष्ठावान्हरूको अवमूल्यन हुन जाने कुरामा पनि फर्केर हेर्नैपर्छ । विगतमा भएका यस्तै भुलहरूलाई सच्याई अगाडि बढ्न आवश्यक छ । विगतमा यस विषयमा गम्भीर भएर ध्यान नदिनु कतिलाई दोहो¥याई दोहो¥याई लाभको पदमा पु¥याउने र कतिलाई निरास तुल्याउने जस्ता गम्भीर गल्तिहरू आगामी दिनहरूमा पुनराबृत्ति नहोउन् । बस यति कुरामा ध्यान दिनसक्नु पनि यो नेतृत्वको सफलता ठहरिनेछ । गएको स्थानीय निर्वाचनमा खासगरी नगर प्रमूख, उपप्रमुख र वडा अध्यक्षहरूको छनौटको क्रममा आकांक्षीहरूको बीच छलफल गराईको उठ्दा जित्न सख्छ र को उठ्दा परिणाम अनपेछित हुन्छ भन्ने कुरामा आन्तरिक मत सर्वेक्षण नगरी पैसा र घुर्कीलाई प्राथमिकता दिनु आदि जस्ता कुराहरू गर्न पुग्नु पार्टीको तर्फबाट भएका गम्भीर भुलहरू हुन् । आगामी दिनमा यस बिषयमा सच्याउन आवश्यक छ ।
अतःजिल्ला नेतृत्वमा रहेका सम्पूर्णले कोहि कसैमा आग्रह, पूर्वाग्रह नराखी साथसाथमा लिएर जानुपर्नेछ । स्थानीय निकायमा उठ्ने उम्मेदवारहरू सकेसम्म जनप्रिय, कुनैपनि आर्थिक हिनामिनाको दाग नलागेका, नैतिकवान्, चरित्रवान्, पार्टीप्रति निष्ठावान्, निष्पक्ष र पारदर्शी रुपमा कामगर्न सक्ने ब्यक्तिको छनौटमा ध्यान दिन सक्नुपर्छ । जनताहरूको माग भएमा वाहेक कुनै पनि एक ब्यक्तिका लागि एक कार्यकालको नीति अपनाउनु आवश्यक देखिन्छ । जिल्ला नेतृत्वले पार्टीको विश्वसनीयता बढाउँदै सकेसम्म विपक्षी नेता, कार्यकर्ता र समर्थकहरूलाई आफ्नो पार्टी नेकपा एमालेमा आकर्षित गराउन सक्नुपर्छ । जिल्ला नेतृत्वमा जान आफ्ना प्रतिस्पर्धीका बिरुद्ध गुण्डा गर्दी र डन प्रवितिको हैकम देखाइ नेतृत्वमा कोहि कसैले स्थान पाउनु कुनै ठूलो कुरो हैन । बरु आफ्ना साथीहरू प्रति सालिन र शिष्ट व्यवहार अपनाई पार्टी विरोधी शक्तिहरूलाई परास्त गर्नको लागि आफ्ना साथीहरूको लागि प्रयोग गरिएको बल प्रयोग गर्न सक्नुपर्छ । आफ्ना साथीहरूको लागि बाघ बनेर विपक्षी पार्टीको बीचमा स्याल बनेर टुलुटुलु हेर्नुको अर्थ छैन ।  आखिर जिल्ला कमिटिमा रहनु भनेको नेतृत्वमा जाने, पद मात्रै ओगट्ने र पार्टी काममा केही नगर्ने हैन । पदमात्र ओगटेर काम केही नगर्नु, निस्कृय बस्नु भनेको पार्टीको सुइरे धमिरो बन्नु हो । यो खालको नियत र आशयले जो कोहि बसेको छ÷बसेका छन् भने त्यो क्षम्य हुनेछैन । यस्ता ब्यक्तिलाई तुरुन्तै निष्काशन गर्न पनि पछि पर्नु हुन्न ।
स्मरण गर्नुपर्ने वा गम्भीर भएर ध्यान दिनुपर्ने के पनि छ भने गएको एक डेढ दशकदेखी पार्टी भित्र देखा परेको  अत्यन्त घातक समस्या भनेको नै पार्टी भित्रका साथीहरूको चरित्र हत्या गर्न प्रयास गर्ने, अनावश्यक रुपमा नंग्याई आफू अबल दर्जाको नायक (हिरो) बन्न  खोज्ने, पार्टीका आन्तरिक विवादका कुराहरू बाहिर चुहाउने जस्ता कुराहरू भैरहेका छन् । जसलाई यो नेतृत्वले बन्द गर्नुपर्छ । पार्टीलाई सहि र गतिशील ढङ्गले हाँक्नको लागि हो र गतिशील हुन पनि आवश्यक छ । केन्द्रमा आएको विभाजन सङ्गै जिल्ला जिलामा पनि यसको प्रभाव पर्नुले जिल्ला पार्टी सङ्गठनलाई पनि अवश्य कमजोर बनाउँछ नै । त्यसैले पनि जिल्ला पार्टी कमिटी यस किसिमको फुट विभाजनबाट अत्यन्त सजग रहन आवश्यक छ ।
खासगरी २०४६÷४७ को बहुदलको आगमन सङ्गै पार्टी नेतृत्व र पार्टी कार्यकर्ताहरूमा आएको पार्टी अनुशासन र स्वार्थीपनको विचलनले झनझन विकसित रुप लिँदै जाँदा पार्टीप्रति जनताहरूको पनि विश्वास टुट्दै गएको कुरालाई अब ढाकछोप गर्नु पर्ला जस्तो लाग्दैन । पार्टी भित्र प्रवेश गरेका नव प्रवेशीहरू र पार्टी भित्रकै पनि पुराना नेताहरू स्वार्थी भावको विकास, पदलोलुप, आर्थिक महत्वाकांक्षा, अहम्ता, मपाईत्वको भावना, पार्टी भित्रका साथीहरूमा आएको विभिन्न खाले द्वन्द्व, आदिले नै पार्टीलाई कमजोर बनाउँछ र पार्टीप्रतिको आस्थालाई पनि घटाउँदै लान्छ । जब पार्टीमा नै आपसी द्वन्द्व र वैचारिक संघर्षको नाममा आपसी मतभेदले बाक्लो वास जमाउँछ तब ती नेताहरूको बीचमा स्थायी शत्रुताको विकास हुनसक्छ । जसले गर्दा केन्द्रमा पार्टी विभाजन आएसङ्गै जिल्ला जिल्लामा पनि पार्टी विभाजनको असर पुग्न सक्छ । यहि भएको थियो २०५४ सालमा र २०७७ सालमा पनि । तर जिल्ला नेतृत्व सिद्दान्त निष्ठ भै एकताबद्ध भएको अवस्थामा, स्वार्थ लोलुप, पद लोलुपतालाई महत्व नदिएको अवस्थामा केन्द्रमा विभाजन भएपनि जिल्लामा एक ढिक्का भएर रहन सक्छ । यद्यपि जिल्लामा पदको आस गरिएर पद नपाई असन्तुष्ट भएकाहरू भने पार्टी विभाजनकै मौका पर्खिरहेका हुन्छन् यस्तालाई भने पार्टी बलियो हुनुपर्छ भन्दा पनि पदको महत्व हुने÷रहने हुनाले जिल्ला नेतृत्वप्रति असन्तुष कायमै रहन्छ । तर जिल्ला नेतृत्वले सकभर यो अवस्था आउन दिनु हुन्न । अन्तमा मिशन ८४ को लक्ष्यलाई ध्यान दिँदै पार्टीला सशक्त रुपमा अगाडि बढाउनु नै आफ्नो एकमात्र लक्ष्य ठानेर अगाडि बढ्नु यो नेतृत्वको दायित्व हो भन्नेमा सबैले बोध गर्न आवश्यक छ ।