विजयादशमीको मध्य भागमा छौं । दशैंको टिका र त्यस पछिका आर्शिवादका लागि अग्रज तथा आफन्तकोमा जान, लामो समय आफन्तसँग भेटघाट नभएकाहरुले भेटघाट गर्ने, वर्षाैसम्म नमिलेको साईत मिलाउने, लुगाफाटा नयाँ लगाउँदै मिठो मसिनो खाने र शक्तिपीठहरुको दर्शन गर्दा ब्यक्ति, समुदाय, परिवार समेत खुशी हुने धार्मिक विश्वास छ । यो विश्वासलाई कायम राख्दै समुदायको सहिष्णुतालाई अझै बलियो बनाउन यस्ता धर्म, संस्कृति र चाडपर्वहरु महत्वपूर्ण मानिन्छन् । दशै, तिहार, नेपाल सम्वत, छठ, ल्होसार तथा विभिन्न समुदायले मान्ने चाडपर्वहरु समुदायका बलिया खम्बा हुन् । एकता, सहिष्णुता र विश्वासलाई अझै उचो राख्न विजया दशमी लगायतका चाडपर्वहरुले नयाँ आयाम ल्याउन सक्नुपर्छ । ब्यक्तिको खुशी मात्रै होईन चाडपर्व । मुलुकको आर्थिक गतिविधिको प्रमुख माध्यम पनि हुन् । यीनै चाडपर्वलाई भनेर घर देखि राष्ट्रसम्मले आर्थिक जोहो गरिरहेका हुन्छन् । त्यहि श्रोतलाई परिचालन गर्दा बजारको सन्तुलन कायम राख्न सहज हुन्छ ।
यतिबेला विश्व संकटमा छ । विभिन्न मुलुकहरुमा द्वन्द्व भईरहेको छ । द्वन्द्व भईरहेका मुलुकहरुमा नागरिकहरुले दैनिक ज्यान गुमाईरहेका छन् । नेपालमा द्वन्द्व त छैन तर मुर्दा शान्तिमा नागरिकहरुले खुशी ब्यक्त गर्न सकिरहेका छैनन् । भुकम्पको ऋण र क्षति नसकिदै कोभिडको महामारीले आक्रान्त बनेको समुदायलाई राहत दिने कुनै कार्यक्रम बन्न सकेनन् । सरकारले दिएको राहतले थप ऋण निम्त्यायो । त्यहि ऋण तिर्न नागरिक विदेशिन बाध्य भयो । शुरुमा काम गर्ने सिलसिलामा जान लागेका नेपालीहरु अहिले अध्ययनका नाममा विदेशिन थालेका छन् । विद्यार्थीहरुले खर्च गरेको रकमको पछिल्लो एक वर्षको तथ्यांक मात्रै पनि अरबौ छ । सरकार मुक दर्शक बनिरहेको छ । उद्योग कलकारखाना चल्ने वातावरण छैन । महङ्गीले आकाश छुन लागेको छ । नागरिकहरुलाई राहत दिने कार्यक्रम ल्याउन सरकार सकिरहेको छैन । कर्मचारीहरुलाई तलब खुवाउन ऋण उठाउनु परेको छ । सरकारलाई परेको समस्या अनेक होला तर नागरिकहरुले प्राप्त गरेको दुखले दशैं उल्लासमय छैन । ब्यवसाय ठप्प हुन थालेका छन् । बजारमा आन्दोलनका लागि बाहेक किनमेलका लागि नागरिक निस्कन सकिरहेको छैन । यस्तो अवस्थामा कसरी मनाउने उल्लासपूर्ण दशै ?
दशंै र तिहार पछि आर्थिक गतिविधिलाई चलायमान बनाउन कुनै नयाँ कार्यक्रम घोषणा हुन सकेनन् भने मुलुक आर्थिक संकटमा फस्ने निश्चित प्रायः छ । ब्यवसायीहरु पलायन हुन थालेका छन् । बैंक र सहकारीको ऋण तिर्न सक्ने आय आर्जन हुन छाडेको छ । सहकारीहरु भाग्न थालेका छन् । सानो सानो बचत फिर्ता हुन नसक्दा सहकारी क्षेत्रको अविश्वास बढिरहेको छ । उत्पादन ठप्प छ । आयात बढिरहेको छ । अराजकताले सिमा नाघ्न थालेको छ । सरकार यस्ता गतिविधिलाई नियन्त्रण गर्न तत्पर छैन । सरकारमा बसेकै दलका नेताहरु, मन्त्रीहरु, पूर्व सम्माननीयहरु तस्करी प्रकरणमा छन् । मुलुकलाई लुट्न, खोक्रो बनाउन तल्लिन समुह अझै सक्रिय छ । यो सरकारले त्यस्ता ब्यक्तिहरुलाई चोख्याउने बाहेक अरु नयाँ थप अनुसन्धान गरेको छैन । ग्रामीण क्षेत्रका सडकहरु भत्किएका छन् । निरन्तर वर्षात भईरहेको छ । स्थानीय सरकार पनि श्रोतको अन्धाधुन्द प्रयोग गरिरहेका छन् । नागरिकहरुलाई थोरै आय आर्जन हुने क्षेत्रमा लगानी हुन छाडेको छ । तर पनि दशैं मान्नुको विकल्प छैन । ऋण काटेर भए पनि मान्ने दशै दशा नबनोस् । सुरक्षित यात्रा, गुणस्तरीय खाना, सहज र सरल कार्यका लागि सरकार भएको अनुभूति होस् । गठबन्धनका नाममा मुलुक बन्धक बनेको, सरकारले नागरिकलाई सेवा दिन नसकेको, मुल्यबृद्धि आकाशिएको, आर्थिक संकट बढिरहेको अवस्थामा नागरिकहरु आफै सचेत हुँदै दशै मनाउनु आवश्यक छ । विजयादशमीको सम्पूर्णमा हार्दिक शुभकामना ।





