2026 May 31/ 02:28: 54am

    सरकारले महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन शुरु गरेको खोप अभियान सकिएको छ । महत्वकांक्षा तर अनिवार्य सहितको अभियान सफल भए पनि पाठेघरको मुखको क्यान्सरबाट जोगाउन ३० वर्ष देखि ४९ वर्षसम्मका महिलाहरुको स्क्रिनिङ्ग गर्ने अभियानलाई थप सशक्त बनाउन आवश्यक छ । सरकारका कार्यक्रम शहरी क्षेत्रमा केन्द्रित हुने तर ग्रामीण क्षेत्रमा प्राथमिकतामा नपर्ने कारण रोगको भण्डारण रहेको, अस्पताल तथा स्वास्थ्य सेवा पाउनबाट बञ्चित, सचेतनाको कमी भएका क्षेत्रका महिलाहरु यो रोग र संक्रमणबाट थप पीडामा पर्न सक्ने तर्फ केन्द्रित हुन आवश्यक छ । स्थानीय सरकारले कतैकतै शिविर संचालन गर्ने, बार्षिक कार्यक्रममा समेत समेट्ने र स्वस्थ नागरिकका लागि कार्यक्रम गरिएको भए पनि श्रोत, साधन र दक्ष जनशक्ति सहित प्रविधिको अभावले नागरिकहरुले गुणस्तरीय सेवा पाउनबाट बञ्चित हुनु परेको छ । 
    राष्ट्रिय स्तरमा संचालन भएको अभियान जिल्लाका १३ पालिकामा निर्वाध रुपमा संचालन भयो । जसमध्ये खानीखोला, नमोबद्ध, भुम्लु, तेमाल गाउँपालिकामा ९९ प्रतिशत बालिकाहरुले खोप लगाएका छन् । बनेपा, पाँचखाल, बेथान्चोक गाउँपालिकामा ९८ प्रतिशत बालिकालाई खोप लगाईएको छ । रोशी गाउँपालिकाले ९५ प्रतिशत, मण्डनदेउपुर र पनौती नगरपालिका ९४ प्रतिशत, महाभारत गाउँपालिकामा ९३ प्रतिशत खोप लगाईएको छ । सबै भन्दा कम चौरीदेउरालीमा ८१ प्रतिशत र धुलिखेलमा ८५ प्रतिशत बालिकाहरुले खोप लगाएका छन् । कुल १५ हजार ३ सय ४४ जना बालिकाहरुले खोप लगाए । राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि शुरु भएको खोप अभियान सकिएको छ । २०८१ माघ २२ देखि शुरु भई फागुन ६ गते सकिएको हो । १६ हजार ९७ जना बालिकाहरुलाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा १५ हजार ३ सय ४४ जना बालिकाहरुलाई खोप लगाईएको छ । लक्ष्यको ९५ प्रतिशत बालिकाहरुले खोप लगाएका छन् । कक्षा देखि १० सम्म अध्ययन गर्ने विद्यालयका बालिका तथा विद्यालय बाहिर रहेका १० वर्ष देखि १४ वर्ष उमेरसम्मका बालिकाहरुका लागि उक्त खोप लगाईएको थियो । 
    काभ्रेपलाञ्चोक जिल्लामा लक्ष्यको ९५ प्रतिशत बालिकाहरुले उक्त खोप लगाएका छन् । अशिक्षा, चेतनाको कमी तथा विभिन्न कारणवश लक्ष्य अनुसार केहि प्रतिशत खोप लगाउने बालिकाको संख्या कम भएको जनस्वास्थ्य कार्यालय काभ्रेको निश्कर्ष छ । जिल्लाले १६ हजार ९७ जना बालिकाहरुलाई खोप लगाउने योजना तय गरेको थियो । सोहि परिणाममा ल्याएको खोपका आधारमा बालिकाहरुलाई खोप केन्द्रमा खोप लगाईएको थियो । अधिकांश पालिकाहरुले लक्ष्यको ९९ प्रतिशत खोप लगाएका छन् । सबै भन्दा कम चौरीदेउराली गाउँपालिकामा ८१ प्रतिशत खोप लगाएका छन् भने धुलिखेलमा ८५ प्रतिशत खोप लगाएका छन् । ४ सय ५० बालिकाहरुलाई खोप लगाउने लक्ष्य राखिएको चौरीदेउराली गाउँपालिकामा ३ सय ६४ जनालाई खोप लगाईएको थियो । धुलिखेल नगरपालिकामा १४ सय १६ बालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा १२ सय ४ जनाले मात्रै खोप लगाएका थिए । कतिपय बालिकाहरुले खोप लगाउन नमानेको विद्यालयहरुले जानकारी गराएका छन् ।
    महिलाहरुमा हुने पाठेघरको क्यान्सर जस्तो घातक रोगबाट भविष्यका कर्णधारको रुपमा रहेका बालिकाहरुलाई बचाउने दायित्व अनुरुप सरकारले अभियान चलाएको हो । खोप अभियानसँगै ३० वर्ष पुरा भएका ५० वर्ष नकटेका महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्वन्धि परिक्षणलाई तिब्र बनाउन आवश्यक छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच.पि.भि.हो । यो भाइरसको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन् । तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छन् । यसमध्ये प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन् भन्ने कुरा बिभिन्न अध्ययनहरुले देखाएको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाइन्छ । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एचपीभी भाइरसको संक्रमणबाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ भने विभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ । यसबाट बच्न र बचाउन सचेतना सहितका कार्यक्रम आवश्यक छन् ।