2026 April 20/ 04:10: 00pm

    काभ्रेका विभिन्न क्षेत्रमा नक्कली नोटको विगविगी भएको छ । प्रहरीले गरेको अनुसन्धानमा राजनीतिक आस्थाका आधारमा संलग्नलाई कारवाही नगरेका कारण नक्कली नोटको कारोवार बढेको हो । खानीखोला गाउँपालिकामा नेपाली काँग्रेसका नेता समेत रहेका पूर्व जनप्रतिनिधीहरु नक्कली नोटको कारोवारमा संलग्न भएको अडियो, भिडियो र स्थानीयले प्रमाण सहित प्रहरीलाई उजुरी गरेका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेले उक्त घटनालाई सामसमु बनाउन अनुसन्धानको नाममा संलग्नलाई उम्काउने प्रयत्न ग¥यो । त्यसकै फलस्वरुप नक्कली नोटका कारोवारीहरु हौसिए । त्यसकै प्रमाणस्वरुप बनेपाको मोवाईल पसलमा मोवाईल किनबेच र मर्मत नभई नक्कली नोटहरु धमाधम खरिद विक्री गर्ने साहस भयो । ललितपुरको गोदावरीमा भएको कारोवारका आधारमा ललितपुर प्रहरीले गरेको अनुसन्धानले काभ्रेका युवाहरु तानिएका छन् । उनिहरुको साथबाट नक्कली नोट छाप्ने मेशिन सहित नोटहरु बरामद भएका छन् । यसको नियन्त्रणमा प्रहरीले किन चासो दिन सकेन ? 
    खानीखोलामा संचालन भएको जात्रामा भेटिएका नक्कली नोटहरुको कनेक्सनमा पनि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । पनौतीमा पनि केहि नक्कली नोटहरु भेटिएका थिए । खानीखोलामा संलग्न ब्यक्तिहरुलाई समयमै अनुसन्धान गरेर कारवाही नगरकै कारण बनेपामा मोवाईल पसल राखेका युवालाई नक्कली नोट छाप्ने साहस बढेको थियो । एचएम मोवाईल केयर नामको पसल बनेपा ५ रेडक्रस भवनको नजिकै थियो । उनी मोवाईल बनाएर विक्री गर्ने गर्दथे । नयाँ भन्दा पनि पुराना मोवाईलको मर्मत धेरै हुन्थ्यो । पसल राखेको धेरै समय भएको थिएन । मकवानपुर जिल्ला घर भई काभ्रेको बेथान्चोक गाउँपालिका ३ घर भएका २५ वर्षीय युवा सबिन हुमागाई बनेपाबाट पक्राउ परे पछि मात्रै थप रहस्य खुल्यो । युवाहरुमा मेहनत गर्नु पर्छ, परिश्रमको फल मिठो हुन्छ भन्ने सोच हराउन थालेको छ । काम नै नगरी चाँडै धनी बन्ने सपना बुन्न थालेका युवाहरु यस्ता अपराधमा जोडिन थालेका छन् । नेपालमा काम गर्ने वातावरण भएन भन्दै युवाहरुले गुनासो गरिरहँदा राज्यका संयन्त्र समेत कमजोर बनेको उदाहरण तिनै युवा हुन् । 
    ललितपुरको गोदावरी नगरपालिका ३ टौखेलका ३७ वर्षीय करण प्रधानलाई पक्राउ गरेको थियो । चैत्र १ गते दिउँसोको समयमा करणले केहि सामान किन्ने नाममा एउटा पसलमा नक्कली नोटका केहि थानहरु दिए । हिडिरहेकै अवस्थामा प्रहरीले उनलाई पक्राउ ग¥यो । श्रोत खोज्दै जाने क्रममा प्रहरीले काभ्रे मण्डनदेउपुर ११ घर भएका सञ्जय अधिकारीलाई पक्राउ ग¥यो । सञ्जय मुख्य योजनाकार थिए । उनले सविनलाई पैसा छाप्न अर्डर गर्थे । १ लाख छापिदिए बापत ३० हजार दिन्थे । उनै सञ्जयलाई चैत्र २ गते पक्राउ ग¥यो । सञ्जयलाई पक्राउ गरे लगत्तै प्रहरीले थप अनुसन्धान सविनसम्म पुग्यो । सविनसँग जोडिएका युवाहरुको अनुसन्धान भईरहे पनि प्रहरीले थप ब्यक्ति पक्राउ गर्ने तर्फ ध्यान दिन सकेको छैन । भेटिएका आधारमा गरिएको सतही अनुसन्धान र दोषिहरुलाई बचाउन गरिने राजनीतिक षढ्यन्त्र अपराधको अर्काे शुरुवाती हो । प्रहरीले यसतर्फ गम्भिर भएर अनुसन्धान गरोस् ।