पछिल्लो समय बालबालिकाहरु अभिभावकविहीन हुने क्रम बढेको छ । पहिला पहिला बाबु वा आमा मध्ये एक गुमाएका, दुबै गुमाएका, आफन्त गुमाएका बालबालिकाहरु अभिभावकविहीन हुने गरेका थिए । अहिले समय बदलिएको छ । अभिभावकहरु सबै छन् । तर पनि बालबालिकाहरु अभिभावकविहीन बनिरहेका छन् । त्यसका थुप्रै कारणहरु छन् । तर पनि एउटै कारण बाबु आमा आफुखुशी विवाह गर्ने, सम्बन्ध राख्ने, बच्चा जन्माउने र बच्चा हुर्काउने बेला अलग हुने । त्यसले बालबालिकाहरुलाई पर्ने दीर्घकालीन असरहरु देखिन थालेका छन् ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतमा आर्थिक वर्ष २०८०÷०८१ मा पारिवारीक विवादका १ हजार १ सय १९ वटा मुद्दा दर्ता भए । जसमध्ये ६ सय १९ वटा मात्रै सम्वन्ध विच्छेद भएका छन् । आर्थिक वर्ष आर्थिक वर्ष २०७९÷०८० मा पारिवारिक विवादका १ हजार २ सय ३७ वटा मुद्दा दर्ता भएका थिए । सोहि वर्षमा ६ सय ५९ वटा मुद्दा सम्बन्ध विच्छेदका थिए । पारिवारिक विवाद र सम्बन्ध विच्छेदका मुद्दा अघिल्लो वर्षको तुलनामा केहि कमी भएको छ । विवाह, सम्बन्ध विच्छेद, अंशवण्डा, अपुताली, मानाचामल, अन्य पारिवारिक विवादको संख्यामा कमि देखिए पनि त्यसले पारेको दीर्घकालीन असर बढेको भन्दै थप गुनासा र उजुरी बोकेर आउनेहरुको संख्या बढेको छ । पारिवारिक विवाद, सम्पत्ति सम्बन्धी विवाद, भूमि सम्बन्धी विवादका मुद्दाहरुमा बढोत्तरी हुन थालेको छ । प्रविधी, खुल्लापन, अविश्वास, असमझदारी, आशंकाका कारण समाजमा पारिवारिक सम्बन्ध विंग्रँदै गएका छन् । ब्यक्तिका सम्बन्ध भत्कँदै गएका छन् । अदालतमा मुद्दा दर्ता गरेर सम्बन्ध विच्छेद भएका ब्यक्तिहरुले आफ्नै सन्तानलाई विचल्ली बनाएका छन् । बाबु र आमा दुवैले सन्तानको जिम्मेवारी लिँदैनौ भन्दै बहस गरिरहेका हुन्छन । सम्बन्ध विच्छेद र पारिवारिक असमझदारीले समाजमा विग्रह मात्रै निस्कँदै छैन । बालबालिकाहरुको अन्धकार भविष्य, गलत संगतका कारण हुन सक्ने अपराधका बारेमा समेत सचेत भएको देखिदैन ।
आर्थिक वर्ष २०८०÷०८१ मा काभ्रेपलाञ्चोक जिल्लामा मात्रै विवाह सम्बन्धी दर्ता भएका २ वटा मुद्दा अझै फछर्याैट भएको छैन । सम्बन्ध विच्छेदका ६ सय १९ मध्ये १ सय २० वटा फैसला हुन बाँकी छ । अंशवण्डा सम्बन्धी ४ सय ५४ वटा दर्ता भएकोमा २ सय ११ वटा अझै फैसला हुन बाँकी छ । अपुताली सम्बन्धी ४ वटा मुद्दा दर्ता भएकोमा सबै फैसला हुन बाँकी छन् । मानाचामल सम्बन्धी ३७ वटा दर्ता भएकोमा १५ वटा बाँकी छन् । नाता कायम सम्बन्धी ३ वटा मुद्दा दर्ता भएकोमा ३ वटै बाँकी छन् । सम्पत्ति सम्बन्धी विवादमा भोगाधिकार सम्बन्धी १ वटा, जग्गा सम्बन्धी ५६ वटा, लेनदेन सम्बन्धी ३ सय ७५ वटा, सार्वजनिक जग्गा सम्बन्धी ३ वटा, सम्पत्ति हस्तान्तरण सम्बन्धी ४ वटा, लिखत बदर सम्बन्धी ३ सय ४८ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७९÷२०८० मा विवाह सम्बन्धी एउटा मुद्दा दर्ता हुँदा सम्वन्ध विच्छेदमा ६ सय ५९ वटा मुद्दा दर्ता भए । जसमा ५ सय ३८ वटा फछर्याैट भएका थिए । मातृत्व तथा पितृत्व कायम सम्बन्धी एउटा मुद्दा दर्ता भएको थियो । सम्बन्ध विच्छेद पछि अंश बण्डा सम्बन्धी ५ सय १९ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये ३ सय ४ वटा मुद्दा फैसला भए । अपुताली सम्बन्धी ६ वटा मुद्दा दर्ता भई ५ वटा फछर्याैट भएका थिए । मानाचामल सम्बन्धी ४९ वटा दर्ता भए । जसमा ३१ वटा सोहि आर्थिक वर्षमा टुंगिए । नाता कायम सम्बन्धी २ वटा गरी सोहि आर्थिक वर्ष पारिवारिक विवादका १ हजार २ सय ३७ मुद्दा दर्ता भएका थिए । जसमध्ये ८ सय ८२ वटा फछ्र्याैट भए भने ३ सय ५५ वटा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेका थिए ।
पारिवारीक विवादहरु मिल्न नसक्दा हुन थालेका असहजताले भोलिको समाज, समुदाय र परिवार कस्तो हुने हुन् ? प्रश्न उठ्न थालेको छ ।





