पाकेटमार, चोर, जुसमा बेहोस बनाउने विषादी, नक्कली डलर देखाउँदै ठग्ने समुह प्रहरीको निशानामा ।
धुलिखेल/इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला प्रहरी कार्यालय धुलिखेलमा प्रहरी नेतृत्व फेरिएसँगै पाकेटमार्ने, नक्कली डलर देखाएर ठग्ने, चोरी गर्ने तथा महिला र जेष्ठ नागरिकहरुलाई बेहोस बनाएर लुटपाट गर्ने गिरोह धमाधम पक्राउ पर्न थालेका छन् । बनेपामा डिएस्पी राकेश थापाले नेतृत्व गरेका छन् ।
प्रहरीले पछिल्लो एक महिनामा ३० भन्दा धेरै यस्ता घटनामा संलग्नहरुलाई पक्राउ गरी अनुसन्धान गरेको छ । घटनामा संलग्न भएकाहरु यस अघि कुनै न कुनै घटनामा संलग्न भई सजायँ भोगिसकेका छन् । अदालतबाट सजाय तोकिएका, जेल तोडेर भागेका तथा फरार कैदी समेत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विशेषगरी पाकेटमार्ने समुह भेष र स्थान बदलेर पटक पटक अपराधमा संलग्न हुने गरेका छन् भने अन्य अपराधमा संलग्नहरु पनि बर्षाै देखि ब्यावसायीक रुपमा अपराधमा संलग्न भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीले घटनामा संलग्नहरुको खोजी कार्य जारी राखेको र अपराध न्यूनीकरणमा प्रहरीको सक्रियता बढेको बताए ।
पछिल्लो पटक प्रहरीले अमेरिकी डलर सस्तोमा उपलब्ध गराइदिने भन्दै नेपाली रुपैयाँ ठगी गर्ने गिरोहका एक सदस्यलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएस्पी सूचना अधिकारी रविन विष्टका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई हाल बनेपा बस्ने २६ वर्षीय सुनिल डुम्जनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । प्रहरीका अनुसार डुम्जन सहितको समूहले अमेरिकी ५० डलरको नोट देखाई ठूलो परिमाणमा अमेरिकी डलर भएको भन्दै झोलाभित्र रकम रहेको भ्रम सिर्जना गरेर नेपाली रुपैयाँ ठगी गर्ने गरेको खुलेको छ । अनुसन्धानबाट काभ्रेमा मात्र तीन वटा घटनामा उनीहरूको संलग्नता देखिएको प्रहरीले जनाएको छ । २०८२ चैत्र २४ गते बनेपा–३ स्थित जंगल क्षेत्रमा ५ लाख रुपैयाँ ठगी गरेका थिए भने २०८३ असार ५ गते बनेपा–३ शशिपानीस्थित जंगलमा २३ लाख रुपैयाँ ठगी गरेका थिए । २०८३ असार ६ गते बनेपा–१ रानिकोटस्थित जंगलमा २० लाख रुपैयाँ ठगी गरिएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा फेला परेको बताएको छ । यी तीन घटनाबाट मात्रै कुल ४८ लाख रुपैयाँ ठगी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका डुम्जनले विभिन्न मोबाइल नम्बर प्रयोग गरी पीडितसँग सम्पर्क गर्ने, आर्थिक लाभको प्रलोभन देखाएर सुनसान स्थानमा बोलाउने र योजनाबद्ध रूपमा ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको आशंकामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । डुम्जनविरुद्ध ठगी तथा संगठित अपराध सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा घटनामा प्रयोग भएको स्कुटर, विभिन्न मोबाइल फोन, सिमकार्ड, कागजात तथा नगद २३ हजार ६० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।









