नवराज के.सी.
संसारमा सहकारीको सुरुवात बेलायतबाट सन १८४४ मा भएको पाइन्छ । बेलायतको रोचडेल शहरमा २ जना महिला र २६ जना पुरुष मजदुरको साझा प्रयासबाट Rochdeal society and equitable pioneers नामको पहिलो सहकारी स्थापना भएको थियो । यसरी हेर्दा संसारमा सहकारीको लामो इतिहास रहेको पाइन्छ ,तर नेपालको सहकारीको इतिहास त त्यति धेरै लामो छैन विक्रम सम्वत् २०१३ सालमा बखान बहुउद्देशीय सहकारी संस्थाको नाममा चितवन जिल्लाबाट सहकारीको औपचारिक सुरुुवात भएको थियो । यसरी हेर्दा जम्मा जम्मी करिब ६७ वर्षको सहकारीको इतिहास रहेको छ । त्यसमा पनि करिब ३० वर्षे पञ्चायतकालमा झण्डै–झण्डै मेटिएको सहकारीको अस्तित्व वि.स.२०४६ सालमा देशमा प्रजातन्त्रको पुर्नस्थापना पछि सुसुुप्त अवस्थाबाट सुरु भयो । त्यसबेलासम्म नेपाली समाजको वर्गीय अवस्था कोही असाध्यै धनी जसले यूरोप अमेरिकाको जीवनशैली बाँच्न सक्थ्यो अर्को असाध्यै गरीब जो दिनभर परिश्रम गरेर बेलुका खायो बिहान के खाने भन्ने अवस्थामा थियो । सिमान्तकृत वर्ग धेरै थियो जसको खेतीको आयस्थाले खान पुग्दैनथ्यो खेतीपाती पनि परम्परागत थियो र मजदुरी गर्दा पनि ज्याला असाध्यै कम थियो अझ भन्दा त्यस्तो समाज थियो जुन आर्थिक सामाजिक एवं साँस्कृतिक सम्पूर्ण हिसाबले दयनीय अवस्थामा थियो । यसरी नै समाज चलिरहेको थियो एउटा गीत छनि रामेशको “धनीलाई धन माथि धनै छ गरिबलाई चमेली ऋणमाथि ऋणै छ” हो गुजारा चलाउन लाई साहुसँग चर्को ब्याजमा ऋण लिनुपर्ने अनि त्यो ऋण जति तिर्दा पनि नसकिने र अन्त्यमा आफ्नो घरखेत साहूलाई बुझाएर सुकुम्बासी हुनुपर्ने यस्तो भयानक अवस्था गाउँसहर जतासुकै थियो । ती गरिबहरु आफ्नो नियति सम्झेर यो अवस्था झेल्नु बाहेक अरु केही गर्न ससक्दैनथे । धनीहरुको जगजगी र विभेद चरम अवस्थामा थियो त्यस्तैमा बिस्तारै शिक्षाको पहुँच सञ्चार क्षेत्रको विकाससँगै केही आशाको झिल्को बल्न सुरु भयो २०५८/६० पछाडि नेपालमा सहकारी क्षेत्रले गति लियो । विभिन्न सहकारी संघ संस्थाहरुको दर्ता भए र काम सुुरुगरे सहकारी ऐन २०४८ अन्तर्गत रहेर दर्ता भएका सहकारी संघ संस्थाहरुले समाजको आर्थिक, सामाजिक एवं साँस्कृतिक उन्नतिका लागि काम गर्ने प्रण गरे र सहकारीको महत्व र सहकारी शिक्षा समाजमा छर्न थाले । सहकारी शिक्षा र सहकारी बारे समुदायलाई जानकारी दिने कुरा तत्कालीन सहकारी संस्थाहरुको लागि यो एउटा ठूलो चुनौती थियो । तर पनि विस्तारै समाजले, समुदायले यसको महत्व बुझ्दै गयो । यो क्षेत्रमा युवाहरुको पनि प्रवेश हुन थाल्यो त्यस पश्चात समुदायले विस्तारै सहकारी संस्थालाई आत्मसाथ गर्दै उनीहरुले आफ्नो कमाईबाट खर्च गरेर व्यवहार धानेर बचेको रकम जम्मा गर्ने संस्कारको सुरुवात भयो । तत्कालीन एउटा नेपाली समाजको महिला जो आर्थिक मामिलामा पुरुषको भर पर्नु पर्दथ्यो अब उनले सहकारीबाट ऋण लिएर आफ्नो खेत बारीमा नगदेबाली लगाएर त्यो उब्जेको बाली बजारमा बेचेर सहकारीको ऋण तिर्ने र नाफा भएको पैसाले आफैंले घरव्यवहार चलाउने सामथ्र्य राख्ने भएकी थिइन्, बचत गर्ने बानीको विकास गरेकी थिइन् । एउटा युवक जोसँग सीप जाँगर थियो तर पुँजीको अभावमा चुप लाग्नु पर्ने अवस्था थियो या त विदेशिनु पर्ने अवस्था थियो । बैंक तथा बित्तीय संस्थाले जसलाई पत्याउँदैन थियो ।
त्यस्ता ऊर्जावान् युवकलाई सहकारीले ऋण दिन सुरु गर्यो र उसले आफ्नो सीपलाई निखारेर प्रयोग गरेर आफ्नो व्यवसाय प्रबद्र्धन गर्यो ऋण तिर्यो पुँजी बनाउँदै गयो बचेको उब्रेको पैसा बचत गर्न थाल्यो । यी त केही उदाहरण मात्र हुन सहकारी संस्थाले सीमान्तकृत वर्गलाई अर्थात् आम समुदायको केही हदसम्म आर्थिक उत्थान भयो । यहि नै थियो सहकारीको काम समुदायमा बचत गर्न सिकाउने आवश्यक परेकालाई कर्जा प्रदान गर्ने पछि यस लगायतका अरु थुप्रै जागरणको अभियान सुरु गर्यो यो क्षेत्रले अर्थात सहकारी क्षेत्रले सहकारी मार्फत स्वास्थ्य सरसफाई अभियान, वातावरण संरक्षाण अभियान, सम्पदा संरक्षण अभियान, व्यवसाय उत्थान प्रबर्दन अभियान, जस्ता थुप्रै सदस्यमुखी कार्यक्रमहरु गर्न सुरु गर्यो र सफल पनि देखियो । २०६२ सालमा देशमा पुन व्यवस्था परिवर्तन भयो । लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो र यसले सोचेको समाजवादको अभियान सहकारी क्षेत्रबाट गर्न सकिन्छ भनेर होला सरकारले यो क्षेत्रलाई महत्व दियो र तीनखम्बे अर्थनीतिमा महत्वपूर्ण एक खम्बा सहकारी क्षेत्र पनि भयो । संसारमै सबभन्दा ठूलो संगठन सहकारी क्षेत्र नेपालमा पनि फल्ने फुल्ने अवसर पायो । यसले सामान्यस्तरको मान्छेलाई रोजगारी दियो उद्योगी बनायो ब्यवसायी बनायो थुप्रै राम्रा कामहरु गर्यो देशको अर्थतन्त्रको करिब ४% भुमिका सहकारी क्षेत्रको भयो । यो हामीले मान्नैपर्छ आदर्श काम गर्ने, सहकारी ऐन नीति, विधि अनुसार काम गर्ने थुप्रै सहकारीहरु छन जसले यो अभियान र क्षेत्र धानेर बसेको छ एसियाकै उत्कृष्ट सहकारीहरु पनि छन नेपालमा तर अहिले केही वर्षयता सहकारी क्षेत्रको बद्नाम भएर आइरहेको छ केही सहकारीको गलत प्रवृति र अभ्यासका कारण यो समस्या देखिएको छ । सिक्काको दुई पाटा भएझैं यसको असल पाटा पछाडि अर्को खराब बाटो देखियो किन यस्तो भयो त ? केही कारणहरु छन जुन म बताउन गईरहेको छु ।
क) सरकारी निकाय र फितलो संयन्त्र ः
सरकारी निकाय जो सहकारी संस्था दर्ता गर्दछ र ति दर्ता भएका सहकारी संस्थाको नियमन गर्नुपर्ने हुन्छ तर तत्कालीन डिभिजन सहकारी कार्यालय जसले अस्वाभाविक रुपमा धेरै सहकारी दर्ता गरिदिए जसको परिणाम एउटा घरमा तीन या चारवटा सहकारी संस्थाका कार्यालयहरु खोलियो अब यतिविधिका सहकारीहरुले समाजमा, समुदायमा अस्वस्थ प्रतिस्पर्धा गर्न थाले सहकारी ऐन नियम सबै कुल्चेर, मिचेर काम गर्न थाले जसले गर्दा गलत व्यक्तिहरुले यस क्षेत्रलाई दुरुपयोग गरे त्यो चाहे संस्थाका संचालक हरु हुन कर्मचारीहरु हुन अथवा गलत नियतका आवद्ध सदस्यहररु फेरि न सरकारले चुस्त रुपमा नियमनकारी भुमिका निर्वाहनै गर्न सक्यो ।
ख) सहकारीका अगुवा ः
जो सहकारी अभियान बोकेर हिँडेको भन्छन त्यस्ता व्यक्तिहरु राजनीतिक पार्टीको छत्रछायामा बसेर सहकारी संघसंस्थाहरु कब्जा गर्ने र राजनीतिक थलो बनाउने र आफ्नो व्यक्तिगत एवं गुटको स्वार्थमा काम गर्ने अरुलाई अर्ती उपदेश दिने यो गर्न हुन्छ, त्यो गर्न हुँदैन भन्ने तर आफू गलत गर्ने संघ संस्था भाँड्ने यस्ता केही प्रभावशाली भँडुवाहरुले पनि सहकारी क्षेत्र बिगारेका छन् ।
ग) गलत आचरणका संचालक एवं पदाधिकारी ः
यस क्षेत्रमा पैसा लाभ प्राप्त गर्न सकिन्छ भनेर अवैधानिक रुपमा महंगो मोलमा सरकारी कर्मचारीको मिलोमतोमा संस्था खरिद बिक्री गर्ने अनि सदस्यहरुलाई आर्थिक प्रलोभनमा पारेर बचत गराउने पुरै संस्था आफ्नै आसेपासे नातागोताहरुबाट सञ्चालन गर्ने र आफ्नै मानिसहरुको नाममा आपैmले लगानी गर्ने फाइदा लिने, क्षमता भन्दा बेसी जोखिम मोलेर काम गर्ने फाइदा हुँदा आफ्नो घाटा हुँदा सबै सेयर सदस्यहरुलाई अनाावश्यक भागीदार बनाउने गलत र जोखिम क्षेत्रमा लगानी गर्ने जस्तै पछिल्लो चरणमा घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा शतप्रतिशत लगानी गरेर जब यो क्षेत्र धरासायी भयो तब यी सहकारी संस्थाहरु त डुबे सँगसँगै यो क्षेत्रलई नै बदनाम गराए, अहिले नेपालमा यस्तो उदाहरण थुप्रै देख्न सकिन्छ ।
घ) स्वार्थी एवं गलत सेयर सदस्य ः
सहकारी संस्थामा आबद्ध हुने सदस्यहरु सबै राम्रा हुन्छन् भन्ने छैन सञ््चालकको प्रलोभनमा परी बढी ब्याज पाइन्छ भनेर लोभिएर जुन पायो त्यहि सहकारी संस्था मा आफ्नो जीवनभरको कमाई महेनत जम्मा गर्ने र ऋण पाउने लालसामा थुप्रै सहकारी संस्थामा सदस्य बन्ने र आफ्नो एउटै व्यवसाय देखाएर आबद्ध भएका सबै सहकारीहरुमा कर्जा लिने र अपचलन गर्ने फुरमासी गर्ने र सहकारीलाई दुःख दिने प्रवृत्ति भएका व्यतिmहरुको पनि कमी छैन यो क्षेत्रमा ।
ङ) सहकारीका असक्षम कर्मचारी संयन्त्र ः
जसले संस्थाको नीति नियम प्रणालीलाई आत्मसात गरेर सहकारी ऐन नियम अनुसार पेशागत रुपमा सक्षम व्यवस्थापन गर्नुपर्ने हो त्यो नगरेको कारण र सञ्चालकको खराब नियत अनरुप काम गरेको कारण पनि सहकारी क्षेत्र बदनाम भएको छ ।
मैले माथि दिएका कारणहरु सबैलाई एउटै डालोमा हालेर इंगित गरेको हुँदै होइन गलत प्रवृतिलाई औंल्याउने मात्र खोजेको हो। यहाँ थुप्रै सहकारीका असल नेताहरु छन सञ्चालक पदाधिकारीहरु छन विवेकी शेयर सदस्यहरु छन जिम्मेवार एवं कर्तव्यनिष्ठ दक्ष कर्मचारीहरु छन साथै असल नियतले नियमन गर्ने सरकारी कर्मचारीहरु प्नि छन् जसले यो सहकारी अभियानलाई उचो पारेका छन वास्तवमा नै काम गरेर देखाएका छन थुप्रै उदाहरणहरु छन यही कारण पनि सहकारी योगदान समाजले समुदायले कहिले भुल्ने छैन सहकारी क्षेत्र्रको भविष्य उज्वल पनि छ तर आलुको बोरामा केही आलु कुहियो भने पुरै बोरा गनाउने गर्दछ। पुरै आलु कुहिएको हो कि भनेझैं जस्तो लाग्छ। जब त्यो कुहिएको आलुलाई झिकेर फालिदिन्छौं तब गनाउन छोड्छ हो त्यस्तै हालत वर्तमान सहकारी अभियानमा छ । व्यक्तिको खराब प्रवृतिलाई यो क्षेत्रबाट फाल्नु नै एउटा ठूलो चुनौती भएको छ र यदि यस्ता व्यतिmहरुलाई, प्रवृतिलाई परास्त गर्न सकियो भने सहकारी क्षेत्रको बदनामी हटेर जान्छ म सबैलाई आग्रह गर्दछु कि हामीले यो बुझ्नु पर्दछ सामुदायिक हिसाबले सञ्चालित सहकारीहरुमा अहिलेको अवस्थामा पनि समस्या छैन । नीतिगत, प्रणालीगत रुपमा सञ्चालित संस्थाहरु अहिले पनि सदाबहार रुपले राम्रोसँग चलेका छन् । समस्या त्यस्ता संस्थाहरुमा छन् जुन गलत नियतले खोलिएको थियो । यो कुरालाई हामीले ध्यान दिएर राम्रो सामुदायिक संस्था मा आवद्ध भएर कारोबार गर्नुनै हाम्रो कल्याण हुन्छ । संसारमा बंगालादेश, भारत जापान र युरोपका थुप्रै देशहरु सहकारी अभियानबाट समृद्ध भए जस्तै हाम्रो देशको अर्थात नेपालको समृद्धिमा पनि यो अभियानले ठूलो योगदान पक्कै पनि गर्नसक्छ तर केही कुराहरु सच्याउनु पर्ने देखिन्छ ।
जस्तै सरकारको सहकारी हेर्ने र नियमन गर्ने निकाय सहकारी बिभाग यति सक्षम हुनुपर्दछ कि कुन सहकारी कसरी चलेका छन नीति, ऐन नियम अनुसार चलेको छन या छैनन् भनेर हेर्न सक्ने खालको निष्पक्ष एवं दक्ष जनशक्ति हुनुपर्दछ । जसले राम्रो सहकारीलाई सम्मान गरोस कमजोर सहकारीलाई सहयोग गरोस् र खराब नियतले सञ्चालित सहकारी संस्थाहरुलाई सजायँको भागिदार बनाउन सकोस ताकि अहिले वर्तमान अवस्थामा देखिएका समस्याहरु आउने वातावरणनै नहोस् । हुनत सरकारले सहकारी क्षेत्रको महत्वलाई ध्यानमा राखेर विगतका ऐनका कमि कमजोरीहरुलाई हटाउदै नयाँ ऐन २०७४ संसद्बाट पास पनि गरेको छ यो स्वागत योग्य कुरा हो अब त्यसालई कडाईका साथ कार्याव्यन गर्नु पर्ने देखिन्छ त्यसपछि अर्को कुरा हामीलाई एउटै ठाउँमा त्यतिधेरै सहकारी संस्थाहरु आवश्यक छैन । त्यसलाई एकीकरण गरेर एउटा ठूलो संस्था जसले आबद्ध शेयर सदस्यहरुलाई समयसापेक्ष सुविधा दिन सकोस सदस्यहरुलाई लाभान्वित बनाउन सकोस र सदस्यले पनि यो बुझ्नु पर्दछ कि धेरै संस्थामा आबद्ध हुन छाडेर राम्रो एउटा संस्थामा भविष्यका लागि बचत, बचतका लागि राम्रो संस्था चिनेर आवद्ध हुनु पर्दछ अनि मात्र बिस्तारै यी यावत सहकारीका समस्याहरु हटेर जानेछन् ।
अन्त्यमा फेरि म भन्दछु की यदि देशमा बिभेद हटाउने हो भने आर्थिक सामाजिक असमानताको खाडललाई पुर्ने हो भने समाजलाई सभ्य सुसँस्कृत बनाउने हो भने सहकारी क्षेत्रको विकास यो अभियानको उत्कर्षबाट मात्र सम्भव छ किनकी सहकारी संस्था समुदायको हो । सबै सेयर सदस्यहरु यसका अंशियारहरु हुन् । यसले गर्ने सम्पूर्ण कार्यहरु सदस्य हित र उत्थानका लागि हुन्छन् सबैको हित र उन्नती हुनु नै देश सम्बृद्धिको मानक हो । (लेखक सहकारीकर्मी हुनुहुन्छ)









