2026 May 02/ 09:00: 44am

- सहदेव थापा

सार्वजनिक जीवनमा कबुल गर्नु आफैंमा महान् कुरा हो अनि आफ्ना कबुलमा रहिरहनु झन् ठूलो कुरा हो । प्रायः मानिसहरु आफूले कबुल गरेका सबै मूल्यका साथ लामो समय रहँदैनन् । आज हाम्रो राजनीतिक प्राणीहरुको अवस्था आफ्ना कबुलमा नरहने र बोलीका ठेगान नहुनाले आम समाजले दुःख पाइरहेको छ । नेतृत्वले युगको समस्याको कुरो बुझ्नुपर्छ । तर हम्रो नेतृत्वमा विचारै नगरी बोल्ने परम्परा छ । राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि आर्थिक क्रान्ति अनिवार्य हुन्छ । यसका लागि देशभित्रका आम पार्टीहरुबीच न्यूनतम सहकार्यको आवश्यकता पर्छ । आज हामीकहाँ यो परम्परा सुरु नै नभएकोले २००७ सालको क्रान्ति होस वा २०४६ नकी २०६२÷०६३ को कुनै पनि आन्दोलनको फल जनताले प्राप्ति गर्न सकेन । खाली पार्टीहरुको नेतृत्वले मात्र रजगज गर्न पाए । अहिले पनि देश भित्रका शक्तिहरु बीच बलियो एकता हुन सकिरहेको छैन । राष्ट्रिय हितको सवालमा एकै ठाउँमा उभिन सकिरहेका छैनन् । आर्थिक, राजनैतिक, परराष्ट्र नीतिको सवालमा साझा धारणा बनाउन सकिरहेका छैनन् । जसको फलस्वरुप छिमेकी राष्ट्रले बारम्बार खेलिरहेका छन् । 
    आफ्नो निहित स्वार्थका लागि छिमेकी देशमा लम्पसार पर्ने सँस्कृति विद्यमान छ । छिमेकी देश आन्तरिक द्वन्द्व चर्काएर आफूले फाईदा लिन जहिले पनि सफल भएको छ । लोकतन्त्र पुनस्र्थापना पछि सत्तारोहण गरेका दलहरुमा राजनीतिक सिद्धान्त, विचारधारा र दृष्टिकोणमा स्खलन भएको छ । प्रसिद्ध ग्राक दार्शनिक प्लेटोले लेखेको पुस्तक ‘रिपब्लिक’ मा राजनीतिलाई आदेश राज्यसँग जोडेर व्याख्या गरेका छन् । उनको आदेश राज्यमा कानुनी शासन, शासनको आदर्शात्मक भूमिका उपयुक्त शिक्षा र स्वास्थ्यलाई महत्व दिएका छन् । हाम्रो देशमा यस्तो विचारको केहि छनकनै पाइँदैन । दलहरुमा देखिएको सैद्धान्तिक, वैचारिक, भ्रष्टिकरण समुन्नत, समतामूलक र न्यायमा आधारित राज्यको परिकल्पना गर्नेहरुको लागि लज्जाको विषय बन्न गएको छ । दलहरुमा सिद्धान्त र व्यवहारको विचमा देखिएको आकाश पातालको फरकले जनताका विचमा नाँगिदै गएका छन् । यसले गर्दा प्लेटोको आदेश राज्य, पुष्पलाल, विपी, गणेशमान, मनमोहन, मदन भण्डारीले परिकल्पना गरेका विचारधाराको चिरहरण हुन गएको छ । 
लोकतन्त्र सिद्धान्तमा आधारित प्रणाली हो सिद्धान्त सकिए लोकतन्त्र लुटतन्त्रमा परिणत हुन्छ । संविधान अन्तर्गत चल्ने प्रतिबद्धता नहुने र सरकार संविधान अनुसार नचल्ने विधिको शासन नमान्ने हो भने हामीले लोकतन्त्रमा चाहेको सम्भावनाहरु समाप्त भएर जान्छन् । आज राजनीतिक पार्टीहरु प्राइभेट लिमिटेडजस्तो देखिए लिडरहरु डिलर जस्ता भएर । आस्था, समर्पण, त्याग निष्ठा र बलिदान फिका साबित भए । लोकतन्त्र जीवन्त बन्न धेरैमा धेरै मानिस सचेत र आलोचनात्मक बन्दै जानुपर्छ । नेतामा वैचारिक अडान स्पष्टता हुनुपर्छ । आदेश मात्र शिरोपर गरेर व्यवस्था सुदृढ बनाउन सकिँदैन । हाम्रो देशको राजनीतिक अवस्था दक्षिण पन्थ वा बामपन्थको होइन उग्रलुटपन्थको हो । राजनीतिक पार्टीहरु नै मूलधारबाट बिचलित छन् । काँग्रेसजस्तो छैन । एमाले एमाले जस्तो बन्न सकेको छैन । माओवादीको त के कुरा मुलुक राजनीतिमा कल्पनै गर्न नसकिने गरी आएको मूल्य र मान्यताको बिचलनले जनतामा निराश छाएको छ । हाम्रो राजनीति निकृष्ट गिरोहतन्त्रमा फसेको छ । केहि आशा गरिएका नयाँ अनुहारमा तिनको ग्रहण पर्न थालिसकेको छ । राजनीति गर्नेहरुको लागि मनि र मसलको ठूलो स्रोत नै संगठित अपराध सरह भएको छ । राज्य संयन्त्रमा केहि इमानदार र योग्य सक्षम मानिसहरु पुगेपनि तिनलाई आफ्नो जालमा पार्ने र यसो गर्न सके जसरी हुन्छ इमानदारलाई फाल्न यी तत्वहरु लागि परिरहेका हुन्छन् । हामीले दरबार देख्यौ तिनलाई जनताले कब्जा गरेको देखेका छैनौ । हामीले भ्रष्टाचारीलाई देख्यौ तर तिनलाई जनताले समातेर शहर घुमाएका देखेका छैनौं । आज राजनीतिको चरित्रमा परिवर्तन, राज्यको चिन्तन, प्रणालीमा परिवर्तन, सत्तामुखी सँस्कृतिमा परिवर्तन, हाम्रो मनोग्रन्थीमा परिवर्तनको आवश्यकता छ । क्रान्ति सम्पन्न गर्नुमात्र सिद्धान्त कदापि होइन । यसलाई व्यवस्थापन गर्न झन् धेरै प्रतिबद्धता चाहिन्छ । यसको मतलब हात्ती किन्न सजिलो छ तर पाल्न गाह्रो हुन्छ । राजनीतिलाई स्वार्थसिद्ध गर्ने अस्त्रको रुपमा लिन थालिन्छ तब उसको राजनीतिमा खिया लाग्न सुरु गर्छ । जनप्रतिनिधिहरु कस्तो हुनुपर्छ ? चाणक्य भन्छन् राजा र उनका मन्त्रीहरु सदाचार र इमानदार नैतिकवान् हुनुपर्छ । होइन भने नदिको छेउमा रहेको रुख र असल भारदार बिनाको राजाको जस्तै हुन्छ । जसको विनाश निश्चित छ । शिक्षित युवा राजनीतिमा प्रवेश गरे भने राजनीतिमा देखापरेका विकृतिहरुलाई कम गर्न मद्दत पुग्छ । यसकारण विषय विज्ञहरु शिक्षित युवाहरु राजनीतिमा आउनु पर्छ । जसको कारण राजनीति फोहोरी खेल नबनोस् । राजनीति पार्टीहरुमा सुधारको ठूलो खाँचो छ । पार्टीका नेताहरुले आफूलाई नेताको रुपमा होइन राजनेताको रुपमा स्थापित गर्नुपर्छ । सदाचार सँस्कार र सभ्य सँस्कृतिको व्यवहार र अभ्यासको पालना गर्नुपर्छ । नेतृत्वहरुले आफूलाई जनताको मालिक ठान्ने आफै सर्वज्ञाता हुने स्वास्थ्य आलोचना सुन्न नचाहने आलोचकलाई आँखाको कसिंगर मान्ने नेतृत्वको यस्तै संकुचित र दरिद्र मानसिकताले नेता र दलप्रति जनविश्वास क्रमिक रुपमा घट्टो छ । यस्तो जनअसन्तुष्टिले विद्रोहलाई बोलाउँछ । 
अग्रज व्यक्तिहरुले सिकाउने भनेको मूलतः सभ्यता सरलता र सुसँस्कार नै हो । राजनीति फरक विचारहरु विचको प्रतिस्पर्धा र प्रतिस्पर्धा विचमा उत्कृष्टता अनिवार्य हुन्छ यो हाम्रो राजनीतिले गुमाउँदै गएको छ । फरक राजनीति धारको स्वच्छ र स्वतन्त्र प्रतिस्पर्धाले मात्र हाम्रो लोकतन्त्र दिगो हुन्छ । फरक राजनीतिधारहरुलाई जनताले आफ्नो विवेकले छान्न पाउने मतदान मात्र प्रभावकारी मतदान हो ३५ वर्षदेखि काँग्रेसमा भोट हाल्नेहरुले चुनावमा रुख भोट हाल्न पाउँदैनन् त उनीहरुका लागि काँग्रेस किन चाहियो ? कम्युनिष्टले कम्युनिष्टलाई भोट हाल्न पाउँदैन त तिनीहरुलाई कम्युनिष्ट पार्टी किन चाहियो ? जब पार्टीहरुमा बैचारिक भिन्नता सकिन्छ फरक पार्टीहरु नै किन चाहियो ? ऐजेण्डा अनुसार मतदाताहरुले मत खसाउन पाउँदैनन् त पार्टीहरुका एजेण्डा नै किन चाहियो ? के राजनीति सत्ताको खेल मात्र हो ? राजनीतिले समाजलाई दिशानिर्देशन गर्ने होइन र ? अहिलेको राजनीतिले न जनताका सपनाहरुको प्रतिनिधित्व गर्छ न त विचारको नै प्रतिनिधित्व गर्छ । राजनीति सत्ता होइन राजनीति समाजको बैचारिक अभिव्यक्ति हुनुपर्छ । दक्षिणपन्थीले बामपन्थी समाउने, लोकतन्त्रवादीहरुले माओवदी समाउने यो गाइजात्रे राजनीति कहिले सम्म गर्ने ?