2026 July 06/ 12:23: 33am

धुलिखेल/लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा काभ्रेपलाञ्चोकमा सञ्चालन गरिएको सप्ताहव्यापी सचेतनामूलक अभियान प्रभातफेरीसहित सम्पन्न भएको छ । 
    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा तथा नयाँ दिशा क्रियाशील समूहको व्यवस्थापनमा सञ्चालन भएको अभियानले समुदायस्तरमा लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको थियो । अभियानको अन्तिम दिन धुलिखेल बसपार्कबाट सुरु भएको प्रभातफेरी नगरपालिकाको सभाहलमा पुगेर समापन गरिएको थियो । ‘लागूऔषधबाट टाढा रहौँ, स्वस्थ समाज निर्माण गरौँ’ भन्ने सन्देश बोकेका सहभागीहरूले नगरका विभिन्न सडक परिक्रमा गरेका थिए । प्रभातफेरीमा नेपाल प्रहरीसहित अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, विभिन्न सरकारी कार्यालयका प्रमुख, सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
    प्रभातफेरीपछि आयोजित समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सप्ताहव्यापी अभियानका गतिविधि, त्यसको उद्देश्य र समाजमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराए । उनले लागूऔषधको बढ्दो प्रयोग आजको समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकारी निकायमात्र होइन, परिवार, विद्यालय, समुदाय र नागरिक समाज सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले पछिल्ला वर्षहरूमा लागूऔषधको प्रयोग युवामाझ तीव्र रूपमा फैलिन थालेको भन्दै सचेतना, रोकथाम र पुनःस्थापनालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए । ‘लागूऔषधविरुद्धको लडाइँ केवल प्रहरीको जिम्मेवारी होइन, यो सम्पूर्ण समाजको साझा दायित्व हो’–उनले भने ।
    कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रशासकीय अधिकृत सुनिता थापाले सञ्चालन गरेकी थिइन् । समापन कार्यक्रममा लागूऔषध दुरुपयोग रोकथाम तथा न्यूनीकरणका प्रयास, वर्तमान अवस्था र आगामी चुनौतीका विषयमा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो। प्रस्तुत कार्यपत्रहरूमा काभ्रेपलाञ्चोक जिल्लामा लागूऔषधको अवस्था, त्यसले पारिरहेको सामाजिक प्रभाव, पुनःस्थापना सेवाको आवश्यकता तथा विभिन्न निकायबीच समन्वयको महत्वबारे विस्तृत रूपमा चर्चा गरिएको थियो । 
    कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा, धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, स्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति, जिल्ला न्यायाधिवक्ता टिकाभूषण घिमिरे, डिभिजन वन कार्यालय प्रमुख केवी थापा, होटल संघ काभ्रेका अध्यक्ष प्रल्हाद प्याकुरेल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने तथा नयाँ दिशा क्रियाशील समूहका अध्यक्ष सुवास श्रेष्ठलगायतको सहभागिता रहेको थियो । साथै सुरक्षा निकायका प्रमुखहरु प्रहरी प्रमुख एसपी रविन कार्की, नेपाली सेना श्रीमेहर गणका गणपति प्रमुख सेनानी झलक सुवेदी, शशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मि लगायतको सक्रिय सहभागिता रहेको थियो । जिल्लामा असार ६ गतेदेखि सुरु भएको अभियान असार १२ गते समापन भएको हो। अभियान सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयमा आयोजित समन्वयात्मक बैठकले विद्यालय, पुनःस्थापना केन्द्र, होटल व्यवसायी, औषधि व्यवसायी तथा स्थानीय तहसँग सहकार्य गर्दै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।
    सोही निर्णयअनुसार सप्ताहभरि विभिन्न लक्षित समूहलाई केन्द्रमा राखेर कार्यक्रमहरू सञ्चालन गरिएका थिए । चालक तथा सहचालकको लागूऔषध परीक्षण, विद्यालयस्तरीय सचेतना कक्षा, पुनःस्थापना केन्द्रमा विशेष अन्तरक्रिया, विभिन्न सरोकारवालासँग छलफल तथा धुलिखेलमा वृहत् सचेतना ¥याली आयोजना गरिएको थियो । यस्ता कार्यक्रमले लागूऔषधको असरबारे जानकारी दिनुका साथै जोखिममा रहेका युवालाई समयमै सचेत गराउने प्रयास गरेको एसपी रविन कार्कीले बताए । लागूऔषधको समस्या अहिले विश्वव्यापी चुनौतीका रूपमा देखिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर लागूऔषध दुरुपयोगका कारण हरेक वर्ष करिब एक लाख ९० हजार मानिसले ज्यान गुमाउने गरेका छन्। नेपालमा पनि १९६० को दशकपछि लागूऔषधको प्रयोग र अवैध कारोबार विस्तार हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन् ।
    विशेषज्ञहरूका अनुसार गाँजा वा चरेसजस्ता पदार्थबाट सुरु हुने प्रयोग क्रमशः खैरो हिरोइन, ट्रामाडोल, ब्राउन सुगर तथा अन्य कडा लागूऔषधसम्म पुग्ने जोखिम अत्यधिक हुन्छ । प्रारम्भमा जिज्ञासा वा साथीभाइको प्रभावमा सुरु भएको लतले धेरै युवाको भविष्य अन्धकार बनाएको उदाहरणहरू प्रशस्तै छन् । पछिल्ला वर्षहरूमा पुनःस्थापना केन्द्रहरूको संख्या बढ्दै जानु, सडक बालबालिकादेखि व्यवसायी तहसम्म लागूऔषधको पहुँच विस्तार हुनु तथा सीमापार सक्रिय तस्करी सञ्जालको प्रभावले समस्या अझ जटिल बन्दै गएको सरोकारवालाहरू बताउँछन् । खुला सीमाना, बेरोजगारी, पारिवारिक विखण्डन, मानसिक तनाव तथा कमजोर सामाजिक निगरानी पनि लागूऔषधको प्रयोग बढ्नुका प्रमुख कारण मानिएका छन् ।
    प्रहरी अधिकारीहरूका अनुसार लागूऔषधले क्षणिक आनन्दको अनुभूति गराए पनि त्यसको अन्त्य प्रायः शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर, आर्थिक संकट, पारिवारिक विघटन, अपराध तथा कारागारसम्म पुग्ने अवस्थासँग जोडिएको हुन्छ । लागूऔषध प्रयोगकर्तामध्ये धेरैजसोले चोरी, हिंसा तथा अन्य आपराधिक गतिविधिमा समेत संलग्न हुनुपर्ने अवस्था सिर्जना हुने गरेको तथ्यांकले देखाउँछ । स्वास्थ्यकर्मीहरूका अनुसार लागूऔषधको लत केवल कानुनी समस्या नभई स्वास्थ्य र सामाजिक समस्या पनि हो । त्यसैले रोकथामसँगै उपचार, परामर्श र पुनःस्थापनामा समान प्राथमिकता दिन आवश्यक छ । विद्यालयस्तरबाटै जीवनोपयोगी शिक्षा, अभिभावकको निगरानी, समुदायको सहकार्य तथा युवाका लागि सकारात्मक अवसर सिर्जना गर्न सके मात्र दीर्घकालीन समाधान सम्भव हुने उनीहरूको धारणा छ । 
    यस वर्षको अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस काभ्रेपलाञ्चोकमा औपचारिक कार्यक्रममै सीमित नरही समुदायसँग प्रत्यक्ष जोडिने गतिविधिमार्फत मनाइएको छ । सहभागीहरूले यस्तो अभियान वर्षभर निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । समाजमा लागूऔषधविरुद्ध सचेतना फैलाउने, जोखिममा रहेका युवालाई सही बाटो देखाउने र सुरक्षित भविष्य निर्माण गर्ने साझा प्रतिबद्धतासहित सम्पन्न भएको यो सप्ताहव्यापी अभियानले काभ्रेपलाञ्चोकमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास गरिएको छ ।