2026 June 18/ 11:57: 43pm

    काभ्रेपलाञ्चोक जिल्लाको व्यक्तिगत घटना दर्तासम्बन्धी पछिल्ला तथ्यांकहरू केवल प्रशासनिक अभिलेख मात्र होइनन्, ती समाजको बदलिँदो स्वरूपका महत्वपूर्ण सूचक पनि हुन् । जन्म, मृत्यु, बसाइँसराई, विवाह र सम्बन्ध विच्छेदका तथ्यांकले समाज कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने स्पष्ट संकेत दिएका छन् । 
    तथ्यांकअनुसार जिल्लामा जन्मदर्ता मृत्यु दर्ताभन्दा अझै धेरै छ । यसले प्राकृतिक जनसंख्या वृद्धि सकारात्मक रहेको देखाउँछ । तर अर्को पक्ष हेर्दा जनसंख्याको वितरण भने सन्तुलित छैन । ग्रामीण क्षेत्रबाट नगर केन्द्रतर्फको बसाइँसराइ तीव्र गतिमा बढिरहेको छ । बनेपा, पनौतीजस्ता नगर क्षेत्रमा जनसंख्या केन्द्रित हुँदै जाँदा गाउँहरू युवाविहीन बन्ने खतरा बढेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी र व्यापारका अवसर शहरमा केन्द्रित हुनु स्वाभाविक हो, तर यसले ग्रामीण क्षेत्रको उत्पादनशील शक्ति कमजोर बनाउँदै लगेको यथार्थलाई पनि बेवास्ता गर्न सकिँदैन । विशेष गरी कृषि क्षेत्रमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । गाउँबाट युवा बाहिरिँदा खेतीयोग्य जमिन बाँझिने, श्रमिक अभाव बढ्ने र स्थानीय उत्पादनमा गिरावट आउने जोखिम बढेको छ । विकासका अवसर सबै क्षेत्रमा समान रूपमा विस्तार गर्न नसकिए बसाइँसराइको यो दबाब झन् तीव्र बन्न सक्छ । अर्कोतर्फ विवाहसँगै सम्बन्ध विच्छेदका घटनामा आएको वृद्धि पनि समाजमा भइरहेको परिवर्तनको अर्को महत्वपूर्ण संकेत हो । विवाह संस्था नेपाली समाजको महत्वपूर्ण आधार मानिन्छ । तर पछिल्ला वर्षहरूमा सम्बन्ध विच्छेदप्रति समाजको दृष्टिकोण परिवर्तन हुँदै गएको छ । आर्थिक स्वतन्त्रता, शिक्षाको विस्तार, वैदेशिक रोजगारी, व्यक्तिगत अधिकारप्रतिको चेतना र बदलिँदो जीवनशैलीले वैवाहिक सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्न थालेका छन् ।
    सम्बन्ध विच्छेद बढ्नु मात्रलाई नकारात्मक रूपमा व्याख्या गर्नु उचित हुँदैन । कतिपय अवस्थामा अस्वस्थ, हिंसात्मक वा असमान सम्बन्धबाट बाहिरिने अवसर पनि सामाजिक प्रगतिका संकेत हुन सक्छन् । तर सम्बन्ध विच्छेदको बढ्दो प्रवृत्तिले परिवार संरचनामा आएको परिवर्तन र त्यसका सामाजिक प्रभावबारे गम्भीर बहस आवश्यक बनाएको छ। विशेष गरी बालबालिकाको पालनपोषण, ज्येष्ठ नागरिकको हेरचाह तथा सामाजिक सम्बन्धको स्वरूपमा यसले दीर्घकालीन असर पार्न सक्छ । काभ्रेपलाञ्चोकका तथ्यांकहरूले विकास र शहरीकरणको प्रभावलाई स्पष्ट रूपमा देखाएका छन्। विकासले अवसर सिर्जना गरेको छ, जीवनस्तर उकासेको छ र सेवासुविधामा पहुँच बढाएको छ । तर यही विकासले नयाँ चुनौतीहरू पनि जन्माइरहेको छ। ग्रामीण क्षेत्रको जनशक्ति पलायन, बढ्दो शहरी चाप, बदलिँदो पारिवारिक सम्बन्ध र सामाजिक संरचनाको रूपान्तरण तीमध्ये प्रमुख हुन् ।
    त्यसैले अबको आवश्यकता केवल भौतिक विकासमा सीमित हुनु होइन । गाउँमा रोजगारी सिर्जना गर्ने, कृषि र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने, परिवार परामर्श तथा सामाजिक समर्थन प्रणालीलाई प्रभावकारी बनाउने र विकासको लाभ सबै क्षेत्रमा समान रूपमा पु¥याउने नीति आवश्यक छ । अन्यथा तथ्यांकमा देखिएको आजको परिवर्तन भोलिको गम्भीर सामाजिक समस्यामा परिणत हुन सक्छ । समाज परिवर्तनशील हुन्छ र परिवर्तनलाई रोक्न सकिँदैन। तर परिवर्तनलाई सही दिशा दिन सकिन्छ । काभ्रेपलाञ्चोकका यी तथ्यांकले हामीलाई त्यही दिशा खोज्न सचेत गराएका छन् ।