आर्थिक मन्दीको समस्या जहि तहीँ छ । आर्थिक समस्या विकराल छ । आफूलाई पर्दा समस्याको समाधान सापटी नै हो । व्यक्ति, बैंकबाट भन्दा सजिलो र भरपर्दो ऋण सहकारीबाट नै हो । त्यसैले देशैभर गाउँ, बस्ती, टोल टोलमा सहकारी विकास भएको थियो । अहिले आर्थिक मन्दी, बैंक संस्थामा पूँजी तरलताको अभावले कर्जा सापटी जताततै रोकिएको छ । त्यसले गर्दा अहिले सहकारीमा ऋणीहरूले लिएको साँवा ब्याज बुझाउने गरेका छैनन् । आर्थिक वर्ष हिसाब मिलानको समय आई सक्यो । सहकारीले लगानीको ब्याज उठाउन सकेको छैन । ऋणीहरूलाई ताकेता गर्दा बारबार फोन गर्दा भेट्न जाँदा पैसा तिर्न नसकेको लाचारताले अनेकौँ बहाना बनाएर टार्न खोज्छन् । वास्तवमा पैसा छैन । कतैबाट आउने श्रोत नै छैन । जग्गा जमिन बेच्ने बाटो बन्द जस्तै छ । अब के गर्ने ? भाका र बहानाले समयको डाँडा काटी सक्यो । अब सहकारीले गर्ने उपाय भनेको ऋणीहरूले लिएको कर्जाको सार्वजनिकता हो । समयमा नै ऋण ब्याज तिरेर आफ्नो मान इज्जत प्रतिष्ठा कायम गरी सामाजिक मर्यादामा आँच नआओस् भन्दै सबै सहकारीहरूले ऋणीहरुमा ताकेता गर्दै छन् ।
सहकारी र ऋणीहरूसँगको सम्झौता, गोपनीयता, बिश्वासनियता समाप्त भयो भने धितो जग्गा जमिनको लिलामी प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ । अहिलेको अवस्थामा जग्गाको भाउ छैन । तपाईको लाखौँको सम्पत्ति तपाइँले लिनु भएको सानो कर्जाले लिलाम गरायो भने के हुन्छ ? तपाई सम्पत्ति धितोको साथ मान सम्मान इज्जत पनि गाँसेको हुन्छ । सहकारीमा लिएको सामूहिक जमानी ऋण, बिना धितो ऋण, सहकारीमा ऋणीहरूले साँवा ब्याज नतिर्दा सहकारीहरूमा समस्या आएको छ । अब बाध्य भएर आर्थिक वर्ष असार मसान्तमा तीनपुस्ते सहित यथार्थ जनसमुदाय, सहकारी सदस्यहरू माझ ल्याउनु पर्ने हुन्छ ।
ऋणीहरूले नियमित किस्ता समयमा बुझाएर सहकारीसँगको इमानदारिता कारोबार निर्वाह गर्नुपर्ने थियो । एक व्यक्तिले लिएको सापटी फिर्ता नहुँदा तपाईँलाई कति टेन्सन हुन्छ ? सहकारीमा सयौ ऋणीहरूको हालतले गर्दा सहकारीले ठुलो जोखिमको हालत बेहोर्नु पर्ने भएको छ । कम से कम पैसा भएकाहरूले पनि सहकारीको पैसा तिरेका छैनन् । यदि सहकारी डुब्यो भने हामीले ऋण पनि तिर्नु पर्दैन भन्ने सोच्नु राख्नु भएको छ भने तपाई गलत हुनु हुन्छ । सहकारीको उक्त ऋण रकम सहकारी ऐन प्रचलित नेपालको कानून साथै सहकारीको विनियमावली प्रयोग गरी तिर्न बाध्य हुनु पर्नेछ । आफूले लिएको ऋणबाट कहिले पनि मोक्ष पाउँदैन । अरूलाई ठगेको लुटेकोको पैसाले कहिले पनि आफ्नो भलो हुँदैन । समाजमा बसेर समाजको मर्यादा राख्नुपर्छ । अहिले सहकारीमा आएको समस्या हामी सबैको समस्या हो । यदि विश्वास र भरोसामा कुठाराघात भयो । समाज व्यक्तिमा विश्वास हरायो भने यो समाजमा अनि यो देशमा हामी बस्न लायक हुने छैनौ । एक आपसको सहयोग सहकारिता, समन्वय हुन छोड्यो भने यो बस्ती समाज मानवीय हुँदैन दानवीय हुन्छ । समय मै सजक बनौँ, सहज बनौँ । यो समाज देशलाई सहकारीमय बनाऔँ । परिस्थिति असहज हुन सक्छ त्यसलाई सहजमय बनाउने हाम्रो अभिभारा हो । ऋणको जिम्मेवारीबाट भाग्न खोज्नु भनेको धोका दिनु हो । आज कसैले धोका दिएर भाग्यो भने जीवनमा उसले अरू सबैतिरबाट धोका पाउने निश्चित छ । ऋण आफ्नो हो । ऋणबाट भागेर तपाईले कहीँबाट मुक्ति पाउँदैन । तपाई भागेर आफ्नो ऋण परिवारले पनि बेहोर्न चाहँदैन भने अन्ततः आफैले समस्याको समाधान गर्नुपर्ने हुन्छ ।
सहकारीले आफ्नै सदस्यहरूबाट बचत संकलन गरेर नै ऋण लगानी गरेका हुन्छन् । हाम्रै समाजका व्यक्तिहरूले विश्वासमा निक्षेप बचत गरेको रकमहरूको साँवा ब्याज फिर्ता नहुने अवस्था आयो भने हरेक ठाउँ बस्ती बस्तीमा सहकारीमा मात्र होइन हरेक व्यक्तिहरूमा पनि इमानदारीता र विश्वासनीयतामा क्रम भङ्ग हुने गर्दछ अनि हाम्रो समाज कस्तो होला ? आफूले खाई नखाई गरी जम्मा गरेको बृद्ध बृद्धाको पैसा होला, बाल बचत होला । जाय जेठा बेचेको सम्पत्ति होला । भविष्यमा आईपर्ने समस्याहरूको लागी बचत गरेका होला । आफ्नो बचत हरायो भने भोलिको दिन सबैको लागि अन्धकारमय हुनेछ । हामीले अहिलेको समाज सुन्दर बनाउने हो । भोलिका अशान्त समाज हाम्रो सन्तानहरूको लागी दुःखदायी हुने नै छ । आजको समाज राम्रो भयो भने भोलिका हाम्रो सन्तानको जीवन सुखमय हुन्छ ।
वित्तिय क्षेत्रमा सहकारीको हावी !
राज्य व्यवस्थाले नीति निर्माण तयार नगरी स्वतन्त्र रूपमा सहकारी चलाउने अभियानले निर्वाध रूपमा सहकारी आफ्नै ढङ्गले चलेको थियो । अल्पज्ञानमा सहकारी संचालन, वित्तीय क्षेत्रमा स्वतन्त्र लगानी, पारिवारिक भित्रका संचालक, नाफा मात्रको उद्देश्यमा सञ्चालन भएका सहकारीहरू बढी जोखिम परेका छन् । सहकारी वित्तीय लगानी भएका आर्थिक उपार्जन व्यवसाय क्षेत्रहरूमा भूकम्प, कोरोना, मन्दी, जग्गा कारोबार गिरावट, देशमा राजनीतिक उथलपुथल अनेकौ कारणले गर्दा देशमा सबै क्षेत्र नराम्रोसँग प्रभावित भएको कारणले सहकारीहरूमा पनि समस्या बढ्दै गएको देखिन्छ । देशमा आर्थिक उन्नतिको रोजगार, व्यवसाय धरासायी हुँदै अन्य क्षेत्रबाट व्यक्तिहरू सजिलो आर्थिक लाभ हुने काममा लागेर अहिले देशले आर्थिक सङ्कटको सामना गर्नु परेको हो । आज देशका ठुला ठुला व्यापारी र नेता गन्यमान्य, ठुला ओहदामा पुगेका कर्मचारी देखी लिएर घुस खोरी, भ्रष्टाचारी, चोरी, डकैती, लुटपाट अनेकौँ तरिकाले थुपारेको रकम अपचलन गरी सञ्चित गरेका छन् । ती पैसा कसको लागी ? मान्छेको एक जुनी कति वर्ष बाँच्ने हो ? मानिसहरू ७ पुस्तालाई पुग्ने गरी यो देशमा भ्रष्टाचार गरेर बसेका छन् । आज तिनीहरूको गरेको दुष्परिणाम सारा जनताहरूले भोगी रहेका छन् । आज सहकारीमा देखिएको पुजी बजारमा देखिएको समस्या अन्यत्रमा पनि सर्दै जानेछ । देशका युवाहरू विदेशमा पलायन हुनेहरूको ताँती एयरपोर्टमा दिनहुँ देखिन्छ । समयमा नै यसलाई निराकरण गर्न सकिएन भने भोलि देशको भविष्य अन्धकारमय हुनेछ । राज्यले कर्मचारी तलब सुविधा दिन सक्ने छैन । बजेटमा विनियोजन गरेको रकमहरू उपलब्ध गराउन सक्ने छैन । देश विकास थप्प हुनेछ । भोलिको देश के हुने हो ? सबैमा चिन्ता व्याप्त छ । नेताहरू आफै आफै लड्ने र सत्ता हात पार्ने कुटिल राजनीतिक दाउपेच छोडेका छैनन् । सबैलाई आफू सत्तामा पुगे सबै राम्रो, अरूले गरे सबै नराम्रो, भन्ने परिपाटीले देश चलिरहेको छ । देशको आर्थिक विकासको लागी सहकारी समग्र क्षेत्र उथानको लागी राज्य, सरकार र जनताको ध्यान जान जरुरी भएको छ ।









