2026 May 02/ 10:09: 35am

पुरुषोत्तम कर्माचार्य
नेपाल धर्म भूमि, पुण्यभूमि, तपोभूमि तथा असंख्य तीर्थस्थलहरुको थलो हो । हिमालयको शिर श्रृंखलादेखि तराईको सम्म स्थलसम्म विभिन्न नामले परिचित धार्मिक देव देवीको वासस्थानले अछुतो छन् । ती धार्मिक स्थलहरुमा पुगि मनभाव व्यक्त गर्न र दर्शन गर्न सके पुण्यआर्जन हुने अभिप्रायले शुद्ध, सद्भावका साथ पुग्ने र उक्त तिर्थस्थलहरुको बारे अनुभव बटुल्न कुनै वार्षिक पुण्य तिथि श्राद्ध पर्वको रुपमा पुग्ने गर्दछन् । पुण्य भूमि तिर्थस्थलहरुको सुचिमा काठमाडौंबाट २५ कि.मी. पूर्व बनेपा चण्डेश्वरी पर्दछ । 
    नेपालका देवीदेवताको श्रद्धासाथ मानि आएको जात्रा पर्वमध्ये बनेपाको चण्डेश्वरी देवीको वार्षिक रुपमा मानिँदै आएको चण्डिपूर्णिमा जात्रा पनि पर्दछ । यो जात्राको किंवदन्ती अनुसार १२ औं शताब्दी देखिनै जात्रा चलाउँदै आएको जन भनाईहरु छन् । यो जात्राको स्वरुपबारे लेख्नुपर्दा यसरी वर्णन गरि लेख्नुपर्ने हो भनि बुझिन्छ । नेपालमा असंख्य जात्राहरु छन् । ती जात्राहरु आफ्नो स्थान अनुसारले फरक फरक रुपमा चलाउँदै आएका छन् । जात्रा मुख्य २ किसिमबाट मानि चलाई आएको स्पष्ट छ । त्यो हो ः सूर्यमासको आधारमा चलाउँदै आएका जात्राहरु गर्न निश्चित गरी चलाएका जस्तो भक्तपुरको जात्रा । वर्षको अन्तिम र वर्षको सुरु दिनहरुमा ८÷९ दिन जात्रा मानिएका छन् त्यस्तै गतेको आधारमा थिमीबोडे ललितपुरको साना गाउँ । यी पुराना जात्राहरुमा पर्दछन् । 
    ति जात्राहरुको अनुकरणमा अरु साना साना गाउँहरुमा पनि जात्रा चलाउँदै आउन थालेका पनि छन् । २०÷२५ वर्षदेखि चलाउँदै आएका जात्राहरुमा भक्तपुरको ताथली, काभ्रेको टुसाल, टुकुचा गाउँ हरुमा जात्रा चलाउँदै गणेश, भैरव, महालक्ष्मी आदि देवताको जात्रा चलाई चाड मानि आएका छन् । त्यस्तै चन्द्रमासको तिथिको आधारमा वार्षिक रुपमा जात्रा गर्नै स्थानहरु बनेपा चण्डेश्वरीको जात्रा, पनौतीको जात्रा, नालाको जात्रा पलाञ्चोक भगवतीको जात्रा, दोलखा भिमसेनको जात्रा, ललितपुरको रातो मछिन्द्रनाथको जात्रा, लुभुको जात्रा तिथिको आधारमा जात्रा चलाई आएका छन् ।
    वैशाख पूर्णिमाको समयमा जात्रा गर्ने २ महिना अघि फागुन पूर्णिमाको दिन नै जात्रामा आउनु भनि चण्डेश्वरी माईबाट चण्डेश्वरी खोलामा एक महादेव र एक देवीलाई निम्तो पूजा गरिन्छ । यो निम्तो पूजामा चाँदीको थालीमा पूजाका सरसामान राखी टँ, घण्ट, शंख, डमरु बजाई गोकुल धुपको सुगन्धमा पूजा जाँदा नायो दुई राजवाहक सहित भई पूजा गरी निम्तो दिएको हुन्छ । राति नायो कसाइबाट चण्डेश्व्रीमा बौ छायागु पुजा गर्ने गरिन्छ । उक्त पुजामा नायो नाच एक्लै राती बौ छाय गरी बाहिरी ढोकासम्म उल्टो हिँडेर आउनुपर्ने तथा उ मात्रले उक्त पुजा गर्ने गरिन्छ । नाय र समीहरुले चण्डेश्वरीको विशेष पूजामा विशिष्ट स्थान पाई राखेको देखिन्छ । पञ्चबली जस्ता ठूलो पूजामा नाय खीं बाजा र के पोउ बाजा महत्वपूर्ण भई आएका छन् । नाय बाजा जात्राको ७ दिन अगाडि देखि बाजा साथ पूजा गर्दै जात्रा सकिने दिन सम्म अनिवार्य नछुटाई कर्तव्य गरेको बुझिन्छ । जात्राको दिन पहिले बनेपाका भोछिभोयाहरुको वार्षिक देवाली पूजा हुन्छ । जुन देवाली पूजामा म्वालीं कुसले बाजा साथ आउने गरिन्थे ।
    जात्राको चौथो दिन अघि “द्यो क्वहाँ विज्याके” र जात्राको ४ दिनपछि “द्यो थाहाँ विज्याएके” गरिन्छ । उक्त दिनहरुमा चण्डेश्वरी द्योक्षेबाट “सानो विमान खचा” रथमा जात्रामा देवीलाई लगाउने गहना सफा, धुने र पछि उक्त गहना छ छैन जाँच गर्ने गरिन्छ । जात्रा पूर्णिमाको अघिल्लो राती सरकारी पूजा हुन्छ, यो पूजा बनेपाबाट बाजा बजाई १२ वटा भाले बोका पूजा गरिन्छ । उक्त बोका पुजाको मासु २ दिनपछि कलंदान गरिन्छ । मासु छरिन्छ भेटाउन ठूलो जनसमुदायको घुइँचो जात्रा हुन्छ । विहान सबेरै पूर्णिमाको दिन मतपूजा हुन्छ । जुन पूजामा पनि बाजागाजा सहित लठ्ठीमा बत्ती बालेर आउने गरिन्छ । उक्त मत पूजामा बनेपालीहरुको प्रायः सहभागी जनाउँछन् । हजारौं संख्यामा हुन्छन् । उक्त बत्ती पूजाको स्वमा विहान सबेरै अँध्यारोमा अति नै राम्रो स्वमा भएको हुन्छन् । सो मत पूजा बनेपाबाट चण्डेश्वरी पुगि जलेश्वर महादेव दर्शन गरी मत पूजा समापन हुन्छ । दिनभरीनै जलेश्वरीमा नुहाउनेको भिड लाग्छ । जलेश्वरीमा नुहाउँदा लगाएको लुगा जहाँ फेरिन्छ त्यहि छोड्नुपर्छ भन्ने आहान छ । सोहि दिन विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मोत्सव जात्रा पनि हुन्छ बनेपामा । विश्वका बुद्ध धर्मप्रति आस्था भएका स्थान र देशमा भव्य उत्सव मनाइन्छ । सोहि दिन आफन्तजन बोलाई निमन्त्रणा दिई भोजको व्यवस्था पनि गर्ने गरिन्छ । बेलुकातिरदेखि बनेपा तीनधारामा बनाएको रथमा द्धारेको टिका लगाउने कार्यक्रम र कानफट्टा जागिको जुगीचक्र काम सकेपछि रथको जात्रा सुरु हुन्छ । बनेपाबाट चण्डेश्वरी तर्फ बाजा गाजा साथ रित्तो रथ पोँखः बोकेर लगिन्छ । यो बनेपाको जात्रा गर्ने रथमा नोल काँडमा अड्याई बोक्ने गरिन्छ । भक्तपुरको भैरवको रथ डोरीबाट तानेर जात्रा गरिन्छ । हाम्रो बनेपामा र भक्तपुरमा जात्राको किसिम फरक छ । रथ बनेपादेखि चण्डेश्वरीसम्म बोकेर जात्रा गर्दै लगिन्छ । रथमा अगाडि ५ नोल र पछाडि ५ नोल हुन्छन् । प्रत्येक नोल कम्तिमा ८ जनाले बोक्न हुने हुन्छन् । रथ पेगोडा शैलीमा २ तले हुन्छ । रातो सेतो ध्वजा पतकाले सुसज्जित हुन्छ । जब रथ चण्डेश्वरी डबलीमा पु¥याउँछ, अनि रथमा देवी चण्डेश्वरी विराजमान गराइन्छ । सो समयमा धान चामल चढाइन्छ । चण्डासुर दैत्य र चण्डेश्वरीको युद्ध गरी दानवराज चण्डासुरको बध गरिएको खुशीयालीमा जात्रा चलाई आएको भन्ने कवि जगतकेशरीद्धारा लिखित “परणाम” पुरानको आधारमा गरिएको भन्ने आहान पनि छ ।
    पूर्णिमाको भोलिपल्ट देवतायुक्त चण्डेश्वरी रथ बनेपातर्फ खुशीयाली साथ जात्रा गरी लगिन्छ । घोकेचौरबाट भैरवकुण्ड पुग्ने बेलामा देवीलाई स्नान गराइन्छ । जब बनेपा बजार पुगिन्छ द्धारेको लसकुस पूजा हुन्छ र सिन्दुर जात्रा गर्ने गरिन्छ । बजारभरी बाजाजागा सहित जात्रा गरिन्छ । जात्रामा श्रद्धालुहरुले रथ बोक्नेहरुलाई विभिन्न चिसो पेय पदार्थ फलफुल, मिठाई खुवाउने गर्दछन् । रथ माथि लायकु ढोका पु¥याई हंसवली पूजा गरि पुनः रथ बनेपाबाट फर्काइन्छ । २ दिन अघि राती १२ वटा कालो बोका बली पूजाको मासु कलंदान गरी मासु छरिन्छ । मासु छर्दा टाउकाको भाग पनि छरिन्छ । यसरी बनेपामा चण्डेश्वरी माईको वर्षको १ पटक वैशाख पूर्णिमामा जात्रा गरी ठूलो उत्साहका साथ चाड मानिन्छ । भोलिपल्ट पुनः बनेपालीहरु प्रायः सबैले यो सँगै पूजा गर्दछन् । देवीलाई बनेपासम्म लगि जात्रा गरेको र देवीसँग जात्रामा केहि जानी नजानी त्रुटि भएमा क्षमा होस् भनि यो सगुन पूजा गरी आफन्तजन बोलाई चण्डेश्वरीमा भोज खाई जात्रा समापन गर्दछन् । जात्रा गर्ने देवता राख्ने द्योक्षे वर्षको एक पटक जात्रामा मात्र खुल्ला हुने र अरु दिनहरुमा नित्य पूजा हुने सर्वसाधारणहरुको लागि खुल्ला नहुने चलन छ । अन्तिम दिन पमां पूजाको दिन आधा दिनसम्म मात्र खुल्ला हुने र वर्षदिनको लागि बन्द गरिन्छ । यसरी बनेपामा चण्डेश्वरी माईको जात्रा हुने गर्दछ । जात्रामा द्धारे मुख्य व्यक्ति कहलिन्छ ।