2026 May 31/ 02:17: 21am

    देशले फेरि एकपटक अर्को निर्वाचनको तयारी गरिरहेको छ । निर्वाचन आयोगले २०८२ फागुन २१ गतेका लागि मतदान मिति तोक्दै विस्तृत तालिका सार्वजनिक गरिसकेको छ । मतदाता नामावली अद्यावधिकदेखि दल दर्ता, उम्मेदवारी मनोनयन र प्रचार–प्रसारसम्मका सबै कार्यक्रम तय भएका छन् । हेर्दा यो निर्वाचनको तयारी व्यवस्थित र समयमै भएको देखिन्छ । तर, मितिहरूको सूचीले मात्रै निर्वाचन समयमा सम्पन्न हुने विश्वास नागरिकहरुमा हुँदैन । जबसम्म नागरिकहरुमा निर्वाचनप्रति विश्वास रहँदैन तबसम्म लोकतन्त्र बलियो हुँदैन । यो निर्वाचनका लागि त झनै राजनीतिक दलहरूको सुरसार समेत देखिँदैन ।
    निर्वाचन भनेको केवल मतपेटिका राख्ने प्रक्रिया होइन । यो लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण अभ्यास हो, जसबाट जनताले प्रतिनिधि चयन गर्छन् र देशको दिशा निर्धारण गर्छन् । तर विगतका अनुभवले देखाउँछ नेपालमा चुनाव मिति घोषणापछि मात्र दलहरू झसङ्ग हुने र हतार–हतार उम्मेदवार चयन, गठबन्धन र प्रचारमा लाग्ने परम्परा छ । यो प्रवृत्तिले लोकतन्त्रको मूल्य घटाउँदै लैजाने खतरा छ । तर यो पटक हुन लागेको निर्वाचन वा गरिनु पर्ने निर्वाचन विल्कुल फरक पनि छ । यो नियमित निर्वाचन पनि हैन । यसले समग्र मुलुक र मुलुकको भविष्य प्रतिको नविनतम् रेखा समेत कोर्ने छ । यस्तो निर्वाचन किन भयरहित हुन सकेको छैन वा निर्वाचन प्रति आशंका बढिरहेको छ ? गम्भीर बन्नुपर्ने सरकार चुपचाप छ । प्रहरी त्रसित छ । नागरिक झनै त्रसित छ । अपराध मौलाउँदै छ । देश विरोधी गतिविधि खुलेआम हुन थालेका छन् । 
    काभ्रेपलाञ्चोक जिल्लाको मतदाता तथ्यांक हेर्दा पनि परिवर्तनको गति सुस्त छ । २०७९ मंसिरदेखि २०८१ चैत्र मसान्तसम्म जम्मा २,९१६ मतदाता मात्रै थपिएका छन् । दुई वर्षको अवधिमा यस्तो न्यून बृद्धि युवामाझ फैलिएको राजनीतिक निराशाको संकेत हो । जसलाई मत दिए पनि त्यस्तै त हुन्छ भन्ने सोचले राजनीतिक चेतनालाई थिलो पार्दै लगेको छ । निर्वाचन आयोगले अध्यादेशमार्फत १८ वर्ष उमेर पुगेका मतदातालाई कार्तिक मसान्तसम्म सहभागी गराउने व्यवस्था गरे पनि त्यो उत्साह जगाउने पर्याप्त कारण ठहर्दैन । दलहरूबीचको अविश्वास र अन्तर दल–कलह अझै पनि पुरानै ढर्रामा छ । प्रमुख तीन दलका शीर्ष नेताहरू नेतृत्व हस्तान्तरणका पक्षमा छैनन् । नयाँ पुस्ता र जेनजी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता र प्रणालीगत परिवर्तनका मागहरू अझै पनि दलका भित्री शक्ति–संरचनामा हराइरहेका छन् । जनताको असन्तुष्टि सडकमा पोखिँदै जाँदा, आन्दोलनहरूमा हिंसा र तोडफोडले स्थान लिँदा, राजनीतिक दलहरूको आत्ममूल्यांकन शून्य बनेको छ । काभ्रेपलाञ्चोकमा ३ लाख १२ हजार ९ सय ७९ मतदाता छन् । यसबीचमा न त मतदाता सचेतना अभियान चले, न त दलहरूले गाउँस्तरमा संगठन सक्रिय राख्न सके । मतदाताको संख्या बढ्दै नजाने अर्थ हो विश्वास घट्दै गएको छ ।
    जबसम्म दलहरू भित्रै लोकतान्त्रिक मूल्य पुनःस्थापित हुँदैनन्, तबसम्म निर्वाचन केवल मिति, तालिका र नाराको खेल मात्रै बन्नेछ । मतदाताले तालिका हेरेर होइन, विश्वास गरेर मतदान गर्छन् । त्यो विश्वास पुनः जगाउने जिम्मा अब दलहरूको काँधमा छ ।