सन्दीप के. सी.
स्वास्थ्य शाखा प्रमुख, धुलिखेल नगरपालिका
पछिल्लो समय केही दिन देखि अत्यधिक गर्मी बढेको छ । गर्मीको समयसँगै विभिन्न स्वास्थ्य समस्याहरू देखिने गर्छ । स्वास्थ्य संस्थामा आउने विरामीको संख्या हेर्ने हो भने पनि यो तथ्य सजिलै पत्ता लगाउन सकिन्छ । गर्मीको समयमा झिङ्गा, लामखुट्टे, साङ्लाको बृद्धी हुने हुनाले विभिन्न किसिमका संक्रमणको फैलने गर्दछ। यस्तो मौसममा खानेकुरा चाँडै सड्ने भएकोले खाध्य विशाक्तता फुड प्वाईजनिङका जोखिम धेरै हुन्छ। यो समयमा विभिन्न प्रकारका संक्रमणबाट ज्वरो आउने, डाइरिया हुने,लु लगाएतका प्रमुख स्वास्थ्य समस्या देखापर्न सक्छ। गर्मीयाममा खानपानमा हुने असन्तुलनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । गर्मी तथा वर्षातका समयमा औलो डेंगी ईन्सेफलाईटिस जस्ता घातक रोगहरुको समेत प्रकोप देखिने सम्भावना उच्च हुन्छ ।
गर्मीको मौसममा फुड प्वाइजनको सम्भावना पनि अधिक हुने गर्दछ । बासी खानाको प्रयोग तथान दुषित पानीमा पखालेका खानाहरुले फुड प्वाइजनको समस्या निम्ताउने गर्दछ । प्वाइजनको कारण बान्ता आउने, रिङ्गटा लाग्ने, ज्वरो, डायरिया, टाउको दुखाइ, शरीर दुख्ने जस्ता समसयाहरु देखिने गर्दछ । गर्मीको समयमा शरीरबाट अधिक पसिना निस्काशन हुने हुनाले शरीरमा जलवियोजन हुने हुँदा डिहाइड्रेसनको समस्याका कारण टाउको दुख्ने, थकान महसुस हुने, घाँटी अथवा ओठ सुक्ने, पिसाबको रङ्ग परिवर्तन हुने, हात खुट्टाको दुखाइ हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू देखिन सक्छन। यि जलवियोजनका कारण हुन सक्ने स्वास्थ्य समस्याहरु हुन जुन अधिक गर्मीका कारण देखा पर्ने गर्दछन ।
गर्मीको समयमा स्वास्थ्यको ख्याल राख्न नसकेमा बिरामी हुनेमात्र हैन अकाल मृत्युको समेत जोखिम हुन्छ । यस्तो समस्याहरुबाट बच्न हल्का र सहजपच्ने खानेकुरा खानुपर्छ । अत्यधिक शारीरिक श्रम गर्नु हुन्न । खुल्ला तथा हावा आवतजावत गर्ने कोठामा बस्नुपर्छ । आवस्यक्ता अनुसार आराम गर्नुपर्छ । अत्यधिक गर्मी समयमा बाहिर निस्कनु हुदैन । दूध, चिया, जुस जस्ता तरल पदार्थहरु प्रसस्त मात्रामा पिउनुपर्छ तर, भुटेको, तारेको, मसलेदार खानेकुरा कम मात्रामा सेवन गर्नु पर्दछ । सकेसम्म जंक फुडहरुको उपयोग नगर्नु राम्रो हुन्छ । डिहाइड्रेसनबाट बच्नका लागि प्रशस्त मात्रामा पानी पिउनुपर्छ । काममा व्यस्त हुनु हुन्छ भने पनि बीचबीचमा अलि अलि गरी पानी पिउँदै गर्नुपर्दछ । फुड प्वाइजनबाट तत्काल राहत पाउनका लागि एक ग्लास मन तातो पानीमा कागती, नुन र सख्खर मिसाएर पिउनुपर्छ ।यदि फुड प्वाइजन भएको हो भने दूध अथवा डेरी प्रोडक्टका खानाहरु तथा मांशाहारी खानाबाट बच्नुपर्छ । झाडा तथा वान्ता संगै ज्वरो पनि देखिएको छ भने तुरुन्त स्वास्थकर्मीको सल्लाह लिएर उपचार सुरु गर्नु पर्दछ ।
यस्तो गर्मी समयमा लामखुट्टे तथा भुसुना टोकाई बाट बच्न साथै मलेरिया, ईन्सेफ्लाईटिस जस्ता रोग बाट बच्न झुल लगाएर सुत्नु सबै भन्दा राम्रो उपाय हो । घर तथा कोठाका झ्यालढोकामा जाली राख्नु पर्छ । घर वरिपरि पानीका खाल्टा, फोहोर पानी जम्ने स्थानहरु परिदिएर तथा सफा गरेर चुना छरेर लामखुट्टे जस्ता किराबाट बच्न सकिन्छ । गर्मी समयमा हलुका खुकुलो लुगा लगाउने, घामबाट आँखाको सुरक्षाका लागी सनग्लासको प्रयोग गर्ने, छालाको सुरक्षाको लागी सनइस्क्रिन क्रिमको प्रयोग गर्ने सकिन्छ बाहिर घाममा निस्कँदा छाता ओडेर हिँड्ने, पिउने सफा पानी आफैसँग बोकेर हिँड्ने जथाभावी पानी नखाने गर्नु राम्रो हुन्छ।
पानी उमालेर सेलाएर पिउने गर्दा पनि गर्मीयामका धेरै रोगबाट बच्न सकिन्छ । गर्मी भए पनि बरफयुक्त र गुलियो पेय पदार्थले शरिरलाई असर गर्ने हुनाले अति चिसो र अति गुलियो नखानु नै बेस हुन्छ । गुणस्तरहीन बरफ, दूषित पानी, सडकमा जथाभावी बेचिएका फलफूल आदिका कारण स्वास्थ्य जोखिम बढि हुन्छ। सफा खरबुजा, काँक्रो वा खिरा, ‘बेरी’ प्रजातिका फलहरु, कागतीको रस मिसाएको पानी लगाएत ताजा पुदिनाको चटनी, सुखा पापड, अदुवा, लसुन, मेवा, उखु वा नरिवलको रस, बेलको सर्बत, गर्मी समयमा सेवन गर्नु राम्रो हुन्छ । नरिवलको पानीमा केरामा भन्दा बढी पोटासियमको मात्रा हुने हुनाले स्वास्थका लागि लाभदायक हुन्छ । सचेत रहनु, होसियार हनु र स्वस्थ रहनु नै बुध्दमानी हो ।





