खुल्ला सिमाना, सहज र सुलभ यातायात, सडक तथा सम्पर्कका कारण छिमेकी देशबाट नेपालमा लागु औषध प्रयोगकर्ता तथा लागु औषध निर्यातको क्रम बढिरहेको छ । जिल्ला सदरमुकाम, ब्यापारीक नगरी बनेपालाई मुख्य केन्द्र बनाउँदै प्रयोगकर्ता र ब्यवसायीहरुले राजधानीका लागि सक्रियता बढाएका छन् । प्रहरीको निगरानीका बाबजुत प्रयोगकर्ता आफै ब्यवसायीका रुपमा देखा परेका छन् । पछिल्ला केहि घटनाक्रम, एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधनको प्रयोग लगायतबाट पनि लागु औषध प्रयोगकर्ताहरुले ओसारपसारलाई सहज बनाईरहेका छन् । यसको न्यूनीकरणका लागि विद्यालय तह देखिको सचेतना र त्यसका असरका बारेमा जानकारी गराउनु जरुरी छ ।
एक ग्राम खैरो हिरोईनलाई ५÷६ हजार रुपैयाँ पर्ने भएकाले लागु औषध प्रयोगकर्ताहरुले सामुहिक रुपमा भारत गएर दलाल मार्फत खरिद गरेर ल्याउने र काभ्रेका विभिन्न क्षेत्रमा विक्री गर्ने गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रयोगकर्ताहरुले दैनिक एक देखि दुई हजार रुपैयाँसम्मको लागु औषध प्रयोग गर्ने गरेका छन् । बनेपामा सुनचाँदीको ब्यवसाय गर्ने विकास विकले सुन जोख्ने तराजुमा लागु औषध खैरो हिरोईन जोखेर विक्री गर्ने गरेको खुलासा भएको छ । घर घरमा तराजु पठाएर खैरो हिरोईनको ग्राम जोख्ने र विक्री गर्न सहजीकरण गर्ने कार्यमा विकासको संलग्नता देखिएको हो । बजारमा सुनको मुल्य अत्याधिक भई ब्यापार ब्यवसायमा समेत असर परिरहेको, बजारमा मन्दि छाएको मौका छोपी उनि आफै प्रयोगकर्ताका रुपमा ब्यवसायी बनिरहेको तथ्यले पुस्टि गरेको छ । यो गम्भिर चुनौती र अपराधको फरक सुचकका रुपमा लिन सकिन्छ ।
प्रहरीको सूचीमा विकास फरार छन् । सुनको कारोवार महङ्गो भएको, ब्यवसायमा मन्दी आएका कारण गलत बाटोबाट चाँडै धनी बन्ने नाममा उनको समुहले खैरो हिरोईनको कारोवार गर्ने गरेको खुलासा भएको हो । प्रहरी विधि विज्ञान प्रयोगशालाको परिक्षण प्रतिवेदनले पनि लागु औषध (खैरो हिरोईन) बरामद भएको इलाका प्रहरी कार्यालय बनेपाले पुष्टी गरेको छ । लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले २०८१ जेठ महिनामा बनेपाबाट एउटा समुह खैरो हिरोईन सहित पक्राउ गरेको थियो । सोहि टोलीको बयानका आधारमा प्रहरी भारत तथा नेपालका विभिन्न स्थानमा अनुसन्धानमा पुगेको थियो । टोलीले खैरो हिरोईनको सञ्जाल, खरिद विक्री गर्ने कारोवारी समुह तथा प्रयोगकर्ताका बारेमा अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरुले विक्री गर्ने दलालले प्रति ग्राम ५÷६ हजार रुपैयाँ लिने र आफै भारत गएर ल्याउँदा प्रति ग्राम २५ सय रुपैयाँ पर्ने बयान दिएका छन् । बनेपामा प्रयोगकर्ताहरु जम्मा हुने, सामुहिक रकम संकलन गर्ने, संकलित रकम लिएर झापा हुँदै भारत जाने, त्यहाँ दलाल मार्फत लागु औषध लिने र फर्कने, बनेपामा ल्याएर रकम अनुसारको दामासाही वितरण गर्ने गर्दै आएको प्रहरीले फेला पारेको छ । पक्राउ परेकाहरुबाट डिजिटल तराजु सहित लागु औषध लैजाँदै गरेका ब्यक्तिलाई नियन्त्रणमा लिए पछि घटनाका बारेमा खुलासा भएको हो । आर्थिक वर्ष २०८०/०८१ मा लागु औषध सम्बन्धी २० वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये १७ वटा फछ्र्याैट भएका छन् भने चालु वर्षका लागि ३ वटा सरेका थिए । दर्ता भएका मध्ये लागु औषध हिरोईन सम्बन्धी २ वटा, गाँजा चरेश सम्बन्धी १४ वटा र अन्य ४ वटा मुद्दा दर्ता भएका थिए । चालु वर्षमा पनि आधा दर्जन भन्दा धेरै मुद्दा दर्ता भएका छन् । यसको निगरानी, घरघरबाट खबरदारी तथा ओसारपसारमा कडाई गर्न सकिएन भने हरेक घर भित्र यसका प्रयोगकर्ताहरु फेला पर्न सक्ने जोखिम बढेको छ । तत्काल नियन्त्रण र न्यूनिकरणमा सबै पक्षको सक्रियता आवश्यक छ ।









