मेरा प्रिय बन्धुहरू,
बरू आऊ र शिथिल मेरा हात सुम्सुमाऊ,
कृपया केही क्षण धैर्य गर र मलाई हिम्मत देऊ,
म यतिबेला जीवनलाई सबै बन्धनबाट मुक्त बनाउन,
जीवनको अन्तिम लडाईको कठिन मृत्यु योग गर्दैछु !
जीन्दगीको अन्तिम पलमा तुलसी–पत्र र गङ्गाजल हाम्रो मुखमा हाली दिने कोही हुने छैन । राम नाम भनी शङ्ख फुकी नारायण नारायण भन्नेहरू पनि कोही हुँदैन । दुःखका आँसु झार्नेहरू पनि हुने छैन । हामीले बाँच्नुको मिठास भरेर मृत्युको त्यो दिन स्वीकार्न सक्नु पर्नेछ । आफ्नो जीवनका अन्तिम क्षणमा अतीतलाई सम्झिएर धैर्यधारण गरि आफैंले आफैंलाई सम्झाउनु पर्नेछ । जीवनको अन्तिम पलमा आँखा चिम्लिएर सबै बन्धनहरूबाट मुक्त भएर परमधाममा लिन हुन सक्नु पर्नेछ । त्यो बेला न आफन्त, न आफ्नो परिवार, न छोराछोरीहरू अगाडि हुनेछन् । केबल आफैंले आफैंलाई बिदाई गर्ने मृत्यु स्वीकार्नु पर्नेछ ।
मानिसको जीवनको अन्त्य उसको मृत्यु कसरी हुन्छ ? कोही कसैलाई थाहा हुँदैन । सुवास नेम्वाङ्गको अप्रत्याति मृत्युले सबैलाई झस्काएको छ । सामान्य शारीरिक अस्वस्थमा रातको पहरमा एकै क्षणको बेथा हृदयघाटको कारण हस्पिटल पु¥याउँदा मृत घोषणा गरेको सुवास नेम्वाङ्गको मृत्यु अकल्पनीय घटना भएको छ । नेपाली समाजमा देश, राष्ट्रको लागि असली योगदानको कदर भनेको उसको मृत्यु पछिको सम्मान हो । जीवनमा कति धन कमायो, भन्दा पनि मरे पछि कति मलामी कमायो । कसैको मृत्युमा कतिले पीडा महसुस ग¥यो ! यो मुख्य कुरा हो । आज राष्ट्रले एउटा शालीन, आदर्श युग पुरुष गुमाएको महसुस गर्दै छ । मानिसको जीन्दगी अजम्बरी कोही हुँदैन । त्यसैले हरेक समयले राष्ट्र यस धर्तीले यस्ता महान् व्यक्तिहरू गुमाउँदै गएको हुन्छ । यो सबैले स्वीकार्नु पर्ने मृत्यु सत्य हो ।
गुटबन्दी पार्टी, नेतामुखी समाजमा कुनै व्यक्तिको योगदानको कदर हुन गाह्रो छ । बाचुञ्जेल खोइरो खन्ने व्यक्तिहरू पनि मृत्यु पछि गुणगान र सहयोगी भूमिका निभाउन पछि पर्दैन । यो हाम्रो समाजको विशेषता हो । मरे पछि सम्मान संस्कारमा खर्च गर्नु हाम्रो परम्परा पनि हो । जब मान्छे मर्छन् त्यसको दुष्मनी हुदैनन् । पक्ष विपक्ष सबै पार्टी उच्च व्यक्तिहरूले पनि सम्मान गर्छन् । समवेदनाका वक्तव्य दिन्छन् । राष्ट्रिय झण्डा पार्टीको झण्डा ओढाउन्छन् । राजकीय सम्मानमा अन्त्यष्टि गरिन्छ । मानिसको मृत्यु पछिको सँस्कारको उपलब्धि के हो ? तर पनि जीवनको अन्त्यलाई सबैले स्विकार्नु पर्दछ । यस सत्यबाट कोही भाग्न सक्दैन । यस दुःखद् परिस्थितिमा जो कोहीले समवेदना, श्रद्धाञ्जली श्रद्धा सुमन व्यक्त गर्नु मानवीय धर्म हो ।
देश परिस्थितिको कठिन मोडमा सुवास नेम्वाङ्गको केही महत्वपूर्ण कदमहरू सराहनीय पूर्ण छ । जसले राष्ट्रको विषम् परिस्थितिमा एउटा गति दिन सफल भयो । माओवादीलाई युद्ध विराम, जनयुद्ध सेनालाई राष्ट्रिय राजनीतिक धारमा ल्याउनु, संविधान बनाउनु, माओवादी पार्टीसँग एमाले सहकार्य, संयुक्त सरकार बनाउनु देखी सबै पार्टीहरूको समन्वयमा संसद्को गरिमामय पद सभामुखको भूमिका निभाउनु सुवास नेम्वाङ्गको राजनीतिक जीवनको सफल पक्ष हो । नेपाली राजनीतिकको महाभारत महासंग्राममा पनि एउटा सच्चा कर्मठशील भूमिका निभाएर विवाद रहित विद्धान विदुरको जस्तो भूमिका निभाउन सफल व्यक्तित्वको रूपमा नेम्वाङ्गलाई चिन्न सकिन्छ । कोही कसैको राजनीति स्वार्थले राज्य विखण्डनबाट जोगाउन अडिग रहेर सुवास नेम्वाङ्गको राजनीति जीवनलाई धेरैले कदर गर्ने गरेका छन् । देशलाई आमूल परिवर्तन गर्ने लक्ष्य लिएर अगाडि बढेको माओवादी एजेण्डा, विश्वेश्वर प्रसाद कोइरालाको प्रतिबद्धता काँग्रेसले देश बचाउने जिम्मेवारी र देशलाई कायापलट गर्ने के.पी. ओलीको एकल दुर्योधनको अभियानमा देशमा त्रिकोणात्मक धारको राजनीतिक धरातलमा एमालेको पार्टी विभाजनबाट बचाउन एउटा आदर्श र नैतिकवान् भूमिकामा सुवास नेवाङ्ग कर्णको भूमिकामा एमाले पार्टी प्रतिको बफादारिता भूमिका निभाउन सफल राजनीतिक योद्धाको रूपमा नेपाली राजनीतिको ईतिहासमा वहाँको नाम अमर रहने छ ।
अलबिदा सुवास नेवाङ्ग प्रति हार्दिक समवेदना श्रद्धासुमन !









