आर्थिक वर्ष २०८१/०८२ मा काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहहरूले प्रस्तुत गरेका असल अभ्यासहरूले संघीय संरचनामा स्थानीय सरकारको भूमिकालाई जीवित र सशक्त बनाएको छ । पालिकाले आफ्ना उपलब्धिहरू अन्तिम सार तथा निश्कर्ष भनेको स्रोत र साधन सीमित भए पनि इच्छा शक्ति र नेतृत्व प्रभावकारी भए परिणाम देखिन्छ भन्ने नै हो । जुन जिल्लाका पालिकाहरुले प्रयत्न गरेका छन् ।
धुलिखेलले एशियाको दोस्रो र नेपालको पहिलो स्वस्थ शहरको मान्यता पाएर स्थानीय तहकै हैसियतमा अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएको छ । आत्महत्या न्यूनीकरणदेखि डिजिटल घर नम्बर र संग्रहालयसम्मका कामले यस नगरलाई नमूना बनाउन थालेको छ । बेथान्चोकले कृषकलाई सहुलियत ऋण र ब्याजदर अनुदान दिएर उत्पादनमुखी अर्थतन्त्रको बाटो देखाएको छ भने रोशीले पूर्ण खोप पालिका घोषणा र विपद् हेल्प डेस्क सञ्चालन गरेर नागरिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कामलाई प्राथमिकता दिएको छ । महाभारत गाउँपालिकाले कफी खेतीलाई नगदेबालीका रूपमा उचाल्दै जसले रोप्छ कफीको बोट, उसले पाउँछ रुपैयाँको नोट अभियानमार्फत हजारौं विरुवा वितरण गरेको छ । त्यहाँ शिक्षा, स्वास्थ्य र श्रम पोर्टलजस्ता नवीन प्रयासहरू पनि प्रशंसनीय छन् । भुम्लुले तितेपाती तेल प्रशोधन र डढेलो मुक्त पालिका घोषणादेखि विद्यार्थी प्रोत्साहन कार्यक्रमसम्मका काम गरेर स्थानीय सरकारको बहुआयामिक भूमिका देखाएको छ । पाँचखालले विषादी रहित कृषि अभियान, चौरीदेउरालीले कृषि पकेट क्षेत्र, खानीखोलाले कफीमा जसको उत्पादन उसैलाई अनुदान, बनेपाले लायकु हाटबजार र निःशुल्क पशु बीमा, मण्डनदेउपुरले पूर्ण खोप घोषणा र इसेवा सेवा र नमोबुद्धले जलाधार संरक्षण तथा कोल्ड स्टोर जस्ता कार्यक्रमलाई असल अभ्यासका रूपमा अघि सारेका छन् ।
यी उपलब्धिहरूमा साझा धागो छ कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र डिजिटलिकरण । यी पाँचै क्षेत्र स्थानीय सरकारका आधारभूत जिम्मेवारी मात्र होइन, स्थानीय विकासको मेरुदण्ड पनि हुन् । तर असल अभ्यास प्रस्तुत गर्नु मात्रै पर्याप्त हुँदैन । ठूला योजनाहरूको दिगोपनाबारे प्रश्न उठ्छ । उदाहरणका लागि, विषादी रहित कृषि अभियान वा तितेपाती तेल प्रशोधन जस्ता कार्यक्रम प्रारम्भ त भएका छन्, तर दीर्घकालीन बजार, प्रविधि र बजेट सुनिश्चित नभए तिनीहरू प्रारम्भिक उत्साहमै सीमित हुने सम्भावना छ । पनौती नगरपालिकाको अनुपस्थितिले अर्को प्रश्न जन्माएको छ के सबै स्थानीय तहले समान रूपमा दायित्व निर्वाह गरेका छन ? सामूहिक कार्यक्रममा अनुपस्थित रहनु असल शासन र जवाफदेहिताको दृष्टिले राम्रो संकेत होइन । यस्तै, धेरै पालिकाले कृषि क्षेत्रमा अनुदान र सहुलियत ऋणमा जोड दिएका छन ्। तर अनुदानमा निर्भरता दीर्घकालीन समाधान होइन । किसानलाई आत्मनिर्भर र बजारमुखी बनाउन आवश्यक नीति र संरचना अझै कमजोर छन् ।
असल अभ्यासको वास्तविक मूल्य नागरिकले अनुभूति गर्ने क्षणमै देखिन्छ । बनेपाको हाटबजारमा उत्पादक र उपभोक्ता प्रत्यक्ष जोडिनुले असल अभ्यास नागरिक जीवनसँग प्रत्यक्ष सम्बन्धित भएपछि मात्र दिगो हुने स्पष्ट सन्देश दिएको छ । त्यस्तै, धुलिखेलको आत्महत्या न्यूनीकरण वा रोशीको निःशुल्क स्वास्थ्य बीमाले प्रत्यक्ष लाभ लिएका परिवारका कथा असल अभ्यासलाई जीवन्त बनाउने तत्व हुन् । स्थानीय सरकारले आफ्नो कामको प्रचार मात्र नभई नागरिक स्वामित्व बढाउनुपर्छ, जसले गर्दा नागरिकले नै असल अभ्यासलाई निरन्तरता दिने दवाब सिर्जना गर्नेछन् । प्रस्तुत भएका असल अभ्यासहरूलाई दीर्घकालीन नतिजामा रूपान्तरण गर्न नीति र कानूनी स्थायित्व, स्रोतको सुनिश्चितता, नागरिक–सरकार साझेदारी आवश्यक छ । २०८१/०८२ का यी अभ्यासहरूले काभ्रेपलाञ्चोकलाई देशभरकै लागि एउटा प्रयोगशाला बनाइदिएको छ । कृषि उत्पादनदेखि स्वास्थ्य सेवा, शिक्षा सुधारदेखि वातावरण संरक्षणसम्मका अभ्यासहरूले देखाएको बाटो अन्य जिल्लाले पनि अनुसरण गर्न सक्छन् । तर असल अभ्यासलाई रिपोर्ट पेस गर्ने औपचारिकतामा सीमित राख्ने हो भने यसको मूल्य खस्किन्छ । अब स्थानीय तहहरूको प्राथमिकता असल अभ्यासलाई दिगो संस्थागत संरचनामा परिणत गर्ने हुनुपर्छ । स्रोत सीमित छन्, तर सोच र नेतृत्वले चमत्कार गर्न सक्छ । असल अभ्यासलाई निरन्तरता दिने हो भने स्थानीय सरकार मात्र होइन, नागरिक जीवन नै रुपान्तरण हुन्छ ।









