2026 May 31/ 02:30: 24am

    बेथान्चोक गाउँपालिकामा स्थापना भएको मदानी डेरीको सफलताले नेपालको ग्रामीण विकास, उद्योग–व्यवसाय र कृषि–आधारित अर्थतन्त्रलाई एकैसाथ उकास्ने महत्वपूर्ण संकेत दिएको छ । स्थानीय स्तरमा खुलेको डेरी उद्योगले आईएसओ २२ हजार जस्तो अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त हुनु अर्काे सफलता र गर्वको कुरा हो । यो उद्योग अब केबल सेवा मात्रै नभई औद्योगिक रूपान्तरणको चालक बन्न सक्ने क्षमताको प्रमाण हो । उद्योग फस्टाउनु स्थानीय सरकारको पनि सफलता हो । संघीय संरचनामा स्थानीय सरकारलाई प्रदान गरिएको अधिकार र जिम्मेवारी तब सार्थक बन्छ, जब त्यसले आर्थिक–उत्पादक क्षेत्रलाई बलियो बनाउने निर्णय गर्छ । 
    मदानी डेरीको विस्तार, उत्पादन विविधिकरण, आधुनिक मेशिनरी जडान, किसानलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम, प्रशिक्षण र बजार विस्तारमा स्थानीय तहको सक्रियताले कृषकको जीवनस्तर प्रत्यक्ष सुधार गर्न सक्छ । किसानलाई न्यून ब्याजदरमा गाई–भैसी खरिदका लागि उपलब्ध गराइएको कोष, घाँस खेती तालिम, पशु आहार वितरण तथा प्राविधिक सहयोगले उत्पादकत्व बृद्धि भएको छ । औद्योगिक पूर्वाधार निर्माणमा स्थानीय सरकार निर्णायक छ । ४२ दूध संकलन केन्द्रमा भ्याट, चिलर, जेनेरेटर जडान गर्नु वा कोल्ड–रुम निर्माणको योजना अघि बढाउनु सरकारी र निजी क्षेत्रबीचकै सफल साझेदारीको उदाहरण हो । उत्पादनमा गुणस्तर र मापदण्ड कायम राख्न स्थानीय तह अन्तर्राष्ट्रिय मान्यताका साझेदार बन्न सक्छ । स्विस विज्ञमार्फत तालिम, गुणस्तरीय चीज उत्पादन र आईएसओ प्रमाणपत्र प्राप्त गर्नु स्थानीय तहबाटै सम्भव भएको उपलब्धि हो ।
    डेरी उद्योग नेपालकै रोजगारी, कृषक आय र ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो । मदानी डेरीको विस्तारीकरणले अन्तर्राष्ट्रिय बजारमा प्रवेश पाएको छ । मोजरेला, चेडार, गौंडा, कञ्चन, पार्मेसनजस्ता उत्पादनहरू निर्यातका लागि तयारी हुनु स्वयंमा किसानका लागि ठूलो अवसर हो । स्थानीय स्तरमा उत्पादन र प्रसोधन तर गुणस्तर भने विश्वस्तरीय । यही मोडलले नेपाललाई कृषि–उद्योगमा प्रतिस्पर्धी बनाउन सक्छ । मदानी डेरी त्यसका लागि नमूना बन्ने छ । आयात प्रतिस्थापनबाट आत्मनिर्भरतातर्फ उन्मुख भएको छ । नेपाल हरेक वर्ष विदेशी डेरी उत्पादन आयातमा ठूलो रकम गुमाइरहेको छ । तर मदानी डेरीजस्ता संस्थाले गुणस्तरीय चीज, घिउ, पनिर, दही, खुवा जस्ता उत्पादन स्वदेशमै बनाउँदै गर्दा आत्मनिर्भरता सम्भव हुन्छ । ग्रामीण रोजगारी र कृषिमा आधुनिकीकरण भएको छ । डेरी उद्योगले पशुका लागि आवश्यक पर्ने घाँस खेतीदेखि उत्पादीत सामग्रीको ब्रान्डिङसम्म रोजगारको अवसर सिर्जना गर्छ । मोबाइल पशु आहार वितरण, साईलेस प्रविधि, नश्ल सुधार, र किसान भ्रमण कार्यक्रमले पशुपालनलाई व्यवसायिक रुप दिएको छ । 
    मदानी डेरी सफलताको मोडेल बनेको छ । अन्य स्थानीय तहले पनि सिक्नुपर्ने केही महत्वपूर्ण पाठ मदानी डेरी पनि हो । उद्योगसँग सहकार्य र नीतिगत सहयोग र पूर्वाधार विकास दुवै गरिनु पर्छ । किसानमुखी कार्यक्रम, गुणस्तरलाई प्राथमिकता, बजार र साझेदारी र पारदर्शिता आवश्यक छ । स्थानीय तहहरूले औद्योगिक र कृषि–मुखी कार्यक्रमलाई प्राथमिकतामा राखे भने नेपालको ग्रामीण अर्थतन्त्रले विदेशी रोजगारी, आयात निर्भरता र बजार असन्तुलनको समस्यालाई कम गराउन सक्छ । मदानी डेरीले देखाएको सम्भावना सहितको उदाहरण र सन्देश त्यहि हो ।