2026 May 31/ 02:28: 55am

    सरकारको लगानी भएका सामुदायीक विद्यालयहरुलाई स्थानीय सरकारले चासो र ब्यवस्थापनमा ध्यान दिएका कराण सुधारोन्मुख हुन थालेका छन् । जिल्लाका केहि विद्यालयको संख्या कटौतीमा परेको छ । विविध कारणवश बालबालिकाहरुको संख्या घटिरहेको अवस्थामा विद्यालय एकीकरण गर्ने र त्यहाँ भएको जनशक्ति तथा पूर्वाधारलाई स्थानीय तहले समेटेका कारण सामुदायीक विद्यालयको गुणस्तर सुधारमा फड्को मारिरहेको छ । 
    सदरमुकाम भएको नगरपालिका धुलिखेलमा रहेका अधिकांश सामुदायीक विद्यालयहरुले गुणस्तर सुधारका लागि फरक फरक सोच र योजना कार्यान्वयनमा ल्याएका छन् । जसका लागि नगरपालिकाले आवश्यक समन्वय सहितको अभिभावकीय भूमिका निभाएको छ । स्थानीय सरकार र वडा सरकारको सक्रियताका कारण सामुदायिक विद्यालयहरुले आफुलाई परिमार्जन गर्दै लगेका छन् । त्यसको ज्वलन्त उदाहरण धुलिखेल ५ श्रीखण्डपुरमा रहेको श्रीखण्डपुर मावि र धुलिखेल २ मा रहेको सेतिदेवी मावि, धुलिखेल ७ मा रहेको सञ्जीवनी र पूर्ण सञ्जीवनी नमूना विद्यालय हुन् । अन्य माध्यमिक तह तथा आधारभुत तहका विद्यालयहरुले पनि उदारणीय सुधार गरेका छन् । 
    श्रीखण्डपुर माविको कुनै बेलाका इतिहास फरक थियो । अहिले काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक तथा ललितपुर जिल्लाबाट रोजगारका लागि शहर प्रवेश गरेका अभिभावकका सन्तानको स्थायी विद्यालय हो धुलिखेल ५ स्थित श्रीखण्डपुर माध्यमिक विद्यालय । चालु शैक्षिक सत्रमा ३६९ जना विद्यार्थी अध्ययनरत थिए । जसमध्ये ३ सय भन्दा धेरै विद्यार्थीको श्रीखण्डपुरमा अस्थायी बसोबास छ । ‘अस्थायी’ बसोबासीको ‘स्थायी’ विद्यलाय बनेको छ श्रीखण्डपुर मावि । स्थानीयसँगै अस्थायी बसोबासीहरुको आकर्षण बढेको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बालबालिकाहरुलाई आवश्यक पर्ने हरेक खालका शैक्षिक गतिविधिमा सहयोग गर्न वडा कार्यालय तयार भएको छ । वडाले विनियोजन गरेको बजेट मार्फत अभिभावक साझेदारी कार्यक्रम मार्फत कक्षा ६ देखि १० सम्मका बालबालिकाहरुका लागि दिवा खाजाको ब्यवस्थापन गरिएको छ । वडा कार्यालयले विनियोजन गरेको ४ लाख रुपैया बजेट मार्फत बालबालिकाहरुका लागि दिवा खाजा तथा शिक्षकहरुलाई नमूना विद्यालय अवलोकन गराईएको छ । 
    विद्यालयमा जंकफुड निषेध गर्ने उदेश्यले सरकारले उपलब्ध गराएको शुन्य–पाँच कक्षाका विद्यार्थीहरुका लागि दिवा खाजा थप गरेर सबै विद्यार्थीहरुका लागि अभिभावक विद्यालय र वडा कार्यालयको साझेदारीमा चालु शैक्षिक सत्रमा पूर्ण रुपमा कार्यान्वयन गरिएको छ । आगामी शैक्षिक सत्रमा वडा कार्यालयले बजेट विनियोजन गरी विद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने गरी शिक्षक कर्मचारीको ब्यवस्थापन गरिनेछ । विद्यालयमा दैनिक ज्यालादारी गर्ने अभिभावकहरुका सन्तान अध्ययन गरिरहेका छन् । उनिहरुले बालबालिकाहरुलाई नियमित खाजा लगायत अन्य शैक्षिक सामाग्रीको ब्यवस्थापन गर्न कठिन छ । गरिब विद्यार्थीहरुका लागि विद्यालय आफैले खर्च ब्यवस्थापन गर्ने गरी शिक्षा उपलब्ध गराएको छ । विद्यालयले अन्य सुधारका विविध कार्यक्रमहरु लागु गरेको छ । तल्लो तह देखिको गुणस्तर कायम गर्न एमजीएमल कार्यक्रम लागु गरेको छ । एमजीएमल विद्यार्थी सिकाईका लागि अर्काे महत्वपूर्ण माध्यम बनेको छ । यसले माध्यमिक तहसम्मको शैक्षिक गुणस्तर कायम राख्न सहज भएको छ । धुलिखेलका ३९ वटा विद्यालयमा यस्ता कार्यक्रम प्रभावकारी भएका छन् । यसले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा थप सहयोग पुगेको छ ।