‘बहुकक्षा, बहुस्तर सिकाई’ सरकारले केहि दशक अघि यो कार्यक्रम सामुदायिक विद्यालयमा शुरु गरेको भए पनि निरन्तरता दिन सकेन । प्रभावकारी सिकाई उपलब्धीका लागि यो कार्यक्रम बालबालिकाहरुका लागि महत्वपूर्ण मानिए पनि सरकारका तीन तहले नै प्राथमिकता दिन सकेका छैनन् । जुन जुन पालिकाका विद्यालयहरुले यो कार्यक्रमलाई महत्वपूर्ण सिकाई उपलब्धीको विधि सम्झन पुगे वा प्राथमिकतामा राखे उनिहरुले यसबाट सिकाई उपलब्धी प्राप्त गर्न थालेका छन् । बालबालिकाहरु अध्ययन भन्दा प्रविधिको प्रयोगमा रुची राख्न थालेका छन् । बालबालिकाहरुको रुची अनुसारको सिकाई उपलब्ध गराउन, सिकाई पछिको उपलब्धी प्राप्तीका लागि बहुकक्षा, बहुस्तर अर्थात एमजीएमएल कार्यक्रम प्रभावकारी देखिएको छ ।
विशेषगरी धुलिखेल नगरपालिकासँगको समन्वय र सहकार्यमा शैक्षिक सशक्तिकरण केन्द्र मार्फत सिकाई उपलब्धीका असल अभ्यासहरुले आगामी दिनमा समग्र विद्यालयमा उक्त कार्यक्रम संचालन गर्ने योजना निर्माणमा समेत सहजता भएको छ । एमजीएमल पद्धतीको सफल अभ्यास तथा प्रभावकारीताबारे धुलिखेलमा रहेका २२ वटा विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले सिन्धुपाल्चोक जिल्लामा रहेको विद्यालयको समेत अवलोकन गरी आफ्नो वियद्यालयमा प्रभावकारी संचालनका लागि आवश्यक रणनीति तयार गर्ने योजना बनाएका छन् । आधारभूत शिक्षाको गुणस्तर सुधारका निमित्त जर्मन नेपाल सहयोग संघ र धुलिखेल नगरपालिकाको सहकार्यमा शैक्षिक सशक्तिकरण केन्द्रले कक्षाकोठा तथा विद्यालय बालमैत्री तवरमा पुनव्यवस्थापन गर्ने, बालकेन्द्रित पठनपाठनमा आधारित कृयाकलाप तथा प्रकृया संचालन गर्ने, आवश्यक शैक्षिक तथा पठन सामाग्री प्रयोग गर्ने, शिक्षकहरुको दक्षता अभिबृद्धि गर्ने र सरोकारवालाहरुसँगको साझेदारी तथा समन्वयमा बढावा दिने कार्यक्रम प्रभावकारी देखिएको छ । विद्यालयले गरिरहेको अभ्यास, कक्षाकोठा ब्यवस्थापन तथा सामाग्रीको पर्याप्तता, विहानी बैठक, विषयगत शिक्षण तथा शिक्षण सिकाई पद्दती र सामाग्रीहरुको प्रयोग, मुल्यांकन पद्दती, शिक्षक–शिक्षक तथा प्रधानाध्यापक र शिक्षक बीचको समन्वय र सहकार्य, आमा समुह, अभिभावक तथा सरोकारवालासँगको समन्वय र सहकार्य, एमजीएमल संचालनको प्रभावकारीता, चुनौती र समाधान, दिगोपनाका बारेमा स्थानीय सरकार सचेत रहनु आवश्यक छ ।
विद्यालयमा शुरु गरिएको उक्त कार्यक्रम प्रभावकारी रहेकाले बालबालिकाहरुको सिकाई अभिबृद्धिका साथै संस्कार र ब्यवहारीक तथा बालबालिकाहरुमा निडरता प्राप्त गरेको शिक्षकहरुको अनुभुति मात्रै नभई बालबालिका र अभिभावकहरुलाई अभ्यास गराउन कठिन हुँदा हुँदै पनि सिकेर र बुझ्दै गए पनि सहज हुँदै गएको छ । धुलिखेलका २२ वटा विद्यालयको अलावा सिन्धुपाल्चोक जिल्लाका केहि विद्यालय यसका नमुना छन् । इन्द्रावती गाउँपालिकामा रहेको पञ्चकन्या आधारभुत विद्यालयका विद्यार्थीहरुको सिकाई फरक छ । २०७७ सालसम्म बालबालिकाहरु कक्षा कोठा भित्र बस्नै मान्दैन थिए । कतिबेला शिक्षकलाई बाहना बनाएर कक्षा छाडेर निस्कम भन्ने योजनामा रहने बालबालिकाहरु २०७८ साल पछि कक्षा कोठा छाडेर निस्कनै मानिरहेका छैनन । कक्षाकोठा भित्र उपलब्ध पर्याप्त शैक्षिक सामाग्री, बालमैत्री कक्षाकोठा, अध्ययन सामाग्री तथा शिक्षकको बालमैत्री ब्यवहार र सिकाईले बालबालिकाहरु कक्षा कोठामा रमाएका मात्रै छैनन । सिकाई उपलब्धीमा समेत महत्वपूर्ण उपलब्धी हासिल भएको छ । बालबालिकाहरु पुराना कक्षा कोठामा रमाउन सकेका थिएनन् । अहिले कक्षा कोठा भित्रको ब्यवस्थापनले कक्षा छाड्न मानेका छैनन् ।
प्रभावकारी यस्ता कार्यक्रमलाई हरेक स्थानीय तहले प्राथमिकतामा राख्न सकेको अवस्थामा बालबालिकाहरुको सिकाईमा अभिबृद्धि भई गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको योजनामा समेत थप मद्दत पुग्नेछ । स्थानीय सरकारको रोजाईमा यस्ता कार्यक्रम संचालन हुनु आवश्यक छ ।









