2026 July 06/ 12:23: 32am

भक्तपुर, काभ्रे र काठमाडौंलाई आधार बनाएर बसमै पाकेटमारी गर्ने गिरोह पक्राउ पर्ने गरेको भए पनि अदालतको आदेशबाट धरौटीमा छुट्दै फेरी त्यहि अपराधमा संलग्न हुँदै आएको खुलेको छ ।

मोतीराम तिमल्सिना
धुलिखेल 

    चोरीका एकपछि अर्को मुद्दामा पक्राउ पर्ने, अदालतबाट धरौटी वा तारेखमा छुट्ने अनि फेरि उही अपराध दोहो¥याउने प्रवृत्तिको एउटा प्रतिनिधि पात्र बनेका छन् पासाङ भन्ने विशाल तामाङ । काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा चोरीका १९ वटा मुद्दा खेपिरहेका उनीमाथि काभ्रेमा दर्ता भएको अर्को चोरी मुद्दामा पनि अदालतले धरौटी माग गर्ने आदेश दिएको छ । यससँगै उनीमाथि चोरीसम्बन्धी २० औँ मुद्दा अदालतसम्म पुगेको छ ।
    २०८३ असार ११ गते बिहीबार जिल्ला अदालत काभ्रेपलाञ्चोकका जिल्ला न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलाशले विशाल तामाङसँग धरौटी माग गर्ने आदेश गरेको हो । त्यसको एक दिनअघि अर्थात् असार १० गते सहायक जिल्ला न्यायाधिवक्ता निकुञ्ज श्रीवास्तवले उनीविरुद्ध चोरी अभियोगमा मुद्दा दर्ता गरेका थिए । यो मुद्दा सामान्य चोरीको मात्र होइन, संगठित रूपमा बसका यात्रुलाई लक्षित गरी पाकेटमारी गर्ने गिरोहको योजनाबद्ध गतिविधिसँग जोडिएको अभियोग हो । 
    करिब १५ महिनाअघि विशाल तामाङ काठमाडौंको साँखुस्थित पेट्रोल पम्पमा पेट्रोल हाल्ने काम गर्थे । त्यसअघि उनी काठमाडौंको माकलबारी क्षेत्रमा ट्यांकर चलाउने काममा पनि संलग्न थिए । यही क्रममा उनको चिनजान सुमन क्षेत्री भन्ने सुदिप भण्डारी र सादुराम भन्ने साधुराम भुजेलसँग भयो । सुरुमा सामान्य चिनजान रहे पनि पछि उनीहरूको सम्बन्ध अपराधको साझेदारीमा बदलियो । अनुसन्धानका अनुसार उनीहरूलाई चोरीको संसारमा जोड्ने अर्को व्यक्ति विनोद तामाङ थिए । चाबहिलमा भेटिएका विनोदले ‘घुम्न जाऔँ, पैसा कमाइन्छ’ भन्दै भक्तपुरतिर गएर पाकेटमारी गर्न प्रस्ताव गरेका थिए । अहिले विनोद तामाङ भने प्रहरी वृत्त भक्तपुरबाट लागूऔषध मुद्दामा जेल सजाय भोगिरहेका छन् ।

१९ वटा चोरी मुद्दा, तर अपराध रोकिएन
    विशाल तामाङविरुद्ध २०८१ सालदेखि जिल्ला प्रहरी परिसर भक्तपुर, जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त ठिमी तथा जिल्ला प्रहरी परिसर ललितपुरमा गरी १९ वटा चोरी मुद्दा दर्ता भइसकेका छन् । तर ती अधिकांश मुद्दामा उनी धरौटी वा तारेखमा छुट्दै आएका थिए । प्रहरीका अनुसार यही कारण उनी अपराधको श्रृंखलाबाट बाहिरिन सकेनन् । यो गिरोह पक्राउ पर्नुको कारण बनेको घटना २०८३ जेठ १० गतेको हो ।
    दिउँसो करिब १ बजे भक्तपुरको सूर्यविनायकमा विशाल तामाङ, सुदिप भण्डारी, साधुराम भुजेल र सुरज राई भेटिए । उनीहरूले त्यहीँ धुलिखेल घुम्ने बहानामा बस चढेर चोरी गर्ने योजना बनाए । बस आइपुग्नेबित्तिकै चारैजना फरक–फरक सिटमा बसे । बसभित्र यात्रु पार्वती सञ्जेल महिलाको सिटमा बसेकी थिइन् । बसको भाडा तिर्न उनले झोलाबाट पैसा निकाल्दा झोलामा उल्लेख्य रकम रहेको विशालले देखे । त्यसपछि चारैजनाबीच सांकेतिक रूपमा चोरी गर्ने निर्णय भयो । अनुसन्धानमा खुलेअनुसार सुदिप भण्डारीले बसको पछाडिको दाहिने भागमा मानिसहरूको गतिविधि नियाले । साधुराम भुजेलले बायाँतर्फका यात्रुलाई छेक्ने र निगरानी गर्ने जिम्मा लिए । विशाल तामाङले बीच भागमा उभिएर यात्रुको आवतजावत रोक्ने काम गरे । अवसर मिल्नेबित्तिकै सुरज राईले पार्वती सञ्जेलले बोकेको लेडिज ब्यागभित्र रहेको पहेँलो हाते पर्स चोरी गरे । बनेपा पुग्दा हरायो ३२ हजार ५ सय रुपैयाँ । 
    पार्वती सञ्जेल कोटेश्वरबाट बनेपा जाँदै थिइन् । बस दिउँसो १ः४६ बजे बनेपा–८ पुलबजार नजिक पुग्दा उनले आफ्नो लेडिज ब्यागभित्र रहेको पहेँलो पर्स हराएको थाहा पाइन् । त्यो पर्सभित्र ३२ हजार ५ सय रुपैयाँ नगद थियो । उनले तत्काल बसभित्र हल्ला गरेपछि चालकले बस रोके । यात्रुहरूले खोजी गर्न थाले । तर त्यतिबेलासम्म गिरोह बसबाट ओर्लेर भागिसकेको थियो । स्थानीयले केही दूरीसम्म उनीहरूलाई लखेटेका थिए । प्रहरी अनुसन्धानमा विशाल तामाङले दिएको बयानअनुसार चोरी सफल भएपछि उनीहरूले सुरुमा एक–एक हजार रुपैयाँ बाँडे । त्यसपछि उनीहरू सिनागाल पट्टि पुगेर पुनः बनेपा पुलबजार निस्कँदै नाला पुगे । नालाबाट फेरि बस चढेर भक्तपुर सूर्यविनायक फर्किए । त्यहाँ पुगेपछि चोरी गरेको पैसाबाट खाजा खाए र रकम खर्च गरे । केही दिनमै पैसा सकिएपछि फेरि अर्को चोरी गर्ने योजना बनाए ।
    घटनापछि प्रहरीले बस र आसपासका क्षेत्रका सीसीटीभी फुटेज संकलन ग¥यो । इलाका प्रहरी कार्यालय बनेपाले घटनालाई सुक्ष्म ढंगबाट अनुसन्धान शुरु ग¥यो । पछि बनेपामा महिला तथा पुरुषलाई बेहोस बनाएर लुटपाट गर्ने गिरोह पनि सक्रिय हुन थाल्यो । प्रहरीले उनिहरुलाई पनि पक्राउ गरेको छ । त्यहि सीसीटीभी फुटेका आधारमा २०८३ जेठ १६ गते दिउँसो ४ बजे प्रहरीले विशाल तामाङसहित गिरोहका सदस्यलाई केही नगदसहित प्रहरीले पक्राउ ग¥यो । अनुसन्धानमा उनीहरू फेरि अर्को लुटपाटको उद्देश्यले धुलिखेल जाने बस चढ्न लागेका बेला बनेपामा पक्राउ परेका थिए । प्रहरी अनुसन्धानले अर्को रोचक तथ्य पनि उजागर गरेको छ । गिरोहका सदस्यहरूले आफ्ना वास्तविक नाम लुकाउन फरक–फरक नाम प्रयोग गर्ने गरेका थिए । 
    विशाल तामाङ–पासाङ । सुदिप भण्डारी–सुमन क्षेत्री । साधुराम भुजेल–सादुराम । प्रहरीका अनुसार यसले उनीहरू पक्राउ पर्दा पहिचान लुकाउने प्रयास गरेको देखिन्छ । राजनीतिक कार्यक्रममा पनि उनिहरु सक्रिय देखिन्छन् । उनिहरुले चलाउने गरेको टिकटक आईडीमा जिल्लाको भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामालाई स्वागत गरिरहेको र उनको भाषण सुनिरहेको भिडियोहरु सार्वजनिक गरिएको छ । पक्राउ परेको चार दिन पछि उक्त टिकटक आईडी डिएक्टिभ गरिएको छ । अनुसन्धानमा उनीहरू विभिन्न राजनीतिक गतिविधिमा समेत देखिने गरेका तथ्य खुलेका छन् । नेताहरूलाई माला र खादा लगाउने, प्रशिक्षण कार्यक्रममा सहभागी हुने जस्ता गतिविधिमा उनीहरूको सक्रिय उपस्थिति देखिएको प्रहरी स्रोतको दाबी छ । यद्यपि यससँग कुनै आपराधिक संलग्नता स्थापित भएको छैन । विशाल रामेछाप दोरम्बा ५ निवासी हुन् भने साधुराम भुजेल र सुदिप भण्डारी भुम्लु गाउँपालिका वडा नम्वर ३ निवासी हुन् । विशाल २५ बर्षका भए । भुजेल २९ र भण्डारी २५ वर्षका छन् । उनिहरुको गिरोह नै छ । इलाका प्रहरी कार्यालय बनेपाले पुनः केहि दिन पछि उनिहरुलाई पनि पक्राउ गरेको थियो । 
    विशाल तामाङसँग गाडी चलाउने सीप छ । उनीसँग वैध ड्राइभिङ लाइसेन्स पनि छ । दुई वर्षअघि आफ्नै गाउँमा बोलेरो चलाउने काम गर्थे । काठमाडौं आएपछि ट्यांकर चलाए । पछि पेट्रोल पम्पमा काम गरे । तर प्रहरीका अनुसार संगत परिवर्तनसँगै उनी चोरीको संसारमा प्रवेश गरे । विशाल तामाङको आपराधिक इतिहास पनि लामो छ । २०७८ सालमा बौद्ध प्रहरी वृत्तमा मोबाइल चोरी अभियोगमा पक्राउ, धरौटीमा रिहा भए । २०८२ सालमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट चोरी अभियोगमा ३० हजार रुपैयाँ धरौटीमा छुटे । त्यसपछि भक्तपुर क्षेत्रमा चोरी, पाकेटमारी तथा लागूऔषध कारोबारमा समेत संलग्न रहेको प्रहरीको अनुसन्धानमा उल्लेख छ । 
    गिरोहका अर्का सदस्य सुदिप भण्डारी एक वर्षअघि दुबईमा थिए । २०८२ साल जेठमा नेपाल फर्किएपछि सुरुमा चाबहिलस्थित फुपू–दिदीको घरमा बसे । पछि भक्तपुरको सिपाडोलस्थित दिदीको घरमा बस्न थाले । उनी र विशाल एउटै विद्यालयमा पढेका साथी भएको अनुसन्धानबाट खुलेको छ । साधुराम भुजेलविरुद्ध पनि आपराधिक इतिहास छोटो छैन ।  २०७९ सालदेखि जिल्ला प्रहरी परिसर भक्तपुर, जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त नयाँ बानेश्वर तथा इलाका प्रहरी कार्यालय बनेपामा ज्यान मार्ने उद्योग र चोरी सम्बन्धी ७ वटा मुद्दा दर्ता भएका छन् । ती सबैमा उनी धरौटीमा छुटेका थिए । पहिले पनि सजाय पाइसकेका थिए सुदिपले । भक्तपुर जिल्ला अदालतले २०८१ जेठ ७ गते सुदिप भण्डारीलाई डाँका चोरी मुद्दामा ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरिसकेको थियो । तर सजायपछि पनि उनी फेरि उही प्रकृतिको अपराधमा संलग्न भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

धरौटी प्रणालीमाथि प्रश्न ? 
    विशाल तामाङमाथि १९ वटा चोरी मुद्दा चलिरहेकै अवस्थामा काभ्रेमा अर्को मुद्दा दर्ता भई २०औँ पटक पनि धरौटी आदेश हुनु न्याय प्रणालीमाथि प्रश्न उठाउने विषय बनेको छ । बारम्बार पक्राउ पर्ने, धरौटीमा छुट्ने र पुनः उही प्रकृतिको अपराध दोहोरिने प्रवृत्तिले संगठित पाकेटमारी नियन्त्रणमा कानुनी व्यवस्थाको प्रभावकारितामाथि बहस सुरु गराएको छ । प्रहरी अधिकारीहरूका अनुसार यस्ता ‘पुनरावृत्ति अपराधी’ माथि प्रभावकारी निगरानी र कानुनी कडाइ नहुँदा सार्वजनिक यातायातमा यात्रुहरू अझै असुरक्षित भइरहेका छन् । 

दुई दशक देखि बेहोस बनाउँदै ‘लुटपाट’
    बनेपा/सर्वसाधारणलाई झुक्याएर नसालु पदार्थ सेवन गराई बेहोस बनाएपछि सुन, नगद र मोबाइल लुट्ने गिरोहका तीन जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना लुटपाटमा प्रत्यक्ष संलग्न रहेको तथा अर्का एक जना लुटिएको सुन खरिद गर्ने सुन पसल सञ्चालक रहेको प्रहरीले जनाएको छ ।
    यो सफलतालाई इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी राकेश थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । घटनाको सूक्ष्म अनुसन्धान, सीसीटीभी विश्लेषण तथा निरन्तर निगरानीका आधारमा प्रहरीले लामो समयदेखि विभिन्न जिल्लामा सक्रिय रहेको गिरोहलाई पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रविन कार्कीका अनुसार २०८३ असार १ गते बनेपा नगरपालिका–५ स्थित रविओपी बसपार्क अगाडि धुलिखेल–१ निवासी ५२ वर्षीया निरकुमारी घोरासाइने बेहोस अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो । प्रारम्भिक अनुसन्धानबाट उनलाई नसालु पदार्थ सेवन गराई शरीरमा लगाएका सुनका गरगहना, नगद र मोबाइल लुटिएको खुलेको थियो ।
    सीसीटीभी क्यामेराको फुटेज विश्लेषण गर्दा दुई जना पुरुषले महिलालाई पेय पदार्थमा नसालु औषधि मिसाई बेहोस बनाएपछि लुटपाट गरेको देखिएको थियो । वारदातमा रातो–कालो रंगको पल्सर मोटरसाइकल प्रयोग भएको पुष्टि भएपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको थियो । अनुसन्धानकै क्रममा असार ७ गते बुद्धकुमार श्रेष्ठलाई वारदातमा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ गरिएको थियो। पीडित महिलाले उनलाई सनाखत गरेपछि घटनाको थप रहस्य खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपितहरूले बैंकमा पैसा साटिदिने बहाना बनाई पीडितलाई ’फ्रुटी’ पिउन दिएका थिए । उक्त पेयमा नसालु पदार्थ मिसाइएकाले महिला बेहोस भएकी थिइन् । त्यसपछि उनको शरीरमा रहेका सुनका गरगहना, नगद र मोबाइल लुटिएको थियो ।
    बुद्धकुमार श्रेष्ठको बयानका आधारमा घटनामा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ५ निवासी ५३ वर्षीय केदार श्रेष्ठको पनि संलग्नता खुलेपछि उनलाई असार ११ गते भक्तपुरको मध्यपुरठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुद्धकुमार र केदार आफन्तसमेत हुन् र लामो समयदेखि मिलेर यस्ता घटनामा संलग्न हुँदै आएका थिए । अनुसन्धानका क्रममा लुटिएको सुन भक्तपुरस्थित जय शिव शक्ति ज्वेलर्समा बिक्री गरिएको खुलेपछि प्रहरीले उक्त पसलमा खानतलासी गरेको थियो। त्यसक्रममा गालिसकिएको अवस्थामा चोरीको सुन बरामद भएको र पसल सञ्चालक दोलखा बिगु गाउँपालिका–४ निवासी ४६ वर्षीय नवराज घिमिरे (विक) लाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले तीनै जनाविरुद्ध अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ ।
    इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी राकेश थापाका अनुसार पक्राउ परेका मुख्य दुई अभियुक्त विगत करिब दुई दशकदेखि यस्तै प्रकृतिका लुटपाटका घटनामा संलग्न रहँदै आएका थिए ।  अनुसन्धानका क्रममा उनीहरूले २०६५ सालमा पाल्पामा एक व्यक्तिलाई नसालु पदार्थ सेवन गराई लुटपाट गरेको मुद्दामा सजायसमेत भोगिसकेको तथ्य खुलेको छ । त्यसयता उनीहरूले तनहुँमा एक वृद्ध महिलाको सुन लुटेको, व्यास नगरपालिकामा अर्की महिलालाई बेहोस बनाएर गरगहना लुटेको तथा काभ्रेपलाञ्चोकमा समेत यस्तै शैलीका घटनाहरू दोहो¥याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २०८३ वैशाख ७ गते बनेपा नगरपालिका–७ धनेश्वरस्थित पुलनजिक तेन्डेल हार्डवेयर पछाडि रहेको रसिन पलाञ्चोक फर्निचर अगाडि मण्डनदेउपुर नगरपालिका–४ तिमल्सिना गाउँ निवासी ६९ वर्षीय उदयनारायण तिमल्सिनालाई बैंक कहाँ छ भनेर सोधपुछ गर्दै आईसी नोट साट्नुपर्ने बहाना बनाइएको थियो । त्यसपछि फ्यान्टामा नसालु पदार्थ मिसाई पिलाएर उनलाई बेहोस बनाइएको र साथमा रहेको ७० हजार रुपैयाँ नगद तथा एक थान सुनको औँठी लुटिएको थियो । 
    उक्त घटनामा लुटिएको सुनको औँठी गालिसकेको अवस्थामा पक्राउ परेका नवराज घिमिरे सञ्चालित सुन पसलबाट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले हालसम्म लुटिएको सुनका केही अंश तथा २० हजार ५ सय रुपैयाँ नगद बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता डीएसपी रविन विष्टका अनुसार पक्राउ परेका व्यक्तिहरूले लामो समयदेखि विभिन्न जिल्लामा सर्वसाधारणलाई बैंक, पैसा साट्ने वा बाटो सोध्ने बहाना बनाएर विश्वासमा लिने, त्यसपछि नसालु पदार्थ मिसाइएको पेय पदार्थ पिलाई बेहोस बनाउने र सुन, नगद तथा अन्य बहुमूल्य सामान लुट्ने संगठित शैली अपनाउँदै आएका थिए ।
    प्रहरीले घटनाको अनुसन्धान अझै जारी रहेको जनाएको छ । साथै यस्ता अपरिचित व्यक्तिको प्रलोभन वा सहयोगको प्रस्तावमा विश्वास नगर्न, अपरिचितबाट दिइने खानेकुरा वा पेय पदार्थ सेवन नगर्न तथा शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।