भुपेन्द्र थापा (माधव)
हतियारयुक्त सशस्त्र संघर्ष भन्दा कुविचारबाट लडिने युद्ध वा संघर्षमूलुक र जनताको लागि खतरनाक एवं घातक सावित हुन्छ । नेपाली राजनीतिमा पार्टीहरुले गर्दै आएका बेमानी बेविचार र गल प्रवृत्तिप्रति प्रायः सबै नेता र कार्यकर्ताहरु जानकार हुँदा हुँदै पनि नेतृत्वले जे जस्तो गरेपनि सोह्रै आना सही हो भन्नु पर्ने कार्यकर्ताको बाध्यताले नेपाली राजनीति डम्पिङ्ग साइडको फोहरमा परिणत हुन पुगेको छ । राजनीतिक ठेकेदारहरुको गलत व्यवहार र गलत भनाईको सहि सुन्ने कान, सहि देख्ने आँखा भएका अन्धभक्त कार्यकर्ता भएपछि त्यस्तो समाज विरोधि पंक्तिले समाजमा कस्तो सन्देश प्रवाह गर्ला ? आज नेपाली राजनीति पार्टीभित्र बिचार, सिद्धान्त र आदर्शका जगमा उभिने कुनै पनि सदस्य छैनन् । छन् त केवल नेताका भजनमण्डली, यदि नैतिकवान र इमानदार सदस्य हुने थिए भने नेतृत्वको सामूहिक, नैतिक पतन र सांस्कृतिक विचलनप्रति अवश्य स्वस्थ आलोचना र खबरदारी गर्ने थिए । यस्तै राजनीतिमा मौलाएको प्रवृत्तिका कारण राजनीतिलाई आफ्नो पैत्रिक सम्पत्ति ठान्ने, विरासतको विगुल फुक्दै हिड्ने राजनीतिक दल र नेतृत्वको विस्तारै गति समाप्त हुन्छ भन्ने कुराको पूर्वसंकेत गत मंसिर ४ को निर्वाचन देखि भर्खरै सम्पन्न उपनिर्वाचनको परिणामले प्रमाणित गरि दिएको छ । पूराना दलहरुको यो अनपेक्षित परिणामबाट कसैले उत्साहित र निरुत्साहित हुनु पर्ने छैन । वरु ठूला र स्थापित भन्ने पूराना राजनीतिक दलहरुले समय नघड्किंदै बुझ्न र सच्चिन जरुरी छ कि यो मत परिणामले उनीहरुप्रति व्यक्त गरेको ‘राइट टु रिजेक्ट’ को एउटा जर्वजस्त बलियो प्रमाण हो । यो दलहरुप्रतिको अनादर मात्रै हुँदै होइन, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक स्थानीय सरकार र समग्र गणतान्त्रिक संविधानप्रति आशंका व्यक्त गराउन गरिएको यो जनमत जाहेर भएको पनि कदापी हुँदै होइन र नेपालका स्थापित दलहरुको मूल्य, मान्यता, सिद्धान्त र नीतिप्रतिको जनअवज्ञा थालनिको प्रथम विन्दु पनि होइन । हो त केवल नेताहरुको व्यक्तिगत स्वार्थ, अनैतिक महत्वकांक्षा, गुटबन्दी, परिवारवाद, छाडा प्रवृत्ति र सत्ता केन्द्रित नैतिकहीन, सिद्धान्तहीन र विचारहीनताले निम्त्याएको विकृतिको चरम उपज मात्रै हो । जनता कुनै पार्टी वा नेताको दास वा कसैको रैति हुँदै होइनन् । जनता त सचेत एवं चेतनशील समाज निर्माण गर्ने निर्णायक शक्ति, राज्य सञ्चालन रसरकार निर्माणका सशक्त सुत्रधार, दल र नेताहरुका निम्ति मालिक हुन् भन्ने तथ्य स्थापित गराउन गत निर्वाचनको अभिमतहरुले प्रष्ट हुँदैन र ?
जबसम्म पूराना दलको नेतृत्व र त्यसका अन्धभक्त अनुयायीहरु सच्चिंदैन तबसम्म जनतामा वितृष्णा, घृणा, अविश्वास र दलिय आवद्धतामाथिको खाडल तिव्र गतिमा गहिरो र फराकिलो वन्दै जानेछ । जनता बाध्य भएर नयाँ राजनीतिक विकल्पप्रति आर्कषित र नयाँ नेतृत्व खोज्न तयार हुने छन् । परम्परागत राजनीतिक दल र नेतृत्वको अद्योगतिको मार्गचित्र गत स्थानीय निर्वाचनदेखि भर्खर सम्पन्न उपनिर्वाचनसम्म आईपुग्दा प्रष्ट भैसकेका छन् ।
असल राजनीतिमा इमान, नैतिकता, सदाचार, पार्दशिता बचनप्रति प्रतिवद्ध लगायतको गुणहरुको अपेक्षा राख्ने गरिन्छ, तर विडम्बना नेपाली राजनीतिमा पछिल्ला परिदृष्य भने त्यसको ठिक विपरित पुष्टी भएको छ । यस्ता विकसित विकृतिका कारण असल, सक्षम, इमानदार व्यक्तिहरु राजनीतिबाट वर्हिगमित वा पलायन हुन बाध्य छन् । जसले गर्दा समग्र राजनीति वदनाम, दलाल, भ्रष्ट र अनैतिक झुण्डहरुको अड्डा झै भएको छ । यसले मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक रुपान्तरणको नेतृत्व लिनबाट राजनीति नराम्रोसँग चुक्न पुगेको छ । मुलुक झण्डै साढेतीन दशकदेखि मुलतः परम्परागत राजनीतिक दल र त्यसका नेताहरुको चरम स्वार्थ र गहन महत्वकाँक्षाको बन्धक बन्दै आएको छ । राजनीति सबैभन्दा माथिल्लो मुहान हो । यसलाई सफा स्वस्थ र सङ्लो राखि राख्न सकिए मात्र सामाजमा वितरण हुने सामाजिक सेवा वितरण, सामाजिक न्याय र सामाजिक सुरक्षा जस्ता मौलिक हक अधिकारहरु निरन्तर सहज र सरलै वितरण हुँदै जानेछन् । तर राजनीतिक मुहानको मुल चरित्रलाई धमिलै छाडेर अरु तपशिलका विषयहरु सङ्गलो खोज्नु मुर्खता मात्र हुनेछ । त्यसकारण राजनीतिको उचाईको मापन नैतिकता र आर्दशको बलमा उभिएको क्षमता र दक्षता भएको हुन आवश्यक छ । यी गुण विनाको राजनीतिक उचाई शुन्य सरह हुनेछ । गएका केहि वर्ष यता देखिएका संस्थागत भ्रष्टाचार देखि लेनदेनका बार्गेनिङ्गबाट के प्रष्ट हुन्छ भने राजनीति फोहरको थुप्रोमा विस्तारै विस्तारै परिवर्तन हुँदैछ । त्यसको उदाहरण नेकपा माओवादी केन्द्रका कृष्ण बहादुर महराको चाईनिङ्गसँग, गोकुल बास्कोटाको पिन्टिङ्ग पे्रस खरिदमा र नयाँ शक्तिको रुपमा उदायको रास्वपाका सांसद ढाका कुमार श्रेष्ठको मन्त्रि बन्न पैसा दिनु पर्ने भन्दै ब्यापारी दुर्गा प्रसाई सँग गरेको लेनदेनको बार्गेनिङ्ग नेपालको राजनीतिक दल र त्यसको नेतृत्व कुन सामाजिक धरातलमा उभिएको छ, प्रष्ट हुनछ । नेपाली राजनीतिक मुहान सफा हुनुपर्छ भन्ने असल इमानदार राजनीतिक नेताहरु सबै पार्टीबाट गलतिएका छन् जस्तैः नेपाली कांगे्रस भित्र कृष्णप्रसाद भट्टराई देखि गणेशमान सिंह र प्रदिप गिरीसम्म, नेकपा एमालेमा भिम रावलहरु, नेकपा माओवादी केन्द्रमा मोहन वैद्य, विप्लव, धमेन्द्र, लोकन्द्र विष्ट लगायत जस्ता इमान जमानमा प्रतिवद्ध नेताहरु टिक्न सकेनन् । त्यसको पछिल्लो उदाहरण हो नेपाली कांगे्रसको रुखको ओत लागेर बसेका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याति प्राप्त अर्थविद् डा. स्वर्णिम वाग्लेलाई पनि देउवा र आरजुको लेनदेनको अनैतिक झरीको बाछिटाल्े वाग्लेलाई पनि भिजायो । नेपाली राजनीतिक वृत्तमा लामोकालखण्ड देखि चाकडी, चाप्लुसी, हनुमानगिरी, भजनमण्डली, कोशेलीपात, आर्थिक लेनदेन र उपहार चढाउने राजनीतिले समग्र राजनीति धमिलेको छ । यसले समग्र राजनीतिक नेतृत्व नैतिक र इमानदारीताबाट पतित भएको देखिन्छ ।
समाजमा विद्यमान राजनीतिक अभ्यास र नेतृत्वको स्वार्थी प्रवृत्तिले राजनीतिलाई नै आफ्नो आकांक्षा अनुकूल उपयोग र उपभोगको साधन बनाइएको छ । समाज र राजनीतिमा नै लागु हुने सार्वभौम नियम अनुसार हरेक चल्न सक्नु पर्दछ । कुनैपनि प्रणाली वा व्यवस्था सहि र सहज रुपमा संचालन गर्न राजनीतिक नेतृत्व, सबै तहका जननिर्वाचित प्रतिनिधि र आमजनता बिच अन्तरसम्बन्ध र सहकार्य आवश्यक पर्दछ । त्यसले मात्र असल प्रतिनिधिको आकांक्षा राख्ने सचेत र चेतनशील समाज सँगै असल एवं जनता र मुलुकप्रति उत्तरदायी सरकारको आकांक्षा राख्ने प्रतिनिधिको समूह निर्माण हुन्छ । त्यसका लागि विगत कोट्याएर लामो इतिहास खोतल्न आवश्यक पर्दैन जहानियाँ १०४ वर्षे तानाशाही राणा शासनको कुरा कति गर्नु, अँध्यारो पञ्चायतको कालो ३० वर्षे निरंशुकताको बहस पनि धेरै भयो, २०४७ सालको प्रजातन्त्र पुनस्थापना सँगै बहुदल आएपछिका सुरुवाती १६ वर्ष देशको राजनीति कुन हदसम्म धमिलियो ? त्यसको पनि अव कुरा गर्नुको खासै त्यति अर्थ नहोला, नेपाली राजनीतिमा देखिएका संस्कार, संस्कृति, व्यवहार र त्यसको समालोचना माथि थेसिस लेख्न विगत ०६२÷६३ को महान जनयुद्धको जगमा दोस्रो जनक्रान्ति पछि निकट विगतका लगभग १६ वर्ष पर्याप्त हुन्छ । शासन व्यवस्थाको स्वरुप नाममा कुनै तन्त्र वा वाद नौलो भएता पनि शासन व्यवस्थाको शिखरमा बस्ने शासक वा राजनीतिक नेतृत्वको सोचमा कुनै परिवर्तन नआएपछि मुलुक र जनताको अवस्थामा खासै तात्विक अन्तर आउने कुरै भएन । त्यसको पुष्टी विगतका १६ वर्षे लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाले प्रमाणित गरिसकेका छ। संसारका विकसित मुलुकहरुमा समय–समयमा राजनीतिक दल र नेतृत्वहरुको लोकप्रियताको सर्वेक्षण गर्ने गर्दछन् र सर्वेक्षण नतिजामा पार्टी र नेतृत्वको लोकप्रियता खस्कंदै गएको अवस्था देखिएमा पार्टीका नेतृत्वले सुद्धिकरणका लागि सहजै मार्ग प्रसस्त गर्ने गर्दछन्, उदाहरणका लागि न्यूजिल्याण्डकी पूर्व प्रधानमन्त्रि जसिन्दाको प्रसंगमा आमनिर्वाचनको पूर्वसन्ध्यामा भएको सर्वेक्षणमा पार्टीको लोकप्रिया कमजोर देखिएपछि तात्कालिन पार्टी अध्यक्ष एन्ड्रयू लिटिल नेतृत्वबाट हटेर ३७ वर्षिया यूवा जसिन्दाले पार्टीको नेतृत्व समालेकी थिइन् । राजनीतिक इमान र सामाजिक चेतनाले समाजका प्रत्यक इकाईहरुको इमान र आदर्शको जरामा सामाजिक चेतनाको मलजल र गोडमेलले न्यूजिल्याण्ड संसारकै सबैभन्दा कम भ्रष्ट र स्वाभिमान मुलुकको सुचिमा दर्ज भएको छ । यो शिक्षा नेपाली राजनीति र नेतृत्वले कहिले ग्रहन गर्न सक्लान् ?
नैतिकता स्वविवेकीय क्षमता हो, र नैतिकता भनेको आफैले आफ्नो परीक्षा लिने परीक्षार्थी पनि हो । साँचै नैतिकताको परीक्षा लिने हो, भने परीक्षामा उत्तिर्ण हुने नेपाली नेताहरुको संख्या प्रतिशत कति होला ? यस्ता काल्पनिक प्रश्नको उत्तर सम्झंदा पनि सिंगो मुलुक र आमजनतालाई कति रेक्टरको रिंगटा चल्दो होला ? २०४६ सालको प्रजातन्त्र स्थापनादेखि यताको समग्र इतिहास र व्यवहारले देखाएका परिदृष्यबाट यी पुराना राजनीतिक दल र नेतृत्वहरु देश र जनतालाई तहस नहस गर्ने बिनासकारी अनियन्त्रित नदि झै भएका छन् ।, जुन नदि बाटो हिँड्ने बटुवाको प्यास मेटाउने एक अंजुली पानी हुन सकेन, किसानको खेतीमा सोझिने सिंचाई हुन सकेन, माछा मारेर जीविकोपार्जन गर्ने, माझीको चुलो बाल्ने आधार बनेन् देशको विकास र समृद्धिको उर्जा हुन सकेन, त्यो त केवल विनासको बाढि बनेर मात्र वगि रह्यो, कहिले वारी–पारी गर्ने बटुवालाई बगाएर कहिले किसानको हराभरा खेती उजाडेर त कहिले गाउँ बस्ती र सहरलाई चुर्लुम्म डुबाएर आशा भरोसा र सपनाको विनास मात्रै गर्दै हिँड्ने अनियन्त्रित विनासकारी नदी मात्र हुन पुग्यो । लामो समयदेखि राजनीतिक विनाशकारी नदीको विपत्त व्यहोर्दै आएका पीडित जनताहरु त्यहि नदीमा कहिले दायाँ किनारामा त कहिले बायाँ किनारामा ठोकिएका ढुंगाहरु बटुलेर विनासकारी मानव विरोधी, समाज विरोधी, सभ्यता विरोधी, प्राकृतिक सुन्दरता विरोधी र विकास अनि समृद्धि विरोधी नदीलाई विगत स्थानीय निर्वाचनदेखि संघ र प्रदेशको निर्वाचन सम्म आईपुग्दा केहि हदसम्म बाँध लगाएर नदी फर्काउन सफल भएका छन् । जनताको आशा र भरोसाको अमुल्य मत बटुलेर प्रधानमन्त्रीदेखि वडा अध्यक्ष, सदस्य सम्म हुन सफल कुनै पनि प्रतिनिधिहरुलाई राष्ट्रघाती एवं जनविरोधी कार्य गर्ने छुट छैन । विगत ३४ वर्षदेखि जनताले झेल्दै आएको राजनीतिक सिन्डिकेटगत उपनिर्वाचनमा सानदार रुपमा तोड्न सफल भएका छन् । यदि फेरीपनि पूराना दल र नेतृत्व नसच्चिने हो भने आउँदो आमचुनावमा सक्किने निश्चित छ । एक माघले चुनावी जाडो जाँदैन २०८४ को माघको जाडोको हेक्का पनि रहोस् निर्वाचन एउटा अस्थाई साधन मात्र हो, भन्ने बुझ्न जरुरी छ । आममतदाता र आमनागरिकले पनि सबै तहका नेता, कार्यकर्ता र आफूले निर्वाचित गरि पठाएका आमजनप्रतिनिधिहरुको गलत प्रवृत्तिको स्वस्थ आलोचना गर्न सके मात्र पार्टी, नेता, कार्यकर्ता, प्रतिनिधि र समाजमा नैतिकता र इमानदारिताले प्रसय पाउने र धमिलो राजनीतिको मुहान संङ्लिने छ । सबैको चेतनाको आँखा खुल्न सकोस् ।









