2026 April 17/ 04:37: 16am

    नेपालकै नमूना शैक्षिक तथा स्वास्थ्य संस्था बीचको ब्यक्तिगत टकरावमा संस्था धरासयी बन्ने चिन्ता थपिएको छ । काठमाडौ विश्वविद्यालयले जस्तोसुकै परिस्थितिमा पनि शैक्षिक क्यालेन्डर अनुसार गुणस्तर कायम गर्दै शिक्षा प्रदान गर्ने प्रयास गरिरहँदा पनि ७० प्रतिशत भन्दा धेरै विद्यार्थी भर्ना हुन सकेका छैनन । एक पछि अर्काे विपद्मा विद्यार्थीहरु नेपालमा भन्दा विदेशिन आकर्षित हुन थालेपछि नेपालका शैक्षिक संस्थाहरुमा विद्यार्थी अभाव हुन थालेको छ । विश्वविद्यालय जस्तै नमूना र दैनिक दुई हजार भन्दा धेरै विरामीहरुलाई सेवा प्रदान गरिरहेको धुलिखेल अस्पताललाई थप सशक्त र नागरिकमैत्री बनाउन दुबै संस्थाका बीच भएका असमझदारीलाई तत्काल हटाउन आवश्यक छ । शिक्षामा अस्पताललाई र स्वास्थ्यमा विश्वविद्यालयलाई माथी लैजाने र निरन्तर गुणस्तर प्रदान गर्ने कार्यमा दुबै संस्थाको महत्वपूर्ण भूमिका छ । अस्पतालले प्रदान गरेको गुणस्तरीय स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन विश्वविद्यालय र अस्पताल बीचको समझदारीलाई अक्षरसः पालना गर्नु आवश्यक छ । 
    दुई दशक भन्दा लामो समय सहयात्रा गरेका जिल्लाका दुई गौरवशाली संस्था धुलिखेल अस्पताल र काठमाडौ विश्वविद्यालय बीचको सम्बन्धमा बढेको चिसोपनालाई कम गर्नु आवश्यक छ । अस्पतालसँगको सम्बन्ध बलियो बनाउन भन्दै काठमाडांै विश्वविद्यालयले संशोधन गरेको आर्थिक प्रस्ताव ऐनले सम्बन्ध बिग्रने भन्दै चिन्ता ब्यक्त गरिएको छ । तर दुबै संस्थाका प्रतिनिधिहरुले सम्बन्ध बलियो बनाउने बताउँदै आएका छन् । काठमाडौ विश्वविद्यालयले धुलिखेल अस्पताललाई नियन्त्रण गर्ने अन्य कुनै माध्यम नभएको भन्दै विश्वविद्यालय सभाबाट उक्त आर्थिक नियम संशोधन गरी खाता समेत उपकुलपति र रजिष्ट्रारबाट संचालन हुने ब्यवस्था गरेको थियो । जिल्लावासीहरुले अस्पताल र विश्वविद्यालयको सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिए पनि उक्त निर्णय पनि दुबै संस्था पर्ख र हेरको अवस्थामा पुगेका छन् । काठमाडौ विश्वविद्यालय धुलिखेल अस्पतालसँगको सम्बन्धलाई अझै मजबुत बनाउन चाहन्छ, आर्थिक रुपमा पारदर्शी बन्न चाहेको विश्वविद्यालयका उपकुलपति डा.भोला थापाको तर्क छ । काठमाडौ विश्वविद्यालय सभाले विश्वविद्यालयको आर्थिक नियम २०४९ मा आठौ संशोधन गरेको स्पष्टिकरण दिएको छ । अस्पताल र विद्यालय दुवै घाटामा जाँदा जाँदै पनि त्यहाँ कार्यरत प्राध्यापक कर्मचारीको तलब बृद्धि गरिएको छ । विश्वविद्यालयले घाटा सहेर भए पनि संस्थाको निरन्तरता र सम्बन्धलाई कसिलो बनाउन चाहेको छ । विश्वविद्यालयको कार्यक्षेत्र भित्र पनि अस्पतालले हस्तक्षेप गर्दै एकेडेमिक नियुक्ति गरिरहेको छ । तर पनि विश्वविद्यालय मौन छ । त्यहि कारण विश्वविद्यालय आफैले पनि कुप्स नजिकै ३ सय शैयाको अस्पताल निर्माण गरिरहेको विश्वविद्यालयले बताउँदै आएको छ । 
    आर्थिक संशोधन गर्ने निर्णय काठमाडौ विश्वविद्यालय र धुलिखेल अस्पताल बीचको सम्झौताको बुँदा नम्वर ३ विपरित हो । उक्त बुँदा अस्पताल र विश्वविद्यालयको सम्झौता विपरीत भएको अस्पतालले स्पस्ष्टिकरण दिएको छ । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले दुई संस्था बीच सम्बन्धमा दरार आउने प्रस्तावमा निर्णय नगर्न दिएको निर्देशन विपरीत काठमाडांै विश्वविद्यालयले विश्वविद्यालयको आर्थिक नियम २०४८ मा आठौ संशोधन नियम, २०८० लाई संशोधन गर्ने निर्णय गरिएको डिन कार्यालयले स्पष्टिकरण बुझाएको छ । विश्वविद्यालय र अस्पताल दुबै संस्थालाई सम्बन्धमा दरार आए पनि तत्काल अलग हुन कानूनी ब्यवधान छन् । कानूनी ब्यवधानका बीच सम्बन्ध चिसिदै जाँदा नागरिकहरुले प्राप्त सेवा खस्किने हो कि ? चिन्ता थपिएको छ । अविश्वासलाई विश्वासमा बदल्न दुबै संस्था तत्पर हुनु पर्छ ।