आफुलाई लोकतन्त्रको मसिहा ठान्ने नेपाली काँग्रेस काभ्रेले जारी गरेको विज्ञप्तीले ‘मलद्वारको सुन तस्करी’ चोख्याउने रणनीति अख्तियार गरेको छ । पत्रकारलाई गोली ठोक्न धम्कि दिने, संचारमाध्यम र सामाजिक सञ्जालमा अपराधका हौवा फैलाएर त्रसित बनाउने अभियानमा पनि नेपाली काँग्रेसको साथ देखिएको छ । उसले यसलाई संस्थागत संरक्षण गरेको छ । सुन तस्करीमा पक्राउ परेका कार्यकर्ता जोगाउन र अन्य नेतालाई नपक्रन दबाब दिन काँग्रेसले जारी गरेको विज्ञप्तीले पुष्टी गरेको छ । अनुसन्धानमा सहयोग गर्ने भन्दा पनि धम्कि दिने, घटना लुकाउन प्रयत्न गर्ने, अवान्छनिय गतिविधी गर्ने कार्यमा सिंगो पार्टी लागेको छ । यसले काँग्रेस भित्रका आम कार्यकर्ताको पनि भावना जलेको छ । अपराधलाई ढाकछोप गर्न सहयोग पु¥याउने काँग्रेसको निर्णय इतिहासमा कालो दिनको रुपमा चिनिनेछ ।
मलद्धारमा लुकाएर ल्याएको ९६० ग्राम सुन र सुन ल्याउने भरिया पक्राउ परे पछि अतालिएको समुहले आफ्ना कर्तुत छोप्न अनेक हत्कण्डा अपनाएका छन् । विगत जस्तो वर्तमान उस्तै । भविश्य पनि त्यस्तै रुपले लैजान खोजेको समुहलाई चुनौती छ, संलग्नता नभएको पुष्टी मात्रै गर कसैलाई धम्कि दिनु आवश्यक थिएन र छैन । सत्य र तथ्य लुक्दैन भन्ने हेक्का रहोस । राज्य, सत्ता, अदालत, प्रहरी प्रशासन आफै हो भन्ने भ्रम कसैले नपाल्दा हुन्छ । आफैले पालेका केटाहरुलाई उचालेकै छु । गोली ठोक्ने जिम्मा पनि दिएकै छु । तस्करी गर्ने जिम्मा पनि दिएकै छु । आफु थोरै लगानी मात्रै गर्ने हो । आएको नाफा लिने हो । त्यो बाहेक अरु संलग्नता कसरी छ र ? भन्ने भ्रमबाट सत्य छोप्न सकिदैन । तरुण दलका सदस्य । उनकै गाडी र मोटरसाईकल तस्करीको सुन ल्याउने क्रममा बरामद हुन्छ । तिनै कार्यकर्ता मन्त्री निवासमा गएर ताण्डव देखाएका भिडियो सार्वजनिक हुन्छन् । निर्वाचनमा मात्रै नभई अन्य समयमा पनि चन्दा दिदै बडिगार्डको शैलीमा एउटै सवारी साधनमा हिड्ने अझ निर्वाचनमा समानुपातिक उम्मेदवार समेत रहेका कार्यकर्तालाई चिन्दिन भन्ने, उसका बारेमा र पक्राउ परेका कार्यकर्ताका बारेमा चुँ सम्म नबोल्ने अनि उल्टै प्रतिकारको धम्कि दिने ? यहि हो तिम्रो लोकतन्त्र ?
हामी कस्तो राज्य संयन्त्र र समाजको निर्माण गर्दैछौं ? राज्य संयन्त्रका निकाय र प्रतिनिधि तस्करीमा संलग्न भएको तथ्य फेला परे पछि त्यसको छानविन गर्नु अगावै धम्कि दिन कार्यकर्ता उर्ताछन् । कानूनी शासनमा गोली ठोक्ने धम्कि दिने कार्यकर्ता उत्पादन गर्ने पार्टी र तिनले गरेका निर्णयले कस्तो सन्देश दिन्छ ? समाचार पछि त्यसका बारेमा अनुसन्धान गर्न सहज गर्ने, कानूनी निकायमा छानविनका लागि अनुरोध गर्ने र त्यतिबेलासम्म हस्तक्षेप नहोस भन्ने उदेश्यले जिम्मेवारीबाट अलग हुने हो कि धम्कि दिदै हिड्ने ? सत्य, तथ्य समाचार प्रकाशन गर्न तिमीहरुले चलाएको संस्थागत, समुहगत अपराध र धम्किले हाम्रो कलम रोकिने छैन । सत्य, तथ्य र निश्पक्ष समाचार प्रकाशन गर्ने हाम्रो अभियान कोहि एक जनालाई धम्कि दिदैमा रोकिने छैन ।





