काभ्रेपलाञ्चोकमा पछिल्ला केही वर्षयता लागूऔषधको प्रयोग र ओसारपसारसँग सम्बन्धित घटनाहरू बढ्दै जानु केवल एउटा जिल्लाको समस्या होइन, यो नेपाली समाजले सामना गरिरहेको गम्भीर सामाजिक संकटको संकेत हो । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस मनाइरहँदा काभ्रेमा सार्वजनिक भएका तथ्यांक र अनुसन्धानका विवरणहरूले लागूऔषधको जालो समाजका विभिन्न तहसम्म फैलिसकेको स्पष्ट देखाउँछन् । लागूऔषधको कारोबार कुनै निश्चित समूह वा वर्गमा सीमित छैन । बेरोजगार युवा, मजदुर, व्यवसायी, चालक, सहचालक, होटल सञ्चालकदेखि संगठित अपराध समूहसम्म यसमा जोडिएका उदाहरणहरू सार्वजनिक भइरहेका छन् ।
अझ चिन्ताको विषय के छ भने केही हजार रुपैयाँको प्रलोभन देखाएर युवाहरूलाई प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ । सुरुआतमा सामान्य काम जस्तो देखिने ‘सामान पु¥याउने’ जिम्मेवारीले अन्ततः व्यक्तिलाई अपराधको दलदलमा धकेल्ने गरेको छ । काभ्रेपलाञ्चोकको भौगोलिक अवस्थाले पनि यो चुनौतीलाई जटिल बनाएको छ । राजधानीसँगको निकटता, विपी राजमार्गको पहुँच तथा विभिन्न जिल्लालाई जोड्ने मार्गहरूको प्रयोग गर्दै तस्करी सञ्जालले नयाँ–नयाँ उपाय अपनाइरहेका छन् । मोटरसाइकल वर्कसप, होटल, यात्रुवाहक सवारी साधन र एम्बुलेन्सजस्ता सेवामूलक संरचनासमेत लागूऔषध कारोबारका माध्यम बन्न थालेका उदाहरणहरूले अपराधीहरूको रणनीति कति विकसित भइसकेको छ भन्ने देखाउँछ ।
प्रहरीले पछिल्लो एक वर्षमा दुई दर्जनभन्दा बढी मुद्दा दर्ता गरी दर्जनौँ व्यक्तिलाई पक्राउ गरेको तथ्य सकारात्मक अवश्य हो । यसले सुरक्षा निकाय सक्रिय रहेको संकेत गर्छ । तर पक्राउ र अभियोजन मात्र समाधान होइन । बारम्बार जेल सजाय भोगेका व्यक्तिहरू पुनः यही अपराधमा फर्किनु हाम्रो पुनस्र्थापना प्रणालीको कमजोरी पनि हो । अपराधको स्रोत र कारणलाई सम्बोधन नगरी केवल कारबाहीका माध्यमबाट समस्या नियन्त्रण गर्न कठिन हुन्छ । लागूऔषधको प्रयोग बढ्नुका पछाडि सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारणहरू पनि छन् । बेरोजगारी, निराशा, पारिवारिक विखण्डन, साथीहरूको प्रभाव तथा सजिलै पैसा कमाउने चाहनाले धेरै युवाहरूलाई जोखिमपूर्ण बाटोतर्फ आकर्षित गरिरहेको छ। गाँजाबाट सुरु भएको प्रयोग क्रमशः खैरो हिरोइन, ट्रमाडोल तथा अन्य कडा लागूऔषधसम्म पुग्ने गरेको तथ्य विभिन्न अनुसन्धानले देखाएका छन् । यसले व्यक्तिको स्वास्थ्य मात्र होइन, परिवार, समुदाय र समग्र समाजलाई असर पु¥याउँछ ।
लागूऔषधविरुद्धको अभियानलाई केवल प्रहरी कारबाहीमा सीमित गर्न मिल्दैन । विद्यालय, परिवार, स्थानीय सरकार, स्वास्थ्य संस्था, पुनस्र्थापना केन्द्र, नागरिक समाज र सञ्चारमाध्यम सबैको साझा जिम्मेवारी आवश्यक छ । सचेतना कार्यक्रमहरू वर्षमा एकपटक दिवसका अवसरमा मात्र नभई निरन्तर सञ्चालन हुनुपर्छ । विशेष गरी किशोर र युवावर्गलाई लक्षित गरी विद्यालय तथा समुदायस्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न जरुरी छ । पुनस्र्थापना केन्द्रहरूको गुणस्तर र प्रभावकारितामाथि पनि ध्यान दिन आवश्यक छ । लागूऔषध प्रयोगकर्तालाई केवल अपराधीका रूपमा होइन, उपचार र पुनस्र्थापनाको आवश्यकता भएका व्यक्तिका रूपमा हेर्ने दृष्टिकोण विकास गर्नुपर्छ। उपचारपछि समाजमा पुनःस्थापित हुने वातावरण निर्माण नभएसम्म धेरै व्यक्तिहरू पुनः पुरानै लत र अपराधतर्फ फर्किने जोखिम रहन्छ ।
अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसको सन्देश पनि यही हो, लागूऔषधविरुद्धको लडाइँ केवल कानुनी होइन, सामाजिक अभियान हो । काभ्रेपलाञ्चोकमा देखिएको अवस्था समयमै नियन्त्रण गर्न नसके यसले अझ ठूलो सामाजिक समस्या निम्त्याउन सक्छ । त्यसैले आजको आवश्यकता औपचारिक कार्यक्रमभन्दा बढी प्रभावकारी रोकथाम, पुनस्र्थापना, जनचेतना र सामाजिक उत्तरदायित्वको हो । लागूऔषधमुक्त समाज निर्माणका लागि राज्य, समुदाय र नागरिक सबै एकजुट हुनुपर्ने बेला आएको छ ।









