2026 May 02/ 07:58: 19am

– प्रकाश भुर्तेल 

नेपालमा वा संसारका जुनै देशमा पनि जतिबेला जुन आवश्यकताले सहकारीको परिकल्पना गरियो, जे उद्देश्य राखेर वा जसका लागि लक्षित गरी सहकारीको स्थापना भयो, जुनबेला यसको मूल मर्म तय गरियो, त्यतिखेर सहकारीमा हजारौं लाखौं सदस्य हुन्छन्, यसको कार्यक्षेत्र व्यापक हुन्छ, पचासौं–सैयौं कर्मचारी हुन्छन्, अरबौं रकम जम्मा हुन्छ, सहकारी बैंकको मोडलमा सञ्चालन हुँदै जान्छन्, करोडौंको ऋण लगानी हुन्छ, प्रतिस्पर्धामा थरीथरीका सेवा सुविधा दिनुपर्छ, त्यसका लागि नाफामूलक ईन्सुरेन्स कम्पनीको सहारा लिएरै भएपनि सदस्यलाई सुविधा दिनुपर्छ, एक अर्का सहकारीले प्रतिस्पर्धी भाव राख्छन्, आपसमा अस्वस्थ प्रतिस्पर्धा हुन्छ, कतिपय सञ्चालकहरुले बदमासी गर्छन्, ऋणीहरुले ऋण तिर्दैनन्, जग्गामा लगानी गर्छन्, आफ्ना–आफ्नाबीच बिना धितो ऋण लगानी गर्छन्, कतिपय सहकारीले सदस्यको बचत फिर्तागर्न सक्तैनन् भनेर त्यतिखेर कसैले सोचेकै थिएनन् । त्यतिखेर सुरु गर्दा वा आवश्यक महशुस गर्दाको सोच अर्कै थियो, संचालन मोडल, उद्देश्य अर्कै थियो । त्यतिखेरको कुरो अर्कै थियो, अहिलेको कुरा अर्कै छ । त्यतिखेरको समय, परिस्थिति र आवश्यकता फरक थियो, अहिलेको फरक छ । 
खासमा भन्नुपर्दा धनीहरुको पैसा जम्मागर्ने ठाउँ होइन सहकारी, तर पछिल्लो समयमा त्यस्तै देखियो । त्यसकारण समुदायमा आधारित रहेर सञ्चालित केही सहकारीहरु बाहेक अहिलेका शहरकेन्द्रित ठूला सहकारीहरु सहकारीको वास्तविक अर्थ, मर्म र उद्देश्य अनुसार सञ्चालन भएका छैनन् । मिश्रित वर्ग, समुदाय, फरक फरक आर्थिक हैसियत र उद्देश्य भएका व्यक्तिहरु एकै ठाउँमा हुने र परस्पर हितका लागि आपसमा मिलेर काम नगर्ने अवस्थाका वित्तीय संस्था सहकारी कसरी हुन सक्छन्?? यो सहकारीको अर्थसंग मेल खाँदैन त्यसकारणले नै सहकारीमा विभिन्न समस्या देखिएको हो । सीमित धनाढ्या वर्गहरुले हजारौं गरीव र आर्थिक रुपमा विपन्न व्यक्तिहरुमाथि राज गरिरहेका हुन्छन् कतिपय सहकारीमा । शहरमा मुख्य कार्यक्षेत्र बनाइ सञ्चालनमा आएका कुन चाहिँ सहकारीमा अध्यक्ष, कोषाध्यक्ष, सचिव वा पदाधिकारी गरीव तथा निम्न आर्थिक अवस्थाको व्यक्ति छ ? सदस्यहरु एउटै समुदायका छैनन्, समान उद्देश्य र आर्थिक हैसियतका पनि छैनन्, परस्पर हितका लागि मिलेर काम गरेको पनि देखिंदैन । सहकारीकै कारणले आर्थिक र व्यवसायिक रुपमा हिजोको अवस्था र आजको अवस्थामा व्यापक सुधार आएका उदाहरणहरु पनि ज्याद्दै कम छन् । हेर्नेनै होभने जसलाई सहकारीको खास आवश्यकतानै छैन, उद्देश्य अनुसारको सहयोग चाहिएकै छैन, परस्पर हितमा काम नै गर्दैन उसैले चाहिँ सहकारी खोलिरहेको छ, ऊ र ऊ जस्तैको समूहले सहकारीलाई व्यक्तिगत व्यवसायको रुपमा चलाइरहेका छन् कतिपय ठाउँमा । त्यसकारण अहिलेको समयका सहकारी र सहकारीको वास्तविक अर्थ, मर्म, सिद्धान्त, उद्देश्य मेल खाएको छैनभने कसरी सहकारीलाई सहकारीको मोडलमा सञ्चालित छ भन्ने?? 
अहिले त्यो बेलाको उद्देश्य, सिद्धान्त, मर्म र कर्म फरक भैसक्यो, सहकारीहरु त्योभन्दा निक्कै अगडि बढिसके, अब त्यतिबेलाका ती पुराना कुराहरुले काम गर्नेवाला छैन । तर सरकार, मन्त्रालय, विभाग, त्यस अन्तर्गतका सरकारी कार्यालय, स्थानीय निकाय अहिलेको परिवर्तित् समय र अवस्थालाई मान्न तयार छैन । सहकारीलाई उही पुरानै अवस्था अनुसारको होस् र त्यही मर्ममै सञ्चालन होस् भन्ने पुरानै सोचमा छ । कुरा यहीँनेर मिलिरहेको छैन तसर्थ, समय सापेक्ष सहकारीको अर्थ, उद्देश्य, मर्म, सिद्दान्त परिमार्जन गर्नु आवश्यक छ, अन्यथा कामकुरो एकातिर कुम्लोबोकि ठिमीतिर भनेझैं हुन जाँदा सहकारीको अर्थ, मर्म, सिद्धान्त, उद्देश्य भन्दा फरक ढंगमा अगाडि बढेका सहकारी र सरकारको तालमेल मिल्दन । कर्म र मर्म फरक पर्छ, सहकारी सहकारीका मोडलमा सञ्चालन हुन सक्तैनन्, समस्या ज्यूँका त्यूँ हुन्छन् । विषयगत सहकारीले पनि दर्ता र उद्देश्य अनुरुप काम गरेका छैनन् । त्यसमाथि ठूलो बनाउने होडबाजीमा अगाडि बढेका फरक फरक उद्देश्यका, फरक फरक आर्थिक हैसियत, वर्ग, भेग लगायतका... व्यक्तिहरु एउटै सहकारीमा अटाएर उही खालका सेवा सुविधा कसरी दिने? वा सदस्यमा फरक फरक सेवा सुविधा दिएर भेदभाव कसरी गर्ने भन्ने प्रश्न संगसंगै छ ।
अब बरु, भेगीय हिसाबले वा सहभागी सदस्यका हिसाबले सहकारीको वर्ग छुट्याउनु आवश्यक भैसक्यो, त्यस अनुसारको पहिचान दिनु जरुरीनै भैसक्यो । विषयगत सहकारी भित्र पनि सदस्यको आवद्दता, लाभांवित वर्ग, संस्थाको प्रकृति, सञ्चालन पद्दति, मुख्य कार्य एवं पूँजीको परिक्षणको आधारमा गुणोस्तरको पहिचान चिन्हँ प्रदान गरी सदस्य, सहकारी अभियान र सरकारी निकायले देख्ने बित्तिकै कुन कस्तो हो छुट्याउन सक्ने व्यवस्थाको थालनी गर्नु जरुरी देखियो । जसरी देशको कुनै एउटा बैंक, फाइनान्स वा इन्स्योरेन्स कम्पनिमा समस्या आउँदा अरुलाई फरक पर्दैन वा पूरै क्षेत्र बिग्रेको रुपमा बुझिंदैन त्यसैगरी देशका एकाध सहकारीमा समस्या देखिंदा वा गडबडी हुँदा समग्र सहकारी बदनाम हुने अवस्थाबाट मुक्त गर्ने विषयमा प्रयास हुनुपर्छ । त्यसैले सबैलाई लगाम बिनाको घोडाझैं छाडा छोड्नुभन्दा आवश्यक परिक्षण पश्चात वर्ग छुट्याई गुणोस्तर चिन्हँ प्रदान हुनसके एक दुईवटाका कारणले सिङ्गो सहकारी अभियान बदनाम हुने अवस्थाबाट राहत मिल्नसक्छ। त्यसैले सरकारले एकतर्फी हिसाबले सहकारीको उबेलाको अर्थ, उद्देश्य, मर्म र सिद्धान्त टेकेर हु–बहु त्यस्तै खोजी सहकारी प्रति कठोर प्रस्तुत् हुनुभन्दा समयसापेक्ष युग सुहाउँदो परिवर्तन परिमार्जन सहित सहकारीलाई वर्गीकरण तथा गुणोस्तर चिन्ह प्रदान गर्ने विषयमा पनि नीतिगत व्यवस्था सहित अगाडि बढी समस्याको कारण र त्यसको निवारणमा विशेष ध्यान दिनु आवश्यक छ ।
(लेखक बुडोल सामुदायिक साकोसका सहसचिव तथा बचत तथा ऋण सहकारी संस्थाहरुको साझा राष्ट्रिय गान “साकोस गान’का रचनाकार)