पछिल्लो समय विभिन्न बाहनामा ठगी गर्नेहरुको संख्या बढिरहेको छ । वित्तिय क्षेत्रको अराजकता, ठगी र कानूनको छिद्रताका कारण ठगी फस्टाउँदो छ । ठगहरुकै फुर्ति बढेको छ । सरकारले यस्ता ब्यक्तिहरुलाई कडा कारवाही गर्न थप कानूनी ब्यवस्था गर्नु आवश्यक छ । जो चोर उसकै ठुलो स्वर भने जस्तै भए पछि जिल्लाका केहि सहकारीमा आवद्ध सदस्यहरु थप चिन्तित बनेका छन् । बाबु, छोरा, छोरी, बुहारी सहित परिवारका सबै सदस्य र आफन्त मिलेर ७ हजार २ सय सदस्यलाई सहकारी मार्फत ठगी गर्ने गिरोहका नाईकेहरुले सदस्यहरुको बचत फिर्ता गर्नुको सट्टा ठगि मार्फत अर्काे ठगी गर्ने योजनाको पर्दाफास भएको छ ।
बनेपामा रहेको पुण्यश्वर र द्रौपदा सहकारीका संचालकहरुले बचतकर्ताहरुको रकम लिएर भागेका छन् । बचकर्ताहरुको रकम लुटेर प्रबन्धक भगाउने अनि बाबु चाँहि तिनै बचकर्ताहरुले जम्मा गरेको रकम माग्न जाँदा मुद्दा दर्ता गर्न थालेका छन् । ५२ जना त्यस्ता बचतकर्ताहरु अहिले रकम गुमेको चिन्तासँगै मुद्दाको प्रतिउत्तरको तनावमा छन् । पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ब्यवस्थापक रामेछाप गुन्सी भदौरे ७ घर भई बनेपामा बस्दै आएका २९ बर्षिय कुमार गौतम सहकारीको ९ करोड रकम लिएर पाँच महिना देखि बेपत्ता छन् । द्रौपदा सहकारीको ५ करोड गरी १४ करोड रकम ठगी गरेका गौतम अहिले सम्म सम्पर्क विहिन छन् । पुण्यश्वर सहकारीका अध्यक्ष कुमारकै बाबु डम्बरप्रसाद गौतम हुन् । कुमारका बाबु डम्बरप्रसाद गौतम अध्यक्ष रहेको उक्त सहकारीमा कुमारको श्रीमती पवित्रा चौलागाई कोषाध्यक्ष छिन् । सानिआमा कमला चौलागाई सदस्य छन् भने बहिनी मनिषा गौतम लेखा प्रमुख छिन् । उता कुमार भने द्रौपदा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष छन् । दुबै संस्थाको लेखापालका रुपमा बहिनी मनिषा कार्यरत छिन् । कान्छो भाई प्रदिप गौतम ऋण संयोजक छन् । भाई बुहारी गंगा श्रेष्ठ गौतम र भाई उद्धव गौतमलाई सहकारीमा कार्यरत रहँदा रहँदै सोहि सहकारीको रकमबाट अष्ट्रेलिया पठाईएको छ । द्रौपदा सहकारीको करिव ५ करोड रकम अपचलन भएको छ । उनै ठग गिरोहका अध्यक्ष डम्बरबहादुर गौतम समाचारका कारण अदालतको मानहानी भएको भन्दै उजुरी बोकेर धाउन थालेका छन् । एउटा ठग माथी अर्काे ठगी गर्दै गौतम परिवारले अर्काे प्रपञ्च गरिरहेका छन् । बचकर्ताहरु आक्रोशित भएका दिन गौतमहरुको अवस्था के होला ? सोचनीय विषय बनेको छ ।
बचतकर्ताहरुले रकम फिर्ता माग्दा तिर्छु भन्दै बनेपा नगरपालिका वडा नम्वर ७ को कार्यालयमा कागज समेत गरेका डम्बरबहादुर गौतमले उल्टै संस्थामा आफु संलग्न नभएको, हुलइज्जत गरेर ज्यान असुरक्षा भएको भन्दै ५२ जना बचतकर्ताहरु सहित वडा अध्यक्ष हिटलर शाक्य विरुद्ध मुद्दा दर्ता गराएका छन् । बचतकर्ताहरु रकम फिर्ता हुने आशमा भन्दा मुद्दाको हैरानीमा अदालतको तारेख धाईरहेका छन् । खाई नखाई गरी कमाएर जम्मा गरेको रकम जोखिममा परे पछि न्यायका लागि गएका बचतकर्ताहरुले कुनै निकायबाट न्याय पाएका छैनन । बरु अदालतमा दर्ता भएको मुद्दाका कारण अन्यायमा परेको महसुस गरेका छन् । कानून ब्यवसायीलाई रकम दिएर मुद्दाको प्रतिउत्तर लगाउँदैमा बचतकर्ताहरुको संकट झन् गहिरिन थालेको छ । संचालक समितिका पदाधिकारीको दस्तखत समेत कुमार र डम्बरबहादुरले किर्ते गरेका छन् । किर्ते गर्ने, ठगी गर्ने अनि सर्वसाधारणलाई सडकमा पु¥याउन बाध्य पार्ने गौतम परिवारलाई कारवाही गर्न किन ढिला ??





