2026 May 02/ 10:10: 05am
  • साधुराम गिरी

कुनै पनि भूगोल वा भनौँ राष्ट्रमा त्यहाँ जन्मिएका नागरिकहरुको सीप, ज्ञान, कला, गला र उनीहरुमा भएको जोस जाँगरलाई सही समयमा सही ठाँउमा उपयोग गर्न सकिएन भने त्यो देश सम्बृद्ध र त्यहाँ बस्ने नागरिक सुखी हुन सक्दैनन् । यदि कोहीे कसैले हुन्छ भन्दछन भने त्यो दिवा सपना देख्नु मात्र हो । अहिले नेपालमा यहि भैरहेको छ । पढेलेखेका  शीप र ज्ञान भएकाहरु प्रायः युरोप अमेरिका पलाएन भएका छन् भने उर्जाशिल युवा युवती खाडीमा पसिना बगाउन बाध्य छन् । युरोप, अमेरीका गएका उतै घर जम गरेर बस्छन् भने, उर्जाशील युवायुवतीहरु बल छउन्जेल र रोग नलागुन्जेल अर्काको देशमा पसिना बगाइ रहन्छन् रोगी र कमजोरी भएपछि आफ्नै देशमा र्फकन्छन् । अनि यो देश सम्बृद्ध बनाउने चाहीँ कस्ले हो ? आफ्नै देशमा दुःख सुख गरी बस्ने नागरिकले कसरी सुखको अनुभूति गर्न पाउँछन ?भन्ने कुरा न त सरकारले सोच्न सकेको छ न त सर्वसाधारण नागरिकले सोच्न सक्छन् । आजभोलि प्रायः हरेक घर परिवारमा अभिभावकहरु छोराछोरीले प्लस टु पास गरेपछि विदेश जाने भन्दा  अर्को बाटो सोच्नै नसक्ने  अवस्थामा छन् । हरेक दिन ती अभिभावकले पनि अफ्ना छोराछोरीलाई छिमेकिको  उदाहरण दिएर विदेश पठाउने भन्दा अर्को विकल्प दिनै सक्दैनन् । छोराछोरीलाई विदेश पठाउने फेसन नै बनेको छ हाम्रो देशमा । विदेश जान सक्नेहरु विदेश जान्छन् भने नसक्नेहरु अभिभावकको कचकच सुन्दा सुन्दा वाक्क दिक्क भएर जीवनदेखी हार खान्छन् अनि शान्ती र सुखकको खोजीमा स्कोन, तपोवन र विपश्यना जस्ता ठाउँमा जान्छन् र उतैतिर बिलाउँछन् वा पलायन हुन्छन् । कोही त बैरागी बनेर जोगीको रुपमा भेष बदलेर हिड्ने, गाँजा भाङ खाने, चोरी डकैती गर्ने जस्ता अत्यन्तै घृणित कार्य गर्न बाध्य हुन्छन् । कालान्तरमा यस्ता होनाहार युवायुवती देशको लागि आवश्यक नभएर भार बन्न पुग्छन् । अबको केही वर्ष भित्र सरकारले यी र यस्ता बरालिएर हिँड्ने युवायुवतीलाई रोजगार मुलुक कार्यमा नलगाउने र यतिकै छाडाछोड्ने हो भने हाम्रो समाज अनि देशको हालत के होला ? एक पटक गम्भिर भएर सोचौँ त । जनता सुखी र देश सम्बृद्ध हुन्छ भन्ने नालाएकहरुको नारा सार्थक हुन्छ की, झुटा आश्वासन दिने राजनितिक नेताको छद्वमभेषी गरिखाने मन्त्र मात्र बन्छ ? देशलाई अरुदेशको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने कारखाना बनाउने र वैदेशीक रोजगारीले पठाएको रेमिट्यान्सको भरमा परनिर्भर भएर कतिन्जेल राष्ट्र चल्छ ? यी र यस्ता यावत कुरालाई सरकारले बेलैमा सम्बोधन गर्न धेरै ढिला भैसक्यो । अब गम्भिर भएर सोच्ने बेला आएको छ । हामीले यी र यस्ता समस्यालाई हल गर्न नखोजेर निरास भएर बस्ने कि सम्भावनाको खोजी गरेर भावि सन्ततीको उज्वल भविष्यको सुनिश्चितताको लागी सु–सुचित भएर अगाडी बढ्ने ? समयले आफ्नो यात्रा कहिले रोक्दैन र चलिरहन्छ भने हामीले पनि समय र परिस्थिति अनुसार आफूलाई पनि परिवर्तन गर्दै लैजानु पर्दछ । प्रतिदिन त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलबाट ५००÷१५०० जना युवायुवतीहरु विदेशिन बाध्य छन भने प्रतिदिन ६÷७ जना तिनै विदेशिएका मध्य बाकसमा प्याक भएर फर्कन्छन् । अनि देश कसरी सम्बृद्ध र जनता सुखी हुन्छन् ?
    यसरी देश बर्बाद भयो, जनताले दुःख पाए भनेर लेख्दै गर्दा कही न कही यसको उपायपनि त होला नि भनेर मैले सोच्दै गर्दा, उपाए धेरै देखे । ति उपायहरुलाई सरोकारवालाहरुले वा देशको बागडोर सम्हाल्नेहरुले जनतालाई चुनावको बेला झुटा आश्वासन मात्र बाँड्न छोडेर देश र जनताका आधारभुत समस्यालाई के कसरी हल गर्न सकिन्छ भनेर सम्भावना को पहिचान गरी अगाडी बढ्ने हो भने यो देश सम्बृद्ध र यहाँका नागरिक सुखी बन्न केही बेर लाग्दैन मात्र इच्छाशक्ति हुनु प¥यो ।
मैले देखेका केही उपायहरु यस प्रकार छन् ः
१.अहिले प्रयोगमा भएको शिक्षा प्रणालीमा व्यापक सुधार गरी समय सापेक्षी र आधुनिकिकरण गर्दै जीवन उपयोगी र व्यवहारिक बनाउने । विगतमा नैतिक शिक्षालाई सिमित वर्ग र धर्मको मात्र व्याख्या र गुणगान गाउने गरेको ले त्यो विषयलाई परिमार्जित गर्नुको सट्टा बन्द गरेकोमा, अब यो विषयलाई समयसापेक्षी व्यवहारिक बनाई सम्पूर्ण जातजाती, धर्म समप्रदायलाई मान्य हुनेगरी, जीवनउपयोगी बनाउने । राष्ट्र राष्ट्रियता र जनजिविकाको उत्थान गर्न सक्ने बहुउपयोगी र सीपयुक्त जनशक्ति उत्पादन गर्न मदत पुग्ने विषयको रुपमा लागु गर्नु पर्दछ । इस.ई.ई. पास गरेका विद्यार्थीहरुले उच्च शिक्षा हाँसिल गर्ने सिलिसिलामा त्यही विषयबाट पाएका व्यवहारिक ज्ञानको प्रयोग गरी केही न केही आयमुलक रोजगार सँगै आफ्नो शैक्षिक यात्रालाई पनि अगाडि बढाउन ढुक्कसँग सकुन । सामुदायिक विद्यालय देखी विश्वविद्यालयसम्म अध्ययन गर्ने विद्यार्थीहरुले समयमै नयाँ शैक्षिक सत्र शुरुहुनु भन्दा अगावै आफूले अध्ययन गर्ने सबै विषयका पुस्तक सहज ढंगले प्राप्त गर्न सकुन । सामुदायिक र निजि विद्यालयमा भइरहेको दुईथरी शैक्षिक प्रणाली एकैप्रकारको हुनुपर्दछ । विद्यालयमा पढाइ हुने सबै तहका विषयमा एकरुपता गरिनु पर्छ । सामुदायिक र निजी विद्यालयमा दुईथरी विषय पढाउने प्रणालीको अन्त गरिनु पर्दछ । हरेक तहका परीक्षमा एकरुपता कायम गरी परिक्षाको नतिजा पनि छिटो र एकै समयमा गरिनु पर्दछ । प्लस टु सम्मको शिक्षा निःशुल्क गरी पाठ्यपुस्तक पनि निःशुल्क वितरण गरिनु पर्दछ । शिक्षामा विभेद नगरी सवै बालबालिकालाई अनिवार्य गरिनु पर्दछ । आठ कक्षा सम्म सबै विद्यार्थीहरुलाई दिवा खाजा निःशुल्क गरिनु पर्दछ ।
२. १८ वर्षदेखि २१ वर्षसम्मका सवै युवायुवतीहरुलाई अनिवार्य राष्ट्र उत्थान समुहमा सामेल गराई कम्तीमा पनि पाँचवर्ष जीवनउपयोगी शीप तथा तालिमको व्यवस्था गरी राष्ट्रको पूर्वाधार विकासको क्षेत्रमा काम गराउने व्यवस्था तुरुन्तै कार्ययोजना बनाइ लागु गरिनु पर्दछ । यसो गरेको खण्डमा पाँच वर्ष पछि ति युवायुवती हातमा सर्टिफिकेट र पासपोर्ट लिएर विदेश जान बाध्य हुने छैनन् । आफूले हाँसिल गरेको सीप र तालिमको प्रयोग गरी कुनै पनि क्षेत्रमा आफ्नो कार्यक्षमताको आधारमा रोजगार पाउन सक्नेछन् । 
देश विकासको क्षेत्रमा उर्जाशिल शीप र ज्ञान भएका यूवायूवतिलाई स्वदेशमै राख्न नसके त्यो देश सधैभरी परनिर्भर हुन्छ र देश कहिल्यै पनि सम्बृद्ध र नागरिक सुखी हुन सक्दैनन् ।
३. २४ सै घण्टा उद्योग, व्यवसाय, कलकारखाना, होटेल रेष्टुरेन्ट तथा निर्माणका कार्यहरु स्वतस्फूर्त सञ्चालन गर्न सरकारले उचित नियम कानुनका साथ लागु गर्नु पर्दछ । यसो गर्दा देशले छिटो भन्दा छिटो प्रगती गरी बेरोजगारको संख्या घट्छ । अहिले आठ घण्टा काम गर्दा जति जनाले रोजगार पाएका छन् त्यो भन्दा १५०% बढि व्यक्तिले रोजगार पाउनेछन् । बेरोजगारको संख्या धेरै घट्न जान्छ स्वदेशप्रति युवायुवतीको विश्वास र भरोषा बढ्न गई बैदेशिक रोजगारमा जानेहरुको संख्यामा कमी आउँछ । आफ्नो देशको जनशक्ति यहि देशको विकासमा प्रयोग गर्न सकियो भने विदेशबाट महँगो पैसा तिरेर जनशक्ति आयात गर्ने कार्यको पनि अन्त हुन्छ ।
४.आफ्नो देशको सम्बृद्धि र नागरिकहरुको उन्नति प्रगतिको लागी बेरोजगार घटाउने अर्को महत्वपूर्ण कदम, जनपथ, शसस्त्र प्रहरी र नेपालीशेना बाहेक सम्पूर्ण सरकारी कर्मचारीहरुलाई बाढिमा २० वर्ष सम्म मात्र सेवामा रहन पाउने निती नियम बनाउने यसो गर्नाले जागरिला सीप र ज्ञान बढी भएका उर्जाशील युवायुवतीले रोजगार पाउनेछन् भने सेवाग्राहीले पनि आफुले पाउने सेवा छिटो छरितो हिसावले पाउँछन्। सूचना र प्रविधिको विकास सँगसँगै सेवाग्राहीले पनि चुस्त र पारदर्शी ढंगले आफूले पाउने सेवा पाउन खोज्छन् र सेवामा ढिलासुस्ती, भनसुन आदिको माग भएमा निराश भएर आक्रोसित हुन्छन् । उनीहरुको समयको बर्वाद हुन्छ , व्यवसायलाई तिब्रगतिमा अगाडि बढाउन पनि कठिन हुन जान्छ । यो देश र यहाँ बस्ने नागरिकको लागी हानिकारक हुन्छ । प्रहरी र सेनालाई जस्तै निजामति कर्मचारी र शिक्षकलाई राजनिति गर्न र सघं संगठन खोल्न यथाशिघ्र बन्द गर्नुपर्दछ । यदि कोही कर्मचारी राजनीतिक संघ संगठनमा आबद्ध भएको जानकारी पाएमा तुरुन्तै बर्खास्त गर्नु पर्दछ । कर्मचारीले राजनिती गर्ने र पार्टीको झण्डा बोक्ने हो भने उनीहरुले आफ्नो सेवा जिम्मेवार पूर्वक दिन सक्दैनन् र चाहँदैनन् । अर्को कुरा वर्षौदेखि ढिलासुस्ती गर्ने, भनसुन गर्नुपर्ने, घुस नलिई कुनै पनि सेवा समयमा पुरा नगरीदिने बानी परिसकेका पुराना प्रवृद्धि मैत्री हुन नसक्ने कर्मचारीलाई एउटा मापदण्ड बनाएर अवकास दिनु पर्दछ । असल कार्य गर्नेलाई पुरस्कार दिने र गल्ती गर्नेलाई निलम्बन नगरी ठाँउको ठाँउ प्रमाणका आधारमा बरखास्त गर्ने व्यवस्था गर्नुपर्दछ । यहाँ त अहिले सरकारलाई कर तिर्न पनि भनसुन गर्नुपर्ने, घण्टौँ लाइन बस्नुपर्ने र घुस नदिई कामै नगरिदिने परिपाटीले गर्दा जनता निराश छन् । राहधानी बनाउने कार्यलाय र श्रम स्वकृत लिने ठाउँलाई उदाहरणको रुपमा लिन सकिन्छ । सेवाग्राही सरकारी काम प्रति न सन्तुष्ट  छन न सरकारी कर्मचारी सरकार र नागरिक प्रति उत्तरदायी छन् । नागरिकलाई त कुनै पनि सरकारी सेवा लिन उत्साही हुने वातावरण जुनसुकै पनि सरकारि कार्यालापले गर्नु पर्ने हो नी, नागरिकले तिरेको करको सही ठाँउमा उपयोग होस अनि पो सेवाग्राही पनि कर तिर्न उत्साही हुन्छन् ।
    अन्तमाः देश सम्बृद्ध र नागरिक सुखी हुनको लागि शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा कुनैपनि व्यक्तिले बिना झन्झट आफुले पाउनु पर्ने सेवा पाउन सकुन । कुनै पनि सरकारी कार्यालापमा बिना भनसुन र घुस नलिई सर्वसाधारणले सहज ढंगले सेवा प्राप्त गर्न सकुन । योग्यता र दक्षता को आधारमा सजिलै रोजगारीको व्यवस्था होस् । कृषिमा पशुपंक्षी पालन गर्न भन्दा फलफूल तरकारी र अन्न उत्पादन गर्न जोड दिनुपर्छ । किनकी पशुपंक्षी पालन वातावरण मैत्री छैन र हुँदैन । पशुको हत्या नगरी मासु उत्पादन हुँदैन र मासु स्वास्थ्यको लागि हानीकारक पनि छ । कृषकलाई आवश्यक पर्ने बिउविजन, मल, किटनाशक दवाइ र कृषि औजार सुपथ मूल्यमा सजिलै उपलब्ध होस । उत्पादित फलफूल, तरकारी र अन्नको बिक्री वितरण गर्नको लागि बजारको राम्रो व्यवस्था होस । कृषकले उत्पादन गरेका वस्तुको उचित मूल्य सजिलै प्राप्त गर्न सकून । स्वदेशमै उत्पादित बस्तुको प्रयोग गर्न सम्पूर्ण नागरिकलाई प्रोत्साहन गरियोस् । स्वेदेशी उद्योग र कलकारखानालाई बिना झन्झट खुसी साथ आफ्नो उत्पादन बढाउन आकर्षक नितिनियम बनाइयोस् । सबै नागरिक गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र शाान्तीससुरक्षा प्रति ढुक्क भएर बाच्न पाउन । देशमा भ्रष्टचार शून्यतामा होस् किनकी हामी सबैलाई थाहा छ देशको सबैभन्दा ठुलो रोग भ्रष्टाचार हो भने नागरिकहरुको सवै भन्दा ठूलो रोग गरिबी हो । यी दुवै रोगको उन्मूलन नभई न त देश सम्बृद्ध बन्छ न नागरिक सुखी हुन्छन । यो प्रश्न अत्यन्तै जटिल र मर्मस्पर्सी छ । यसको हल चाडो भन्दा चाडो कसरी गर्ने हो ? सरकार र सरोकार वाला सबै नागरिक एक भएर लागी पर्नु र भ्रष्टचार र गरीबीको विरुद्ध निरन्तर संघर्ष गर्नु पर्दछ । नत्र त देश सम्बृद्ध र नागरिक सुखी दिवा सपना मात्र हुने छ ।